Sunday, April 9, 2017

कोवाङमा एकिकृत घुम्ती शिविर सम्पन्न

मुस्ताङ साप्ताहिक संवाददाता
मुस्ताङ ।
जिल्ला प्रशासन कार्यालय मुस्ताङको आयोजना तथा संयोजनमा थासाङ गाउँपालिकाको केन्द्र कोवाङमा चैत्र १८ गते शुक्रबार एक दिने एकिकृत घुम्ती शिविर सम्पन्न भएको छ । जिल्लामा रहेका सम्पूर्ण कार्यालयले दिने सेवा सुविधा स्थानिय स्तरमा उपलब्ध गराउन एकिकृत घुम्ती शिविरको आयोजना गरीएको प्रमुख जिल्ला अधिकारी भीमराम पोखरेलले बताए ।      एकिकृत घुम्ती शिविरमा जिल्लास्थित कार्यालयले गाउँस्तरमा आफ्ना सेवा सुविधा उपलब्ध गराएका थिए । शिविरमा १७ जनालाई नागरिकता वितरण गरीएको सहायक प्रमुख जिल्ला अधिकारी लक्ष्मण बहादुर खड्काले जानकारी दिए । जिल्ला सदरमुकाममा धाएर पाउने सेवा सुविधा गाउँमै उपलब्ध हुँदा स्थानिय एकदमै खुःशी भएका थिए ।
त्यसैगरी जिल्ला पशुसेवा कार्यालयबाट ६२ जनाले सेवा लिएका थिए । कार्यालयले ६२० वटा गाई, २४८ वटा बाख्रा, ८२७ वटा कुखुरा र ३ वटा कुकुरको लागि विभिन्न औषधी वितरण गरेको थियो । ४६ जनालाई ५० केजी घाँसको विउ वितरण र दुई सय परिवारलाई गरेको वरिष्ठ पशु विकास अधिकृत सुबल शाहले बताए ।
शिविरमा जिल्ला कृषि विकास कार्यालयले १४७ जनालाई बिउ, विषादी वितरण तथा प्राविधिक सल्लाह सुझाव दिएको वरिष्ठ कृषि विकास अधिकृत सावित्री बरालले जानकारी दिइन् । त्यस्तै महिला तथा बालबालिका कार्यालयले २५ जनालाई जेष्ठ नागरिक परिचयपत्र र २ जनालाई अपाङगता परिचयपत्र वितरण गरेको महिला विकास अधिकृत सावित्रा शाहले जानकारी दिइन् । मुस्ताङ सामुदायिक आँखा केन्द्रको आँखा शिविरमा ७८ जनाले आँखा जाँच गरेका थिए । भने ६९ जनाको स्वास्थ्य परिक्षण गरीएको मुस्ताङ अस्पतालले जनाएको छ ।
सो अवसरमा उपभोक्ता सचेतना र विपद व्यवस्थापन सचेतना कार्यक्रम, मेलमिलाप, स्थानिय शान्ती समिति र सारोकारवालाहरुको क्षमता विकास र अभिमूखिकरण कार्यक्रम, सार्वजनिक सुनुवाई र प्रकोप सम्बन्धी सचेतना कार्यक्रम संचालन गरिएको थियो ।

No comments:

Post a Comment