Sunday, March 26, 2017

वन डढेलो नियन्त्रण सम्बन्धी अन्तरक्रिया सम्पन्न

केशव बि.क./मुस्ताङ साप्ताहिक
मुस्ताङ, चैत्र १३ ।
प्रकृतिको संरक्षण गर्न डढेलो नियन्त्रण गर्नुपर्नेमा एक कार्यक्रमका सहभागीले जोड दिएका छन् । नेपाल सरकार वन तथा भूसंरक्षण मन्त्रालय, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग, अन्नपूर्ण संरक्षण क्षेत्र, सम्पर्क कार्यालय पोखराको आयोजनामा आइतबार मुस्ताङको सदरमुकाम जोमसोममा सम्पन्न वन डढेलो नियन्त्रण सम्बन्धी जिल्ला स्तरीय अन्तरक्रिया कार्यक्रमका सहभागीले यसमा जोड दिएका हुन् ।    अन्तरक्रियामा वन डढेलोको किसिम, कारण, असर, वन डढेलोको घटना बढिरहेको अवस्थामा यसलाई कसरी न्युनिकरण गर्न सकिन्छ लगायतका विषयमा छलफल गरीएको थियो । कार्यक्रमको सहजीकरण संरक्षण क्षेत्र सम्पर्क कार्यालय पोखराका संरक्षण अधिकृत ऋषिराम ढकाल र अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) इलाका कार्यालय जोमसोमका प्रमुख तुलसी दाहालले गरेका थिए ।
    हिमाली क्षेत्र डढेलोको उच्च जोखिममा रहेको र सन् २०००–२०१४ सम्मको इतिहासमा सबैभन्दा धेरै हिमाली क्षेत्रमा १७ हजार ३११ पटक डढेलो लागेको संरक्षण अधिकृत ढकालले बताए । वि.सं. २०६४–०७४ सम्म ९ वर्षको अवधिमा डढेलोको कारण ३६ जनाले ज्यान गुमाइसकेका छन् । विं.सं. २०६६ सालमा एक दिनको अवधिमा देशभर ४२० ठाउँमा डढेलो लागेको थियो ।
    मुस्ताङमा १४ प्रतिशत भूभाग वन क्षेत्रले ओगटेको र त्यसमा वर्षेनी कुनै न कनै कारणले डढेलो लाग्ने गरेको एक्याप जोमसोमका प्रमुख दाहालले बताए । वि.सं. २०६५–०७४ सम्म मुस्ताङको ४१४ हेक्टर वनमा डढेलो लागेको बताईएको छ ।
    कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी भीमराज पोखरेलले विशेषगरी मानवीय कारणले डढेलो लाग्ने गरेकाले सबै सचेत हुनुपर्नेमा जोड दिए । त्यस्तै नागरिक अगुवा चन्द्रबहादुर थकालीले डेढेलोको विषयमा आम सर्वसाधरणमा जनचेतना फैलाउन सके यसको न्युनिकरण गर्न सकिने बताए ।
    कार्यक्रम संरक्षण अधिकृत ऋषिराम ढकालको अध्यक्षता, एक्याप जोमसोमका प्रमुख तुलसी दाहालको स्वागत र एक्याप जोमसोमका रेन्जर सुरेश थापाको संचालनमा सम्पन्न भएको थियो ।

No comments:

Post a Comment