Wednesday, September 7, 2016

मुस्ताङमा निजामति सेवा दिवस मनाईयो

मुस्ताङ साप्ताहिक
मुस्ताङ २२ भाद्र
सेवा मैत्री र जवाफदेहि प्रशासन संघियतामा सुशासन भन्ने मुल उदघोष सहित आधिकारीक ट्रेड युनियन (सिबिए) मुस्ताङले निजामति सेवा दिवस मनाएको छ । सिबिए मुस्ताङको आयोजनामा विविध कार्यक्रम सहित बुधवार जोमसोममा १३ औँ निजामति सेवा दिवस मनाइएको हो ।सो अवसरमा मुस्ताङ जिल्ला अस्पतालका बिरामीलाई फलफुल वितरण गरी जिविसको सभाहलमा कविता वाचन प्रतियोगिताको अयोजना र प्रभातफेरी कार्यक्रम सहित दिवस मनाइएको थियो ।
कार्यक्रमको उद्घाटन गर्दै सांसद श्रीमाया थकालीले कर्मचारीहरुले राज्यको निर्देशनलाई सहि ढंगले पालना गर्दै सुविधा संगसंगै दायित्व बोध गर्नुपर्ने बताउँदै कोही पनि आफ्नो जिम्मेवारीबाट पन्छिन नहुने बताईन् । राजनैतिक दल र निजामति कर्मचारी एकअर्काका परिपुरक भएको भन्दै सांसद थकालीले राजनैतिक परिवर्तन संगै जिम्मेवारी पनि थपिदै गएकाले विधिको शासन अनुरुप कार्य सम्पादन गर्न आग्रह गरिन् । साथै समयानुसार राजनैतिक दल तथा कर्मचारीहरु परिवर्तन हुन नसकेकाले विगतको समिक्षा गर्दै वर्तमानलाई सुधार गर्दै जानुपर्ने उनको भनाई थियो ।
त्यसैगरी कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी गणेश बहादुर अधिकारीले निजामति सेवा दिवसको आदर्श भनाई प्रति लाग्दै आफ्नो काम कतव्र्य र सेवा प्रति प्रतिवद्ध हुन सबैलाई आग्रह गरे । विधिको शासन पालना गर्दै नियत सफा राखे कसैसंग डराउनु नपर्ने बताउँदै प्रजिअ अधिकारीले कानुनमा प्रतिवद्ध रहि कार्य सम्पादन गर्नुपर्ने बताए ।
कार्यक्रममा निमित्त स्थानिय विकास अधिकारी रविन्द्र तिवारी, सिबिए सदस्य भेषराज रेग्मी, जिल्ला शिक्षा अधिकारी केशरीरमण न्यौपाने, नेपाली काँग्रेसका कार्यवाहक सभापति न्हुर्वु गुरुङ, नेकपा एमालेकी सम्झना थकाली, नेकपा माओवादीका विशाल विक, जनहित उमाविका प्रअ रामचन्द्र अधिकारी, निजामति कर्मचारी संगठन मुस्ताङका अध्यक्ष मोतिलाल चपाई लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
सो अवसरमा आयोजना गरिएको कविता वाचन प्रतियोगितामा सहभागि ५ जना मध्ये लक्ष्मण देवकोटा प्रथम, शोभा पुन द्धितिय र हिमकुमारी पुनले तृतिय स्थान हासिल गरेकी छन् ।
कार्यक्रममा अवकास प्राप्त कर्मचारीहरु मान बहादुर कार्की, च्याम बहादुर गुरुङ, फलेन्द्र थकाली, उत्तम कुमार नेपाल, इन्द्रसिंह पूर्जा र गोमा केसी थकालीलाई प्रशंसा पत्र र दोसल्लाद्धारा सम्मान गरिएको थियो ।
त्यसैगरी कविता वाचन प्रतियोगिता र निजामति दिवसको पूर्वसन्ध्यामा आयोजना गरिएको मैत्रीपूर्ण फुटबल खेल र २०० मिटर दौड प्रतियोगिताका विजयी सहभागिलाई पुरस्कार वितरण गरिएको थियो ।
आधिकारीक ट्रेड युनियनका सदस्य भेषराज रेग्मीको अध्यक्षतामा भएको कार्यक्रमको स्वागत नारायण प्रसाद ढकाल र संचालन हिमकुमारी पुनले गरेकी थिइन् ।       
  

No comments:

Post a Comment