Wednesday, March 29, 2017

मुस्ताङ संस्कृति तथा शिक्षा केन्द्रको गतिविधि सार्वजनिक

केशव बि.क./मुस्ताङ साप्ताहिक संवाददाता
मुस्ताङ, चैत्र १५ ।
मुस्ताङ संस्कृति तथा शिक्षा केन्द्र मुस्ताङले मंगलबार एक कार्यक्रमका बिच जिल्लामा संचालित आफ्ना गतिविधिको बारेमा जानकारी गराएको छ । वि.सं. २०६९ सालमा स्थापना भई संस्कृति संरक्षण तथा शिक्षामा उल्लेख्य भूमिका निर्वाह गर्दै आएको संस्थाले पत्रकार भेटघाटको आयोजना गरी आफ्ना गतिविधिहरु सार्वजनिक गरेको हो ।
संस्कृति संरक्षण, आर्थिक, सामाजिक, शैक्षिक क्षेत्रको विकास र विस्तार गर्ने उद्देश्यले स्थापित मुस्ताङ संस्कृति तथा शिक्षा केन्दले जोमसोममा वि.सं. २०७० को सुरुवात देखि हिमालयन चिल्ड्रेन होम नामक निशुल्क होस्टेल संचालनमा ल्याएको छ ।
अमेरीका, युरोप लगायतका देशहरुका दाताहरुको सहयोगमा होस्टेल संचालनमा ल्याएको मुस्ताङ संस्कृति तथा शिक्षा केन्द्रका अध्यक्ष गेशे सोनाम गुरुङले बताए । बोन धर्ममा पिएचडि गरेका गुरुङले वर्षमा ३÷४ पटक अमेरीका युरोप लगायतका देशमा अध्यापन गर्न जाने र सोही ठाउँबाट सहयोग जुटाई मुस्ताङमा होस्टेल संचालनमा ल्याएका हुन् ।
होस्टेलमा १९ छात्र र १९ छात्र गरी हाल ३८ जना छात्रछात्रा रहेका छन् । तीमध्ये ३ जना दलित विद्यार्थीहरु रहेका छन् । प्रत्येक वर्ष छात्रवासमा ४ जना विद्यार्थी थप्दै जाने संस्थाको निति रहेको छ । धौलागिरी आवासिय विद्यालयमा अध्ययन गर्ने ति छात्रछात्राहरुको विद्यालय शुल्क र हिमालयन होस्टेलमा खान, बस्न, लत्ताकपडा आदि व्यवस्था मुस्ताङ संस्कृति तथा शिक्षा केन्द्रले नै गरेको संस्थाकी सचिव शर्मिला गुरुङले बताईन् ।
एकजना विद्यार्थीलाई वार्षिक करिब एकलाख खर्च लाग्ने गरेको संस्थाले जनाएको छ । आर्थिक वर्ष २०७२÷०७३ मा ४२ लाख ७९ हजार २०३ रुपैयाँ खर्च भएको कोषाध्यक्ष राजेन्द्र शेरचनले बताए । होस्टेलमा बोन धर्म संस्कृति र तिब्बतियन भाषाको बारेमा पनि विद्यार्थीलाई सुसुचित गराउने गरिएको छ ।
संस्कृतिको संरक्षणका लागि संस्थाले निकट भविष्यमा बोन गुम्बा र बालगृहको निर्माण गर्न लागेको छ । विदेशी सहयोग दाताहरुको सहयोगमा सो गुम्बा निर्माण गर्न लागिएको हो । साविक जोमसोम ८ मा गुम्बा निर्माणको लागि ६ रोपनी जग्गा २ वर्ष अगाडी नै गाउँलेले निर्णय गरी उपलब्ध गराएको बताईएको छ ।
गुम्बा निर्माणको लागि माटो परिक्षण भैसकेको र टेक डिजाइन कम्पनीले डिजाइन र लागतको स्टिमेट गरीरहेको श्रोतले बताएको छ । निर्माण कार्यलाई सहयोग पु¥याउन निर्माण सहयोग समिति पनि गठन गरीएको बताइएको छ । गुम्बाको निर्माणलाई सहज बनाउन एवं सामाजिक तथा सांस्कृतिक संरक्षणका लागि सरकारले उपयुक्त निति बनाउनुपर्ने स्थानियले माग गरेका छन् । 

No comments:

Post a Comment