Tuesday, April 11, 2017

थाक ठिनीमा बाह्र बर्षे देवि दर्शन पुजा शुरु

    केशव बि.क.
मुस्ताङ, २९ चैत्र ।
ऐतिहासिक, धार्मिक तथा साँस्कृतिक महत्व बोकेको बाह्र वर्षे देवि छेव ढाङताङभ्यो (भोमो आमा) को भव्य दर्शन पुजा एवं मेला चैत्र २९ गते मंगलबार देखि मुस्ताङको घरपझोङ गाउँपालिका अन्तर्गतको थाक ठिनी गाउँमा शुरु भएको छ ।     ठिनी गाउँको मध्ये भागमा अवस्थित ल्अखिम कर्पाेमा विराजमान बाह्र वर्षे देविको बोन धर्म अन्तर्गत आय धर्म सम्प्रदायको प्रतीक ल्अखिम कर्पाे मन्दिरमा पन्ध्र दिनसम्म आयलामा (पुजारी) हरुले दैनिक ठि (दुग्ध स्नान) पुजा अर्चना गर्दछन् । प्रत्येक बाह्र वर्षमा पर्ने चरा वर्गको कुपिल्आ महिनामा दर्शन पुजा गरीने भएकाले देवि छेव ढोङताङभ्योलाई बाह्र वर्षे देवि भनिएको हो ।
    महाकरुणामयी देवि छेव ढोङताङभ्योलाई परापूर्व कालमा भर्ति वंशका पुर्खा एवं आयधर्मका प्रतिपादक धर्ती पुत्र ङर्के ह्रन्लाङ घुमले भारतको वृन्दावनबाट अनुनय विनय गर्दै ल्याएर ल्अखिम कर्पाे मन्दिरमा विराजमान गराएको आयलामाहरु बताउँछन् ।  
    यस भव्य बाह्र वर्षे देवि दर्शन तथा नित्य पुजामा महाशक्ति देव छेव ढोङताङभ्यो र देविको कुछप (स्वरुप) यी तीन वटा देवि देवताहरुलाई दुग्ध स्नान गर्दै भव्य पुजा गरी दर्शन गर्ने परम्परा छ । देविले दीर्घायु, श्रीसम्पति र सन्तान प्राप्ति गरी तीन वटा वर प्रदान गर्ने जनविश्वास रही आएको आयलामा (पुजारी) श्याम प्रसाद थकालीले बताए ।
    ल्अखिम कर्पाे मन्दिरमा विराजित बाह्र बर्षे देविको महिमाले गर्दा हजारौँ श्रद्धालु भक्तजनहरु दर्शन तथा पुजाको लागि यो अवसरमा ठिनी गाउँमा आउने गाउँ मुखिया कुल बहादुर थकालीको भनाई छ । दैनिक पुजा अर्चना गर्ने र प्रत्येक दिन ठि पछि ¥हव अर्थात देवताको महिमा÷कहानी सुनाउने प्रचलन रहेको छ ।
    बाह्र बर्षे देवि दर्शन मेलाको उदघाटन गर्दै माननीय साँसद श्रीमाया थकालीले ऐतिहासिक, धार्मिक तथा साँस्कृतिक रुपले सम्पन्न मुस्ताङको कलासंस्कृति एवं पहिचानलाई जोगाउन सबै मुस्ताङी एकजुट भएर लाग्नुपर्ने बताईन् । साथै उनले परिवर्तनकारी युगमा गुमाएका आफ्ना सम्पदाको खोजी गर्नुपर्ने उल्लेख गरीन् । त्यस्तै निमित्त प्रमुख जिल्ला अधिकारी जितेन्द्र बलामीले कलासँस्कृतिले गर्दा नै समुन्नत समाजको निर्माण हुने भएकाले सँस्कृतिको संरक्षणमा सबैले ध्यानदिनु पर्ने बताए । 
    सो अवसरमा हाम्रो मुस्ताङ नामक गीतिसंग्रहको विमोचन र पुनर्निर्मित ल्अखिम कर्पाे मन्दिरको साँसद थकालीद्धारा उदघाटन गरीएको थियो । कार्यक्रममा आयलामा श्याम प्रसाद थकालीले देवि दर्शन पुजाको बारेमा जानकारी गराएका थिए । उदघाटन समारोह गाउँ मुखिया कुल बहादुर थकालीको अध्यक्षता, मेलाका संयोजक सम प्रसाद थकालीको स्वागत र स्थानिय सरीता थकालीको संचालनमा सम्पन्न भएको थियो ।
    पन्ध्र दिनसम्म संचालन हुने देवि दर्शन मेलामा ठि पुजा संगसंगै विविध साँस्कृतिक तथा खेलकुदका कार्यक्रम आयोजना गरीने मेलाका संयोजक समप्रसाद थकालीले जानकारी दिए ।      

No comments:

Post a Comment