मुस्ताङ, ३० बैशाख
हिमालपारीको जिल्ला मुस्ताङलाई बिहिबार एक कार्यक्रमका बिच नेपालको पहिलो स्थानिय (जलवायु परिवर्तन) अनुकुलन कार्य योजना (LAPA) युक्त जिल्ला घोषणा गरिएको छ ।
जलवायु परिवर्तनजन्य जोखिम स्तरीकरणका दृष्टिकोणले मुस्ताङ उच्च जोखिमयुक्त क्षेत्र मानिएको छ । स्थानिय समुदायको सहभागितामा जलवायु परिवर्तको जोखिम लेखाजोखा गर्दा मुस्ताङ जिल्लाका अधिकांश गाविसका वस्तीहरु बाढी र नदी कटानबाट अति जोखिममा रहेको र जोखिममा परेका बासिन्दालाई अनुकूलनको अनुभूति दिलाउन आवश्यक ठाउँमा तटबन्ध निर्माण गर्ने, वृक्षारोपण गर्ने, पानीका श्रोत संरक्षण र जोखिममा परेका वस्ती, दलित, विपन्न, महिलालाई लक्षित गरी कार्यक्रम निर्धारण गर्ने कार्य अनुकूल कार्ययोजनामा रहेको बताइएको छ ।
बहुसरोकारवाला वन कार्यक्रम जलवायु परिवर्तन कार्यक्रमले जिल्लामा तयार भएका १६ वटा लापाहरु मध्ये जोमसोम, कोवाङ, टुकुचे, कुञ्जो र छोसेर गरी ५ वटा गाविसहरुमा कार्यन्वयनको शुरुवात भएको र यसका लागि सबै गाविसहरुमा कृषि, वन तथा वातावरण समिति गठन गरी सोही समितिको अग्रसरतामा लापा तयारी तथा कार्यन्वयनको पहल भएको जिविसले जनाएको छ ।
स्थानिय स्तरमा भोगेका जलवायु जन्य जोखिम र त्यसको असरबाट संकटासन्न समुदायको पहिचान र उपयुक्त अनुकूलनका उपायहरुको प्राथमिकरण गरी सोही समुदायको सहभागितामा योजनाहरुको कार्यन्वयन गरी अनुकूलन क्षमता बढाउनको लागि स्थानिय अनुकुलन कार्ययोजना उपयोगी देखिएकाले अनुकुलन योजना कार्यन्वयनमा आवश्यक पर्ने आर्थिक श्रोत जुटाउनु अहिलेको मुख्य समस्या रहेको बताईएको छ ।
लापा युक्त जिल्ला घोषणा कार्यक्रमको उदघाटन गर्दै सभासद रोमी गौचन थकालीले घोषणा गर्नु मात्र नभई कार्यन्वयनको पक्षमा लैजानु चूनौतीपूर्ण भएकाले अब बनाउने जिल्लाका योजनामा यसका सकारात्मक पक्षलाई लिएर निर्माण गर्नुपर्ने बताए । साथै उनले विकास र विनास संगसंगै आउने भएकाले नेतृत्वकर्ताले ध्यानदिनुपर्ने उल्लेख गरे । त्यस्तै कार्यक्रममा बोल्दै क्षेत्रिय वन निर्देशनालय पोखराका निर्देशक शान्तमणी ताम्राकारले अव्यवस्थित शहरीकरणका कारण वन विनाश भएको र त्यसले जलवायु परिवर्तनमा प्रत्यक्ष प्रभाव परेकाले वातावरण जोगाउनको लागि वृक्षारोपण गर्नुे पर्ने बताए ।
त्यसैगरी घोषणा सभामा बोल्दै प्रमुख जिल्ला अधिकारी गणेश बहादुर अधिकारीले लापा तयार भएर मात्र नहुने यसलाई कार्यन्वयनको पक्षमा लैजान सरकारी तथा गैरसरकारी संस्थाको आवश्यकता भएको औँल्याए । साथै उनले जलवायु परिवर्तनलाई कम गर्न कानुनलाई पालना गर्दै वृक्षारोपणका कार्यक्रम संचालन गर्नुपर्ने बताए । त्यस्तै कार्यक्रममा बोल्दै स्थानिय विकास अधिकारी हरि प्रसाद बास्तोलाले लापा युक्त जिल्ला घोषणाले अनुकुलन योजनाको महत्व बढ्ने र विभिन्न सरोकारवालाको ध्यानाकर्षण भई लापा प्राथमिकरणका क्रियाकलाप कार्यन्वयन गर्न मद्दत गर्ने अपेक्षा गरे । साथै उनले लापा युक्त जिल्ला घोषणा कार्यक्रममा सहयोग गर्ने सहयोगी संस्थालाई धन्यवाद दिँदै जलवायु परिवर्तनलाई न्युनिकरण गर्दै विकासका काममा लाग्ने बताए ।
कार्यक्रममा नेपाली कांग्रेसका कार्यवाहक सभापति नुर्वु गुरुङ, नेकपा एमाले प्रतिनीधि सम्झना थकाली, एमाओवादी अध्यक्ष गणेश थकाली, पूर्व सहायक मन्त्री नरबहादुर हिराचन, पूर्व सभासद चन्द्रबहादुर गुरुङ, नागरिक समाजका अगुवा चन्द्रबहादुर थकाली, उद्योग वाणिज्य संघका अध्यक्ष प्रेम तुलाचन, इन्प्रेड अध्यक्ष पुष्पलाल पौडल र प्रतिनीधि राजु पौडेल, विशाल भुषाल, आरएमसीका प्रतिनीधि गोपी पौडेल, एक्याप जोमसोम प्रमुख निरु थापा र जोमसोम महिला समुहकी अध्यक्ष शर्मिला गुरुङले मन्तव्य व्यक्त गरेका थिए ।
स्थाविअ हरिप्रसाद वास्तोलाको अध्यक्षता, जिल्ला भूसंरक्षण प्रमुख माधव बरालको स्वागत र जिविसका योजना अधिकृत जीवन ज्ञवालीले संचालन गरेको कार्यक्रममा जिल्लास्थित कार्यालयका प्रमुख तथा प्रतिनीधि, सुरक्षा निकायका प्रमुख, गाविस सचिवहरु, नागरिक समाज, महिला समुह र स्थानियको उल्लेख्य उपस्थिति रहेको थियो ।
जलवायु परिवर्तनको वातावरणीय असर र विकासमा देखिएका नकारात्मक प्रभावहरुलाई स्थानिय तहदेखि राष्ट्रिय स्तरसम्म व्यवस्थापन गर्न आवश्यक भएकाले नेपाल सरकारले राष्ट्रिय अनुकूलन कार्यक्रम (नापा) विं.सं २०६७ मा तयार गरी यस अनुकूलन तथा जलवायु परिवर्तन समस्याको न्यूनीकरण गर्न स्थानिय स्तरबाट उपयुक्त हुने बुझिएकाले नेपाल सरकारले समानुकूलन प्रक्रियामा चार सिद्धान्त ऊध्र्वगामी, समावेशी, तत्परता र लचिलो को आधारमा स्थानिय अनुकूलन कार्ययोजना (लापा) को खाका तयार गरी कार्यन्वयन समेत गरेका छन् ।
No comments:
Post a Comment