Monday, February 27, 2017

नेपाल निजामति कर्मचारी युनियनको अध्यक्षमा ढकाल

    मुस्ताङ साप्ताहिक संवाददाता
नेपाल निजामति कर्मचारी युनियन (संघ) मुस्ताङको अध्यक्षमा नारायण प्रसाद ढकाल चयन भएका छन् । फाल्गुन १५ गते जोमसोममा सम्पन्न युनियन (संघ) को सातौँ जिल्ला अधिवेशनले ढकालको नेतृत्वमा १७ सदस्यीय जिल्ला कार्य समिति चयन गरेको हो ।
    युनियनको उपाध्यक्षमा नरबहादुर पुन, महिला उपाध्यक्षमा अस्मिता न्यौपाने, सचिवमा भीमराज शाही, सहसचिवमा रवि अर्याल र कोषाध्यक्षमा महेन्द्र थकाली रहेका छन् ।
    त्यसैगरी सदस्यहरुमा रामबाबु पाल, उमेश दास, दिपक कुमार शाह, गोविन्द अर्याल, तेज बहादुर नेपाली, राजेन्द्र प्रसाद सामन्त, बालकृष्ण पतानीभाट, डिलमति पुन, शोभाकान्त सुवेदी, विमल खड्का र अनिल कुमार महतो चयन भएका छन् । त्यस्तै केन्द्रिय प्रतिनिधि तर्फ पुष्पराज आचार्य र रविन्द्र तिवारी रहेको बताईएको छ । 

Sunday, February 26, 2017

मुस्ताङको स्ववियू निर्वाचनमा कस्ले मार्ला बाजी ?

  केशव वि.क
  मुस्ताङ १५ फाल्गुन

    विगत ९ वर्ष देखि रोकिएको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियू) निर्वाचनको मिति तोकिएसंगै देशभर स्ववियू निर्वाचनको रौनक छाएको छ । विगत ३ वर्ष देखि स्नातक तहको कक्षा संचालन हुँदै आएको मुस्ताङको एकमात्र आंगिक क्याम्पस जनहित बहुमुखि क्याम्पस जोमसोममा पनि पहिलो पटक स्ववियु निर्वाचन हुने भएको छ ।त्रिभुवन विश्वविद्यालय अन्तरगत संचलान गरिने स्ववियू निर्वाचनमा अनेरास्ववियू प्यानल र नेवि संघ प्यानल निर्वाचनमा उत्रिने निश्चित छ । अनेरास्ववियू प्यानलबाट ७ जना सर्वसम्मत भएको र ३ पदका लागि नेवि संघ बिच चर्काे प्रतिस्पर्धा हुने देखिएको छ ।
अनेरास्ववियूले सभापतिका लागि रविन बानिया, सचिवमा सीता श्रेष्ठ र कोषाध्यक्षमा अंकिता पुनलाई अघि सारेको छ भने नेवि संघले सभापतिमा सोयल थकाली, सचिवमा सृष्टी चौधरी र कोषाध्यक्षमा रुचिता गुरुङलाई उभ्याएको छ । सभापति, सचिव र कोषाध्यक्ष पदका लागि निर्वाचन हुने देखिएको छ । चुनावी प्रक्रिया मार्फत यी पदको सुनिश्चितताका लागि अनेरास्ववियू र नेवि संघले आआफ्नो क्षेत्रबाट कसरत गरिरहेका छन् । 
अनेरास्ववियूले सभापति सहित १० जनाको उम्मेदवारी दर्ता गराएकोमा सो प्यानलबाट समानुपातिक सदस्य तर्फ भीम कुमारी पुर्जा, सल्मा थकाली, विश्वास थकाली र खुल्ला सदस्य तर्फ ममिला किसान, रोशनी श्रेष्ठ, प्रतिक्षा परियार र रविन पाइजा सर्वसम्मत चयन भएका छन् ।
त्यसैगरी नेवि संघले सभापति सहित ३ जनाको उम्मेदवारी दर्ता गराएको छ । त्यस्तै अखिल क्रान्तीकारीले सभापति सहित ६ जनाको उम्मेदवारी दर्ता गराएकोमा दाबी बिरोधबाट ५ जना बाहिरीएको र एक जनाले उम्मेदवारी फिर्ता लिई सकेका छन् ।
आगामी फाल्गुन १८ गते देशभर एकैसाथ संचालन हुन लागेको स्ववियू निर्वाचनलाई शान्त र मर्यादित वातावरणमा सम्पन्न गराउनको लागि प्रयास गरिरहेको जनहित बहुमुखि क्याम्पसका क्याम्पस प्रमुख कर्ण बहादुर थकालीले बताए ।

उम्मेदवारी दर्ता विरुद्ध अनेरास्ववियूको प्रेस विज्ञप्ती

मुस्ताङ साप्ताहिक संवाददाता
मुस्ताङ १५ फाल्गुन

अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन जिल्ला कमिटी मुस्ताङले विद्यार्थी संगठनलाई मनोमानी ढंगले अखिल क्रान्तीकारीको प्यालनमा नाम प्रकाशन गरेको भन्दै प्रेस विज्ञप्ती जारी गरेको छ ।
मुलुकको जिम्मेवार विद्यार्थी संगठन मध्येका संगठनहरुले सांगठनिक दरिद्रता प्रर्दशन गर्दै आफुहरुलाई थाहै नदिई मनोमानी ढंगले विपरित प्यानलमा आवद्ध गराई सामाजिक अपमान÷चरित्रहत्या गरेकोमा सो संगठन प्रति आपत्ती घोर भ्रत्र्सना र खेद प्रकट गर्दै प्रेस विज्ञप्ती जारी गरेको हो । अनेरास्ववियूमा आवद्ध संगठित एवं क्रियाशिल सदस्यहरु अखिल क्रान्तीकारीको प्यानलमा सभापतिमा भीमकुमारी पुर्जा, कोषाध्यक्षमा सन्ध्या पुर्जा, समानुपातिक उपसभापतिमा पम्फा गुरुङ, सचिवमा रविन पाइजा, सदस्यमा प्रतिक्षा परियार लगायतलाई थाहै नदिई नोमिनेट गरेको र उम्मेदवारको नामावली प्रकाशन पश्चात मात्र आफुहरुलाई थाहा भएको विज्ञप्तीमा जनाइएको छ ।
प्रेस विज्ञप्ती
आगामी फाल्गुन १८ गते हुन गैरहेको स्ववियू निर्वाचनको लागि जनहित बहुमुखि क्याम्पस जोमसोममा अनेरास्ववियूको प्यानलले दर्ता नं. १ मा उम्मेदवारी दर्ता गराएको र त्यसको केही समय पश्चात अखिल क्रान्तीकारीले दर्ता नं. २ र नेवि संघले दर्ता नं. ३ मा उम्मेदवारी दर्ता गराएको थियो । अखिल क्रान्तीकारीले नोमिनेट गरेका उम्मेदवारहरु पहिले नै अनेरास्ववियू मार्फत दर्ता भैसकेको अनेरास्ववियू मुस्ताङका अध्यक्ष पेमा छेतेन विकले बताए ।   
आफुहरुलाई कुनै जानकारी नदिई नोमिनेट गरेको भन्दै अखिल क्रान्तीकारीले नोमिनेट गरेका अनेरास्ववियूका विद्यार्थीहरुले आफुहरु अनेरास्ववियू प्यानलमै भएको भन्दै दाबी विरोध गरेका छन् । साथै आफुहरु सो संगठनको प्यानलमा नरहने÷नरहेको सार्वजनिक जानकारी गराउँदै अझ बढि जिम्मेवारका साथ आफ्नै संगठन अनेरास्ववियू कै प्यानलबाट चुनाव लड्ने, प्रचारप्रसार गर्नुका साथै विजयी हुने प्रतिवद्धता व्यक्त गरेका छन् ।

Saturday, February 25, 2017

मुस्ताङमा पार्किङ गरिएका बस तोडफोड

  केशव वि.क.
  मुस्ताङ १४ फाल्गुन

मुस्ताङको सदरमुकाम जोमसोम स्थित पुथाङ एयरपोर्टमा शुक्रवार राती अज्ञात समुहद्धारा पार्किङ गरीएका बस तोडफोड भएका छन् ।
    धौलागिरी यातायात बस व्यवसायी संचालक समितिको बा ३ ख ९६७४ नम्बरको घोडाघोडी डिलक्स, ग १ ख ५७४९ नम्बरको रोडवेज ट्राभल्स र म्याग्दी जीप तथा बस व्यवसायी समितिको ना ५ ख १०३९ नम्बरको जेनिका एक्सप्रेस बस तोडफोड भएको हो ।     सो समुहले बसको अगाडीको मुख्य सिसा फुटाएको छ । म्याग्दी जीप तथा बस व्यवसायी समितिका अनुसार बस तोडफोड हुँदा करिब एक लाख पचास हजार रुपैयाँ बराबरको क्षति भएको बताईएको छ ।
    कसले घटना घटाएको हो त्यसको छानविन भैरहेकाले छिट्टै नै सत्य तथ्य बाहिर ल्याई दोषीलाई कारबाही गर्ने प्रहरी नायव उपरिक्षक हरिहरनाथ योगीले बताए ।  
    धौलागिरी यातायात बस व्यवसायी संचालक समितिले गत माघ ५ गते देखि मुस्ताङ बाट देशका विभिन्न स्थानमा यातायात सेवा प्रवाह गरिरहेको र म्याग्दी जीप तथा बस व्यवसायी समितिले आफ्नो छुट्टै काउण्टर स्थापना गरी सेवा संचालन गर्न लागिरहेको अवस्थामा तोडफोडको घटना घटेको हो ।