Tuesday, April 11, 2017

हाम्रो मुस्ताङ गीतिसंग्रहको विमोचन

    केशव बि.क.
मुस्ताङ ।
मुस्ताङको मौलिक पहिचान बोकेको गीतिसंग्रह हाम्रो मुस्ताङको मंगलबार विमोचन गरीएको छ । बाह्र वर्षे देवि दर्शन मेलाको अवसर पारेर निरज थकाली र बादल थकालीको प्रस्तुतिमा रहेको सो गीतिसंग्रहको विमोचन गरीएको हो ।     गीतिसंग्रहको विमोचन माननीय साँसद श्रीमाया थकालीले गरेकी हुन् । गीतिसंग्रहको बिमोचन गर्दै साँसद थकालीले कलासंस्कृतिको संरक्षणमा युवाको सक्रियताको प्रशंसा गर्दै मुस्ताङको वस्तुस्थिति समेटिएको गीतिसंग्रहले पर्यटन प्रवद्र्धनमा टेवा पु¥याउने विश्वास व्यक्त गरिन् ।
    मुस्ताङको मौलिकता र पहिचानलाई गीतको माध्यमबाट आम स्रोता एवं दर्शक माझ प्रस्तुत गर्दै पर्यटनको वृद्धि र विस्तार गर्नको लागि मुस्ताङको वस्तुस्थिति समेटिएको गीतिसंग्रह बजारमा ल्याइएको प्रस्तुतकर्ता निरज र बादल थकालीले जानकारी दिए ।
    मुस्ताङको वस्तुस्थिति र पहिचान झल्काउने सो गीतिसंग्रहमा हाम्रो मुस्ताङ, नयाँ यात्रा, हाम्रो मुस्ताङ, आउ आज, हाम्रो मुस्ताङ, नयाँ यात्रा र माथी माथी सहित सात वटा गीतहरु समावेश गरीएको छ । गीतहरुमा टीका प्रसाई, कृष्ण काफ्ले, लेखराज गुरुङ, रेश्मा पुन र राजेशपायलले स्वरवद्ध गरेका छन् ।
गीति एल्वममा समावेश गीतहरुमा विपिन किरणले शब्द सृजना गरेका हुन भने मिलन मोक्तानले संगीत भरेका छन् । माथी माथी बोलको गीतको डा. नवराज लम्सालले शब्द संकलन गरेका हुन् । गीतिसंग्रहको किरण क्रियशनले बजार व्यवस्थापन गरेको छ ।  


थाक ठिनीमा बाह्र बर्षे देवि दर्शन पुजा शुरु

    केशव बि.क.
मुस्ताङ, २९ चैत्र ।
ऐतिहासिक, धार्मिक तथा साँस्कृतिक महत्व बोकेको बाह्र वर्षे देवि छेव ढाङताङभ्यो (भोमो आमा) को भव्य दर्शन पुजा एवं मेला चैत्र २९ गते मंगलबार देखि मुस्ताङको घरपझोङ गाउँपालिका अन्तर्गतको थाक ठिनी गाउँमा शुरु भएको छ ।     ठिनी गाउँको मध्ये भागमा अवस्थित ल्अखिम कर्पाेमा विराजमान बाह्र वर्षे देविको बोन धर्म अन्तर्गत आय धर्म सम्प्रदायको प्रतीक ल्अखिम कर्पाे मन्दिरमा पन्ध्र दिनसम्म आयलामा (पुजारी) हरुले दैनिक ठि (दुग्ध स्नान) पुजा अर्चना गर्दछन् । प्रत्येक बाह्र वर्षमा पर्ने चरा वर्गको कुपिल्आ महिनामा दर्शन पुजा गरीने भएकाले देवि छेव ढोङताङभ्योलाई बाह्र वर्षे देवि भनिएको हो ।
    महाकरुणामयी देवि छेव ढोङताङभ्योलाई परापूर्व कालमा भर्ति वंशका पुर्खा एवं आयधर्मका प्रतिपादक धर्ती पुत्र ङर्के ह्रन्लाङ घुमले भारतको वृन्दावनबाट अनुनय विनय गर्दै ल्याएर ल्अखिम कर्पाे मन्दिरमा विराजमान गराएको आयलामाहरु बताउँछन् ।  
    यस भव्य बाह्र वर्षे देवि दर्शन तथा नित्य पुजामा महाशक्ति देव छेव ढोङताङभ्यो र देविको कुछप (स्वरुप) यी तीन वटा देवि देवताहरुलाई दुग्ध स्नान गर्दै भव्य पुजा गरी दर्शन गर्ने परम्परा छ । देविले दीर्घायु, श्रीसम्पति र सन्तान प्राप्ति गरी तीन वटा वर प्रदान गर्ने जनविश्वास रही आएको आयलामा (पुजारी) श्याम प्रसाद थकालीले बताए ।
    ल्अखिम कर्पाे मन्दिरमा विराजित बाह्र बर्षे देविको महिमाले गर्दा हजारौँ श्रद्धालु भक्तजनहरु दर्शन तथा पुजाको लागि यो अवसरमा ठिनी गाउँमा आउने गाउँ मुखिया कुल बहादुर थकालीको भनाई छ । दैनिक पुजा अर्चना गर्ने र प्रत्येक दिन ठि पछि ¥हव अर्थात देवताको महिमा÷कहानी सुनाउने प्रचलन रहेको छ ।
    बाह्र बर्षे देवि दर्शन मेलाको उदघाटन गर्दै माननीय साँसद श्रीमाया थकालीले ऐतिहासिक, धार्मिक तथा साँस्कृतिक रुपले सम्पन्न मुस्ताङको कलासंस्कृति एवं पहिचानलाई जोगाउन सबै मुस्ताङी एकजुट भएर लाग्नुपर्ने बताईन् । साथै उनले परिवर्तनकारी युगमा गुमाएका आफ्ना सम्पदाको खोजी गर्नुपर्ने उल्लेख गरीन् । त्यस्तै निमित्त प्रमुख जिल्ला अधिकारी जितेन्द्र बलामीले कलासँस्कृतिले गर्दा नै समुन्नत समाजको निर्माण हुने भएकाले सँस्कृतिको संरक्षणमा सबैले ध्यानदिनु पर्ने बताए । 
    सो अवसरमा हाम्रो मुस्ताङ नामक गीतिसंग्रहको विमोचन र पुनर्निर्मित ल्अखिम कर्पाे मन्दिरको साँसद थकालीद्धारा उदघाटन गरीएको थियो । कार्यक्रममा आयलामा श्याम प्रसाद थकालीले देवि दर्शन पुजाको बारेमा जानकारी गराएका थिए । उदघाटन समारोह गाउँ मुखिया कुल बहादुर थकालीको अध्यक्षता, मेलाका संयोजक सम प्रसाद थकालीको स्वागत र स्थानिय सरीता थकालीको संचालनमा सम्पन्न भएको थियो ।
    पन्ध्र दिनसम्म संचालन हुने देवि दर्शन मेलामा ठि पुजा संगसंगै विविध साँस्कृतिक तथा खेलकुदका कार्यक्रम आयोजना गरीने मेलाका संयोजक समप्रसाद थकालीले जानकारी दिए ।      

Monday, April 10, 2017

कालीगण्डकी कोरीडोरको काम धमाधम

 केशव बि.क./मुस्ताङ साप्ताहिक संवाददाता
मुस्ताङ, २८ चैत्र ।
नेपालको उत्तर–दक्षिण जोड्ने कालीगण्डकी कोरीडोर अन्तर्गत जोमसोम–कोरला सडकको स्तरोन्नतीको काम धमाधम भैरहेको छ । विभिन्न निर्माण कम्पनीले प्याकेजमा सडकको स्तरोन्नतीको काम गरीरहेको नेपाल सरकार भौतिक पूर्वधार तथा यातायात क्षेत्रीय सडक निर्देशनालय कालीगण्डकी कोरीडोर बेनी–जोमसोम–कोरला सडक योजना जोमसोमले जनाएको छ ।              
    कालीगण्डकी कोरीडोर बेनी–जोमसोम–कोरला सडक योजनाका इन्जिनियर जगत प्रजापतिका अनुसार जोमसोम–झैते खण्डको ०–१८ किमि सडक बज्रगुरु, खडग कृष्ण जेभी काठमाण्डौँले २७ करोड ९७ लाखमा २०७५ कार्तिक सम्ममा २४ महिनामा काम सिद्धाउने गरी निर्माणको जिम्मा लिएको छ । त्यस्तै १८–२९ किमि सडक दिवा डाँफे एपेक्स जेभीले ४५ करोड ६८ लाखमा २०७५ मंसिर सम्ममा र २९–४० किमि सडक कान्छाराम, कोशी एण्ड न्यौपाने जेभीले ५३ करोड ७४ लाखको लगानीमा २०७५ श्रावण महिना सम्ममा निर्माणको काम सिद्धाउने जिम्मा लिएका छन् ।
    त्यसैगरी झैते–कोरला खण्डको ०–१९ किमि सडक कन्चनजंघा लामा मोतिदान जेभीले २५ करोड ९९ लाख, १९–४४ किमि सडक तामाङ गौरी पार्वती कोशी न्यौपाने जेभीले २६ करोडमा र ४४–५८ किमि सडक दिवा रौताहा एपेक्स जेभी काठमाण्डौँले २७ करोड ८९ लाखमा निर्माणको जिम्मा लिएका हुन् । यी सडकखण्ड निर्माणको अवधि २४ महिना रहेको छ । 
पहिलो चरणको २४ महिनामा जोमसोम–कोरला सडक चौडा पार्ने, नाली र पर्खाल निर्माण गरी ग्राबेलिङ गर्ने र दोस्रो चरणमा सडक कालोपत्रे गरीने इन्जिनियर प्रजापतिले बताए । सडक डबल लेन अर्थात १०–११ मिटर (३६ फिट) चौडा हुनेछ । बजार क्षेत्रमा ७.५ मिटर सडक निर्माण र १.५ मिटरको फुटपात बनाइने बताईएको छ ।
बेनी–जोमसोम सडक निर्माणको लागि उत्तर–दक्षिण व्यापारीक मार्ग विस्तार आयोजना निर्देशनालयले २०७३ माघ १४ गतेको नयाँ पत्रिका दैनिकमा सुचना प्रकाशन गरेको इन्जिनियर प्रजापतिले जानकारी दिए । सो सडक निर्माणको लागि हाल ठेक्कामात्र भएको र बेनी–घाँसा र घाँसा–जोमसोम दुई खण्डमा सडक स्तरोन्नती गर्ने कार्य संचालनको तयारी भैरहेको छ । 
कालीगण्डकी कोरीडोरको देशका विभिन्न खण्डमा ट्रयाक खोल्ने कार्य भैरहेका छन् । धुसा भीर, बागखोर भीर, बेलबगर भीर, डाँडाकाल भीर र कुचुरे भीर गरी ७ किलोमिटर अत्यन्तै अप्ठ्यारो काम सकिएपछि चालु आर्थिक वर्ष भित्रै कच्ची सडकले उत्तर–दक्षिण जोडिने छ ।
कालीगण्डकी कोरीडोरको बागलुङ–बेनी–जोमसोम खण्डको ट्रयाक खोल्ने काम नेपाली सेनाले २०६४ सालमै सम्पन्न गरेको थियो । गुल्मी खण्ड ४२ किलोमिटर मध्ये ३७ र बागलुङ खण्डको १४ किलोमिटर सकिएको छ भने नेपाली सेनाले पालुङखोला–टाकुरे २३ किलोमिटर सडक निर्माण कार्य द्रुत रुपमा गरीरहेको छ । 
दक्षिण भारतको सीमाना बेलहीया–भैरहवा–पाल्पा–राम्दी–रुद्रवेणी–मालढुंगा–बेनी–जोमसोम–उत्तर चीनको कोरला जोड्ने ३९० किलोमिटरको कालीगण्डकी कोरीडोर सामाजिक, साँस्कृतिक एवं आर्थिक परिवर्तन गर्ने रणनीतिक सडक हो ।

निर्वाचन तथा मतदाता शिक्षा स्वयम् सेवकहरुका लागि दुई दिने तालिम

केशव बि.क
मुस्ताङ ।
जिल्ला निर्वाचन कार्यालय मुस्ताङले निर्वाचन तथा मतदाता शिक्षा स्वयम् सेवकहरुका लागि दुई दिने तालिम चैत्र २७ गते आइतवार सम्पन्न गरेको छ ।
२०७४ बैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनको बारेमा समुदाय स्तरमा जनचेतना र सन्देश प्रवाह गराउन खटिने सामाजिक परिचालक, बालविकास केन्द्रका सहजकर्ता र स्वास्थ्य स्वयम् सेविकाहरुका लागि तालिम सम्पन्न गरेको हो ।
तालिम पश्चात नयाँ संरचना र पद्धतिमा हुन लागेको निर्वाचन धेरैका लागि कौतुहल र व्दिविधाको बिषय भएकाले नागरिकलाई प्रभावकारी हिसावले हरेक घर दैलोमा सूसुचित गर्न सहभागीलाई आग्रह गरिएको छ ।
तालिममा ३५ जनाको सहभागिता रहेको जिल्ला निर्वाचन कार्यालयका नायव सुब्बा महेन्द्र रेग्मीले जनकारी दिए । तालिम लिएपछि उनिहरुले मतदाताको घरघरमा पुगेर स्थानीय तह निर्वाचनको महत्व, मतदान गर्ने तरिका, मतदाताको भुमिका, आचार संहिता, मतपत्र बदर हुन नदिन अपनाउनुपर्ने साबधानीको विषयमा जानकारी गराएको जिल्ला निर्वाचन अधिकारी सिताराम शर्मा लामिछानेले बताए ।
तालिमको सहजिकरण जिल्ला निर्वाचन अधिकारी लामिछाने, देवी गिरी, महेश थकाली, जिल्ला निर्वाचन कार्यालयका नायव सुब्बा महेन्द्र रेग्मी र कम्प्युटर अपरेटर छेत्रदास बैरागीले गरेका थिए ।
मुस्ताङमा ३७ वटा मतदान स्थल कायम गरिएको छ । १ मतदान क्षेत्रमा १ जना मतदाता शिक्षा स्वंयमसेवक खटाइनेछ । मुस्ताङमा ५ वटा गाउँपालिका छन् । जसमा २५ वटा वडा छन् । ८ हजार २ सय ६३ मतदाता रहेका छन् । 
जिल्लामा स्थानीय तहको चुनावका लागि जिल्ला निर्वाचन कार्यालयमा ६ दल दर्ता छन् । कार्यालयका अनुसार नेकपा एमाले, जनसमाजवादी नेकपा माले, नयाँ शक्ति पार्टी नेपाल, नेकपा माओवादी केन्द्र, नेपाली कांग्रेस, राष्ट्रिय प्रजातन्त्र पार्टी र नेपाल पूर्व राष्ट्रसेवक लोकतान्त्रिक पार्टी दर्ता छन् ।

२१ लाख बराबरको निःशुल्क कुखुरा वितरण

केशव बि.क.
मुस्ताङ ।
जिल्ला पशुसेवा कार्यालय मुस्ताङले २०० परिवारलाई अण्डा दिन सक्ने ८ हप्ताका कुखुरा वितरण गरेको छ । जिल्लामा भएको अण्डा र कुखुराको मासुको मागलाई परिपूर्ति गर्न प्रति परिवार २०–२५ गोटाका दरले २१ लाख बराबरको निशुल्क कुखुरा वितरण गरेको वरिष्ठ पशु विकास अधिकृत सुबल शाहले बताए ।
    जिल्लालाई अण्डा र मासुमा आर्मनिर्भर बनाई जीविकोपार्जनमा सुधार ल्याउन सरकारी फार्म (पशु विकास फार्म पोखराबाट) बुटवलमा हुर्काइएका न्युह्याम्पसायर र अष्ट्रालोअर्क जातका कुखुरा गत चैत्र १८ गते थासाङ गाउँपालिकाका स्थानियलाई वितरण गरीएको हो ।
    शाहका अनुसार प्रतिव्यक्ति ४५ अण्डा हुनुपर्नेमा मुस्ताङमा ३५ प्रतिशतले कमि छ । अण्डा र मासुका लागि बाहिरी जिल्लाको भरपर्नु पर्ने अवस्थामा कुखुरा वितरणबाट यसको परिपूर्ति र मुल्य वृद्धि कम गर्न टेवा पुग्ने बताईएको छ ।
    जिल्ला पशुसेवा कार्यालयले अण्डा र मासु उत्पादनका लागि कुखुरा वितरण गरेकोमा स्थानिय हर्षित भएका छन् । जिल्लामा मासु र अण्डाको माग बढिरहेकाले कुखुरा पालन व्यवसायलाई व्यवस्थित ढंगले संचलान गरी यसको आपूर्तिमा सहयोग पु¥याउने स्थानिय रीता पुनले बताइन् ।
    कार्यालयले जिल्लामा कुखराको विकास र विस्तार गर्न खोरमा ६ हजार अनुदान दिएको र तालिम, औषधी, अचारी, भ्याक्सिन निशुल्क उपलब्ध गराउने जनाएको छ । आगामी वर्ष जिल्लामै चल्ला उत्पादन गरी वितरण गर्ने लक्ष्य रहेको वरिष्ठ पशु विकास अधिकृत शाहले बताए । अण्डा मासुमा जिल्लालाई आत्मनिर्भर बनाउन कार्यक्रमलाई निरन्तरता दिने कार्यालयले जनाएको छ ।

Sunday, April 9, 2017

थासाङ गाउँपालिका कार्यालय उदघाटन

मुस्ताङ साप्ताहिक संवाददाता
मुस्ताङ । प्रदेश नं. ४ मुस्ताङ जिल्लाको थासाङ गाउँपालिकाको चैत्र १८ गते शुत्रबार एक समारोहका बिच कार्यकारी अधिकृतलाई स्वागत÷पदस्थापन तथा कार्यालयको उद्घाटन गरीएको छ । थासाङ गाउँपालिकाको कार्यालय साविकको कोवाङ गाविसको कार्यालय कोवाङमा कार्यलयमा वोर्ड राखिएको हो । कार्यालयको उदघाटन गर्दै प्रमुख जिल्ला अधिकारी भीमराज पोखरेलले अहिलेको गाउँपालिका सम्पूर्ण अधिकार प्राप्त भएको शक्तिशाली भएकाले यसको सदुपयोग गर्नुपर्ने बताए ।  सयिन विकास अधिकारी बन्धु प्रसाद बास्तोलाले गाउँपालिकाको विकासमा कर्मचारीलाई सहयोग गर्दै अगाडी बढाउनु पर्नेमा जोड दिए ।
त्यसैगरी थासाङ गाउँपालिकाका कार्यकारी अधिकृत विनोद पौडेलले कार्यकारी अधिकृतको हैसियतले गर्नुपर्ने जिम्मेवारी निर्वाह गर्न आफु प्रतिबद्ध रहेको भन्दै स्थानियको सहयोगको अपेक्षा गरे । समाजसेवी ज्वार भट्टचनले गाउँपालिकाको केन्द्र थकालीको उद्गम स्थल कोवाङमा हुँदा सयिन खुःशी भएको बताउँदै विकासका लागि स्थानिय सँधै तत्पर रहने बताए ।
सो अवसरमा विविध साँस्कृतिक कार्यक्रमको अयोजना गरीएको थियो । कार्यक्रम स्थानिय विकास अधिकारी बन्धु प्रसाद बास्तोलाको अध्यक्षता र थासाङ गाउँपालिका वडा नं. ५ का वडासचिव यमनारायण पनेरुको स्वागत र साविक टुकुचे गाविसका गाविस सचिव अमृता पुनको संचालनमा सम्पन्न भएको थियो ।

कोवाङमा एकिकृत घुम्ती शिविर सम्पन्न

मुस्ताङ साप्ताहिक संवाददाता
मुस्ताङ ।
जिल्ला प्रशासन कार्यालय मुस्ताङको आयोजना तथा संयोजनमा थासाङ गाउँपालिकाको केन्द्र कोवाङमा चैत्र १८ गते शुक्रबार एक दिने एकिकृत घुम्ती शिविर सम्पन्न भएको छ । जिल्लामा रहेका सम्पूर्ण कार्यालयले दिने सेवा सुविधा स्थानिय स्तरमा उपलब्ध गराउन एकिकृत घुम्ती शिविरको आयोजना गरीएको प्रमुख जिल्ला अधिकारी भीमराम पोखरेलले बताए ।      एकिकृत घुम्ती शिविरमा जिल्लास्थित कार्यालयले गाउँस्तरमा आफ्ना सेवा सुविधा उपलब्ध गराएका थिए । शिविरमा १७ जनालाई नागरिकता वितरण गरीएको सहायक प्रमुख जिल्ला अधिकारी लक्ष्मण बहादुर खड्काले जानकारी दिए । जिल्ला सदरमुकाममा धाएर पाउने सेवा सुविधा गाउँमै उपलब्ध हुँदा स्थानिय एकदमै खुःशी भएका थिए ।
त्यसैगरी जिल्ला पशुसेवा कार्यालयबाट ६२ जनाले सेवा लिएका थिए । कार्यालयले ६२० वटा गाई, २४८ वटा बाख्रा, ८२७ वटा कुखुरा र ३ वटा कुकुरको लागि विभिन्न औषधी वितरण गरेको थियो । ४६ जनालाई ५० केजी घाँसको विउ वितरण र दुई सय परिवारलाई गरेको वरिष्ठ पशु विकास अधिकृत सुबल शाहले बताए ।
शिविरमा जिल्ला कृषि विकास कार्यालयले १४७ जनालाई बिउ, विषादी वितरण तथा प्राविधिक सल्लाह सुझाव दिएको वरिष्ठ कृषि विकास अधिकृत सावित्री बरालले जानकारी दिइन् । त्यस्तै महिला तथा बालबालिका कार्यालयले २५ जनालाई जेष्ठ नागरिक परिचयपत्र र २ जनालाई अपाङगता परिचयपत्र वितरण गरेको महिला विकास अधिकृत सावित्रा शाहले जानकारी दिइन् । मुस्ताङ सामुदायिक आँखा केन्द्रको आँखा शिविरमा ७८ जनाले आँखा जाँच गरेका थिए । भने ६९ जनाको स्वास्थ्य परिक्षण गरीएको मुस्ताङ अस्पतालले जनाएको छ ।
सो अवसरमा उपभोक्ता सचेतना र विपद व्यवस्थापन सचेतना कार्यक्रम, मेलमिलाप, स्थानिय शान्ती समिति र सारोकारवालाहरुको क्षमता विकास र अभिमूखिकरण कार्यक्रम, सार्वजनिक सुनुवाई र प्रकोप सम्बन्धी सचेतना कार्यक्रम संचालन गरिएको थियो ।