नेपाल कम्युनिष्ट पार्टी एमाले जिल्ला कमिटी मुस्ताङको आयोजनामा कोबाङको खन्तीमा नव निर्मित समाजसेवी तथा पूर्व सांसद स्वर्गीय ओम विकास गौचनको प्रतिमाको आश्विन १५ गते शनिबार एक समारोहका विच अनावरण गरिएको छ । वि.सं. २०४८ सालको आम निर्वाचनबाट एमाले मुस्ताङको प्रतिनिधित्व गर्दै सांसदमा निर्वाचित भएका स्वर्गीय ओमविकास गौचनको वि.सं. २०६३ चैत्र ३० गते विभत्स हत्या भएको थियो । स्वर्गीय गौचनले कम्युनिष्ट आन्दोलन र जिल्लामा पु¥याएको योगदानको कदर गर्दै गौचनको स्मृतिमा नेकपा एमाले मुस्ताङले कोबाङ गाविसको खन्तीमा उनको प्रतिमा स्थापना गरेको छ ।
मुस्ताङका सांसद श्रीमाया थकाली र सांसद महेन्द्र शेरचनको निर्वाचन क्षेत्र विकास कोषको ०७२ र ०७३ को ६ लाख ६५ हजार रुपैयाँको लगानीमा सो प्रतिमा निर्माण गरिएको नेकपा एमाले मुस्ताङका अध्यक्ष चन्द्रमोहन गौचनले जानकारी दिए ।
प्रतिमाको अनावरण गर्दै नेकपा एमाले पोलिटब्यूरो सदस्य एवं प्रदेश नं. ४ का सहसंयोजक गणेश तिमिल्सिनाले समाज परिवर्तनमा ओमविकासले पु¥याएको योगदानको स्मरण गर्दै समग्र कम्युनिष्ट आन्दोलन र मुस्ताङको परिवर्तनमा दिएको देनको प्रशंसा गरे ।
त्यसैगरी सांसद श्रीमाया थकालीले जिवन संघर्ष र संघर्ष जिवन हो भन्ने पाठ सिकाएका ओमविकासको आफ्नै ठाउँमा विभत्स हत्या हुनु दुःखदायी भएको भन्दै ओमविकास गौचन सम्पूर्ण मुस्ताङी जनताको मनमष्तिकमा बास बस्न सफल भएको बताईन् ।
कार्यक्रममा पूर्व सभासद टसी साङमो गुरुङसेनी, नेकपा माओवादी केन्द्रका सुक बहादुर विक, पूर्व जिविस सभापति आनन्दलाल शेरचन, दलित संजालका अध्यक्ष बुद्धिसिंह नेपाली, दिपज्योती महिला समुहकी भीमकुमारी नेपाली, कोवाङका समाजसेवी गौतम शेरचन, समाजसेवी एवं ओमविकासका सहपाठी जगत बहादुर गौचन, पोखरा लायन्स क्लव अफ ब्यूटिसिटीका अध्यक्ष चिनु गुरुङ र ओमविकासका सुपुत्री सवि शेरचनले मन्तव्य व्यक्त गरेका थिए ।
सो अवसरमा स्वर्गीय ओमविकासको परिवारको तर्फबाट मुस्ताङबाट एसएलसी परिक्षामा उत्कृष्ट अंक ल्याउने छात्रछात्रालाई अक्षयकोषको ब्याजबाट पुरस्कार दिने घोषणा सहित नेकपा एमाले मुस्ताङको कोषमा ३ लाख रुपैयाँ जम्मा गर्ने सवि शेरचनले बताईन् । त्यस्तै चिनु गुरुङले ओमविकासको प्रतिमाको संरक्षण र प्रतिमा आसपसको क्षेत्रमा उद्यान बनाउनको लागि क्लवको तर्फबाट आर्थिक भौतिक तथा नैतिक सहयोग गर्ने उल्लेख गरिन् ।
प्रतिमा अनावरण कार्यक्रम एमाले अध्यक्ष चन्द्रमोहन गौचनको अध्यक्षता र सचिव आस बहादुर थकालीको संचालनमा सम्पन्न भएको थियो ।
को हुन् ओमविकास गौचन ?
केही समय शिक्षण पेशामा सक्रिय भएपछि उनी शिक्षण पेशालाई छोडेर गाउँ फर्किई करिब १ वर्ष आफ्नै गाउँमा कृषि कार्यहरु गर्ने र कृषकलाई कृषि पेशामा समाहित गर्दै कृषि सुधार गर्ने कार्यमा संलग्न भए । वि.सं. २०२६ साल फागुनमा पोखरा निवासी स्वर्गीय थरप्रसाद शेरचन र पदमकुमारी शेरचनको जेठी सुपुत्री देउकुमारी शेरचनसंग विवाह भएको थियो । १ छोरा र ३ छोरी गरी ४ सन्तानको जन्म भयो ।
मुस्ताङमा कृषि विकासमा टेवा पु¥याउन ताक्लुङ गाउँबाट कोबाङ गाविस अन्तर्गत सौरु गाउँमा स्याउ फार्म संचालन गर्ने हेतुले बसाई सरेका थिए । सौरु गाउँमा ३५ रोपनी जग्गामा स्याउ फार्म संचालन गरी मुस्ताङको एउटा नमुना फार्मको रुपमा विकास गरेका थिए ।
साधारण जीवन बिताउने उनी मृदुभाषी, परिश्रमी, लगनशिल र कर्मठ एमाले कार्यकर्ता थिए । शिक्षा एवं पठनपाठनका क्षेत्रमा विशेष कौशलता र प्रतिभा उनमा थियो । उदार भावना विकासवादी र परिवर्तनशील ओमविकास आफ्नो राजनैतिक जीवनमा संघर्ष गर्दै वि.सं. २०४८ सालको आम चुनावबाट नेकपा एमाले मुस्ताङको प्रतिनिधित्व गर्दै सांसदमा भारी मतकासाथ निर्वाचित भए । स्वच्छ छवि र लोकप्रिय भद्र शालिन ब्यक्तित्व भएका कारण ३५ हजार रुपैयाँ चुनावी खर्चमा तत्कालिन चुनाव जितेका थिए ।
अति साधारण मूर्धन्य व्यक्तित्व, परिश्रमी र सदा काममा जुटिरहने, सबैप्रति समान व्यवहार गर्ने, गरिब दीन दुःखीहरुलाई हृदयदेखि नै माया गर्ने, सत्य र सदाचारका धरोहर आदारणीय ब्यक्तित्व मुस्ताङका कम्युनिष्ट आन्दोलनका अगुवा ओमविकास गौचनले सम्पूर्ण मुस्ताङवासीमा चेतना अभिवृद्धि गर्दै मार्गनिर्देशन गरिरहेका थिए ।
मुस्ताङका अग्रज वरिष्ठ समाजसेवी वुद्धिजिवि ओमविकासलाई समाजको विकास र परिवर्तन नचाँहाने अपराधिक मनोवृत्तिका जल्लादहरुले बाँकी राखेनन्, अन्तत आफ्नै निवासमा वि.सं. २०६३ चैत्र ३० गते दुस्मनको क्रुरुरतापूर्ण हत्या स्विकार्नु प¥यो ।

No comments:
Post a Comment