Tuesday, November 21, 2017

स्व प्रकाश दाहालको सम्झनामा मुस्ताङमा श्रद्धाञ्जली सभा !

मुस्ताङ मंसिर ५ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का छोरा प्रकाश दाहालको असामयिक निधनले दुःखी बनेको माओवादी केन्द्र मुस्ताङले मंगलबार जोमसोममा उनको सम्झनामा श्रद्धाञ्जली सभाको आयोजना गरेको छ ।

श्रद्धाञ्जली सभामा बोल्दै माओवादी केन्द्र मुस्ताङका अध्यक्ष सत्यनारायण शेरचनले माओवादीले एउटा दरिलो खम्बा गुमाउनु परेको बताए । शेरचनले भने, ‘प्रकाशको निधनले हामी अत्यन्त दुःखी छौं ।’

प्रकाशको निधनले पार्टीलाई अतुलनिय क्षति पुगेको भन्दै शेरचनले दाहालको सपना साकार पार्न गठबन्धनका उम्मेदवारलाई जिताएर नेपाललाई समृद्ध बनाउने अभियानलाई सफल बनाउन शोकलाई शक्तिमा बदल्दै अगाडि बढ्नुपर्ने बताए ।


कार्यक्रम माओवादी केन्द्रका जिल्ला नेता सुक बहादुर बि.क.को संचालनमा सम्पन्न भएको थियो ।
हार्टअट्याकका कारण अचेत अवस्थामा रहेका प्रकाशको निधन उपचारका क्रममा मंसिर ३ गते विहान नर्भिक अस्पतालमा भएको थियो । 

मतदान अधिकृतका लागि दुई दिने प्रशिक्षण सम्पन्न

जोमसोम । आगामी मंसिर १० गते हुने आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनलाई लक्षित गरी मतदान अधिकृत र सहायक मतदान अधिकृतका लागि संचालन गरीएको दुई दिने प्रशिक्षण तालिम सोमबार जोमसोममा सम्पन्न भएको छ । 

जिल्ला निर्वाचन कार्यालय मुस्ताङले स्वतन्त्र ,निष्पक्ष र मर्यादित वातावरणमा चुनाव संम्पन्न गराउनको लागि यहाँका ३७ मतदान केन्द्रमा खटिने कर्मचारीका लागि तालिमको आयोजना गरेको हो । 

तालिमको सहजीकरण राष्ट्रिय अनुगमनकर्ता स्थानीय बिकास मन्त्रालयका सहसचिब सुरेश अधिकारी, जिल्ला निर्वाचन अधिकारी सीताराम शर्मा लामिछाने, लेखापाल बालकृष्ण मिश्र, नायव सुब्बा महेन्द्र रेग्मी, छेत्रदास बैरागी लगायतले तालिमको सहजीकरण गरेका थिए । 

निर्वाचनलाई लक्षित गरी संचालन गरीएको उक्त तालिम उपलब्धी मुलक रहेको सहभागीले बताएका छन् । मुस्ताङको ३७ मतदानकेन्द्रमा १ सय १३ जना निर्वाचन कर्मचारी खटिने भएका छन् । जसमध्ये ३९ जना मतदान अधिकृत ,३९ जना सहायक मतदान अधिकृत र ३७ जना निर्वाचन स्वंयम् सेबक रहने बताइएको छ । 

Monday, November 20, 2017

समृद्ध तल्लो मुस्ताङ बनाउँछु ः थकाली

केशव वि.क.
महेन्द्र बहादुर थकाली उम्मेदवार प्रदेशसभा ख, मुस्ताङ
जोमसोम । विगत लामो समय देखि जनताको सेवामा लागिरहेको एउटा नाम हो, महेन्द्र बहादुर थकाली । मुस्ताङ जस्तो विकट गाउँमा जन्मिए हुर्किए पनि आफ्नो वौद्धिक स्तरलाई माथि उकास्दै जनताको सेवामा आफ्नो उर्जाशिल समय विताएको एउटा सच्चा इमान्दार व्यक्ति हुन महेन्द्र बहादुर थकाली ।

जिल्ला प्रशासन कार्यालय मुस्ताङमा सहायक प्रमुख जिल्ला अधिकारी भएसंगै ३० वर्ष राष्ट्र सेवक कर्मचारीको रुपमा जनताको सेवा गरे । विभिन्न संघसंस्थामा आवद्ध रहि जिल्लामा परिवर्तन ल्याउनको लागि उनी सँधै सकृय रहे । समृद्ध समाज समृद्ध मुस्ताङका लागि आगामी मंसिर १० गते हुने निर्वाचनमा प्रदेशसभा ख का लागि बाम गठबन्धनको तर्फबाट आफ्नो उम्मेदवारी दर्ता गराएका छन् ।  

समाजका लागि केही गर्नुपर्छ भन्ने सोच भएका थकाली मुस्ताङको प्रतिनिधित्व गर्दै प्रदेशसभा ख का सांसद पदका दाबेदार हुन् । थकालीले जनताले विकास र समृद्धि चाहेकाले जनताको भावना अनुरुप काम गर्नका लागि आफ्नो उम्मेदवारी दर्ता गराएको बताएका छन् ।

आफ्नो ३० वर्षको प्रशासनिक अनुभवलाई अब जनताको प्रतिनिधि भएर विकास र समृद्धिको लागि खर्चिन चाहन्छु । थकालीले भने । 
विगत देखिनै समाजको परिवर्तन र विकासको पक्षमा आफ्नो योगदान दिँदै आएका थकालीले यस पटक आफु प्रदेश सांसद भएर आश्वासन होइन समाजमा केही गरेर दखाउनु पर्छ भन्ने सोचका साथ जनतासामु आएको र यो अवसर प्रदान गरि दिनको लागि आम मतदाता समक्ष आग्रह गरेका छन् ।

दिगो विकास र समृद्धिका लागि मुस्ताङमा विभिन्न संभावनाहरु भएको र त्यसको विकास र प्रवद्र्धन गर्नका लागि आफु सदैव सक्रिय रहने थकालीको भनाई छ । तल्लो मुस्ताङका थासाङ गाउँपालिका, घरपझोङ गाउँपालिका र बाह्रगाउँ मुक्तिक्षेत्र गाउँपालिका प्रत्येक गाउँलाई रिङ रोड बनाई जोडन्े, कृषि, पशुपालनमा किसानलाई आत्मनिर्भर बनाई निर्यातमा जोड दिने उनको योजना छ । 

२१ औँ शताब्दीमा आईपुग्दा पनि मुस्ताङको विकासले तिव्रता पाउन नसकेको भन्दै उनले जिल्लामा रहेका धार्मिक, पर्यटकीय, एतिहासिक क्षेत्रको विकास गरी पर्यटन प्रवद्र्धनमा टेवा पु¥याई जिल्लामा बढि भन्दा बढि पर्यटक भित्राई जिल्लालाई आर्थिक समृद्धि तर्फ अगाडी बढाउने कार्यमा सकृय रहने थकालीको भनाई छ । 

विकासका निम्ति सक्षम नेतृत्वलाई सबैले साथ दिनुपर्ने भन्दै महिला, बिपन्न वर्गको उत्थान गरी गाउँको समृिद्ध र बिकासका लागि ठोस अवधारणा बनाएर अघि बढ्ने बताउँदै उनले कुनै प्रलोभनमा नपरी विकासका लागि आफ्नो नेतृत्वलाई विजयी गराउँन मतदातालाई अपिल गरेका छन् । 

समृद्ध उपल्लो मुस्ताङ बनाउछुः विष्ट

केशव वि.क.
इन्द्रधारा विष्ट प्रदेशसभा क उम्मेदवार, मुस्ताङ
मुस्ताङ । इन्द्रधारा विष्ट उपल्लो मुस्ताङका एक उर्जाशिल जुझारु व्यक्तित्व हुन् । उपल्लो मुस्ताङ जस्तो विकट ठाउँमा रहेर पनि समाजमा परिवर्तनकारी भूमिका खेल्न सकृय चर्चित समाजसेवी विष्ट जनमानसका ढुकढुकी हुन् । 
सालिन, इमान्दार विष्टले समाजमा पु¥याएको योगदानको बारेमा उपल्लो मुस्ताङ वासीमा जगजाहेर भएकै कुरा हो । उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिकाका विष्टको समाज प्रतिको झुकाव र लगावले उपल्लो मुस्ताङ लगायत जिल्लामा परिवर्तनकारी भूमिका खेलेको छ । 
समाजका हरेक सकारात्मक कृयाकलापमा सकृय विष्ट विभिन्न सामाजिक संघसस्ंथामा कृयाशिल रहँदै विगतका दिन देखि नै समाजसेवामा लागेका छन् । चीनको तिब्बतसंग प्रत्येक वर्षहुने व्यापार मेलामा पनि उनी सदैव समन्वयकारी भूमिका निर्वाह गरेका हुन्छन् । 

जनताका पिरमर्का बुझ्न सक्ने, विकास प्रति झुकाव भएका विकासप्रेमी सदैव जागरुक विष्ट यतिखेर मुस्ताङ क बाट प्रदेश सांसदका दाबेदार हुन् । उनले आगामी मंसिर १० गते हुने निर्वाचनमा प्रदेशसभा क मा बाम गठबन्धनको तर्फबाट आफ्नो उम्मेदवारी दर्ता गराएका छन् ।  
दालोमे गाउँपालिका र लोमान्थाङ गाउँपालिका अर्थात समाजमा भए गरेका विकास निर्माणका कामलाई नयाँ सोँचका साथ अगाडी बढाउनको लागि नेतृत्वकारी भूमिका खेल्न आफ्नो उम्मेदवारी दर्ता गराएको बताएका छन् । 

विष्टले भने । उपल्लो मुस्ताङ जिल्लाकै विकट क्षेत्र हो, यहाँ विकासका कामले तिव्रता लिन सकेका छैनन् । यो क्षेत्र प्रचुर संभावना भएको र प्राकृतिक रुपले जिल्लाकै धनि ठाउँ हो । यसको विकासको लागि विभिन्न योजना लिएर आएको छु । 

उपल्लो मुस्ताङवासीहरुका कठिन जनजीवनलाई उकास्नको लागि प्रयत्नशील रहने प्रतिवद्धता व्यक्त गर्दै उनले उपल्लो मुस्ताङमा भएका संभावनाहरुको खोजी र विकास प्रवद्र्धन गर्न सदैव लागिरहने बताए ।

उपल्लो मुस्ताङमा कृषि, पशुपालन र पर्यटनको धेरै संभावनाहरु छन् । यहाँ राष्ट्रलाई नै धनि बनाउन सक्ने खानीहरु छन् । ती खानीहरुको उचित व्यवस्थापन गरी दिगो विकास, समृद्धि र कोरला नाका नियमित संचालनमा ल्याउन विशेष ध्यान दिने उल्लेख गरेका छन् । 
उपल्लो मुस्ताङमा शिक्षा, स्वास्थ्य, खानेपानी, यातायात, विद्युत, संचार लगायतको विकासको लागि आफु संधै प्रतिबद्ध रहेको बताउँदै बाम गठबन्धनको तर्फबाट प्रदेशसभा क का लागि उम्मेदवारी दिएका विष्टले विकास र समृद्धिका लागि जनतालाई आफ्नो पक्षमा मतदान गर्न अनुरोध गरेका छन् । 

जिल्लाको समग्र विकासका लागि मेरो उम्मेदवारी हो ः थकाली

केशव वि.क.
रोमी गौचन थकाली प्रतिनिधिसभा उम्मेदवार, मुस्ताङ
जोमसोम । आगामी मंसिर १० गते हुने निर्वाचनमा प्रतिनिधिसभा तर्फ काँग्रेसका उम्मेदवार रोमी गौचन थकालीले यति बेला चुनाव प्रचार प्रसार अभियानलाई तिव्र पारेका छन् । जिल्लाको समृद्धिका लागि कोरला नाका खुलाउने मुख्य एजेण्डा बनाउँदै थकालीले मतदाता सामु भोट मागिरहेका छन् । 
प्रचण्ड सरकारको पालामा वाणीज्य मन्त्री समेत भएका थकालीले मुस्ताङको विकासका लागि प्रतिनिधिसभा तर्फ पुनः आफुले उम्मेदवारी दिएको बताएका छन् । मुस्ताङको समग्र विकासको लागि कृषि, पर्यटन, पशुपालनको क्षेत्रमा विशेष ध्यान पु¥याई जिल्लालाई समृद्धि तर्फ लैजाने योजनाका साथ आएको उनको भनाई छ ।
जिल्लाका सबै ठाउँमा सडक, विद्युत, संचार लगायतका पूर्वाधारको विकास गर्न आफ्नो विशेष ध्यान दिने र जनतालाई आर्थिक समृद्धि तर्फ लैजान आय आर्जन मुलक कार्यक्रमहरु संचानलन गर्ने लक्ष्यका साथ अगाडी बढेको थकालीले बताए ।  
कांग्रेसका उम्मेदवार गौचन ०५६ मा प्रतिनिधिसभा सदस्य, ०६४ मा समानुपातिक सांसद र ०७० मा निर्वाचित सांसद हुँदै वाणीज्य मन्त्री बनेका थिए । उनले मुस्ताङको लागि आफुले दिएको योगदान जनताले भुल्न नहुने बताए । 
थासाङ गाउँपालिका वडा नं. ३ घर भएका थकाली जिल्लाका विभिन्न विकासका कार्यमा संलग्न हुँदै आएका छन् । उनले जिल्लामा पर्यटकको संख्या उल्लेख्य मात्रामा वृद्धि गरी यहाँको अर्थतन्त्रलाई मजबुत बनाउन पर्यटन क्षेत्रको विकास र प्रवद्र्धनमा विशेष पहल कदमी लिने बताए । 
सुन्दर, शान्त हिमाली जिल्ला मुस्ताङमा विकासको लहर ल्याउन आफु सदैव सकृय रहँदै आएको र आगामी दिनमा पनि यहाँको विकास र समृद्धिको पक्षमा रही आहोरात्र खटिने थकालीको भनाई छ ।   

एक पटक मौका दिनुस्, मुस्ताङमा आमुल परिवर्तन ल्याउँछुः तुलाचन

प्रेम प्रसाद तुलाचन प्रतिनिधिसभा उम्मेदवार, मुस्ताङ
प्रेम प्रसाद तुलाचन मुस्ताङी जनताका लागि कुनै नौलो नाम हैन् । आगामी मंसिर १० गते हुने निर्वाचनमा मुस्ताङबाट प्रतिनिधिसभा तर्फ बाम गठबन्धनका साझा उम्मेदवार प्रेम प्रसाद तुलाचन एक निःस्वार्थ समाजसेवा गर्ने व्यक्ति हुन् । थासाङ गाउँपालिकामा जन्मे हुर्किएका तुलाचन जिल्ला तथा समाजलाई विकासको गतिमा लैजाने सामाजिक अगुवा हुन् । 
सानै उमेरदेखि समाजका विभिन्न काममा नेतृत्वदायि भूमिका निर्वाह गदै आएका तुलाचन समग्र जिल्लालाई अगाडी बढाउन अहोरात्र खटिरहे । मुस्ताङका प्रख्यात निर्माण व्यवसायी एवं विभिन्न व्यवसायमा संलग्न तुलाचन राष्ट्रलाई समयमा र सबैभन्दा बढि राजस्व दाखिला गर्ने प्रदेश नं. ४ कै उत्कृष्ट र इमान्दार करदाता पनि हुन् । 
राष्ट्र विकास र परिवर्तनका लागि उनी २०४६÷०४७ को आन्दोलन र ०६२÷०६३ को आन्दोलनमा सकृय रुपमा लागेका थिए । तुलाचन जिविस सदस्य हुँदै, क्लव, थाक खेलकुद तथा साँस्कृतिक विकास संघ लगायतका सामाजिक संघसंस्थामा आफुलाई सकृय राख्दै समाजसेवा गरिरहेका छन् । विकासप्रेमी, बौद्धिक एवं जुझारु व्यक्तित्व प्रेम प्रसाद तुलाचन संग मुस्ताङ साप्ताहिकका समाचार प्रमुख केशव विकले गरेको कुराकानी ।

जनताको घरदैलोमा पुग्नु भएको छ, कस्तो छ प्रतिक्रिया ?
चुनावी प्रचारको लागि हामी जनताको घरदैलोमा पुगेका छौँ । जनताहरु बाम गठबन्धनका उम्मेदवार प्रति आसावादी र धेरै खुःसी भएका छन् । मतदाताहरुको सकरात्मक प्रतिक्रिया पाएको छु ।

मुस्ताङी जनताले तपाईको उम्मेदवारीलाई कसरी लिएका छन् ?
जनताले पटकपटक एउटै उम्मेदवारलाई जिताएर पठाईरहँदा पनि मुस्ताङमा विकासका गतिविधिले तिव्रता पाउन सकेनन् । यहाँका जनता सँधै विकट ठाउँका भनेर चिनिनु प¥यो । जिल्लामा सोचेँ जस्तो विकासका कामहरु नहुँदा जनताले हैरानि व्यहोर्नु परेको तितो यथार्थ हामीहरु माझ जगजहेर नै छ । म एउटा सामाजिक एवं जनताको अगुवा भएकाले जीवनको यो घडी सम्म आइपुग्दा पनि मैले सदैव जनताको सेवामा लागिरहेको कुरा सम्पूर्ण जिल्लावासी आदरणीय जनसमुदायलाई थाहा भएकै कुरा हो । संधैभरि एउटै अनुहारलाई जिताएर पनि विकासको अनुभूति पाउन नसकेका मुस्ताङे जनताले नयाँ नेतृत्व अर्थात बाम गठबन्धनबाट मेरो नेतृत्व चाहिरहेको अवस्थामा मेरो उम्मेदवारीलाई सकरात्मक रुपमा लिइरहेका छन् । 

समग्र जिल्लाको विकासका लागि तपाईको प्राथमिकतामा के–के छन् त ?
मुस्ताङको विकास र समृद्धिका लागि बेनी–जोमसोम–कोरला सडकको स्तरोन्नतीको कार्यलाई तोकिएको समय भित्र सम्पन्न गराउन सचेत गर्दै उत्तरी कोरला नाकालाई व्यवस्थित र नियमित रुपमा खोल्ने कार्यमा विशेष अग्रसरता देखाउने, जिल्लाका प्रत्येक गाउँमा सडक संजालको विकास र विस्तार गर्ने, जिल्लाका प्रत्येक गाउँ वस्तीमा ग्रामिण विद्युत र संचार सेवा पु¥याउने, पर्यटन व्यवसायको सम्मुचित प्रवद्र्धन र सम्वद्र्धन गर्न आवश्यक भौतिक पूर्वाधारहरुको निर्माण कार्यलाई प्राथमिकता दिने र होम स्टे तथा ग्रामिण पर्यटनको विकास अभियानलाई विस्तार गर्ने, जिल्लामा रहेका धार्मिक, साँस्कृतिक, ऐतिहासिक तथा पुरातात्विक महत्वका सम्पदाहरुको उचित संरक्षण र सम्बद्र्धन गर्ने कुरा प्राथमिकतामा छन् । 
 त्यसैगरी औधोगिक ग्रामको स्थापना गरी रोजगारीको सृजना गर्ने, स्वदेशमा लगानीको वातावरण सृजना गर्ने, जिल्लालाई कृषि, पशुपालनमा आधुनिकिकरण गरी निर्यात बढाउने, वैकल्पिक पदमार्गको विकास विस्तार गर्ने, शिक्षा र स्वास्थ्य सेवालाई सर्वशुलभ र प्रभावकारी बनाउने, नदि काटन हुने ठाउँमा तटबन्ध निर्माण, वृक्षारोपण र पुल पुलेसा निर्माणका लागि ध्यान दिने, जिल्लामा रहेका खानीहरुको उचित व्यवस्थापन गर्ने र नयाँ सम्भावनाहरुको खोजी गर्नु मेरा प्राथमिकताका विषय हुन ।

भनिन्छ, मुस्ताङ प्रदेश नं. ४ कै उत्कृष्ट जिल्ला हो, यहाँ केके सम्भावनाहरु छन् ?
हो, मुस्ताङ प्राकृतिक, धार्मिक, साँस्कृतिक, ऐतिहासिक तथा पुरातात्विक हिसाबले ४ नं. प्रदेश मै धनि छ । कृषि, पर्यटन, पशुपालन, खनिजहरु यहाँका संम्भावनाहरु हुन् । यी सम्भावनाहरुको विकास र विस्तारले यस जिल्लालाई समृद्ध तुल्याउन सकिन्छ । यसका लागि म निरन्तर लागिरहने छु । मुस्ताङ स्याउको राजधानी र बेमौसमी तरकारीको जिल्ला पनि हो । यस जिल्लालाई अर्गानिक तरकारी खेतीको जिल्ला बनाउन विशेष योजना र कार्यक्रम ल्याउने र खाली रहेको जग्गा जमिनलाई लिज सिष्टममा लगाई स्याउ तथा अन्य कृषि उपजहरुको उत्पादन गरी घरघरमा समृद्धिको वातावरण सृजना गर्ने मेरो लक्ष्य रहेको छ । मुस्ताङ विकासका लागि कृषि, पर्यटन, पर्यावरण र भौतिक पूर्वाधारमा विशेष जोड दिने र उपल्लो मुस्ताङमा कृषि, पर्यटन र पशुपालनलाई विशेष प्राथमिकताका साथ अगाडी बढाउने, जिल्लामा बढि भन्दा बढि धार्मिक पर्यटक भित्राउनको लागि कागबेनी, मुक्तिनाथ, दामोदर कुण्ड संगै मानसरोवर सम्म जान धार्मिक पर्यटकलाई सहज बनाउने । त्यसैगरी तेस्रो मुलुकका पर्यटकको आगमन वृद्धि गर्न अन्नपूर्ण, धौलागिरी र तिलिचो ताल सम्मको पदमार्गलाई व्यवस्थित गर्ने ।    

यहाँका स्रोत साधनको कसरी परिचालन गर्नुहुन्छ ? ताकि जिल्ला समृद्ध बनोस् । 
मुस्ताङ विकासका लागि प्रशस्त स्रोत साधनहरु हाम्रै जिल्लामा छन् । यहाँका स्रोत साधनको परिचालन गरी जिल्लालाई समृद्ध बनाउनको लागि विषय विज्ञ टोलीहरुको राय सल्लाह अनुसार अगाडी बढदै केन्द्र र प्रदेश सरकार संग सुमधुर सम्बन्ध कायम गरी ती निकायबाट जिल्लाको अति महत्वपूर्ण आयोजनाहरुमा बढि भन्दा बढि बजेट विनियोजन र कार्यान्वयनका लागि प्रयत्नशील रहने छु । 

२०७० को दोस्रो संविधानसभा निर्वाचन पश्चात पुनः दोस्रो पटक विपक्षी दलको उही उम्मेदवारसंग चुनावी प्रतिस्पर्धा गर्दै हुनुहुन्छ, यसपटक चुनाव जित्नुहुन्छ ?
हाम्रो पक्षमा जनलहर उर्लिरहेको छ । तत्कालिन समयमा पनि हाम्रो पक्षमा जनलहर थियो तर प्रतिगामी तत्वको चलखेलका कारण जम्मा १२ मतान्तरले मैले पराजय भोग्नु परेको थियो । पटक पटक सांसद र मन्त्री हुँदा पनि जिल्लाको विकासमा तदारुकता नदेखाई जनताको मतलाई कुल्चिरहेका विपक्षी दलका उम्मेदवार प्रति जनतामा नैरास्यता छाएको छ । सँधै एउटै उम्मेदवारलाई जिताईरहे पनि अर्थात चलखेल गर्दै सोही उम्मेदवारले चुनाव जितेपनि झुठा आश्वासन दिँदै जनताको आँखामा छारो हाल्ने काम मात्र नेपाली काँग्रेसका उम्मेदवारले गरेको कुरा सर्वविधितै छ । जिल्लामा विकासका गतिविधिले तिव्रता नपाउँदा सँधै दोहोरिरहने अनुहार प्रति जनता दिक्क भैसकेका छन् ।
जनता विकास र समृद्धि चाहन्छन्, र त्यसका निम्ति नयाँ नेतृत्व अर्थात बाम गठबन्धनको तर्फबाट मेरो नेतृत्व चाहन्छन् । जनता चेतनशील भैसकेका छन्, जनता पक्कै पनि हावादारी कुरा र कसैको प्रलोभनमा नपर्ने कुरामा म विश्वस्त छु । जिल्लाको समग्र विकासका लागि जनताले मलाई विश्वास गरेर भोट दिनुहुनेछ । यसपटक अवश्य पनि चुनाव जित्छु ।

अन्तमा के भन्न चाहनुहुन्छ ?
राष्ट्र विकासको निम्ति सही नीति र स्थिर सरकारको आवश्यकता पर्दछ । नेपाली काँग्रेसले विगतका निर्वाचनमा पटकपटक बहुमत ल्याएर पनि कहिल्यै पुरा अवधि सरकार संचालन गर्न नसकि राजनीतिक अस्थिरता सृजना गरी विकास निर्माणका कार्यमा अवरोध खडा गरिरहेको त सबैलाई थाहा भएकै कुरा हो । देश विकासको निम्ति बाम गठबन्धन (नेकपा एमाले र माओवादी केन्द्र) को स्थिर सरकारको आवश्यकता छ । मुस्ताङमा पनि पटकपटक काँग्रेसका उम्मेदवारलाई जिताउनुभयो तर जिल्लाले विकासमा फडको मार्न सकेन् । आदरणीय मुस्ताङवासी जनसमुदायहरु अरुलाई दिनुभयो पटकपटक तर मलाई भोट दिनुहोस एकपटक, म तपाईहरुको विश्वासलाई गुम्न दिने छैन् । म मुस्ताङमा आमुल परिवर्तन ल्याउने योजनाका साथ चुनावी मैदानमा छु । मलाई मुस्ताङ जिल्लाको चौतर्फी विकास गर्ने अवसर प्रदान गर्नका लागि सम्पूर्ण मुस्ताङवासी मतदातालाई सुर्य चिन्हमा मतदान गरी अत्याधिक बहुमतले विजयी गराउन अपिल गर्दछु ।  
प्रस्तुती ः केशव वि.क.

Saturday, November 18, 2017

मुस्ताङमा बाम गठबन्धनका उम्मेदवार सवार गाडीमा ढुङ्गा प्रहार

केशव वि.क.
मुस्ताङ । मुस्ताङबाट प्रतिनिधिसभा तर्फ बाम गठबन्धनका साझा उम्मेदवार प्रेम प्रसाद तुलाचन सवार गाडीमा शुक्रवार साँझ कागबेनीमा अज्ञात समुहद्धारा ढुंगा प्रहार भएको छ । चुनाव प्रचारप्रसारमा रहेका उम्मेदवार तुलाचन सवार जीपमा जिल्लाको बाह्रगाउँ मुक्तिक्षेत्र गाउँपालिका स्थित कागबेनीमा ढुंगा प्रहार भएको हो । 

ढुंगा प्रहारबाट ग १ य ३९६ नम्बरको ल्याण्डकुजर जीपको अगाडीको सिसामा क्षति पुगेको छ । होटल ड्रागनको कम्पाउण्डमा पार्किङ गरेको अवस्थामा जीपमा ढुंगा प्रहार भएकाले कुनै मानविय क्षति भने भएको छैन् ।

उम्मेदवार सहितको टोली उपल्लो मुस्ताङको दालोमे गाउँपालिका र लोमान्थाङ गाउँपालिकामा चुनाव प्रचारको कार्यक्रम सकेर जिल्ला सदरमुकाम जोमसोम तर्फ फर्किदै गर्दा कागबेनीमा कार्यकर्ता भेटघाट कार्यक्रममा रहेको अवस्थामा जीपमा ढुंगा हानिएको नेकपा एमाले जिल्ला कमिटी मुस्ताङका अध्यक्ष चन्द्रमोहन गौचनले बताए । 

जीपमा उम्मेदवार प्रेम प्रसाद तुलाचन, एमाले पोलिटब्यूरो सदस्य तथा पूर्व सभासद श्रीमाया थकाली, पूर्व सभासद टसी स्याङ्मो गुरुङ, एमालेका जिल्ला अध्यक्ष चन्द्रमोहन गौचन, माओवादी केन्द्र मुस्ताङका अध्यक्ष सत्यनारायण शेरचन, माओवादी जिल्ला नेता सुक बहादुर बिक लगायत कार्यकर्ता सवार थिए । प्रचारमा २ वटा जीप लगिएको थियो ।

आफुहरु सवार गाडीलाई लक्षित गरी विपक्षी दल नेपाली काँग्रेसका कार्यकर्ताले ढुंगा प्रहार गरेको उम्मेदवार तुलाचनले आरोप लगाए । उम्मेदवार सवार गाडीमा ढुंगा प्रहार गर्ने समुहको खोजी भैरहेको प्रहरीले जनाएको छ ।