Monday, April 10, 2017

कालीगण्डकी कोरीडोरको काम धमाधम

 केशव बि.क./मुस्ताङ साप्ताहिक संवाददाता
मुस्ताङ, २८ चैत्र ।
नेपालको उत्तर–दक्षिण जोड्ने कालीगण्डकी कोरीडोर अन्तर्गत जोमसोम–कोरला सडकको स्तरोन्नतीको काम धमाधम भैरहेको छ । विभिन्न निर्माण कम्पनीले प्याकेजमा सडकको स्तरोन्नतीको काम गरीरहेको नेपाल सरकार भौतिक पूर्वधार तथा यातायात क्षेत्रीय सडक निर्देशनालय कालीगण्डकी कोरीडोर बेनी–जोमसोम–कोरला सडक योजना जोमसोमले जनाएको छ ।              
    कालीगण्डकी कोरीडोर बेनी–जोमसोम–कोरला सडक योजनाका इन्जिनियर जगत प्रजापतिका अनुसार जोमसोम–झैते खण्डको ०–१८ किमि सडक बज्रगुरु, खडग कृष्ण जेभी काठमाण्डौँले २७ करोड ९७ लाखमा २०७५ कार्तिक सम्ममा २४ महिनामा काम सिद्धाउने गरी निर्माणको जिम्मा लिएको छ । त्यस्तै १८–२९ किमि सडक दिवा डाँफे एपेक्स जेभीले ४५ करोड ६८ लाखमा २०७५ मंसिर सम्ममा र २९–४० किमि सडक कान्छाराम, कोशी एण्ड न्यौपाने जेभीले ५३ करोड ७४ लाखको लगानीमा २०७५ श्रावण महिना सम्ममा निर्माणको काम सिद्धाउने जिम्मा लिएका छन् ।
    त्यसैगरी झैते–कोरला खण्डको ०–१९ किमि सडक कन्चनजंघा लामा मोतिदान जेभीले २५ करोड ९९ लाख, १९–४४ किमि सडक तामाङ गौरी पार्वती कोशी न्यौपाने जेभीले २६ करोडमा र ४४–५८ किमि सडक दिवा रौताहा एपेक्स जेभी काठमाण्डौँले २७ करोड ८९ लाखमा निर्माणको जिम्मा लिएका हुन् । यी सडकखण्ड निर्माणको अवधि २४ महिना रहेको छ । 
पहिलो चरणको २४ महिनामा जोमसोम–कोरला सडक चौडा पार्ने, नाली र पर्खाल निर्माण गरी ग्राबेलिङ गर्ने र दोस्रो चरणमा सडक कालोपत्रे गरीने इन्जिनियर प्रजापतिले बताए । सडक डबल लेन अर्थात १०–११ मिटर (३६ फिट) चौडा हुनेछ । बजार क्षेत्रमा ७.५ मिटर सडक निर्माण र १.५ मिटरको फुटपात बनाइने बताईएको छ ।
बेनी–जोमसोम सडक निर्माणको लागि उत्तर–दक्षिण व्यापारीक मार्ग विस्तार आयोजना निर्देशनालयले २०७३ माघ १४ गतेको नयाँ पत्रिका दैनिकमा सुचना प्रकाशन गरेको इन्जिनियर प्रजापतिले जानकारी दिए । सो सडक निर्माणको लागि हाल ठेक्कामात्र भएको र बेनी–घाँसा र घाँसा–जोमसोम दुई खण्डमा सडक स्तरोन्नती गर्ने कार्य संचालनको तयारी भैरहेको छ । 
कालीगण्डकी कोरीडोरको देशका विभिन्न खण्डमा ट्रयाक खोल्ने कार्य भैरहेका छन् । धुसा भीर, बागखोर भीर, बेलबगर भीर, डाँडाकाल भीर र कुचुरे भीर गरी ७ किलोमिटर अत्यन्तै अप्ठ्यारो काम सकिएपछि चालु आर्थिक वर्ष भित्रै कच्ची सडकले उत्तर–दक्षिण जोडिने छ ।
कालीगण्डकी कोरीडोरको बागलुङ–बेनी–जोमसोम खण्डको ट्रयाक खोल्ने काम नेपाली सेनाले २०६४ सालमै सम्पन्न गरेको थियो । गुल्मी खण्ड ४२ किलोमिटर मध्ये ३७ र बागलुङ खण्डको १४ किलोमिटर सकिएको छ भने नेपाली सेनाले पालुङखोला–टाकुरे २३ किलोमिटर सडक निर्माण कार्य द्रुत रुपमा गरीरहेको छ । 
दक्षिण भारतको सीमाना बेलहीया–भैरहवा–पाल्पा–राम्दी–रुद्रवेणी–मालढुंगा–बेनी–जोमसोम–उत्तर चीनको कोरला जोड्ने ३९० किलोमिटरको कालीगण्डकी कोरीडोर सामाजिक, साँस्कृतिक एवं आर्थिक परिवर्तन गर्ने रणनीतिक सडक हो ।

No comments:

Post a Comment