– डा.कविताराम श्रेष्ठ
पहिले मुस्ताङ् क्षेत्र बिदेशी पर्यटकहरूको लागि खुला थिएन । परिवर्तित नेपालले त्यो निषेध हटायो र यसै सुबिधाको उपयोग गरी पर्वतारोही पीटर एथेन्स मुस्ताङ्तिर ट्रेकिंगमा गएछन् । यसै अबसरमा उनले त्यता असंख्य मानब निर्मित गुफाहरू देखेछन् । यस बारेमा पछि अध्यन गर्ने निधो गरेर फर्केछन् ।
पछिका भ्रमणमा उनले सामान्य अवलोकनबाट जे देखे ती पुरातात्विक हिसाबमा महत्वपूर्ण देखे र उनले आधिकारिक अध्ययनको लागि नेसनल ज्योग्राफिकमा सम्पर्क राखे । नेसनल ज्योग्राफिकले यसलाई अति महत्वका विषय मानेर पूरातत्ववीद अलडेन डेरफरको नेतृत्वमा अध्ययन अघि बढायो । फोटो ग्राफर छानिए कोरी रिचार्ड्स ।
धेरै वर्षसम्म यसको अध्ययन भयो । फोटो ग्राफर कोरी रिचार्ड्स बताउछन् । उनले १२ पल्टसम्म यस क्षत्रमा भ्रमण गरे र एकपल्ट त भीरबाट खसेर उनको ढाडै भांचिएको थियो । गत वर्ष यसका उपलव्धिहरूको बारेमा अनेकन स्टिल फोटोहरूसाथ धेरै हल्लीखल्ली भाको थियो ।
यसपाली त हालसम्मको प्राप्तिहरूको बारेमा नेसनल ज्योग्राफिकले “स्काई केभ्स अफ नेपाल-लाइभ” शीर्षकमा तीनवटा भिडियो नै तयार गरेका छन्, जो यस अध्ययनका योजनाकार पर्वतारोही पीटर एथेन्स, पूरातत्ववीद अलडेन डेरफर र फोटो ग्राफर कोरी रिचार्ड्सले प्रेसको सामू दिइएका प्रवचन हुन् । यी भिडियोहरूमा उनीहरूका प्रवचनसाथ अचम्मलाग्दा गुफाहरू र उनमा प्राप्त वस्तुहरू पनि देखाइएका छन् ।
https://www.youtube.com/watch?v=WMTZBw1SISA
https://www.youtube.com/watch?v=kzu5JAgb2vQ
यिनमा दुइ खाले गुफाहरू पेश छन् । एक खाले बौद्धलामाहरूको लागि बनाइएका गुम्बा र अर्का मानब चिहान ।
बौद्ध गुम्बाका भित्ताहरूमा बौद्ध चित्र, बौद्ध ग्रन्थहरू र बौद्ध चैत्य पाइएको देखाइएका छन् । यी गुफाहरूको बनौट नै बडो अनौठो देखिन्छ । तिनका बनौटको आर्किटेक्चरल एनिमेसन समेत पेश गरिएका छन् । जसले गुफाहरू भित्रभित्रै दस तलासम्म माथितिर र हरेक तल्लामा तेर्सोपट्टि धेरै चार्कुना मेलाका कोठाहरू खोपिएका देखाइएका छन् । यसको समय १३ रौँ शताब्दितिर भएको पुरातत्ववीद अलडेन डेरफर जनाउँछन् ।
अर्को खाले चिहाने गुफाहरूको उपलव्धि उत्तिकै उदेकलाग्दा छन् । यिनमा इशापूर्व हजारवर्ष अघिका मानब चिहान पनि पाइएका छन् । उनमा मिश्रदेशमा पाइनेजस्तै ममिफाइड (मासुसमेत सुकेका) लाशहरू र मुस्तां वा तिब्बततिरका चलन अनुसारका मासु छिलेका कंकालहरू पाइएका देखाइएका छन् ।
साथमा तिनका लागि चढाइएका गरगहना, खाद्य वस्तुहरू र पशुका, हाडखोर, भाँडाकुँडा, रेशमका टुक्रा आदि वस्तुहरू पनि पाइएका देखाइएका छन् । कुनैकुनै लाश धेरै गहिराइमा राखिएका पाइएका छन् भने कुनै बाकसमा हावा नछिर्ने गरी बन्द गरिएको अवस्थामा पनि पाइएका छन् ।
यसरी हावा नछिरेका कारण यी कंकाल वा लाशहरू सग्लै र नमक्किएको अवस्थामा देखिन्छन् । यिनका साथै चढाइएका वस्तु, पशुका हाडखोर, अन्नका पिठो पनि सबै सग्ला अवस्थामा पाइएका छन् । यिनमध्ये चीनतिर बन्ने सिल्कका टुक्राहरू र पश्चिमी देशतिर पाइने रत्नका गहना पनि भएकाले पूरातत्ववीद अलडेन डेरफरले यो मुस्ताङ् क्षेत्र चीन र युरोतिरको सिल्करोडलाई भारतसंग जोड्ने एउटा महत्वपूर्ण मार्ग थियो त्यसैले यी सामग्रीहरू यहाँ पाइयो भन्ने निष्कर्ष निकालेका छन् ।
उनले नभनेका तर उनका यसै सिद्धान्तलाइ मान्दै मलाई लागेको कुरो यो पनि छ कि यो ममिफाइड (मासुसमेत को लास) हुनु पनि मिश्रतिरको आयातित सिकोको द्योतक हुन सक्छ । लाशसंगै सुन र चाँदीका मुखुण्डो राख्ने तथा मृत व्यक्तिको लागि आवश्यक वस्तु र खाद्य पदार्थ राख्ने चलन पनि मिश्रकै चलनको सिको हुन सक्छ । मासु छिलेर हाड्मात्र दफ्नाउने चलन भने स्थानिय एबम तिब्बततिरको चलनमुताबिक गरिएको द्योतक हो ।
नेसनल ज्योग्राफिक जस्तो विश्वप्रशिद्ध आधिकारिक संस्थाले वर्षौं लगाएर अमूल्य, अद्वितीय र आश्चर्यचकित पूरातात्विक निधिको रूपमा विश्वसामू यो तथ्यलाई उजागर गर्नाका कारण यसबारेमा संसारभर हल्लीखल्ली नै भएको छ । तर नेपालको सरकार वा यसका पूरातत्व विभागले अहिलेसम्म केही बोलेको छैन । थाहै छैन जस्तो !! त्रिभुवन विश्वविद्यालयमा प्राचिन इतिहास, संस्कृति तथा पूरात्व विषयको एउटा बिभाग नै छ । यसले आफ्ना एम विषयका छात्रछात्राहरूलाई पूरातत्व र उत्खनन प्रविधि सम्बन्धि ज्ञान र सीप सिकाउनको लागि भारत र तिलौराकोट्सम्म भ्रमण गराउँछ । तर वर्षौंदेखि भईरहेको यो अध्ययन र यसका प्राप्ति बारेमा थाहै नभएको देखिन्छ ।
यस्तै हो हामी नीरिह छौं । यत्रो काम हाम्रो नाकै मुनि भयो हामी धेरैजसो नागरिकलाई पने थाहै भएन । अब के गर्ने त ? अहिलेसम्म जे भयो भयो । एउटा उल्लेख्य उपलव्धि त भएकै छ । यतिसम्म गर्न हाम्रा प्राविधिक र आर्थिक बुतोले भ्याउने कुरो थिएन नै । त्यसकारण नीच मारेर यसैमा सन्तुष्ट हुनपर्यो । यो अध्ययन भनेको मुस्ताङ्को धेरै सानो क्षेत्रको अध्ययन हो । यहाँ यस्ता हज्जारौं गुफाहरू छन् । यस्ता हज्जारौं अध्ययन अरू हुन सक्छन् । संसारलाई छक्क पार्ने अरू अनेकानेक कुराहरू अनगिन्ति पाइनेछन् । त्यो भविष्य उज्यालो छ ।
अबका दिनहरूमा भने यस्ता अध्ययनहरूमा हाम्रोतर्फबाट पनि उल्लेख्य सहभागिता हुनपर्ने स्थिति बनोस, हाम्रा चाहना यो हुनु पर्छ । हाम्रा नीधिहरू नबाहिरिउन हामीमा त्यो सजगता हुनु पर्छ । संसारको आँखा यसमा परेको स्थिति हुँदा यस क्षेत्रमा प्रबुद्ध पर्यटकहरू ओइरिने ठूलै सम्भावना छ । यो क्षेत्र विश्वभरका विश्वविद्यालयहरूको महत्वपूर्ण अध्ययन केन्द्र पनि बन्ने सम्भावना छ । हामीमा त्यो प्रवाहलाई थेग्ने क्षमता पो अब हुन पर्यो । त्यसलाई धान्न तथा पर्यटन व्यवसायलाई टेको दिन ट्रेकिंग रुटको व्यवस्थापन, यातायातको व्यवस्थापन, तथा अन्य आधारभूत कुराहरूको व्यबस्थापन हुनु आवश्यक छ ।
काम गर्नपर्छ । नागरिक स्तरबाटै पनि हेलिकोप्टर, खच्चर, घोडा, आदि समेतको यातायात व्यवस्थापन, तथा होटलहरूको व्यवस्था हुन सक्छ । सरकारकै अगुवाई हुन आवश्यक छैन । निजिस्तर पनि जागोस । यही शुभकामाना छ । दैनिक नेपाल बाट ।
No comments:
Post a Comment