मुस्ताङ साप्ताहिक/ मुस्ताङ
विविध स्वास्थ्य समस्याका कारण उपचारत मुस्ताङका पूर्वराजा जिग्मे पलबर विष्टको ८४ वर्षको उमेरमा पौष १ गते शुक्रबार विहान १ बजे निधन भएको छ । गत मंसिर २८ गते मंगलबारदेखि चाबहिलको ओम अस्पतालमा भर्ना भई आईसीयूमा उपचाररत उनमा श्वासप्रश्वासको समस्या देखिएको थियो ।
‘दमको समस्याका कारण उनलाई मंगलबार अस्पतालमा उपचारका लागि भर्ना गरी आईसीयूमा राखिएको थियो,।’ उनका भान्जा ज्ञानेन्द्र विष्टका अनुसार, ‘उनलाई पछिल्लो समयमा छातीको समस्याका साथै उच्च रक्तचाप र यूरिक एसिडको समस्याले थला पारेको थियो ।’
२०६२ र ०६३ सालको जनआन्दोलनसम्म उपल्लो मुस्ताङमा राजाका रुपमा रहेका उनले मुलुकको राजनीतिक परिवर्तनसँगै आफूमा आएको बुढ्यौलीको कारण सत्ता छाडेका थिए । त्यसपछि हिउँदमा काठमाडौं र वर्षामा मुस्ताङमा बस्दै आएका थिए ।
आधा नेपाली र आधा तिब्बती भाषा बोल्ने विष्ट जनताका समस्या सुनेर निर्णय लिने, कम बोल्ने, असहाय, गरिब तथा वृद्धवृद्धालाई सम्मान गर्ने बानीका कारण उपल्लो मुस्ताङमा लोकप्रिय थिए । उनलाई मुस्ताङी जनताले गहनाका रुपमा लिएका थिए ।
उनको मृत्युपछि मुस्ताङी जनताले दुःख व्यक्त गर्दै शोक मनाइरहेको उनका भान्जा ज्ञानेन्द्रले बताए । उनका अनुसार पूर्वराजा विष्ट पूर्वरानी सिटोल पलबर विष्ट, पूर्वराजकुमार जिग्मे सिंगी पलबर विष्ट, पूर्वराजकुमारी र नातिनातिनीसहित ७ जनाको परिवार गोरखा भूकम्पले दरवारमा क्षति पु¥याएपछि मुस्ताङ छोडेर काठमाडौंको बौद्धमा बस्दै आएका थिए । उनको अन्तिम दाहसस्कार बौद्ध परम्पराअनुसार सोमबार हुने परिवारले जनाएको छ ।
मुलुकमा गणतन्त्र स्थापनसँगै सत्ता छाडेका उनको दरवार पुनर्निर्माणको काम भइरहेको छ । मुस्ताङी जनताले उनको दरवारको पुनर्निर्माणलाई तिब्रता दिइरहेको अवस्थामा पूर्वाराजाको निधनले मुस्ताङी जनताले आफ्नो गहना अभिभावक गुमाउनु परेको बताएका छन् ।
मुस्ताङका बासिन्दाले सत्ता त्यागे पनि विष्टलाई पूर्वराजा नभई ‘राजा’ (स्थानीय भाषामा ग्याल्पो) नै भन्दै आएका थिए । मुलुकमा गणतन्त्र आएपछि काठमाडौंबाट हेलिकोप्टर लिएर सरकारका तर्फबाट तत्कालीन गृहमन्त्री वामदेव गौतमले विष्टको राजा पदवी खोसिएको र सबै सरकारी सुविधा कटौती भएको पत्र बुझाएका थिए । त्यसपछि पनि उनलाई मुस्ताङका जनताले राजाका रुपमा राखे पनि सकृय रुपमा भने उनले आफ्नो बुढ्यौलीका कारण देखाउँदै निष्कृय भएको उनका भान्जा ज्ञानेन्द्रले जानकारी दिए ।
मुलुक गणतन्त्रमा गएपछि मुस्ताङी राजाको औपचारिक पदवी र उनले पाउने पाँच हजार रुपैयाँ भत्ता पनि खोसिएको थियो । तर सांस्कृतिक रुपमा यो पदलाई स्थानीयले त्यागेका छैनन् । राजाले दरवार छाडेर काठमाडौंमा बस्दै आएपनि मुस्ताङी जनता कतै बाहिर शुभ काममा जानु पर्दा दरबार अगाडि खादा चढाएर मात्रै आफ्नो काममा हिड्दै आएका छन् । उनका एकमात्र छोराको ८ वर्षकै उमेरमा निधन भएपछि उनले दाइका छोरालाई धर्मपुत्रको रुपमा पालेर जिग्मे सिंगी पलवर विष्टलाई युवराज घोषणा गरेका थिए ।
मुस्ताङी राजा ओंगल जिग्मे पलवरका तीन छोरा थिए । उनले जेठा छोरा आंगुन बांदी न्यांबो पलवरलाई राजा बनाउँदै २०१२ सालमा गद्दी त्यागे । तर राजा बनेको तीन वर्षमै २०१५ सालमा उनको निधन भयो । त्यसपछि फेरि बुबा ओंगल नै राजा भए । त्यसको ६ वर्षमा उनको पनि निधन भयो । त्यसपछि उनका कान्छा छोरा जिग्मे पलवर विष्ट २०२१ सालमा राजा बनेका थिए । माहिला छोरा चाराङ स्याप्टुङ विष्ट औतारी लामा बौद्ध धर्मअनुसार गृहस्थी जीवन त्याग गरी चाराङ गुम्बा सम्हाली बस्दै आएका छन् ।
No comments:
Post a Comment