मुस्ताङ,
जलवायु परिवर्तनका कारण मुस्ताङको एक गाउँ विस्थापित हुने अवस्थामा पुगेको छ । समुन्द्री सतह देखि ४२०० मिटर उचाईमा अवस्थित उपल्लो मुस्ताङको सुर्खाङ गाविस वडा नं. ९ स्थित ध्ये गाउँ जलवायु परिवर्तनका कारण विभिन्न समस्या देखा पर्न थालेपछि विस्थापित हुने अवस्थामा पुगेको हो ।
जलवायु परिवर्तन यस जिल्लाको लागि जल्दोबल्दो समस्याको रुपमा देखा पर्न थालेको छ । करिब २० वर्ष पहिलेदेखि नै ध्ये गाउँमा निरन्तर जलवायु परिवर्तनको असर प्रत्यक्ष रुपमा देखिदैँ आएको ध्ये गाउँका स्थानिय तथा ध्ये थाङचुङ चावले पुनस्र्थापना समितिका अध्यक्ष पासाङ गुरुङले बताए ।
उनले भने, २६ घरपरिवारको बासोबास रहेको यस गाउँका पानीका मुहानहरु क्रमिक रुपमा सुक्दै गएका छन् र खानेपानीको अभाव हुन थालेको छ । सिचाँईको अभावले गर्दा खेतीबाली पनि लगाउन समस्या भोग्नु परेको छ र पुराना खेतमा खेती गर्न छाडिएको छ ।
जलवायु परिवर्तनको प्रत्यक्ष प्रभाव परिरहेको उक्त गाउँका स्थानिय वस्ती नै लोप हुन लागेकोमा चिन्तित भएका छन् । स्थानिय पासाङ गुरुङका अनुसार त्यहाँका अधिकांश घरधुरी बसाई सराई गरी जान थालेकोले गाउँ नै लोप हुने अवस्थामा पुगेको छ । गरुङले भने ध्ये गाउँमा जलवायु परिवर्तनले गर्दा देखापरेका विविध समस्याका कारण बासोबास गर्न नसकिने अवस्था सृजना भएको छ । उनले ध्ये गाउँलाई थाङचुङमा पुर्नवास गराउन विभिन्न सरोकारवाला निकाय संग आग्रह गरेका छन् ।
हालसम्म ध्ये गाउँका ८ घरपरिवार बसाई सरिसकेका छन् र आगामी वर्ष ३ घरपरिवारले बसाई सराई गर्ने योजना बनाईसकेको स्थानिय गुरुङको भनाई छ ।
विविध कारणले मौसममा आएको परिवर्तनका कारण यस ठाउँमा पहिले पुसमा हिउँ पर्ने गरेपनि अहिले तीन महिना अगाडी असोजमै हिउँ पर्न थालेको, पहिले बैशाख–भदौमा पानी पर्ने भएपनि अहिले असार–साउनमा मात्र पानी पर्ने गरेको त्यही नि निश्चित नभएको स्थानियले बताएका छन् ।
मुस्ताङको दुर्गम विकट गाउँ ध्येका स्थानियको मुख्य पेशा कृषि र पशुपालन हो । विशेष गरी गहँु र आलुको उत्पादन हुने यस ठाउँमा बैशाखमा रोप्ने र असोजमा काटने गरी १ बाली मात्र हुने गर्छ । यहाँ पशुलाई जेठ असारमा धेरै माथि चराउने र पुसमा बेशीमा झार्ने भएपनि चरनक्षेत्रको अभाव र तीन महिना अगाडी नै हिउँ पर्ने भएकोले अत्याधिक चिसोको कारण असोजमै बेशी झार्ने गरेका छन् ।
२० वर्ष पहिले र अहिलेको तुलनामा ध्ये गाउँमा २६ घर मध्ये १२ घरपरिवारको मात्र बासोबास रहेको, प्रत्येक परिवारले ७० रोपनी जग्गामा खेती गर्दै आएकोमा ३० रोपनीमा मात्र खेती गरेको, १ पाथी आलुबाट १५ पाथी आलु उत्पादन हुने गरेकोमा १ पाथीबाट ५ पाथी मात्र उत्पादन भएको, गाउँभरिमा २६०० याक (चौँरी) हुनेगरेकोमा अहिले ५० वटा मात्र भएको, २००० च्याङग्रा हुने गरेकोमा ७०० मात्र र २४०० भेंडा हुनेगरेकोमा अहिले ६० वटा मात्र रहेको अध्ययनले देखाएको छ ।
पानी संकलनका लागि बनाइएका २० वटा पोखरी सुख्खा भएका छन् । ह्युल्सा डाँडाबाट झर्ने ५ वटा पानीका मुहान सुकेर सिचाँइमा समस्या भएको छ । फुचुमी, कोलोचेन र रक्सिङ गरी तीन वटा पानीका मुहान पूर्ण रुपमा सुकिसकेका छन् । बाँकी दुई वटा मुहानबाट प्रतिसेकेण्ड १० लिटरको दरले पानी आउने गरेको जलवायु परिवर्तनका कारण सुर्खाङ गाविस अन्तर्गतको ध्ये गाउँको बसाई सराई सम्बन्धी चुनौती र सम्भावना बारे हालै स्थलगत अध्ययन र अनुसन्धान गरी फर्किएका जलवायु विज्ञान नेपाल इन्जिनियरीङ कलेज भक्तपुरका प्राध्यापक डाक्टर हरीकृष्ण श्रेष्ठले बताए ।
प्रा.डा. श्रेष्ठका अनुसार जलवायु परिवर्तनका कारण ध्ये गाउँमा माटो सुख्खा भई खेती गर्न नमिल्नु, चरन र हिउँपर्ने समय निमिल्ने गरेको, चाहिने बेलामा पानी नपर्नु अर्थात पानी पर्ने समय घटेको, पानीका मुहान सुक्दै गएको र चरन क्षेत्र कम हँुदै जानुले यहाँको जनजीवन कष्टकर बन्दै गइरहेको छ ।
ध्ये गाउँका स्थानियको प्रमुख आयस्रोत पशुपालन रहेको र चरन क्षेत्र घटदै जानु र त्यहाँको उत्पादनले ३ महिना पनि खाना नपुग्ने र पानीको आपूर्ति ज्यादै न्यून हुनुले उक्त ठाउँमा बाँच्नको लागि धेरै चूनौती रहेको ध्ये गाउँको बसाई सराई सम्बन्धी चुनौती र सम्भावना बारे स्थलगत अध्ययन र अनुसन्धान गरेका नेपाल इन्जिनियरीङ कलेज भक्तपुरका ईन्जिनियर सुरेश प्रसाईले बताए ।
जलवायु परिवर्तनका कारणबाट सुर्खाङ गाविस अन्तर्गतको ध्ये गाउँको बसाई सराई सम्बन्धी चुनौती र सम्भावना बारे हालै स्थलगत अध्ययन र अनुसन्धान गरी फर्किएका नेपाल ईन्जिनियरीङ कलेजका द्धय प्रा.डा. श्रेष्ठ र ईन्जिनियर प्रसाईका अनुसार ध्ये गाउँका स्थानियलाई बाँच्नको लागि निकै चुनौती रहेकोले उक्त गाउँलाई सुर्खाङ गाविस वडा नं. ९ स्थित थाङचुङमा पुर्नस्थापना गर्न उचित हुने निष्कर्ष निकालेका छन् ।
ध्येका स्थानियले ध्ये गाउँदेखि ३०० मिटर तल ३९३० मिटरको उचाईमा कालीगण्डकी, ढे खोला र चराङ खोलाको त्रिवेणीमा अवस्थित थाङचुङमा रहेको जमिनको स्वामित्व दिलाई ध्ये गाउँलाई उक्त स्थानमा पुर्नस्थापना गर्न सरोकारवाला निकायसंग अपिल गरेका छन् ।
जलवायु परिवर्तनका कारण विस्थापित हुन लागेको ध्ये गाउँलाई थाङचुङमा वस्ती बसाउनको लागि उचित रहेको विज्ञहरुको टालीले समेत बताएको छ ।
ध्येमा खोला नभएको तर थाङचुङमा खोला भएको, सिचाँई तथा खानेपानीको सुविधा भएको, चराङ गाविस नजिकै पर्ने उक्त स्थान सम्म मोटर जान सक्ने, स्याउ, नासपति, खुरपानी, ओखर, अंगुर तथा तरकारी र अन्नवाली उब्जाउन सकिने, पशु मृत्युदर कम हुने, आर्थिक पर्यटन लगाएतका सम्भावनाहरु भएकोले पनि ध्ये गाउँलाई थाङचुङमा पुर्नस्थापना गर्न उत्तम रहेको बताइएको छ ।
जलवायु परिवर्तनका कारण विभिन्न समस्या झेल्दै आएको ध्ये गाउँलाई पुर्नस्थापना गर्न गाविसबाट १४ फेब्रुअरी २०११, जिल्ला विकास समितिबाट १३ मार्च २०११ र २०६९ फागुन २३ गतेको जिल्ला प्रशासनको बैठकले पनि सिफारिस गरिसकेको छ । ध्येका स्थानियको स्वामित्वमा उक्त थाङचुङमा जग्गा उपलब्ध गराउनको लागि मन्त्रीमण्डलको क्याविनेट बैठकले पारित गर्नुपर्ने सरोकारवालाले बताएका छन् ।
थाङचुङमा वस्ती बसाउने अपेक्षाका साथ ध्येका स्थानियले ८ हजार स्याउको विरुवा रोपि त्यसमा पर्खाल लगाई वर्षको २ लाख दिने सम्झौतामा एक जना स्याउ हेरालो पनि राखिसकेका छन् ।
स्थानियले गाउँ छोड्न बाध्य भएर अर्काे ठाउँमा गाउँ सर्ने निर्णय गरी प्रत्येक परिवारबाट रकम उठाई करिब पौने चार करोड रकम जम्मा गरिसकेको र थाङचुङमा साढे नौँ लाख खर्चेर होटल निर्माण गरेको ध्ये थाङचुङ चावले पुर्नस्थापना समितिका अध्यक्ष गुरुङले बताए ।
No comments:
Post a Comment