Thursday, March 30, 2017

स्थानिय तहको चुनावमा एमालेको सकृयता

केशव बि.क.
मुस्ताङ ।
स्थानिय तहको निर्वाचन नजिकिँदै गर्दा जिल्लामा कृयाशिल पार्टीको सकृयता बढ्न थालेको छ ।
उम्मेदवार छनोटमा केन्द्रले जारी गरेको उम्मेदवार छनोट आचार संहिता अनुसार उम्मेदवारको चयन गाउँपालिकामा गठित गाउँपालिका संगठन कमिटीले गर्नेछ । संगठन कमिटीले स्थानिय निकायमा चुनावी अभियान संचालन गर्ने बताइएको छ ।
नेकपा एमाले अध्यक्ष गौचनले मुस्ताङको पाँच वटै गाउँपालिकामा नेकपा एमालेलाई विजय गराउन पार्टी एकढिक्का भई लाग्ने बताए । नेकपा एमाले देश र जनताको पार्टी भएकाले एमालेका उम्मेदवारलाई जिताउन पार्टी सदस्य, समर्थक र शुभचिन्तक लगायत सबैलाई आग्रह गरेका छन् ।
पार्टीले आगामी २०७४ बैशाख ९ जिल्ला सदरमुकाम जोमसोममा विशेष कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रमको अयोजना गर्ने एमालेले बताएको छ ।
नेकपा एमाले जिल्ला पार्टीका संगठित सदस्य, कार्यकर्ता लगायतको उपस्थितिमा आगामी चैत्र २१ गते थासाङ गाउँपालिकाको कोवाङमा, चैत्र २३ गते घरपझोङ गाउँपालिकाको जोमसोममा, चैत्र २६ गते बाह्रगाउँ मुक्तिक्षेत्र गाउँपालिकाको कागबेनीमा, चैत्र ३१ गते दालोमे गाउँपालिकाको चराङमा र चैत्र ३० गते लोमान्थाङ गाउँपालिकाको लोमान्थाङमा नेकपा एमाले गाउँपालिका संगठन कमिटी गठन गरिने एमालेले जनाएको छ ।
कमिटी मुस्ताङले संघीय नेपालको संरचनामा अनुसार मुस्ताङका पाँच वटै गाउँपालिकामा आफ्नो संगठन विस्तार गर्ने भएको छ । नेकपा एमाले मुस्ताङका अध्यक्ष चन्द्रमोहन गौचनको अध्यक्षतामा चैत्र १६ गते जोमसोममा बसेको पार्टीको दोस्रो पूर्ण बैठकमा संगठन विस्तार गर्ने निर्णय गरेको हो ।

थाक ठिनीमा चैत्र २९ देखि देविको भव्य दर्शन पुजा हुँदै

    केशव बि.क./मुस्ताङ साप्ताहिक
मुस्ताङ, चैत्र १६ । ऐतिहाँसिक, धार्मिक तथा साँस्कृतिक महत्व बोकेको थकाली जातिको ल्अ फेव बाह्र वर्षे देवि छेव ढोङताङभ्यो (भोमो आमा) को भव्य दर्शन, पुजा एवं मेला आगामी चैत्र २९ गते बाट घरपझोङ गाउँपालिकाको थाक ठिनी गाउँमा शुरु हुँदैछ । बुधवार ठिनीमा पत्रकार सम्मेलनको आयोजना गरी देवि दर्शन पुजा एवं मेलाको बारेमा जानकारी गराईएको हो । गाउँको मध्य भागमा रहेकी बाह्र वर्षे देवि छेव ढोङताङभ्यो लाई बाह्र वर्षमा एक पटक मात्र भव्य दर्शन पुजा गरिन्छ । चरा वर्षको अवसर पारेर देवि छेव ढोङताङभ्योको दर्शन गरिने र चरा वर्षको उदय हुन १२ वर्ष लाग्ने भएकाले प्रत्येक १२ वर्षमा देविको भव्य दर्शन मेलाको आयोजना गर्दै आएको बाह्र वर्षे देवि दर्शन, पुजा एवं मेला मुल समितिका संयोजक सम प्रसाद थकालीले जानकारी दिए ।
    ल्अ को अर्थ देवि र फेव को शाब्दिक अर्थ निस्कने÷निकाल्ने बुझिन्छ । बाह्र वर्षमा देवि निकालिने भएकाले यस पर्वलाई ल्अ फेव भनिएको हो । ल्अखिम कर्पाे मन्दिरमा विराजमान बाह्र वर्षे देवि छेव ढोङताङभ्योको दर्शन तथा पुजाको लागि हजारौँ भक्तजनहरु थाक ठिनीमा आउने स्थानिय कुल बहादुर थकालीले बताए ।
    बाह्र वर्षे देवि दर्शनमा बोन धर्म अन्तर्गत आय धर्म सम्प्रदायको प्रतिक ल्अखिम कर्पाे मन्दिरमा आयलमहरुले दैनिक पुजा अर्चना गर्ने र प्रत्येक दिन ठि पछि ¥हव अर्थात देवताको महिमा÷कहानी सुनाउने प्रचलन रहेको आयलामा आम प्रसाद थकालीको भनाई छ ।
    भोमो आमाको भव्य दर्शन पुजा एवं मेलाको अवसरमा कुछप तेरङगा गुम्बाट देवता निकालेर दर्शन पुजा र तीन गाउँले (ठिनी, स्याङ र चिमाङ) थकालीको ऐतिहासिक संग्रालयको अवलोकन गर्न पाउने अवसर पनि प्रदान गरीने बताइएको छ ।
    सो दर्शन पुजा एवं मेलाको अवसर पारेर बाह्र वर्षे देवि दर्शन तथा पुजा संगसंगै अतिरित्त कार्यक्रमको आयोजना गरीने मूल आयोजक समितिले जनाएको छ । ल्अ फेव पर्व आगामी चैत्र २९ गते देखि २०७४ वैशाख १३ गते सम्म संचालन हुनेछ ।        

Wednesday, March 29, 2017

मुस्ताङ संस्कृति तथा शिक्षा केन्द्रको गतिविधि सार्वजनिक

केशव बि.क./मुस्ताङ साप्ताहिक संवाददाता
मुस्ताङ, चैत्र १५ ।
मुस्ताङ संस्कृति तथा शिक्षा केन्द्र मुस्ताङले मंगलबार एक कार्यक्रमका बिच जिल्लामा संचालित आफ्ना गतिविधिको बारेमा जानकारी गराएको छ । वि.सं. २०६९ सालमा स्थापना भई संस्कृति संरक्षण तथा शिक्षामा उल्लेख्य भूमिका निर्वाह गर्दै आएको संस्थाले पत्रकार भेटघाटको आयोजना गरी आफ्ना गतिविधिहरु सार्वजनिक गरेको हो ।
संस्कृति संरक्षण, आर्थिक, सामाजिक, शैक्षिक क्षेत्रको विकास र विस्तार गर्ने उद्देश्यले स्थापित मुस्ताङ संस्कृति तथा शिक्षा केन्दले जोमसोममा वि.सं. २०७० को सुरुवात देखि हिमालयन चिल्ड्रेन होम नामक निशुल्क होस्टेल संचालनमा ल्याएको छ ।
अमेरीका, युरोप लगायतका देशहरुका दाताहरुको सहयोगमा होस्टेल संचालनमा ल्याएको मुस्ताङ संस्कृति तथा शिक्षा केन्द्रका अध्यक्ष गेशे सोनाम गुरुङले बताए । बोन धर्ममा पिएचडि गरेका गुरुङले वर्षमा ३÷४ पटक अमेरीका युरोप लगायतका देशमा अध्यापन गर्न जाने र सोही ठाउँबाट सहयोग जुटाई मुस्ताङमा होस्टेल संचालनमा ल्याएका हुन् ।
होस्टेलमा १९ छात्र र १९ छात्र गरी हाल ३८ जना छात्रछात्रा रहेका छन् । तीमध्ये ३ जना दलित विद्यार्थीहरु रहेका छन् । प्रत्येक वर्ष छात्रवासमा ४ जना विद्यार्थी थप्दै जाने संस्थाको निति रहेको छ । धौलागिरी आवासिय विद्यालयमा अध्ययन गर्ने ति छात्रछात्राहरुको विद्यालय शुल्क र हिमालयन होस्टेलमा खान, बस्न, लत्ताकपडा आदि व्यवस्था मुस्ताङ संस्कृति तथा शिक्षा केन्द्रले नै गरेको संस्थाकी सचिव शर्मिला गुरुङले बताईन् ।
एकजना विद्यार्थीलाई वार्षिक करिब एकलाख खर्च लाग्ने गरेको संस्थाले जनाएको छ । आर्थिक वर्ष २०७२÷०७३ मा ४२ लाख ७९ हजार २०३ रुपैयाँ खर्च भएको कोषाध्यक्ष राजेन्द्र शेरचनले बताए । होस्टेलमा बोन धर्म संस्कृति र तिब्बतियन भाषाको बारेमा पनि विद्यार्थीलाई सुसुचित गराउने गरिएको छ ।
संस्कृतिको संरक्षणका लागि संस्थाले निकट भविष्यमा बोन गुम्बा र बालगृहको निर्माण गर्न लागेको छ । विदेशी सहयोग दाताहरुको सहयोगमा सो गुम्बा निर्माण गर्न लागिएको हो । साविक जोमसोम ८ मा गुम्बा निर्माणको लागि ६ रोपनी जग्गा २ वर्ष अगाडी नै गाउँलेले निर्णय गरी उपलब्ध गराएको बताईएको छ ।
गुम्बा निर्माणको लागि माटो परिक्षण भैसकेको र टेक डिजाइन कम्पनीले डिजाइन र लागतको स्टिमेट गरीरहेको श्रोतले बताएको छ । निर्माण कार्यलाई सहयोग पु¥याउन निर्माण सहयोग समिति पनि गठन गरीएको बताइएको छ । गुम्बाको निर्माणलाई सहज बनाउन एवं सामाजिक तथा सांस्कृतिक संरक्षणका लागि सरकारले उपयुक्त निति बनाउनुपर्ने स्थानियले माग गरेका छन् । 

Monday, March 27, 2017

गुरुङद्धारा मुक्तिनाथमा १०० थान म्याट हस्तान्त्ररण

मुस्ताङ साप्ताहिक संवाददाता
मुस्ताङ । राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालय मुस्ताङका प्रमुख एवं अनुसन्धान अधिकृत महेश गुरुङले प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथमा १०० थान डोरम्याट हस्तान्त्रण गरेका छन् । गुरुङले आफ्ना सुपुत्र सयान गुरुङको नामबाट गत चैत्र १२ गते मुक्तिनाथमा डोरम्याट हस्तान्त्ररण गरेका हुन् । मुक्तिनाथ भ्रमणका क्रममा मुक्तिनाथका धारा लगायत मन्दिर परिसरमा म्याटको आवश्यकता रहेको देखेपछि तत्कालै २२ हजार बराबरको १०० थान म्याट हस्तान्त्ररण गरेको गुरुङले बताए ।
    मुक्तिनाथ विकास समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी भीमराज पोखरेल, प्रमुख सेनानी सुरेन्द्रदेव बोगटी, सशस्त्र प्रहरी नायव उपरिक्षक देवराज जोशी, बाह्रगाउँ मुक्तिक्षेत्र गाउँपालिकाका कार्यकारी अधिकृत गोविन्द सिग्देल लगायतको उपस्थितिमा म्याट हस्तान्त्ररण गरीएको हो ।
    मुक्तिनाथ विकास समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी भीमराज पोखरेलले पवित्र धार्मिक तीर्थस्थल मुक्तिनाथमा खड्किएको आवश्यकतालाई मध्यनजर गर्दै अनुसन्धान अधिकृत गुरुङले गरेको सहयोग प्रशंसनीय भएको बताए । मुक्तिनाथ विकासको लागि सबैले आआफ्नो क्षेत्रबाट सक्दो सहयोग गर्नुपर्ने प्रजिअ पोखरेलको भनाई थियो ।

Sunday, March 26, 2017

वन डढेलो नियन्त्रण सम्बन्धी अन्तरक्रिया सम्पन्न

केशव बि.क./मुस्ताङ साप्ताहिक
मुस्ताङ, चैत्र १३ ।
प्रकृतिको संरक्षण गर्न डढेलो नियन्त्रण गर्नुपर्नेमा एक कार्यक्रमका सहभागीले जोड दिएका छन् । नेपाल सरकार वन तथा भूसंरक्षण मन्त्रालय, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग, अन्नपूर्ण संरक्षण क्षेत्र, सम्पर्क कार्यालय पोखराको आयोजनामा आइतबार मुस्ताङको सदरमुकाम जोमसोममा सम्पन्न वन डढेलो नियन्त्रण सम्बन्धी जिल्ला स्तरीय अन्तरक्रिया कार्यक्रमका सहभागीले यसमा जोड दिएका हुन् ।    अन्तरक्रियामा वन डढेलोको किसिम, कारण, असर, वन डढेलोको घटना बढिरहेको अवस्थामा यसलाई कसरी न्युनिकरण गर्न सकिन्छ लगायतका विषयमा छलफल गरीएको थियो । कार्यक्रमको सहजीकरण संरक्षण क्षेत्र सम्पर्क कार्यालय पोखराका संरक्षण अधिकृत ऋषिराम ढकाल र अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) इलाका कार्यालय जोमसोमका प्रमुख तुलसी दाहालले गरेका थिए ।
    हिमाली क्षेत्र डढेलोको उच्च जोखिममा रहेको र सन् २०००–२०१४ सम्मको इतिहासमा सबैभन्दा धेरै हिमाली क्षेत्रमा १७ हजार ३११ पटक डढेलो लागेको संरक्षण अधिकृत ढकालले बताए । वि.सं. २०६४–०७४ सम्म ९ वर्षको अवधिमा डढेलोको कारण ३६ जनाले ज्यान गुमाइसकेका छन् । विं.सं. २०६६ सालमा एक दिनको अवधिमा देशभर ४२० ठाउँमा डढेलो लागेको थियो ।
    मुस्ताङमा १४ प्रतिशत भूभाग वन क्षेत्रले ओगटेको र त्यसमा वर्षेनी कुनै न कनै कारणले डढेलो लाग्ने गरेको एक्याप जोमसोमका प्रमुख दाहालले बताए । वि.सं. २०६५–०७४ सम्म मुस्ताङको ४१४ हेक्टर वनमा डढेलो लागेको बताईएको छ ।
    कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी भीमराज पोखरेलले विशेषगरी मानवीय कारणले डढेलो लाग्ने गरेकाले सबै सचेत हुनुपर्नेमा जोड दिए । त्यस्तै नागरिक अगुवा चन्द्रबहादुर थकालीले डेढेलोको विषयमा आम सर्वसाधरणमा जनचेतना फैलाउन सके यसको न्युनिकरण गर्न सकिने बताए ।
    कार्यक्रम संरक्षण अधिकृत ऋषिराम ढकालको अध्यक्षता, एक्याप जोमसोमका प्रमुख तुलसी दाहालको स्वागत र एक्याप जोमसोमका रेन्जर सुरेश थापाको संचालनमा सम्पन्न भएको थियो ।

जोमसोममा करेन्ट लागेर एक जना घाइते

मुस्ताङ साप्ताहिक संवाददाता
मुस्ताङ ।
जिल्ला सदरमुकाम जोमसोममा शनिवार करेन्ट लागेर एक जना घाइते भएका छन् । साविकको बागलुङ जिल्ला निसी गाविस ७ का २७ वर्षिय सन्तोष घर्ति मगर करेन्ट लागेर घाइते भएका हुन् ।
    जोमसोमको पक्की पुल निमार्णमा निर्माणको काम गरीरहेका मगरलाई रड उठाउने क्रममा दिउँसो २ः१५ बजे बिजुलीको तारमा रडले छुँदा करेन्ट लागेको बताइएको छ । मगरको दाइने हातको हत्केला र दाइने खुट्टाको गोली गाँठोमा हल्का चोट लागेको छ ।
    करेन्ट लागी घाइते भएका मगरको जिल्ला अस्पताल जोमसोममा उपचार पश्चात निवासमा फर्किएका छन् । 

हाई अल्टीच्युटको कारण तीर्थयात्रीको मृत्यु

केशव बि.क./मुस्ताङ साप्ताहिक संवाददाता
मुस्ताङ ।
हाई अल्टीच्यटको कारण गत चैत्र ११ गते मुक्तिनाथमा एक तीर्थ यात्रीको मृत्यु भएको छ । साविकको भक्तपुर जिल्ला चित्तपोल गाविस वडा नं. ८ स्थायी घर भएका ५६ वर्षीय रामकृष्ण खत्रीको मृत्यु भएको प्रहरीले जनाएको छ । 
 मुक्तिनाथ मन्दिरको दर्शन गरी फर्किने क्रममा रानीपौवा बजारमा अचानक बेहोस भई ढलेका खत्रीको जिल्ला अस्पताल जोमसोममा उपचारको क्रममा दिउँसो २ बजेर ४५ मिनेट जाँदा मृत्यु भएको हो ।
मृतक खत्रीको सव उनका आफन्तले चैत्र १२ गते जोमसोम स्थित कालीगण्डकी किनारमा दाहसँस्कार गरेको बताइएको छ । मृतक खत्री सहित चार जनाको टोली चैत्र १० गते मुक्तिनाथ दर्शनका लागि आएका थिए ।  
मुक्तिनाथमा अक्सिजन सहितको सुविधा सम्पन्न स्वास्थ्य चौकी नहुँदा ३७१० मिटरको उचाईमा रहेको मुक्तिनाथ मन्दिर दर्शन गर्न आउने केही तीर्थयात्रीको अल्टिच्युटको कारण मृत्यु हुने गरेको छ ।
मुक्तिनाथ दर्शन गर्न आउने तीर्थयात्रीको स्वास्थ्यको सुरक्षाका निम्ति मुक्तिनाथमा सुविधा सम्पन्न स्वास्थ्य चौकीको निर्माणमा सरोकारवालाले ध्यान दिनुपर्ने स्थानियले बताएका छन् ।

कागबेनीमा एकिकृत घुम्ती शिविर सम्पन्न

    केशव वि.क.
मुस्ताङ, चैत्र १२ ।
जिल्ला प्रशासन कार्यालय मुस्ताङको आयोजना तथा संयोजनमा बाह्र गाउँ मुक्तिक्षेत्र गाउँपालिकाको केन्द्र कागबेनीमा शुक्रबार एक दिने एकिकृत घुम्ती शिविर सम्पन्न भएको छ । जिल्लामा रहेका सम्पूर्ण कार्यालयले दिने सेवा सुविधा जनताको घरदैलोमा उपलब्ध गराउँनको लागि एकिकृत घुम्ती शिविरको आयोजना गरीएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।  
    घुम्ती शिविरमा जिल्ला प्रशासन कार्यालय, जिल्ला नापी कार्यालय, जिल्ला कृषि विकास कार्यालय, जिल्ला पशुसेवा कार्यालय, घरेलु तथा साना उद्योग विकास समिति, सिंचाई विकास सवडिभिजन कार्यालय, जिल्ला प्राविधिक कार्यालय, महिला तथा बालबालिका कार्यालय, जिल्ला स्वास्थ्य कार्यालय, जिल्ला शिक्षा कार्यालय, जिल्ला निर्वाचन कार्यालय, मुस्ताङ जिल्ला अस्पताल र मुस्ताङ सामुदायिक आँखा केन्द्र लगायतले गाउँस्तरमा आफ्ना सेवा सुविधा उपलब्ध गराएका थिए ।  
  शिविरमा १५ जनालाई नागरिकता वितरण गरीएको प्रमुख जिल्ला अधिकारी भीमराज पोखरेलले जानकारी दिए । जिल्लामा धाएर पाउने सेवा सुविधा गाउँमै उपलब्ध हुँदा स्थानिय एकदमै खुःशी भएका थिए । जिल्ला नापी कार्यालयबाट १० जनाले सेवा लिएको नापी अधिकृत खिमलाल गौतमले बताए । शिविरमा जिल्ला कृषि विकास कार्यालयले ११० जनालाई बिउ, विषादी वितरण तथा प्राविधिक सल्लाह सुझाव दिएको वरिष्ठ कृषि विकास अधिकृत सावित्री बरालले जानकारी दिइन् ।
त्यसैगरी जिल्ला पशुसेवा कार्यालयबाट ११४ जनाले सेवा लिएका थिए । कार्यालयले २०४ वटा गाई, २५६७ वटा बाख्रा, ३६ वटा घोडा र ४६ वटा कुखुराको लागि विभिन्न औषधी वितरण गरेको थियो । वर्षे घाँस (टियोसेन्टी) को विउ प्रतिव्यक्ति १ केजीका दरले २९ जनालाई र बाह्य परजिवि नियन्त्रणको औषधी ३३ जना किसानलाई वितरण गरेको वरिष्ठ पशु विकास अधिकृत सुबल शाहले बताए ।  
त्यस्तै महिला तथा बालबालिका कार्यालयले ३७ जना पुरुष र ३७ जना महिलालाई जेष्ठ नागरिक परिचयपत्र वितरण गरेको महिला विकास निरिक्षक सरिता थकालीले जानकारी दिइन् । मुस्ताङ सामुदायिक आँखा केन्द्रको आँखा शिविरमा १२१ जनाले आँखा जाँच गरेका थिए । भने ११९ जनाको स्वास्थ्य परिक्षण गरीएको मुस्ताङ अस्पतालले जनाएको छ ।
सो अवसरमा जिल्ला प्रशासन कार्यालयले उपभोक्ता सचेतना कार्यक्रम र विपद व्यवस्थापन सचेतना कार्यक्रम संचालन गरेको थियो । कार्यक्रम उपलब्धी मुलक रहेको स्थानियले बताएका छन् ।

बाह्रगाउँ मुक्तिक्षेत्र गाउँपालिका कार्यालय उदघाटन

मुस्ताङ साप्ताहिक
 मुस्ताङ, चैत्र ११ । प्रदेश नं. ४ मुस्ताङ जिल्लाको बाह्रगाउँ मुक्तिक्षेत्र गाउँपालिकाको शुत्रबार एक समारोहका बिच कार्यकारी अधिकृतलाई स्वागत÷पदस्थापन तथा कार्यालयको उद्घाटन गरीएको छ । बाह्रगाउँ मुक्तिक्षेत्र गाउपालिकाको कार्यालय साविकको कागबेनी गाविसको कार्यालय कागबेनीमा कार्यलयमा वोर्ड राखिएको हो । कार्यालयको उदघाटन गर्दै प्रमुख जिल्ला अधिकारी भीमराज पोखरेलले अहिलेको गाउँपालिका सम्पूर्ण अधिकार प्राप्त भएको शक्तिशाली भएकाले यसको सदुपयोग गर्नुपर्ने बताए ।  निमित्त स्थानिय विकास अधिकारी रविन्द्र तिवारीले कर्मचारी सहजकर्ता भएकाले गाउँपालिकामा कर्मचारीलाई सहयोग गर्दै विकास निर्माणका कामहरु अगाडी बढाउनु पर्नेमा जोड दिए ।
त्यसैगरी  बाह्रगाउँ मुक्तिक्षेत्र गाउँपालिकाका कार्यकारी अधिकृत गोविन्द सिग्देलले कार्यकारी अधिकृतको हैसियतले गर्नुपर्ने जिम्मेवारी निर्वाह गर्न आफु प्रतिबद्ध रहेको र यसमा सबैको साथ चाहिने कुरा उल्लेख गरे । नेपाली कांग्रेसका कार्यवाहक सभापति न्हुर्वु गुरुङले गाउँपालिकामा विकासको लहर भित्राउन राजनैतिक दल तथा स्थानियको साथ समर्थनको कमि नहुने बताए ।
कार्यक्रम निमित्त स्थानिय विकास अधिकारी रविन्द्र तिवारीको अध्यक्षता र साविक कागबेनी गाविसका गाविस सचिव यज्ञप्रसाद शर्मा गोतामेको संचालनमा सम्पन्न भएको थियो ।

Thursday, March 23, 2017

यातायातमा विद्यार्थी सहुलियत कायम गराउँन स्ववियुको पहल

    केशव बि.क.
मुस्ताङ चैत्र १० ।
सार्वजनिक यातायातमा विद्यार्थी सहुलियत कायम गराउँन स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) जनहित बहुमुखि क्याम्पस जोमसोमले पहल गरेको छ । सरकारको नियमानुसार सार्वजनिक यातायातका साधनहरुमा विद्यार्थीले सहुलियत दरमा यात्रा गर्न पाउने अधिकारलाई सुनिश्चित गर्न सरोकारवाला निकायलाई आग्रह गरेको हो ।
 नेपाल सरकारको नियम अनुसार विद्यार्थी परिचय पत्रको आधारमा सार्वजनिक यातायातका साधनहरुको भाडादरमा विद्यार्थीलाई ४५ प्रतिशत छुट व्यवस्था गर्न सम्बन्धीत निकाय संग पहल गरिएको जनहित बहुमुखि क्याम्पसका स्ववियु सभापति रविन बानियाँले बताए ।
    हामीले स्ववियु निर्वाचनको समयमा विद्यार्थीलाई विद्यार्थी परिचय पत्रको आधारमा यातायातमा सहुलियतको व्यवस्था मिलाउने अपिल पनि गरेका थियौँ ।  हाम्रा एजेण्डाहरुलाई मनपराएर विद्यार्थी साथीहरुले स्ववियु निर्वाचनमा ओरास्ववियुको प्यानललाई अत्याधिक बहुमतका साथ विजयी गराउँनु भयो । अब हामी हाम्रा एजेण्डाहरु कार्यान्वयनको चरणमा छौँ, क्रमैसंग कार्यान्वयन गराउँदै जान्छौँ । सभापति बानियाँले भने ।
    बानियाँका अनुसार जिल्ला प्रशासन कार्यालय मार्फत विभिन्न यातायात व्यवसायी समितिलाई नेपाल सरकारको नियमानुसार परिचय पत्रको आधारमा विद्यार्थी सहुलियतको व्यवस्था मिलाउन आग्रह गरिएको छ ।
    विद्यार्थीलाई म्याद कायम रहेको विद्यार्थी परिचय पत्रको आधारमा सरकारको नियमानुसार विद्यार्थीले प्राप्त गर्ने अधिकारलाई आफ्नो नियम नं. १० मा सुनिश्चित गरिएको धौलागिरी अंचल यातायात बस व्यवसायी संचालक समिति जोमसोम शाखाकी निरिक्षक सुन्देवी रसाईलीले बताईन् ।

जिल्लास्तरीय लागु औषध नियन्त्रण समिति गठन

केशव वि.क.
मुस्ताङ, चैत्र ९ ।
समाजमा बढ्दो दुव्र्यसन नियन्त्रणका लागि प्रहरी र नागरिकबीचको सहकार्यलाई अगाडि बढाउने उद्देश्यका साथ मुस्ताङमा बुधवार जिल्लास्तरीय लागु औषध नियन्त्रण समिति गठन गरिएको छ ।
जिल्लामा लागु औषध दुव्र्यसन नियन्त्रण र पुनस्थापनाका क्षेत्रमा क्रियाशिल विभिन्न सामाजिक संघ संस्थाका प्रतिनिधिहरु, आमा समुहका प्रतिनिधिहरु सहितको सहभागिता र जिल्ला प्रहरी कार्यालयको संयोजन रहने गरी जिल्ला समिति गठन गरिएको हो ।लागु औषध अपराध अनुसन्धान, नियन्त्रण गरी राष्ट्रिय तथा अन्तराष्ट्रिय क्षेत्रमा परेका असर न्यूनिकरण, समाजमा विद्यमान विकृति विसंगती हटाई समुन्नत समाजको विकास गर्ने लक्ष्यका साथ जिल्ला स्तरीय समिति गठन गरिएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ ।
लागु औषध नियन्त्रण कार्ययोजना २०७३ अनुसार जिल्ला प्रहरी कार्यालयका सहायक कार्यालय प्रमुखको संयोजकत्वमा ९ सदस्यीय जिल्ला स्तरीय लागु औषध नियन्त्रण समिति गठन गर्ने प्रवाधन रहेको छ ।
लागु औषध नियन्त्रण समितिको संयोजकमा प्रहरी निरिक्षक मित्र बहादुर आचार्य रहेका छन् । सदस्यहरुमा सुन्देवी रसाईली सामुदायिक प्रहरी सेवा केन्द्र, सीता श्रेष्ठ पुथाङ आमा समुह, डा. राम शर्मा सुवेदी जिल्ला जनस्वास्थ्य कार्यालय, डिलमति मुन महिला तथा बालबालिका कार्यालय, मातिलाल चपाई बिद्यालय निरिक्षक जिल्ला शिक्षा कार्यालय, भीम रसाइली संयोजक नेपाल पत्रकार महासंघ, चन्द्र बहादुर थकाली सभापति नेपाल रेडक्रस सोसाईटी, छिरिङ गुरुङ पाइला नेपाल, सदस्य सचिव डम बहादुर धिंगाल जिल्ला प्रहरी कार्यालय, आमन्त्रित सदस्य स.सु.रा.अ.जि.का रहेका छन् ।  

Wednesday, March 22, 2017

ठिनीमा थकाली संग्रालयको उदघाटन

    केशव बि.क.
मुस्ताङ, ९ चैत्र ।
हिमाली जिल्ला मुस्ताङको घरपझोङ गाउँपालिका अन्तर्गतको ऐतिहासिक थाक ठिनी गाउँमा स्थापित थकाली संग्रालयको बुधवार एक समारोहका बिच उदघाटन गरीएको छ । व्यवस्थापिका सांसद माननीय श्रीमाया थकालीले संग्रालयको उदघाटन गरेकी हुन् ।
   घरपझोङको पहिचान झल्काउने उक्त संग्रालय जिल्ला विकास समितिको ३ लाख ५० हजार सहयोग र गाउँलेको १ लाख २७ हजार ४९५ रुपैयाँ गरी जम्मा ४ लाख ७७ हजार ४९५ रुपैयाँको लागतमा निर्माण गरीएको र खर्च ४ लाख ८७ हजार ४९५ भएको संग्रालय निर्माण समितिका सचिव कर्ण बहादुर थकालीले जानकारी दिए ।
    संग्रालयमा पुराना हातहतियार (न्हेवा), थकाली, लम र आय लम भेषभूषा, गरगहना (म्ह्ई, धुई, नतरु, म्हेल्चा), कृषि औजारहरु लगायतका साँस्कृतिक पौराणिक महत्वका सामाग्रीहरु राखिएको छ ।  
    संग्रालयको उदघाटन गर्दै सांसद थकालीले थाक पाँच गाउँको कलासंस्कृतिको जगेर्ना गर्न घरपझोङ गाउँपालिकाको ठिनी गाउँमा संग्रालय स्थापना गरिएकोमा खुःशी व्यक्त गर्दै अब पहिचानको लगाई सुरुवात भएकाले सबैले आआफ्नो पहिचान बनाउन लाग्नु पर्ने बताइन् ।
त्यसैगरी प्रमुख जिल्ला अधिकारी भीमराज पोखरेलले संस्कृति नरहे हामी पनि नरहने भन्दै संस्कृतिको संरक्षण र जगेर्ना गर्नुपर्नेमा जोड दिए । त्यस्तै घरपझोङ गाउँपालिकाकी कार्यकारी अधिकृत मैयाँ कडेलले संग्रालयले पर्यटन प्रवद्र्धनमा सहयोग पु¥याउने बताईन् ।
कार्यक्रममा समाजसेवी कुल बहादुर थकाली, नागरिक अगुवा चन्द्र बहादुर थकाली, संग्रालयका अध्यक्ष रत्न बहादुर थकालीले शुभकामना मन्तव्य र सचिव कर्ण बहादुर थकालीले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।
कार्यक्रम संग्रालयका अध्यक्ष रत्न बहादुर थकालीको अध्यक्षता, सदस्य सन प्रसाद थकालीको स्वागत र सदस्य जमुना थकालीको संचालनमा सम्पन्न भएको थियो ।



घरपझोङ गाउँपालिका कार्यालयको उदघाटन

केशव बि.क./मुस्ताङ साप्ताहिक
मुस्ताङ, ८ चैत्र ।
प्रदेश नं. ४ मुस्ताङ जिल्लाको घरपझोङ गाउँपालिकाको मंगलबार एक समारोहका बिच कार्यकारी अधिकृतलाई स्वागत तथा कार्यालयको उद्घाटन गरीएको छ । गाउँपालिकाको कार्यालयको उदघाटन मुस्ताङका प्रमुख जिल्ला अधिकारी भीमराज पोखरेलले गरेका हुन् ।
 घरपझोङ गाउपालिकाको कार्यालय साविकको जोमसोम गाविसको कार्यालय जोमसोममा कार्यलयमा वोर्ड राखिएको हो । कार्यालयको उदघाटन गर्दै प्रमुख जिल्ला अधिकारी भीमराज पोखरेलले गाउँपालिका व्यवस्थापकीय अधिकार बोकेर घरदैलोमै आएकाले विवाद रहित ढंगले सबै एकजुट भएर संविधान कार्यान्वयनमा सहयोग गर्नुपर्ने बताए ।
त्यसैगरी स्थानिय विकास अधिकारी बन्धु प्रसाद बास्तोलाले गाविस सिफारिस बाट शक्ति विकास केन्द्रमा परिणत भएकाले स्थानिय तह एकदमै शक्तिशाली रहने भन्दै कर्मचारी सहजकर्ता मात्र भएकाले विकास लगायतका काममा कर्मचारीलाई सहयोग गर्दै स्थानियनै जागरुक हुनुपर्ने बताए । त्यस्तै घरपझोङ गाउँपालिकाकी कार्यकारी अधिकृत मैयाँ कंडेलले पदिय हैसियतले गर्नुपर्ने जिम्मेवारी निर्वाह गर्न आफु प्रतिबद्ध रहेको बताईन् । 
कार्यक्रममा राजनीतिक दलको तर्फबाट नेकपा माओवादी केन्द्रका विशाल विक, नागरिक अगुवा चन्द्रबहादुर थाकाली लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रम स्थानिय विकास अधिकारी बन्धुप्रसाद बास्तोलाको अध्यक्षता जोमसोम महिला समुहकी अध्यक्ष शर्मिला गुरुङको स्वागत र साविक जोमसोम गाविसका गाविस सचिव शिव बहादुर थापाको संचालनमा सम्पन्न भएको थियो ।

Monday, March 20, 2017

जिल्ला शिक्षा कार्यालय र संचारकर्मी विच अन्तरक्रिया

केशव वि.क./मुस्ताङ साप्ताहिक
मुस्ताङ, चैत्र ६ ।
जिल्ला शिक्षा कार्यालय मुस्ताङ र जिल्लास्थित संचारकर्मीहरु विचको अन्तक्रिया कार्यक्रम आइतबार जोमसोममा सम्पन्न भएको छ ।
प्रारम्भिक कक्षा १ देखि ३ मा अध्यनरत विद्यार्थीहरुको पठनपाठन सीप विकास गर्ने मुख्य उद्देश्य सहित जिल्लाका सम्पूर्ण विद्यालयहरुमा एनइजिआरपि (NEGRP) कार्यक्रम संचालन भएको विषयमा संचारकर्मीहरुलाई जानकारी गराउनको लागि अन्तरक्रिया कार्यक्रमको आयोजना गरीएको हो ।
नेपाल सरकार शिक्षा मन्त्रालय शिक्षा विभाग गुणस्तर परिक्षण केन्द्रको आयोजना तथा जिल्ला शिक्षा कार्यालय मुस्ताङको समन्वय र युएसएआइडी (USAID) को अर्थिक एवं प्राविधिक सहयोगमा जिल्लामा प्रारम्भिक कक्षा पढाई कार्यक्रम एनइजिआरपि (NEGRP) तथा इजिआरपि (EGRP) कार्यक्रम संचालन भैरहेको जिल्ला शिक्षा अधिकारी युवराज बगालेले जानकारी दिए ।
एनइजिआरपि कार्यक्रम देशभरका १६ वटा जिल्लामा नमुनाको रुपमा संचालन भएको छ । जसमध्ये ६ वटा जिल्लामा सघन रुपमा लागु भएको र १० वटा जिल्लामा सघनरुपले लागु भएको छैन् । मुस्ताङमा यस कार्यक्रम एक वर्ष पछि सघन रुपमा संचालन हुने जिल्ला शिक्षा कार्यलयका शाखा अधिकृत लक्ष्मण देवकोटाले जानकारी गराए । 
प्रारम्भिक कक्षामा अध्ययन गर्ने विधार्थीहरुको शब्द गठन, बाक्य पठन, पठन बोध, श्रुति लेखन तथा अन्य पढाई सिपलाई स्तरीय बनाउन एवं शिक्षण सिकाईमा सुधार गर्न यस कार्यक्रमले विशेष योगदान पु¥याउने EGRP का जिल्ला सँयोजक बुद्धिबल थापा मगरले बताए ।
कार्यक्रममा अभिभावक सचेतीकरणका लागि संचार माध्यमको भूमिका, विद्यालय क्षेत्र विकास कार्यक्रमका गतिविधिको बारेमा जानकारी, निरन्तर विद्यार्थी मुल्याङकन, छात्रवृत्ति तथा हिमाली छात्रावास लगायतका विषयमा छलफल गरिएको थियो ।
कार्यक्रम जिल्ला शिक्षा अधिकारी युवराज बगालेको अध्यक्षता र शाखा अधिकृत लक्ष्मण देवकोटाको संचालनमा सम्पन्न भएको थियो । 

Saturday, March 18, 2017

केन्द्र परिवर्तनको विरोध गर्दै यातायात ठप्प

    केशव बि.क.
मुस्ताङ, चैत्र ५ । संघीय संरचना अनुसार प्रदेश नं. ४ अन्तर्गतको हिमाली जिल्ला मुस्ताङको थासाङ गाउँपालिकाको केन्द्र परिवर्तनको विरोध गर्दै स्थानियले शनिवार विहानै देखि लेते भएर आवतजावत गर्ने यातायात बन्द गराएका छन् ।
    सरकारले राजपत्रमा प्रकाशित गरेको स्थानीय तह पुनर्ससंरचना सम्वन्धी सूचनामा जिल्लामा सर्वदलीय सहमति अनुसार आयोगमा सिफारिस गरि पठाएको गाउँपालिकाको केन्द्र अदलबदल गरिएको पाईएपछी लेतेका स्थानीयवासी बिरोधमा उत्रिएका हुन् ।
    थासाङ गाउँपालिकाको केन्द्र लेतेलाई सिफारिस गरी पठाएको भएतापनि राजपत्रमा लेते केन्द्र हुनुपर्नेमा साविक कोवाङ गाविसको कार्यालयलाई केन्द्र तोकिएकोले आफुहरुलाई मान्य नहुने लेते गाविसका पूर्व गाविस अध्यक्ष बुद्धिप्रसाद शेरचनले बताए । गाउँपालिकाको केन्द्र कोवाङ भन्दा लेते उपयुक्त हुने भन्दै स्थानियले जोडदार माग गर्दै आएका छन् । माग सुनुवाई नभएसम्म विरोधका कार्यक्रमहरु गर्दै जाने उनीहरुको भनाई छ ।
स्थानियले लेते केन्द्र गाउँपालिकाको लागि तोकिएको मापदण्दहरु पुरा भएको तथा कुञ्जोको पैरोथाप्ला तथा टुकुचेको मध्ये भागमा रहेकाले सबै जनतालाई पायक पर्ने र इलाका स्तरका कार्यालयहरु भएको र थप कार्यालयहरु संचालनका लागि समेत प्रशस्त जग्गा भएको भन्दै माननीय वाणीज्य मन्त्री रोमी गौचन थकाली, माननीय सांसद श्रीमाया थकाली, माननीय सांसद महेन्द्र शेरचन, जिल्ला स्थित राजनैतिक दलका प्रमुख, जिल्ला समन्वय समिति र जिल्ला प्रशासन कार्यलाई पहल गरिदिन अनुरोध गरेका छन् । 

Thursday, March 16, 2017

मुस्ताङबाट १७२ जनाले एसएलसी दिदैँ

    केशव बि.क.
मुस्ताङ, चैत्र ३
। देशभर संचालन भैरहेको २०७३ सालको प्रवेशिका परिक्षा (एसएलसी) मा प्रदेश नं. ४ को हिमाली जिल्ला मुस्ताङबाट १७२ जना विद्यार्थी सम्मेलित हुँदै छन् । जिल्लाको एकमात्र परिक्षा केन्द्र जनहित उच्च माध्यामिक विद्यालय जोमसोममा जिल्लामा रहेका ८ वटा माध्यामिक विद्यालय र एक वटा खुल्ला विद्यालयका परिक्षार्थी परिक्षामा सामेल हुन लागेको जिल्ला शिक्षा अधिकारी युवराज बगालेले जानकारी दिए ।
धौलागिरी बोर्डिङ स्कुल जोमसोमबाट ३१ जना, जनशान्ती मावि कागबेनीबाट ७ जना, जनहित उमावि जोमसोमबाट ४१ जना, योगेन्द्र उमावि टुकुचेबाट १९ जना, ज्ञानोदय मावि लेतेबाट १६ जना, जनबाल मावि मार्फाबाट १२ जना, जनआर्दश मावि कोवाङबाट १८ जना, दिव्यदिप मावि छोसेरबाट ७ जना, जनहित उमावि जोमसोम खुल्ला विद्यालयबाट २१ जना गरी १७२ जना विद्यार्थी परिक्षामा सामेल हुन लागेको जिल्ला शिक्षा कार्यालयले जनाएको छ ।
मुस्ताङमा अहिले सम्मकै सबैभन्दा धेरै विद्यार्थी एसएलसी परिक्षामा सामेल हुने भएका छन् । परिक्षा विहान ८ बजे देखि संचालन हुनेछ । प्राविधिक तर्फको परिक्षा चैत्र १४ गते सम्म र अन्य विषयको परिक्षा चैत्र ११ गते सम्म संचालन हुने बताइएको छ ।  

मुस्ताङमा पनि उपभोक्ता अधिकार दिवस

    मुस्ताङ साप्ताहिक संवाददाता
मुस्ताङ ।
उपभोक्ता हित संरक्षणमा लगाऔँ ध्यान, सुरक्षित राखौँ सम्पति जिउज्यान भन्ने मुल उदघोषका साथ बुधवार जोमसोममा एक कार्यक्रमका बिच विश्व उपभोक्ता अधिकार दिवस मनाईएको छ । जिल्ला प्रशासन कार्यालय जोमसोमको सकृयतामा उपभोक्ताको हकहितको बारेमा सुुसुचित गराउनको लागि कार्यक्रमको आयोजना गरिएको हो ।
 सन् १९६५ मा उपभोक्ता अधिकार विधेयक पास भएपछि उपभोक्ता अधिकार दिवस मनाउन थालिएको हो । नेपालको संविधानले पनि उपभोक्ता अधिकारलाई मौलिक अधिकारको रुपमा व्यवस्था गरेको छ । 
कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी भीमराज पोखरेलले उपभोक्तावादी दृष्टिकोण राखेमा उपभोक्ता अधिकार सुनिश्चित हुने बताए । साथै उनले उपभोक्ता हकहितको बारेमा जानकारी गराउनको लागि मुस्ताङका ५ वटै गाउँपालिकामा उपभोक्ता शिक्षा कार्यक्रम संचालन गर्ने जानकारी दिए । 
त्यसैगरी जिल्ला समन्वय समितिका सभापति बन्धु प्रसाद बास्तोलाले आर्थिक उदारीकरणको सिद्धान्तले काम नगरेकाले उपभोक्ता ठगिएको भन्दै माग र आपूर्तिको आधारमा मूल्य निर्धारण हुनुपर्ने बताए । उपभोक्ताले कुनैपनि सामान वा सेवा सुविधा समयमै, सर्वसुलभ रुपमा गुणस्तरिय वस्तु अर्थात सेवा पाउनुपर्नेमा जोड दिए ।
कार्यक्रममा पूर्व सभासद चन्द्रबहादुर गुरुङ, वडा नागरिक मञ्चका अध्यक्ष चन्द्रबहादुर थकाली लगायतले उपभोक्ताको अधिकार सुनिश्चित गर्नका निम्ति सम्बन्धीत निकायले ध्यान दिनुपर्ने उल्लेख गरे ।
कार्यक्रम प्रमख जिल्ला अधिकारी भीमराज पोखरेलको अध्यक्षता योजना अधिकृत गोविन्द सिग्देलको स्वागत र जितेन्द्र बलामीको संचालनमा सम्पन्न भएको थियो । कार्यक्रमको पूर्वसन्ध्यामा खाद्य पदार्थमा मिसावट समाजिक अपराध र गुणस्तरहिन बस्तु चाहिन्न उपभोक्ताको स्वास्थ्य विगार्न पाइन्न लगायतका प्ले कार्ड सहितको ¥यालीको आयोजना गरिएको थियो ।  

मुस्ताङको एयरपोर्ट भित्रै मासु नष्ट

    मुस्ताङ साप्ताहिक संवाददाता
मुस्ताङ ।
पुथाङ एयरपोर्ट जोमसोममा मंगलबार ३० किलो कुखुराको मासु नष्ट गरिएको छ । चैत्र १ गते पोखराबाट सिम्रिक एयरलायन्स मार्फत आयातित भएको, भेटनरी स्वास्थ्य प्रमाणपत्र नभएको रातो रङको प्लाष्टिकको झोलामा रहेको १५÷१५ किलो बोइलर कुखुराको मासु नष्ट गरीएको प्रहरीले जनाएको छ ।
स्थानिय तथा पत्रकारको रोहबरमा एयरपोर्ट क्षेत्रभित्रै १२ हजार रुपैयाँ मुल्य बराबरको ३० किलो मासु नष्ट गरीएको हो । गत फागुन २१ गते देखि पोखराबाट अन्यत्र क्षेत्रको बजारमा पशु पंक्षी तथा पशुपंक्षी जन्य पदार्थ विक्री वितरण तथा निकासीमा रोक लगाएको थियो ।
     मुस्ताङमा पोल्ट्री फर्म नहुँदा मासुका लागि बाहिरी जिल्लाको भरपर्नु पर्ने भएकाले यहाँ हवाई तथा सडक यातायात मार्फत मासु आयात हुँदै आएको छ । बाहिरी जिल्लाबाट काटेको मासु मापदण्द पुरा नगरी ल्याउँदा यहाँको बजारमा गुणस्तरहिन मासु विक्री वितरण भैरहेको स्थानियले गुनासो गरेका छन् । गुणस्तरहिन मासुको विक्रि वितरण रोक्न सम्बन्धीत निकायको ध्यान पुग्नु जरुरी रहेको उनीहरुको भनाई छ ।

मुस्ताङका ५ गाउँपालिकामा को को तोकिए प्रमुख ?

केशव बि.क./मुस्ताङ साप्ताहिक संवाददाता
मुस्ताङ । संघीय नेपालको संरचना अनुसार फागुन मसान्त देखि मुस्ताङ जिल्लामा ५ गाउँपालिका कायम
भएका छन । जिविस जिल्ला समन्वय समितिमा रुपान्तरण भएको छ भने गाविसहरु वडामा परिवर्तन भएका छन । यस भन्दा अगाडी मुस्ताङ जिल्लामा एक जिल्ला विकास समिति र १६ गाउँ विकास समितिहरु थिए ।
जिल्ला समन्वय समितिका प्रमुख बन्धु प्रसाद बास्तोलाले थासाङ गाउँपालिकामा गोविन्द प्रसाद अर्याल, घरपझोङ गाउँपालिकामा प्रेमप्रसाद पौडेल, बाह्रगाउँ मुक्तिक्षेत्र गाउँपालिकामा यज्ञप्रसाद शर्मा गोतामे, दालोमे गाउँपालिकामा शिव बहादुर थापा र लोमान्थाङ गाउँपालिकामा परमेश तेलीलाई निमित्त कार्यकारी प्रमुखको जिम्मेवारी प्रदान गरिएको बताएका छन् । गाविस हाल जुन गाउँपालिकाका रुपमा कायम भएका छन् तिनैबाट कार्य सञ्चालन हुनेछन ।
जिल्ला समन्वय समितिको निर्देशन बमोजिम गाउँपालिकाको नयाँ साइनबोर्ड, छाप, लेटरप्याड तयारी गरिएको छ । सो सम्बन्धी नगरपालिका र गाउँपालिकामा निमित्त प्रमुख समेत व्यवस्था गरिएको छ । स्थानीय तह पुनःसंरचना गर्दा केन्द्र जहाँ कायम भएको छ सोही स्थानमा नै कार्यालय बस्नेछ ।

लेते केन्द्र परिवर्तन गरिएकोमा बिरोध

थासाङ गाउँपालिका
मुस्ताङ साप्ताहिक संवाददाता
मुस्ताङ ।
सरकारले राजपत्रमा प्रकाशित गरेको स्थानीय तह पुनर्ससंरचना सम्वन्धी सूचनामा जिल्लामा सर्वदलीय सहमति अनुसार आयोगमा सिफारिस गरि पठाएको गाउँपालिकाको केन्द्र अदलबदल गरिएको पाईएपछी लेतेका स्थानीयवासी बिरोधमा उत्रिएका छन् । संघीय संरचना अनुसार प्रदेश नं. ४ मा पर्ने मुस्ताङ जिल्लाको थासाङ गाउँपालिकाको केन्द्र परिवर्तन भएपछि बिरोध भएको हो ।
मुस्ताङ जिल्लाबाट सर्वदलीय सहमति अनुसार पठाईएको गाउँपालिकाको केन्द्र फरक परेको नेपाली काँग्रेसका जिल्ला कमिटि सदस्य यवं लेतेका पूर्व गाविस अध्यक्ष बुद्धि प्रसाद शेरचनले बताए । थासाङ गाउँपालिकाको केन्द्र लेते हुनु पर्नेमा कोवाङ भएर आएको शेरचनको भनाइ छ ।
जिल्लामा भएको सर्वदलीय वैठकले थासाङ गाउँपालिकाको केन्द्र लेते राख्ने सहमति गरेर पठाएको थियो । तर सरकारले राजपत्रमा प्रकाशित गरेको सूचना अनुसार गाउँपालिकाको केन्द्र साविक कोवाङ गाविस कार्यालय उल्लेख भएको भन्दै पुर्नविचार गर्न स्थानिय प्रतिनिधिहरुले माग गरेका छन् ।
गाउँपालिकाको लागि तोकिएको मापदण्दहरु पुरा भएको तथा कुञ्जोको पैरोथाप्ला तथा टुकुचेको मध्ये भागमा रहेको लेतेलाई गाउँपालिकाको केन्द्र बनाउँदा सबै जनतालाई पायक पर्ने र इलाका स्तरका कार्यालयहरु भएको र थप कार्यालयहरु संचालनका लागि समेत प्रशस्त जग्गा भएको भन्दै सर्वदलीय सहमति अनुसार पुर्नसंरचना थासाङ गाउँपालिकाको केन्द्र लेतेमा कायम गर्न स्थानीयले माग गरेका हुन् ।

मुस्ताङमा ५ गाउँपालिका कायमः वडा विभाजनमा त्रुटि

तस्विर सौजन्यः जिल्ला नापी कार्यालय, मुस्ताङ
केशव बि.क.। मुस्ताङ साप्ताहिक
मुस्ताङ ।
संघीय मामिला तथा स्थानिय विकास मन्त्रालयले संघीय नेपालको नामकंन तथा सिमाकंन सहितको खाका सार्वजनिक गरेको छ । मन्त्रालयले फाल्गुन २९ गते आइतबार राजपत्र मार्फत संघीय नेपालको खाका प्रकाशित गरेको हो । संघीय खाका अनुसार प्रदेश नं. ४ अन्तर्गतको हिमाली जिल्ला मुस्ताङ घरपझोङ गाउँपालिका, थासाङ गाउँपालिका, दालोमे गाउँपालिका, लोमान्थाङ गाउँपालिका र बाह्रगाउँ मुक्तिक्षेत्र गाउँपालिका गरी ५ गाउँपालिकामा विभाजन भएको छ ।
गाउँपालिकाको खाका अनुसार घरपझोङ गाउँपालिकामा मार्फा, टुकुचे (८,९) र जोमसोम गाविस समावेश भएका छन् । र प्रस्तावित केन्द्र साविक जोमसोम गाविसको कार्यालय रहेको छ । मार्फा १, टुकुचे ८, ९ –घरपझोङ वडा नं. १, मार्फा २–४ –घरपझोङ वडा नं. २, मार्फा ५–९ –घरपझोङ वडा नं. ३, जोमसोम ५–८ –घरपझोङ वडा नं. ४ र जोमसोम १–४,९ गरी घरपझोङ वडा नं. ५ मा समाहित भएका छन् ।
यसरी वडा विभाजन गर्दा घरपझोङ गाउँपालिकाको वडा विभाजनमा भाषिक त्रुटि देखिएको छ । घरपझोङ १ मा टुकुचे ८,९ र मार्फा ९ हुनुपर्नेमा मार्फा १ भएको छ । घरपझोङ २ मा मार्फा १–४ हुनुपर्नेमा मार्फा २–४ भएको र घरपझोङ ३ मा मार्फा ५–८ हुनुपर्नेमा मार्फा ५–९ भएको छ ।
भाषिक त्रुटिका कारण भुगोल नमिल्ने वडाहरु एउटै वडामा परेका छन् । भौगोलिक दृष्टिले नमिल्ने वडा विभाजनको त्रुटि सच्याउन स्थानियले माग गरेका छन् । संघीय मामिला तथा स्थानिय विकास मन्त्रालयले राजपत्रमा सूचना प्रकाशित गरी त्रुटि सच्याउन सकिने तत्कालिन स्थानिय तह पुर्नसंरचना जिल्ला समन्वय समितिका सदस्य एवं नापी अधिकृत खिमलाल गौतमले जानकारी दिए ।
घरपझोङ गाउँपालिकाको वडा विभाजनमा भएको त्रुटि सच्याउनको लागि जिल्ला समन्वय समिति मुस्ताङले संघीय मामिला तथा स्थानिय विकास मन्त्रालयमा पत्राचार गरिसकेको स्थानिय विकास अधिकारी बन्धु प्रसाद बास्तोलाले बताए ।
त्यसैगरी थासाङ गाउँपालिकामा टुकुचे (१–७), कोवाङ, लेते र कुन्जो गाविस समावेश भएका छन् । प्रस्ताविक केन्द्र साविक कोवाङ गाविसको कार्यालय रहेको छ । लोमान्थाङ गाउँपालिकामा छोसेर, छोन्हुप र लोमान्थाङ गाविस समावेश भएका छन् । प्रस्तावित केन्द्र साविक लोमान्थाङ गाविसको कार्यालय रहेको छ । दालोमे गाउँपालिकामा चराङ, घमी र सुर्खाङ गाविस समावेश भएका छन् । प्रस्तावित केन्द्र साविक चराङ गाविसको कार्यालय रहेको छ । र बाह्रगाउँ मुक्तिक्षेत्र गाउँपालिकामा मुक्तिनाथ, झोङ, छुसाङ र कागबेनी गाविस समावेश भएका छन् । जसको प्रस्तावित केन्द्र साविक कागबेनी गाविसको कार्यालय रहेको छ ।

Wednesday, March 15, 2017

प्रारम्भिक कक्षा पठन सिप परिक्षण CBEGRA सम्पन्न

मुस्ताङ साप्ताहिक संवाददाता
नेपाल सरकार शिक्षा मन्त्रालय शिक्षा विभाग गुणस्तर परिक्षण केन्द्र आयोजना तथा जिल्ला शिक्षा कार्यालय मुस्ताङको समन्वय तथा USAID को अर्थिक तथा प्राविधिक सहयोगमा प्रारम्भिक कक्षा पढाई कार्यक्रम (
EGRP) अन्तर्गत प्रारम्भिक कक्षा १ देखि ३ कक्षा सम्मका विधार्थीहरुको विचमा कक्षाकोठामा आधारित प्रारम्भिक कक्षा पठन सिप परीक्षण कार्यक्रम मुस्ताङका ११ वटा विधालयहरुमा सम्पन्न भएको छ ।
कार्यक्रममा प्रारम्भिक कक्षामा अध्ययन गर्ने विधार्थीहरुको शब्द गठन, बाक्य पठन, पठन बोध, श्रुति लेखन तथा अन्य पढाई सिप सम्बन्धि परिक्षण कार्य सम्पन्न भएको हो । सो परिक्षण कार्य दिब्यदिप माध्यमिक विधालय, जननर्मल आधारभुत विधालय, जनज्योति आधारभुत विधालय, ताक्लुङ आधारभुत विधालय, जनआर्दश माध्यमिक विधालय, योगेन्द्र माध्यमिक विधालय, जनवाल माध्यमिक विधालय, जनकल्याण आधारभुत विधालय, नमुना आधारभुत विधालय, जनहित माध्यमिक विधालय तथा लुप्रा आधारभुत विधालयमा परिक्षण कार्य सम्पन्न भएको छ ।
परिक्षण कार्यमा कक्षा २ का ४० जना छात्रा र ३९ जना छात्र त्यसै गरि कक्षा ३ का ४० जना छात्रा र ३२ जना छात्र गरि १५१ जना छात्र छात्राले परिक्षण कार्यमा सहभागीता जनाएका थिए । परिक्षण कार्यले विधार्थीहरुको सिकाई उपलब्धीको बारेमा आवश्यक पर्ने सुचना तथा तथ्यांकहरु सँकलन गर्नमा सहयोग पु¥याउनुका साथै शैक्षिक गुणस्तर सुधारका निमित्त आवश्यक पर्ने रणनिति निर्माणमा समेत सहयोग पुग्ने मुस्ताङका जिल्ला शिक्षा अधिकारी युवराज बगालेले जानकारी दिए ।
यस्ता शैक्षिक परिक्षणहरुले सिकारुहरुको सिकाई प्रतिको चाहाना र अवस्थाको साथै उनिहरुले गरिरहेको सँर्घषको बारेमा जानकारी प्रदान गर्नुका साथै शिक्षकहरुको शिक्षण कृयाकलापहरुको बारेमा समिक्षा गर्न सहयोगी बन्ने EGRP का जिल्ला सँयोजक बुद्धिबल थापा मगरले बताए । कार्यक्रममा सम्बन्धित विधार्थीहरुका अभिभावक तथा विधालय ब्यवस्थापन समितिका सदस्यहरुको उल्लेख्य सहभागीता रहेको थियो । 

मुस्ताङमा तोरन्लको रौनक

 केशव बि.क./मुस्ताङ साप्ताहिक संवाददाता
    थकाली जनजातिको उद्गम स्थल भनेर चिनिने हिमाली जिल्ला मुस्ताङमा थकालीको ऐतिहासिक चाड तोरन्ल मेरको चहलपहल बढेको छ । फाल्गुन शुक्ल पूर्णिमा तिथिमा पर्ने यस पर्व विशेषगरी पितृको स्मरण गर्दै, ताराखेल खेली, मिठामिठा परिकारका साथमा आफन्तसँग भाईचारा साटासाट गरी मनाउने गरिन्छ ।
  थकालीको ऐतिहासिक तोरन्ल मेर पर्वमा बाह्र महिनामा राम्रो मौसम फाल्गुन शुक्ल पूर्णिमाको निर्मल आकाश टहटह उधाउँदो चन्द्रमा शुद्ध र निर्मल पानी स्वच्द्ध हावाको अवसर पारेर प्रकृति तथा पितृ स्मरण पूजा गर्ने प्रचलन रहेको छ ।
वसन्त ऋतुको उदय सँगै गर्मी बढेर बैँश र लालीगुराँसका फुल फुल्ने साथै धुपीको नयाँ पालुवा पलाउने समयमा पर्ने फागुन पूर्णिमा चाड अर्थात तोरन्ल मेर चाड आगमनको सँघारमा महिलाहरु घर आगन सरसफाई गर्नुका साथै चाडमा चाहिने चौरासी व्यञ्जनका सामाग्री जुटाउन व्यस्त रहन्छन् । सरसफाई र मिठो खाना बनाउने थकालीहरुको मौलिक पहिचानको रुपमा लिइन्छ ।
आदिवासी थकाली जातिको प्रमुख साँस्कृतिक चाड तोरन्ल मेर म्ह«ी सँग तारो खेल पनि गाँसिदै आएको छ । तोरन्ल शुरु हुनुभन्दा तीन दिन अगाडी तारो गाड्ने प्रचलन रहेको छ । तारो एक फुट चौडाई छ फुट लम्बाई र दुई इन्च मोटाइको फलेक तयार पारी तारो गाडिन्छ । तोरन्ल मेर चाडमा तारा गाडे पछि छ्योत्पो फुल्व गरिन्छ । छ्योत्पो प्रकृति देवी देवता तथा पितृहरुको आरधाना र स्मरण गर्नु हो । 
धनुषवाण थकाली पुर्खाहरुको जीवन रक्षा र जिविकोपार्जनको निम्ति साथमा लिई आएको र पछि कालान्तरमा थकाली जातिको पहिचानको प्रतीकको रुपमा रहेको र धनुषवाण नै अन्तमा चाड पर्वको मनोरञ्जनको साधन बनेको स्थानिय आनन्द शेरचन बताउँछन् । 
परापूर्वकालमा धनुषवाण भिरेपछि जीवन रक्षा यसैबाट गर्न सकिने र आफु माथि कुनैै शत्रु वा बन्य जन्तुले आक्रमण गर्न आएमा त्यसको प्रतिकार गर्न धनुषवाणको प्रयोग भईआएकाले थकाली जातिका पुरुष वर्गले परम्परादेखि धनुषवाण खेल्दै आएको बताईन्छ ।
यस पर्वमा वर्षाै देखि टाढा रहेका आफन्तजन सँग भेटघाट गर्दै नाच गान गर्छन् । र प्रकृतिमाता तथा दिवंगत पुर्खाहरुलाई पुजा अर्चना गरिन्छ। हप्ता दिन सम्म थकाली समुदायमा तोरन्ल मेर पर्व मनाउने प्रचलन रहि आएको स्थानिय चन्द्रमोहन गौचनले बताए ।

नेपाल दलित संघ मुस्ताङको अध्यक्षमा नेपाली

    मुस्ताङ साप्ताहिक संवाददाता
नेपाल दलित संघ मुस्ताङको अध्यक्षमा हरि नेपाली चयन भएका छन् । फाल्गुन २५ गते बुधवार जोमसोममा सम्पन्न नेपाल दलित संघ जिल्ला कार्य समिति मुस्ताङको पाँचौ जिल्ला अधिवेशनले नेपालीलाई अध्यक्षमा चयन गरेको हो । संघको उपाध्यक्षमा थम बहादुर बिक, ओमकार नेपाली, लक्ष्मी खनाल बिक, सचिवमा विनोद नेपाली, सहसचिवमा चन्द्र बहादुर बिक र कोषाध्यक्षमा प्रदिप परियार  नेपाली रहेका छन् ।
    त्यसैगरी सदस्यहरुमा सोम बहादुर परियार, मनकुमारी नेपाली, सन्तोष परियार, कर बहादुर बिक, सुरेश परियार, रीता परियार, हरी परियार, बालकृष्ण परियार, सुनकुमारी नेपाली, सवि नेपाली, कल्पना परियार, सुकलाल परियार, सुन्तली परियार, सुशिल परियार, श्याम परियार, सुजन परियार र सोमल परियार रहेका छन् ।
    अधिवेशनको उदघाटन गर्दै नेपाली कांग्रेस मुस्ताङका कार्यवाहक सभापति न्हुर्वु गुरुङले दलित समुदायको हकहितको रक्षा गर्ने पार्टी नेपाली काँग्रेस भएकाले दलितको समस्यामा पार्टी गम्भीर रहेको बताए ।
    सो अवसरमा बोल्दै नेपाल दलित संघका केन्द्रिय सदस्य त्रिलोकचन्द विश्वास विकले सुरुमा कामको आधारमा जात र कालन्तरमा जातको आधारमा कामको सुत्रपात गरी दलित माथि विभेद थोपरिएकाले विभेदको विरुद्ध एकजुट भई लड्नुपर्ने आजको आवश्यकता भएको भन्दै दलित समुदायले शिक्षा, आर्थिक, सामाजिक सहभागिता राजनैतिक अग्रसरतामा समेत अगाडी बढन सकेमा उल्लेख्य उपलब्धी हाँसिल गर्न सक्ने बताए ।
   अधिवेशनको उदघाटन कार्यक्रममा नेपाल दलित मुक्तिमोर्चाका केन्द्रिय सदस्य सुक बहादुर बिक, मुस्ताङ साप्ताहिकका प्रकाशक तिलक बिक, नेपाल महिला संघका अध्यक्ष मोहन कुमारी शेरचन, निजामति कर्मचारी युनियन संघका अध्यक्ष नारायण प्रसाद ढकाल, नेपाली काँग्रेसका सचिव फेन्जोक गुरुङ धारा, नेपाली काँग्रेस मुस्ताङका सदस्य गणेश शेरचन र अधिवेशन प्रतिनिधि पूर्ण गौचन लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
    उदघाटनसत्र हरी नेपालीको अध्यक्षता, ओमकार नेपालीको स्वागत र विनोद नेपालीको संचालनमा सम्पन्न भएको थियो ।

Thursday, March 9, 2017

मुक्तिनाथमा पर्यटकको चहलपहल बढ्दै

    केशव बि.क./मुस्ताङ साप्ताहिक संवाददाता
    हिमालपारीको जिल्ला मुस्ताङमा अवस्थित मुक्तिनाथ मन्दिर बौद्ध तथा हिन्दूहरुको पवित्र तीर्थस्थल हो । धार्मिक पर्यटनको दृष्टिकोणले अत्यन्त महत्वपूर्ण मानिने धार्मिक तीर्थस्थल मुक्तिनाथमा धार्मिक पर्यटकको चहलपहल बढन थालेको छ । मुस्ताङमा विस्तारै चिसो घट्न थालेपछि मुक्तिनाथ लगायतका ठाउँमा पर्यटकको चहल पहल बढ्न थालेको हो ।
जाडोको समयमा पर्यटकको आगमन न्युन हुने यस क्षेत्रमा जाडो कम हुन थालेपछि पर्यटक आउन थालेका हुन् । आन्तरिक तथा बाह्य पर्यटको लागि धार्मिक पर्यटनको केन्द्र बिन्दु मानिने मुक्तिनाथमा दिनानुदिन पर्यटकको संख्या बढेको छ ।
    पौष माघ महिनामा यहाँ आउने पर्यटकको संख्यामा कमि आएको भएतापनि फाल्गुन महिना सुरु भएसंगै पर्यटककको संख्या पनि बढेको छ । मुक्तिनाथका पुजारी कृष्ण सुवेदीले भने । मुक्तिनाथमा विशेषगरी आन्तरीक पर्यटक र भारतीय पर्यटकको आगमन हुने गर्छ ।
फेब्रुअरी महिनामा मात्र ६ सय ७ जना भारतीय पर्यटक मुक्तिनाथमा आएको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) चेकपोष्ट मुक्तिनाथका शिव पुर्जाले जानकारी दिए । पुर्जाका अनुसार २ सय ७३ तेस्रो मुलुकबाट मुक्तिनाथ क्षेत्रको भ्रमणमा आएका छन् । यो तथ्यांक फेब्रुअरी महिना भरिकोे हो । एक्यापले बाह्य पर्यटकको तथ्यांक संकलन गर्ने भएपनि आन्तरिक पर्यटकको तथ्यांक संकलन गरिदैँन् । बाह्य पर्यटकको तुलनामा मुक्तिनाथमा आन्तरीक पर्यटकको आगमन धेरै हुने गरेको बताईन्छ ।

  मुक्तिनाथको दर्शनको लागि विशेषतः चैत्राष्टमी, रामनवमी, ऋषितर्पणी, बडादशैं आदि पर्वहरु महत्वपूर्ण ठानिन्छन् । प्रयाजसो बाह्रै महिना मुक्तिनाथमा दर्शनार्थी आउने गर्छन् ।  तिब्बती भाषामा मुक्तिनाथलाई छु–मिग–ग्या–च्या पनि भनिन्छ ।

Wednesday, March 1, 2017

मुस्ताङको स्ववियु निर्वाचनमा अनेरास्ववियु प्यानल बिजयी

केशव वि.क
मुस्ताङ १८ फाल्गुन

    मुस्ताङ जिल्लाको एकमात्र आंगिक क्याम्पस जनहित बहुमुखि क्याम्पसमा भएको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचनमा अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) प्यानल बिजयी भएको छ ।     अनेरास्ववियुबाट स्ववियु सभापतिका उम्मेदवार रविन बानियाँले आफ्ना प्रतिस्पर्धी नेवि संघ प्यानलबाट स्ववियु सभापतिका दाबेदार सोयल थकालीलाई ६ भोटको अन्तरले उछिनेका हुन् । बाँनियाले १५ मत र थकालीले ९ मत प्राप्त गरेका थिए ।
    त्यसैगरी अनेरास्ववियु प्यानलबाट सचिव पदका उम्मेदवार सीता श्रेष्ठ र कोषाध्यक्ष पदका उम्मेदवार अंकिता पुनले क्रमशः १५ र १४ भोट प्राप्त गरी नेवि संघ प्यालनबाट सचिव र कोषाध्यक्ष पदका उम्मेदवार सृष्टि चौधरी र रुचिता गुरुङलाई पछि पारेका छन् । चौधरी र गुरुङले क्रमशः ८ र ४ भोट प्राप्त गरेका छन् ।
समानुपातिक तर्फ अनेरास्ववियुले १४ र नेवि संघले ५ मत प्राप्त गरेका छन् । दुई जना उम्मेदवारको २ भोट बदर भएको जनहित बहुमुखि क्याम्पसका क्याम्पस प्रमुख यवं निर्वाचन अधिकृत कर्ण बहादुर थकालीले जनाकारी दिए । २७ जना मतदाता रहेको क्याम्पसमा २४ जनाले मतदान गरेका थिए ।
अनेरास्ववियूले सभापति सहित १० जनाको उम्मेदवारी दर्ता गराएकोमा सो प्यानलबाट समानुपातिक सदस्य तर्फ भीम कुमारी पुर्जा, सल्मा थकाली, विश्वास थकाली र खुल्ला सदस्य तर्फ ममिला किसान, रोशनी श्रेष्ठ, प्रतिक्षा परियार र रविन पाइजा सर्वसम्मत चयन भएका थिए ।
चुनावी प्रक्रिया सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको थियो । निर्वाचन अधिकृत थकालीका अनुसार मतदान प्रक्रिया बिहान ७ बजे सुरु भई ८ बजेर ४५ मिनेट जाँदा रोकिएको र मतगणना गरी बिहान ९ बजे निर्वाचन परिणाम सार्वजनिक गरीएको थियो ।
विगत ३ वर्ष देखि स्नातक तहको कक्षा संचालन हुँदै क्याम्पसमा पहिलो पटक स्ववियु निर्वाचन भएको हो ।

जिल्ला विपत व्यवस्थापन समितिको बैठक सम्पन्न

    मुस्ताङ साप्ताहिक संवाददाता
जिल्ला विपद व्यवस्थापन समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी भीमराज पोखरेलको अध्यक्षता तथा जिल्लास्थित विभिन्न सरोकारवालाको उपस्थितिमा जोमसोममा गत फाल्गुन १५ गते बसेको बैठकले विपद व्यवस्थापनका लागि विभिन्न निर्णय गरेको छ ।
    बैठकले गत पौष ३ गते घमीको ८ र ९ ढाकमरमा गएको बाढीको कारण क्षति पुगेको खानेपानी पाईलाईन, काठको साँगु, पानी घट्ट र सिँचाई कुलोको मर्मतका लागि खानेपानी तथा सरसफाई सव डिभिजन कार्यालय, जिल्ला विकास समिति र सिँचाई सवडिभिजन कार्यालयलाई आग्रह गर्ने र आगामी दिनहरुमा जिल्लामा पर्न सक्ने प्राकृतिक विपत्तीको संभावना र त्यसको प्रतिकारका लागि जिल्लास्थित विषयगत कार्यालयहरु संग समन्वय गरी स्थानिय विकास अधिकारीको संयोजकत्वमा ८ सदस्यीय समिति गठन गरी विपद व्यवस्थापन प्रतिकार कार्ययोजना तयार पार्न लगाउने निर्णय गरेको छ ।
    त्यसैगरी आगामी चैत्र पहिलो साता संचालन हुन गैरहेको घुम्ती शिविरमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना लगायतको सहयोगमा विपद व्यवस्थापन सचेतना कार्यक्रम संचालन गर्ने र आगामी दिनमा हिमताल पहिरोबाट हुनसक्ने क्षतिको न्युनिकरणका लागि हिमताल सर्वेक्षण गर्न विपद व्यवस्थापन केन्द्रिय समितिलाई अनुरोध गर्ने निर्णय गरेको बताइएको छ ।