Tuesday, October 4, 2016

गुरुप्रसादलाई झिकाउ र कारबाही गर

मुस्ताङ साप्ताहिक/मुस्ताङ

शिक्षकबाट विद्यार्थी बालिका यौन शोषणमा परेको यतिका समय बितिसक्दा पनि सरोकारवाला निकायले पीडक शिक्षकलाई कारबाहीको कुनै पहल नगरेको भन्दै यहाँका स्थानियले जिल्ला शिक्षा कार्यालय मुस्ताङको गत आश्विन १६ गते एक डेलिगेशन मार्फत ध्यानाकर्षण गराएका छन् ।
पीडित पिडामा बस्नुपर्ने र आरोपित आफ्नो पेशागत मर्यादालाई समेत बेवास्ता गरी खुलेआम हिड्नुले कानूनी राज्यको अवहेलना भएको भन्दै बालिकालाई यौन दुब्र्यबहार गर्ने शिक्षक गुरुप्रसादलाई तुरुन्त शिक्षा कार्यालयमा झिकाई सत्य तथ्य बुझि कारबाही गरिनुपर्ने स्थानियले माग गरेका छन् ।
स्थानियले कहिँ कतैबाट पीडकलाई उन्मुक्ति दिने र पीडित माथि झन पिडा थोपर्ने काम गरिएमा आफुहरुलाई मान्य नहुने चेतावनी दिएका छन् ।   
उक्त डेलिगेशन टोलीले गरेको ध्यानाकर्षणको जवाफ दिँदै जिल्ला शिक्षा अधिकारी केशरीरमण न्यौपानले पीडित बालिकालाई क्षतिपूर्ति, शिक्षा र संरक्षण लगायतका अधिकार दिलाउन र घटनाका आरोपित शिक्षक गुरुप्रसादलाई  कारबाही गर्न आफुले कुनै कसर बाँकी नराख्ने बताए । साथै उनले सो घटना राष्ट्रिय मानव अधिकार आयोगको छानविनमा रहेकोले आफुले आयोगलाई सघाउँदै आयोगको निर्णय पर्खेको र आयोगले जस्तोसुकै निर्णय गरेतापनि आफ्नो तर्फबाट विभागिय कारबाही गर्ने जनाएका छन् ।
छुसाङको जननर्मल आवासीय प्राविमा अध्ययनरत एक छात्रा बिद्यालयकै प्रधानाध्यापक द्धारा बलात्कृत भएको सनसनीपूर्ण समाचार प्रकाशमा आएको थियो ।
डेलिगेशन टोलीमा ढुम्बा, ठिनी, पुथाङ एयरपोर्ट र स्याङका आमा समुहरुको सहभागिता रहेको थियो ।  

Monday, October 3, 2016

पशुसेवा कार्यालयका डा. बर्मा विरुद्ध अख्तियारमा उजुरी

केशव बि.क.
मुस्ताङ १७ आश्विन

    जिल्ला पशुसेवा कार्यालय मुस्ताङका वरिष्ठ पशु विकास अधिकृत डा. नन्दलाल बर्मा विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय पोखरामा उजुरी परेको छ । चाडपर्वको अवसर पारेर जिल्लाबाट निर्यात हुने भेडाच्याङग्रामा घोटला गरेको भन्दै अख्तियारमा उजुरी परेको हो । 
  डा. बर्माले भेडाच्याङग्राको भेटनरी प्रमाणीकरण गरी प्रति भेडा १५ रुपैयाँका दरले शुल्क लिई ब्यापारीलाई मलेप रसिद नदिएको भन्दै सिन्धुपाल्चोकका भेडाच्याङग्रा ब्यापारी शेरबहादुर स्याङवोले जिल्ला प्रशासन कार्यालय मुस्ताङ मार्फत अख्तियारमा उजुरी दिएका हुन् ।
    हामीले ५०० वटा भेडाच्याङग्रा खरिद गरी जोमसोम ल्याई पशुसेवा कार्यालय जोमसोमका प्रमुख डा. नन्दलाल बर्मा संग भेटनरी प्रमाणीकरण गरी प्रतिगोटा भेडाच्याङग्रा रु. १५ का दरले चेकजाँच खर्च भनि राजस्व रकम बुझायौँ र हामी भेडाच्याङग्रा लिएर झ¥यौँ । म्याग्दी जिल्लामा पुगेपछि प्रहरीले हामीलाई राजस्व तिरेको रसिद देखाएपछि मात्र च्याङग्रा लैजान दिने भन्दै रोक्यो र हामी पुनः रसिद लिन पशुसेवा कार्यालय जोमसोम फर्कियौँ । रसिद नदिएको बारे बुझ्दा हामी ठगिएको महशुस गरी अख्तियारमा उजुरी दियौँ । भेडाच्याङग्रा ब्यापारी स्याङवोले भने ।
    डा. बर्माले जिल्लाबाट बाहिरिने भेडाच्याङग्राको भेटनरी प्रमाणीकरण बापतको रकम लिई सोही दिन बिहानै पोखरा झेरेको र कार्यालयका अन्य कर्मचारीलाई आफुले तिरेको राजस्वको मलेप रसिद माग्दा हाकिम सावले गरेको कामको यहाँ रेकर्ड छैन बिना रेकर्ड हामीले रसिद दिन सक्दैनौँ भनि पठाएको स्याङवोले बताएका छन् ।
    उनीहरुले डा. बर्मालाई कारबाही गरी आफुले तिरेको रकम दिलाई पाउँ भनि अख्तियार दुरुपयोग अनुसन्धान आयोलाई अनुरोध गरेका छन् । डा. बर्माले भने स्वास्थ्य परिक्षण गर्ने काम आफ्नो क्षेत्राधिकार भित्र पर्ने भएकाले गरेको र कुनैपनि आर्थिक लेनदेन नगरेकाले आफुलाई सुनियोजित रुपमा फसाउन खोजिएको प्रतिक्रिया दिए । 

    सिन्धुपाल्चोक जिल्ला गोल्छा गाविस ४ का शेरबहादुर स्याङवो र सोही जिल्ला मांखा गाविस ४ का मेख बहादुर नेपालले लोमान्थाङका नुर्वु गुरुङ र मुक्तिनाथका ध्याप्के गुरुङबाट २५०÷२५० गरी ५०० गोटा भेडाच्याङग्रा किनेका थिए ।
त्यसैगरी मुस्ताङबाट बाहिरिएका भेडाच्याङग्राको स्वास्थ्य परीक्षण बिनै निरोगिताको प्रमाणपत्र जारी भएको छ । मुस्ताङको पशुसेवा कार्यालयले दसै तिहारका लागि निकासी भएका भेडाच्याङग्राको स्वास्थ्य परीक्षण बिनै निरोगिताको प्रमाणपत्र दिएको हो ।
एक हप्ता पछिको मिति राखेर निरोगिताको प्रमाणपत्र दिइरहेका कर्मचारीहरुले रसिद नदिएको र मनपरी शुल्क लिएको ब्यवसायीले गुनासो गरेका छन् ।
एक पटक जारी भएको निरोगिताको प्रमाणपत्र ३ दिनका लागि मात्र लागु हुन्छ । त्यसपछि सम्बन्धित ठाउँमा पुगेर अर्को प्रमाणपत्र बनाउनुपर्छ । पशु ढुवानी मापदण्डको विपरीत जारी भएको निरोगिताको पमाणपत्र नक्कली भएको पुष्टि भएको छ ।
फोटोकपी पेपरमा भएको निरोगिताको प्रमाणपत्र मान्य नहुने ऐनमा उल्लेख छ । सरकारले तोकेको भन्दा फरक ढाँचा र फोटोकपीको पानामा प्रमाणपत्र जारी भएको छ । पहेलो रंगको प्रमाणपत्रमा पशुको उत्पत्ती, निकासी हुने माध्यम, लैजाने ठाउँ, संख्या, फर्म लगायतका विवरण उल्लेख गर्नुपर्छ ।
ठूलो संख्यामा रहेका भेडाच्याङग्राको एकएक गरेर स्वास्थ्य परिक्षण गर्न सम्भव नभएको पशु सेवाका कर्मचारीले तर्क गरेका छन् । पशु चिकित्सक उत्तमकुमार नेपालले आफ्नो नजरमा परेसम्मका भेडाच्याङग्राको स्वास्थ्य परिक्षण गरेर मात्रै निरोगिताको प्रमाणपत्र दिएको दावी गरेका छन् ।  

दुई दिनमा २ लाख भन्दा बढी राजस्व संकलन

     विकास बि.क,/मुस्ताङ
हिमाली जिल्ला मुस्ताङमा दुई दिनमा २ लाख भन्दा बढि राजस्व संकलन भएको छ । आश्विन १४ र १५ गते जोमसोममा संचालित कर शिविरमा २ लाख ५० हजार राजस्व संकलन भएको कोष तथा लेखा नियन्त्रक कार्यालयले जनाएको छ ।    
 शिविरमा २२ वटा नयाँ प्यान दर्ता, १४० फर्मको कर विवरण संकलन, १५ वटा मदिरा इजाजत बाट ७८ हजार र ५ वटा मदिरा नविकरणबाट ६० हजार गरी राजस्व संकलन गरिएको कोष नियन्त्रक गोकर्णराज सुयलले जानकारी दिए ।
    जिल्लाका कतिपय ब्यवसायी आन्तरिक राजस्व कार्यालय पोखरा गएर राजस्व तिरिसकेको र उपल्लो मुस्ताङका घमी, चराङ, लोमान्थाङका १२ ब्यवसायी प्यान र मदिरा इजाजत लिएको कोष नियन्त्रक सुयलले बताए ।
जिल्लामा रहेका उद्योगी ब्यवसायीलाई सहज रुपमा करको दायरामा ल्याउन कोष तथा लेखा नियन्त्रक कार्यालय मुस्ताङ र उद्योग वाणिज्य संघ मुस्ताङको सहयोगमा आन्तरिक राजस्व कार्यालयका कर अधिकृत सूर्य सुर्खानीको नेतृत्वमा ४ जनाको टोलीले कोष तथा लेखा नियन्त्रक कार्यालय जोमसोममा कर शिविर संचालन गरेको उद्योग वाणिज्य संघ मुस्ताङका अध्यक्ष खगेन्द्र तुलाचनले जानकारी दिए ।

Sunday, October 2, 2016

गुरुप्रसादलाई कारबाही होला ?

केशव बि.क./मुस्ताङ

आफ्नै विद्यार्थीलाई यौन शोषण गरेको घटनाका दोषी गुरुप्रसादलाई कारबाही होला ? जनमानसमा चासो र चिन्ताको विषय बनेको छ । मुस्ताङ जिल्लाको छुसाङ गाविस स्थित जननर्मल आवासिय प्राविका तत्कालिन प्रअले १२ वर्षिय छात्रालाई यौन दुव्र्यबहार गरेको घटना सार्वजनिक भएको यतिका समय वितिसक्दा पनि सम्बन्धीत निकाय कानमा तेल हालेर बसेको छ ।
पीडित छात्रालाई महिला तथा बालबालिका कार्यालय मुस्ताङले आश्रय दिएर राखेको महिना दिन भैसक्दा पनि दोषीलाई कुनै पनि कारबाहीको दयरामा नल्याउनुले सम्बन्धीत सरोकारवाला निकायमाथि प्रश्न चिन्ह खडा भएको छ । पीडित कैदी जस्तै बस्नु र दोषी खुलेआम हिड्नुले पिडितलाई झन पिडा दिने र दोषीलाई उन्मुक्ति दिने काम भैरहेको स्थानियले बताएका छन् ।
जिल्ला बालकल्याण समितिका अध्यक्ष प्रमुख जिल्ला अधिकारी हुने ब्यवस्था भएपनि जिल्ला भित्र बालिका माथि भएको जघन्य यौन अवराध उपर बालकल्याण समितिका अध्यक्ष प्रजिअ तथा अर्धन्यायिक निकाय जिल्ला प्रशासन कार्यालयले दोषीलाई कारबाहीको प्रक्रिया अगाडी बढाउन नसक्नुले घटनालाई प्रश्रय दिने कार्य भैरहेको स्थानियको आरोप छ ।   
छुसाङको जननर्मल आवासीय प्राविमा अध्ययनरत एक छात्रा बिद्यालयकै प्रधानाध्यापक द्धारा बलात्कृत भएको सनसनीपूर्ण समाचार प्रकाशमा आएको थियो । समाचार श्रोतका अनुसार १२ वर्षिया पीडित बालिका आर्थिक अवस्था कमजोर हुँदा छुसाङको लमजुङ होटलका सन्चालक आफन्त पर्ने भएकाले अध्ययनका लागि लमजुङ देखी छुसाङ पुगेकी थिईन् । २०७१ सालको फागुन महिनामा २ कक्षामा भर्ना भएर निशुल्क अध्ययन गरिरहेकी पीडित छात्रालाई सोही विद्यालयका प्रधानाध्यापक गुरु प्रसाद सापकोटाले यौन शोषण गरेको उनको आरोप छ । कोठामा बोलाएर शरीरमा तेल लगाईदिन भन्दै पटक पटक यौन शोषण गर्ने गरेको पीडित छात्राले बताईन् ।
पीडित बालिकाका अनुसार प्रधानाध्यापक सापकोटाको कुकृत्यको विरोध गर्दा अहिले सम्म विद्यालयमा पढेको पैसा तिर भनेर धम्काउने गरेकोले २०७२ साल जेठमा लमजुङ फर्केकी थिईन् । प्रधानाध्यापक सापकोटा छुसाङबाट लोमान्थाङको राष्ट्रिय निमाविमा सरुवा भएपछि पीडित छात्रा लमजुङ गएको तीन महिना पछी २०७२ भदौ १ गते लमजुङ देखि पुनः सोही विद्यालयमा फर्किइ अध्ययन गरिरहेकी छन् । उनको फिस्टेल अस्पतालमा उपचार गराइएको बताईएको छ । पीडित छात्राले राष्ट्रिय मानव अधिकार आयोग क्षेत्रिय कार्यालय पोखरामा उजुरी दिँदै आफ्नो उपचारको सम्पूर्ण क्षतिपूर्ति सहित पीडक शिक्षकलाई कारबाहीको माग गरेको श्रोतले बताएको छ ।
पीडित बालिका एक वर्ष भन्दा बढी समय चूप लागेर बस्नु अनि हाल आएर मात्र आफु यौन उत्पीडनमा परेको कुरा सार्वजनिक गर्नु पछिको रहस्य खुल्न आएको छैन । आरोपी पीडक सापकोटा भने केही वर्ष अघि सहकर्मी शिक्षिकालाई यौन दुब्र्यबहार गरेको घटनामा पनि मुछिएका थिए ।

पशुसेवाका कार्यालय मुस्ताङद्धारा स्वास्थ्य परिक्षण बिना निरोगिताको प्रमाणपत्र

सन्तोष गौतम/म्याग्दी

मुस्ताङबाट बाहिरिएका भेडाच्याङग्राको स्वास्थ्य परीक्षण बिनै निरोगिताको प्रमाणपत्र जारी भएको छ । मुस्ताङको पशु सेवा कार्यालयले दसै तिहारका लागि निकासी भएका भेडाच्याङग्राको स्वास्थ्य परीक्षण बिनै निरोगिताको प्रमाणपत्र दिएको हो । एक हप्ता पछिको मिति राखेर निरोगिताको प्रमाणपत्र दिइरहेका कर्मचारीहरुले रसिद नदिएको र मनपरी शुल्क लिएको ब्यवसायीले गुनासो गरेका छन् ।
पशु चिकित्सक नन्दलाल बर्माको हस्ताक्षर र छाप रहेको प्रमाणपत्र लिन प्रतिगोटा १५ रुपैयाका दरले पैसा तिरेका भेडाच्याङग्रा ब्यवसायी पूर्णबहादुर सुवेदीले बताए । भेडाच्याङग्राको स्वास्थ्य परिक्षण नगरीकन प्रमाणपत्र दिएका कर्मचारीलाई रसीद माग्दा उल्टै थर्काएर पठाए सुवेदीले भने । जोमसोममा नरेन्द्र रोकाबाट बागलुङका टेकबहादुर पुनले खरिद गरेर असोज १३ गते बेनी ल्याएको १७० वटा भेडाच्याङग्राको निरोगिताको प्रमाणपत्रमा २०७३ असोज १५ गतेको मिति राखिएको छ ।
एक पटक जारी भएको निरोगिताको प्रमाणपत्र ३ दिनका लागि मात्र लागु हुन्छ । त्यसपछि सम्बन्धित ठाउँमा पुगेर अर्को प्रमाणपत्र बनाउनुपर्छ । पशु ढुवानी मापदण्डको विपरीत जारी भएको निरोगिताको पमाणपत्र नक्कली भएको पुष्टि भएको छ ।

फोटोकपी पेपरमा भएको निरोगिताको प्रमाणपत्र मान्य नहुने ऐनमा उल्लेख छ । सरकारले तोकेको भन्दा फरक ढाँचा र फोटोकपीको पानामा प्रमाणपत्र जारी भएको छ । पहेलो रंगको प्रमाणपत्रमा पशुको उत्पत्ती, निकासी हुने माध्यम, लैजाने ठाउँ, संख्या, फर्म लगायतका विवरण उल्लेख गर्नुपर्छ ।
ठूलो संख्यामा रहेका भेडाच्याङग्राको एकएक गरेर स्वास्थ्य परिक्षण गर्न सम्भव नभएको पशु सेवाका कर्मचारीले तर्क गरेका छन् । पशु चिकित्सक उत्तमकुमार नेपालले आफ्नो नजरमा परेसम्मका भेडाच्याङग्राको स्वास्थ्य परिक्षण गरेर मात्रै निरोगिताको प्रमाणपत्र दिएको दावी गरे ।
मुस्ताङबाट स्वास्थ्य परिक्षण नगरी रोगी भेडाच्याङग्रा निकासी गर्न दिईदाँ अन्य जिल्लामा रोग फैलने गरेको छ । मुस्ताङबाट आएका भेडाच्याङग्राबाट म्याग्दीका कृषकले पालेका संयौ भेडा, बाख्रा, गाईभैसी, गोरुमा खोरेत र पिपीआर रोग फैलने गरेको छ ।
ब्यायवसायीको गुनासो र उजुरी परेपछि छानविन भैरहेको जिल्ला प्रशासन कार्यालय मुस्ताङले जनाएको छ । प्रजिअ गणेशबहादुर अधिकारीले निरोगिताको प्रमाणपत्रको विषयमा गुनासो आएकाले छानवीन अघि बढाइएको बताए ।
यस वर्षको दसै र तिहारका लागि मुस्ताङबाट बिस हजार भेडाच्याङग्रा बाहिरीने अनुमान छ । यस वर्ष भेडाच्याङग्राको खरिद मूल्य गत वर्षको तुलनामा प्रतिगोटा तिन हजार रुपैयाका दरले बढेको ब्यवसायी अमरबहादुर खत्रीले बताए । म्याग्दीमा प्रतिगोटा भेडा २२ र च्याङग्रा २४ हजारका दरले बिक्री भैरहेको छ ।
मुस्ताङबाट म्याग्दी, पर्वत, कास्की, काठमाडौ, चितवन लगायतका जिल्लामा भेडाच्याङग्रा निकासी हुने गरेका छन् । हिमाली हावापानी र चिसो वातावरणमा हुर्कीएका भेडाच्याङग्राको मासु स्वादीलो मानिने भएकाले दसै तिहारको बेलामा यसको खपत र बिक्री बढ्ने गरेको छ ।
असोज १५ मा रातोपाटीमा प्रकाशित

Saturday, October 1, 2016

ओमविकासको प्रतिमा अनावरण– को हुन् ओमविकास गौचन ?

केशव बि.क./मुस्ताङ
 
नेपाल कम्युनिष्ट पार्टी एमाले जिल्ला कमिटी मुस्ताङको आयोजनामा कोबाङको खन्तीमा नव निर्मित समाजसेवी तथा पूर्व सांसद स्वर्गीय ओम विकास गौचनको प्रतिमाको आश्विन १५ गते शनिबार एक समारोहका विच अनावरण गरिएको छ ।    वि.सं. २०४८ सालको आम निर्वाचनबाट एमाले मुस्ताङको प्रतिनिधित्व गर्दै सांसदमा निर्वाचित भएका स्वर्गीय ओमविकास गौचनको वि.सं. २०६३ चैत्र ३० गते विभत्स हत्या भएको थियो । स्वर्गीय गौचनले कम्युनिष्ट आन्दोलन र जिल्लामा पु¥याएको योगदानको कदर गर्दै गौचनको स्मृतिमा नेकपा एमाले मुस्ताङले कोबाङ गाविसको खन्तीमा उनको प्रतिमा स्थापना गरेको छ ।
    मुस्ताङका सांसद श्रीमाया थकाली र सांसद महेन्द्र शेरचनको निर्वाचन क्षेत्र विकास कोषको ०७२ र ०७३ को ६ लाख ६५ हजार रुपैयाँको लगानीमा सो प्रतिमा निर्माण गरिएको नेकपा एमाले मुस्ताङका अध्यक्ष चन्द्रमोहन गौचनले जानकारी दिए ।
 प्रतिमाको अनावरण गर्दै नेकपा एमाले पोलिटब्यूरो सदस्य एवं प्रदेश नं. ४ का सहसंयोजक गणेश तिमिल्सिनाले समाज परिवर्तनमा ओमविकासले पु¥याएको योगदानको स्मरण गर्दै समग्र कम्युनिष्ट आन्दोलन र मुस्ताङको परिवर्तनमा दिएको देनको प्रशंसा गरे ।
    त्यसैगरी सांसद श्रीमाया थकालीले जिवन संघर्ष र संघर्ष जिवन हो भन्ने पाठ सिकाएका ओमविकासको आफ्नै ठाउँमा विभत्स हत्या हुनु दुःखदायी भएको भन्दै ओमविकास गौचन सम्पूर्ण मुस्ताङी जनताको मनमष्तिकमा बास बस्न सफल भएको बताईन् ।
प्रतिमा अनावरण कार्यक्रममा बोल्दै सांसद महेन्द्र शेरचनले ओमविकास नेकपा एमालेको मात्र नभई समग्र देशको नेता भएको भन्दै भद्र, शालिन, परिवर्तन र विकासवादी ब्यक्तित्व भएकाले उनले देखाएको बाटोमा सदैव अगाडी बढनुपर्ने बताए । त्यस्तै नेकपा एमाले मुस्ताङका अध्यक्ष चन्द्र्रमोहन गौचनले सबैका प्रेरणाका स्रोत ओमविकासको थकालीको पवित्र भूमि कोवाङमा विभत्स हत्या गरिनु दुभाग्यपूर्ण भएको भन्दै त्यस्ता अपारधिलाई संरक्षण गर्न नहुने र आगामी दिनमा त्यस्ता घटना दोहोरिन नदिन सबै सतर्क रहन आग्रह गरे । 
कार्यक्रममा पूर्व सभासद टसी साङमो गुरुङसेनी, नेकपा माओवादी केन्द्रका सुक बहादुर विक, पूर्व जिविस सभापति आनन्दलाल शेरचन, दलित संजालका अध्यक्ष बुद्धिसिंह नेपाली, दिपज्योती महिला समुहकी भीमकुमारी नेपाली, कोवाङका समाजसेवी गौतम शेरचन, समाजसेवी एवं ओमविकासका सहपाठी जगत बहादुर गौचन, पोखरा लायन्स क्लव अफ ब्यूटिसिटीका अध्यक्ष चिनु गुरुङ र ओमविकासका सुपुत्री सवि शेरचनले मन्तव्य व्यक्त गरेका थिए ।

    सो अवसरमा स्वर्गीय ओमविकासको परिवारको तर्फबाट मुस्ताङबाट एसएलसी परिक्षामा उत्कृष्ट अंक ल्याउने छात्रछात्रालाई अक्षयकोषको ब्याजबाट पुरस्कार दिने घोषणा सहित नेकपा एमाले मुस्ताङको कोषमा ३ लाख रुपैयाँ जम्मा गर्ने सवि शेरचनले बताईन् । त्यस्तै चिनु गुरुङले ओमविकासको प्रतिमाको संरक्षण र प्रतिमा आसपसको क्षेत्रमा उद्यान बनाउनको लागि क्लवको तर्फबाट आर्थिक भौतिक तथा नैतिक सहयोग गर्ने उल्लेख गरिन् ।
    प्रतिमा अनावरण कार्यक्रम एमाले अध्यक्ष चन्द्रमोहन गौचनको अध्यक्षता र सचिव आस बहादुर थकालीको संचालनमा सम्पन्न भएको थियो ।

 को हुन् ओमविकास गौचन ?
 
    मुस्ताङ जिल्लाको कुञ्जो गाविस अन्तर्गत ताक्लुङ गाउँमा वि.सं. १९९४÷१÷५ गते जन्म भएका स्व. मातापिता दलबहादुर गौचन र तीलकुमारी गौचनका सुपुत्र हुन् । उनका पिता स्वर्गीय दलबहादुर गौचन ताक्लुङ गाउँको मुखिया र पञ्चायत कालका प्रधानपञ्च थिए र स्वर्गीय माता तीलकुमारी एउटा असल गृहणी र विकासप्रेमी अनमोल प्रेरणाको श्रोत थिईन् ।
    आफु जन्मे हुर्केको गाउँ ताक्लुङ र बाग्लुङ जिल्लाबाट प्राथमिक एवं निम्न माध्यामिक शिक्षा लिएका ओमविकासले काठमाण्डौँको आनन्दकुटी विद्यापीठबाट वि.सं. २०१८ सालमा एसएलसी उतीर्ण गरेका थिए । त्यसपश्चात उनले विए र विएड गरेपछि शिक्षण पेशा अँगाल्दै सोलुखुम्बु, म्याग्दी र मुस्ताङ जिल्लाका विभिन्न माध्यामिक विद्यालयहरुमा विभिन्न समयमा प्रधानाध्यापक भएर शिक्षाको ज्योती फैलाउने काम गरेका थिए ।
    केही समय शिक्षण पेशामा सक्रिय भएपछि उनी शिक्षण पेशालाई छोडेर गाउँ फर्किई करिब १ वर्ष आफ्नै गाउँमा कृषि कार्यहरु गर्ने र कृषकलाई कृषि पेशामा समाहित गर्दै कृषि सुधार गर्ने कार्यमा संलग्न भए । वि.सं. २०२६ साल फागुनमा पोखरा निवासी स्वर्गीय थरप्रसाद शेरचन र पदमकुमारी शेरचनको जेठी सुपुत्री देउकुमारी शेरचनसंग विवाह भएको थियो । १ छोरा र ३ छोरी गरी ४ सन्तानको जन्म भयो ।
    मुस्ताङमा कृषि विकासमा टेवा पु¥याउन ताक्लुङ गाउँबाट कोबाङ गाविस अन्तर्गत सौरु गाउँमा स्याउ फार्म संचालन गर्ने हेतुले बसाई सरेका थिए । सौरु गाउँमा ३५ रोपनी जग्गामा स्याउ फार्म संचालन गरी मुस्ताङको एउटा नमुना फार्मको रुपमा विकास गरेका थिए ।
    साधारण जीवन बिताउने उनी मृदुभाषी, परिश्रमी, लगनशिल र कर्मठ एमाले कार्यकर्ता थिए । शिक्षा एवं पठनपाठनका क्षेत्रमा विशेष कौशलता र प्रतिभा उनमा थियो । उदार भावना विकासवादी र परिवर्तनशील ओमविकास आफ्नो राजनैतिक जीवनमा संघर्ष गर्दै वि.सं. २०४८ सालको आम चुनावबाट नेकपा एमाले मुस्ताङको प्रतिनिधित्व गर्दै सांसदमा भारी मतकासाथ निर्वाचित भए । स्वच्छ छवि र लोकप्रिय भद्र शालिन ब्यक्तित्व भएका कारण ३५ हजार रुपैयाँ चुनावी खर्चमा तत्कालिन चुनाव जितेका थिए ।
    अति साधारण मूर्धन्य व्यक्तित्व, परिश्रमी र सदा काममा जुटिरहने, सबैप्रति समान व्यवहार गर्ने, गरिब दीन दुःखीहरुलाई हृदयदेखि नै माया गर्ने, सत्य र सदाचारका धरोहर आदारणीय ब्यक्तित्व मुस्ताङका कम्युनिष्ट आन्दोलनका अगुवा ओमविकास गौचनले सम्पूर्ण मुस्ताङवासीमा चेतना अभिवृद्धि गर्दै मार्गनिर्देशन गरिरहेका थिए ।
    मुस्ताङका अग्रज वरिष्ठ समाजसेवी वुद्धिजिवि ओमविकासलाई समाजको विकास र परिवर्तन नचाँहाने अपराधिक मनोवृत्तिका जल्लादहरुले बाँकी राखेनन्, अन्तत आफ्नै निवासमा वि.सं. २०६३ चैत्र ३० गते दुस्मनको क्रुरुरतापूर्ण हत्या स्विकार्नु प¥यो ।    

नेकपा एमाले मुस्ताङको अध्यक्षमा गौचन

विकास बि.क.
मुस्ताङ, १५ आश्विन
   

नेपाल कम्युनिष्ट पार्टी एमाले जिल्ला कमिटी मुस्ताङको अध्यक्षमा पुनः चन्द्रमोहन गौचन चयन भएका छन् । आश्विन १४ गते भएको नेकपा एमाले मुस्ताङको छैँटौँ जिल्ला अधिवेशनले गौचनको नेतृत्वमा ४३ सदस्यिय जिल्ला कमिटी गठन गरेको छ । पार्टीको पाँचौ जिल्ला अधिवेशन बाट पनि गौचन नेकपा एमालेको जिल्ला अध्यक्षमा निर्वाचित भएका थिए । 


    कमिटीको उपाध्यक्षमा देव बहादुर गुरुङ, सचिवमा आस बहादुर थकाली, सहसचिवमा आसमाया परियार चयन भएका छन् । त्यस्तै सदस्यहरुमा नविन भट्टचन, टसी स्याङमो गुरुङसेनी, तिलक बि.क, भूपेन्द्र शेरचन, छाङ रिङजिन गुरुङ, हेमन्त शेरचन, राम प्रसाद विक, रत्न गोतामे, रत्न विक, दिपसागर थकाली, कुल बहादुर थकाली, विशाल शेरचन, तेजेन्द्र गौचन, नरप्रसाद हिराचन, दिपक लालचन, छेप्तेन गुरुङ, कुंगा तेन्जीन गुरुङ, खाण्डो गुरुङ रहेका छन् ।

    त्यसैगरी सदस्यहरुमै टसी ढुण्डुक गुरुङ, पासाङ गुरुङ, आङज्यू गुरुङ, टसी ओङदी गुरुङ, टसी नोर्वु गुरुङ, छाङ आङता गुरुङ, विश्व पाइजा, जमुना थकाली, मिम कुमारी शेरचन, भिमकुमारी नेपाली, शर्मिला गुरुङ, सोनाम छिनी गुरुङ, विनोद परियार, सुनिल परियार, न्हु आङजु गुरुङ, रमेश भट्टचन, महेन्द्र शेरचन, रमेश गुरुङ, विजय थकाली, झेवाङ तेन्जिङ गुरुङ र शेरबहादुर गुरुङ रहेका छन् ।

    पार्टीको लेखा परिषद कमिटीको अध्यक्षमा मिमकुमारी शेरचन, उपाध्यक्षमा सुन्देवी रसाईली र सचिवमा आइतलाल थकाली चयन भएका छन् । त्यस्तै जिल्ला निर्वाचन कमिटीको अध्यक्षमा शेर बहादुर गुरुङ, उपाध्यक्षमा सीमा नेपाली र सचिवमा वुद्धिसिंह नेपाली रहेका छन् ।