केशव बि.क./मुस्ताङ साप्ताहिक
मुस्ताङ १४ पौष
जिल्लाको छुसाङ गाविस स्थित ग्रीन ताङवेमा नाउरले स्याउका बोट सखाप पार्न थालेपछि ग्रीन ताङवे संचालक चिन्तित भएका छन् । दैनिक दर्जनौँको संख्यामा आएर नाउरले स्याउको बोट मास्ने गरेको ग्रीन ताङवेका प्राविधिक आनन्द सुनुवारले बताए ।
आ.व. २०६६÷६७ बाट स्थापना गरिएको ग्रीन ताङवेमा हजारौँको संख्यामा स्याउका विरुवा रोपिएको छ । २२ सय रोपनी क्षेत्रफलमा फैलिएको ग्रीन ताङवे क्षेत्रमा १६ हजार स्याउका विरुवा रोपिएको थियो । सुनुवारले भने । अहिले जम्मा १४ हजार विरुवा मात्र बाँकी छन् । अरु सबै नाउरले सखाप पा¥यो । नाउरले पछिल्लो २ वर्षको अवधिमा दुईहजार विरुवा नष्ट गरेको छ । विरुवा नष्ट पार्ने क्रम जारी रहेको ग्रीन ताङवे संचालक समितिले बताएको छ ।
ग्रीन ताङवे भित्र एक दिनमा कम्तिमा २५ को संख्यामा नाउर छिर्ने गरेका छन् । स्याउ बगैचाको वरिपरि पर्खाल लगाएको भएतापनि पर्खाल नाघेर नाउर भित्र छिर्ने गरेको ताङवेका कर्मचारीको भनाई छ । नाउर मानिस संग घुलमिल हुन थालेपछि धपाउँन पनि मुस्किल हुन थालेको उनीहरु बताउँछन् ।
श्रावण र भाद्र महिनामा जुनसुकै समयमा स्याउ बगैचामा छिर्ने गरेका नाउर हिउँदको समयमा विशेषगरी विहान ८ बजे देखि १० बजेसम्म बगैचामा आउने गरेका छन् । केही विरुवा खाने र केही विरुवामा सिघुरी खेलेर नष्ट गर्ने गरेको बताइएको छ । स्टाफले बगैचाको तल्लो भागमा काम गर्दै जाँदा माथिल्लो भाग तिरबाट पस्ने र बगैचाको माथिल्लो भागमा काम गर्दै जाँदा तल्लो भाग तिरबाट नाउर पसेर चर्न थालेपछि समस्या देखिएको सुनुवारको भनाई छ ।
खेतबारीमा लगाएका तरकारी तथा अन्य बाली नाउरले मास्न थालेको र यसको नियन्त्रणमा समस्या देखिएको ताङवेका गाउँ मुखिया सिङ धोर्जे गुरुङले बताए । यस क्षेत्रमा नाउरको संख्या अत्याधिक छ । यसको नियन्त्रणमा सरोकारवालाले ध्यान दिनुपर्छ । उनले भने ।
चरनक्षेत्र माँसिदै जान थालेपछि जंगलमा आहाराको कमि भई पानी र घाँस विरुवा खानको लागि नाउर विस्तारै वस्ती तिर आउन थालेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) जोमसोमका प्रमुख तुलसी दाहालले बताए ।
नाउरले क्षेति गरेको क्षतिपूर्ति दिने प्रावधान नरहेको एक्यापले जनाएको छ । नाउरलाई धपाउनको लागि पटका पडकाउने र त्यसलाई तर्साउने जस्ता कुनैपनि कृयाकलाप गर्न नहुने र तत्कालको समस्या न्युनिकरण गर्नको लागि कम्पाउण्डको वरिपरि खाल्डो बनाउने र पर्खालमा काँडेतार लगाउन सकिने दाहालको भनाइ छ ।
नाउरको चरन क्षेत्र भएका लेकमा गोठ बनाई याक तथा भेडाच्याङग्रा पाल्न थालिएपछि चरनक्षेत्रको अभाव र डरले नाउर बस्ती तिर झर्ने गरेको र खेतबारी बगैचामा रहेका फलफुल, तरकारी अन्नबालीमा क्षति पु¥याउन थालेको सरोकारवाला बताउँछन् ।
No comments:
Post a Comment