Friday, September 30, 2016

पशु कार्यालयका डा. बर्मा विरुद्ध अख्तियारमा उजुरी

केशव बि.क.
मुस्ताङ १७ आश्विन

    जिल्ला पशुसेवा कार्यालय मुस्ताङका वरिष्ठ पशु विकास अधिकृत डा. नन्दलाल बर्मा विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय पोखरामा उजुरी परेको छ । चाडपर्वको अवसर पारेर जिल्लाबाट निर्यात हुने भेडाच्याङग्रामा घोटला गरेको भन्दै अख्तियारमा उजुरी परेको हो । 
  डा. बर्माले भेडाच्याङग्राको भेटनरी प्रमाणीकरण गरी प्रति भेडा १५ रुपैयाँका दरले शुल्क लिई ब्यापारीलाई मलेप रसिद नदिएको भन्दै सिन्धुपाल्चोकका भेडाच्याङग्रा ब्यापारी शेरबहादुर स्याङवोले जिल्ला प्रशासन कार्यालय मुस्ताङ मार्फत अख्तियारमा उजुरी दिएका हुन् ।
    हामीले ५०० वटा भेडाच्याङग्रा खरिद गरी जोमसोम ल्याई पशुसेवा कार्यालय जोमसोमका प्रमुख डा. नन्दलाल बर्मा संग भेटनरी प्रमाणीकरण गरी प्रतिगोटा भेडाच्याङग्रा रु. १५ का दरले चेकजाँच खर्च भनि राजस्व रकम बुझायौँ र हामी भेडाच्याङग्रा लिएर झ¥यौँ । म्याग्दी जिल्लामा पुगेपछि प्रहरीले हामीलाई राजस्व तिरेको रसिद देखाएपछि मात्र च्याङग्रा लैजान दिने भन्दै रोक्यो र हामी पुनः रसिद लिन पशुसेवा कार्यालय जोमसोम फर्कियौँ । रसिद नदिएको बारे बुझ्दा हामी ठगिएको महशुस गरी अख्तियारमा उजुरी दियौँ । भेडाच्याङग्रा ब्यापारी स्याङवोले भने ।
    डा. बर्माले जिल्लाबाट बाहिरिने भेडाच्याङग्राको भेटनरी प्रमाणीकरण बापतको रकम लिई सोही दिन बिहानै पोखरा झेरेको र कार्यालयका अन्य कर्मचारीलाई आफुले तिरेको राजस्वको मलेप रसिद माग्दा हाकिम सावले गरेको कामको यहाँ रेकर्ड छैन बिना रेकर्ड हामीले रसिद दिन सक्दैनौँ भनि पठाएको स्याङवोले बताएका छन् ।
    उनीहरुले डा. बर्मालाई कारबाही गरी आफुले तिरेको रकम दिलाई पाउँ भनि अख्तियार दुरुपयोग अनुसन्धान आयोलाई अनुरोध गरेका छन् । डा. बर्माले भने स्वास्थ्य परिक्षण गर्ने काम आफ्नो क्षेत्राधिकार भित्र पर्ने भएकाले गरेको र कुनैपनि आर्थिक लेनदेन नगरेकाले आफुलाई सुनियोजित रुपमा फसाउन खोजिएको प्रतिक्रिया दिए ।  
   सिन्धुपाल्चोक जिल्ला गोल्छा गाविस ४ का शेरबहादुर स्याङवो र सोही जिल्ला मांखा गाविस ४ का मेख बहादुर नेपालले लोमान्थाङका नुर्वु गुरुङ र मुक्तिनाथका ध्याप्के गुरुङबाट २५०÷२५० गरी ५०० गोटा भेडाच्याङग्रा किनेका थिए ।
त्यसैगरी मुस्ताङबाट बाहिरिएका भेडाच्याङग्राको स्वास्थ्य परीक्षण बिनै निरोगिताको प्रमाणपत्र जारी भएको छ । मुस्ताङको पशुसेवा कार्यालयले दसै तिहारका लागि निकासी भएका भेडाच्याङग्राको स्वास्थ्य परीक्षण बिनै निरोगिताको प्रमाणपत्र दिएको हो ।
एक हप्ता पछिको मिति राखेर निरोगिताको प्रमाणपत्र दिइरहेका कर्मचारीहरुले रसिद नदिएको र मनपरी शुल्क लिएको ब्यवसायीले गुनासो गरेका छन् ।
एक पटक जारी भएको निरोगिताको प्रमाणपत्र ३ दिनका लागि मात्र लागु हुन्छ । त्यसपछि सम्बन्धित ठाउँमा पुगेर अर्को प्रमाणपत्र बनाउनुपर्छ । पशु ढुवानी मापदण्डको विपरीत जारी भएको निरोगिताको पमाणपत्र नक्कली भएको पुष्टि भएको छ ।
फोटोकपी पेपरमा भएको निरोगिताको प्रमाणपत्र मान्य नहुने ऐनमा उल्लेख छ । सरकारले तोकेको भन्दा फरक ढाँचा र फोटोकपीको पानामा प्रमाणपत्र जारी भएको छ । पहेलो रंगको प्रमाणपत्रमा पशुको उत्पत्ती, निकासी हुने माध्यम, लैजाने ठाउँ, संख्या, फर्म लगायतका विवरण उल्लेख गर्नुपर्छ ।
ठूलो संख्यामा रहेका भेडाच्याङग्राको एकएक गरेर स्वास्थ्य परिक्षण गर्न सम्भव नभएको पशु सेवाका कर्मचारीले तर्क गरेका छन् । पशु चिकित्सक उत्तमकुमार नेपालले आफ्नो नजरमा परेसम्मका भेडाच्याङग्राको स्वास्थ्य परिक्षण गरेर मात्रै निरोगिताको प्रमाणपत्र दिएको दावी गरेका छन् ।

No comments:

Post a Comment