Sunday, March 26, 2017

कागबेनीमा एकिकृत घुम्ती शिविर सम्पन्न

    केशव वि.क.
मुस्ताङ, चैत्र १२ ।
जिल्ला प्रशासन कार्यालय मुस्ताङको आयोजना तथा संयोजनमा बाह्र गाउँ मुक्तिक्षेत्र गाउँपालिकाको केन्द्र कागबेनीमा शुक्रबार एक दिने एकिकृत घुम्ती शिविर सम्पन्न भएको छ । जिल्लामा रहेका सम्पूर्ण कार्यालयले दिने सेवा सुविधा जनताको घरदैलोमा उपलब्ध गराउँनको लागि एकिकृत घुम्ती शिविरको आयोजना गरीएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।  
    घुम्ती शिविरमा जिल्ला प्रशासन कार्यालय, जिल्ला नापी कार्यालय, जिल्ला कृषि विकास कार्यालय, जिल्ला पशुसेवा कार्यालय, घरेलु तथा साना उद्योग विकास समिति, सिंचाई विकास सवडिभिजन कार्यालय, जिल्ला प्राविधिक कार्यालय, महिला तथा बालबालिका कार्यालय, जिल्ला स्वास्थ्य कार्यालय, जिल्ला शिक्षा कार्यालय, जिल्ला निर्वाचन कार्यालय, मुस्ताङ जिल्ला अस्पताल र मुस्ताङ सामुदायिक आँखा केन्द्र लगायतले गाउँस्तरमा आफ्ना सेवा सुविधा उपलब्ध गराएका थिए ।  
  शिविरमा १५ जनालाई नागरिकता वितरण गरीएको प्रमुख जिल्ला अधिकारी भीमराज पोखरेलले जानकारी दिए । जिल्लामा धाएर पाउने सेवा सुविधा गाउँमै उपलब्ध हुँदा स्थानिय एकदमै खुःशी भएका थिए । जिल्ला नापी कार्यालयबाट १० जनाले सेवा लिएको नापी अधिकृत खिमलाल गौतमले बताए । शिविरमा जिल्ला कृषि विकास कार्यालयले ११० जनालाई बिउ, विषादी वितरण तथा प्राविधिक सल्लाह सुझाव दिएको वरिष्ठ कृषि विकास अधिकृत सावित्री बरालले जानकारी दिइन् ।
त्यसैगरी जिल्ला पशुसेवा कार्यालयबाट ११४ जनाले सेवा लिएका थिए । कार्यालयले २०४ वटा गाई, २५६७ वटा बाख्रा, ३६ वटा घोडा र ४६ वटा कुखुराको लागि विभिन्न औषधी वितरण गरेको थियो । वर्षे घाँस (टियोसेन्टी) को विउ प्रतिव्यक्ति १ केजीका दरले २९ जनालाई र बाह्य परजिवि नियन्त्रणको औषधी ३३ जना किसानलाई वितरण गरेको वरिष्ठ पशु विकास अधिकृत सुबल शाहले बताए ।  
त्यस्तै महिला तथा बालबालिका कार्यालयले ३७ जना पुरुष र ३७ जना महिलालाई जेष्ठ नागरिक परिचयपत्र वितरण गरेको महिला विकास निरिक्षक सरिता थकालीले जानकारी दिइन् । मुस्ताङ सामुदायिक आँखा केन्द्रको आँखा शिविरमा १२१ जनाले आँखा जाँच गरेका थिए । भने ११९ जनाको स्वास्थ्य परिक्षण गरीएको मुस्ताङ अस्पतालले जनाएको छ ।
सो अवसरमा जिल्ला प्रशासन कार्यालयले उपभोक्ता सचेतना कार्यक्रम र विपद व्यवस्थापन सचेतना कार्यक्रम संचालन गरेको थियो । कार्यक्रम उपलब्धी मुलक रहेको स्थानियले बताएका छन् ।

No comments:

Post a Comment