Sunday, March 26, 2017

हाई अल्टीच्युटको कारण तीर्थयात्रीको मृत्यु

केशव बि.क./मुस्ताङ साप्ताहिक संवाददाता
मुस्ताङ ।
हाई अल्टीच्यटको कारण गत चैत्र ११ गते मुक्तिनाथमा एक तीर्थ यात्रीको मृत्यु भएको छ । साविकको भक्तपुर जिल्ला चित्तपोल गाविस वडा नं. ८ स्थायी घर भएका ५६ वर्षीय रामकृष्ण खत्रीको मृत्यु भएको प्रहरीले जनाएको छ । 
 मुक्तिनाथ मन्दिरको दर्शन गरी फर्किने क्रममा रानीपौवा बजारमा अचानक बेहोस भई ढलेका खत्रीको जिल्ला अस्पताल जोमसोममा उपचारको क्रममा दिउँसो २ बजेर ४५ मिनेट जाँदा मृत्यु भएको हो ।
मृतक खत्रीको सव उनका आफन्तले चैत्र १२ गते जोमसोम स्थित कालीगण्डकी किनारमा दाहसँस्कार गरेको बताइएको छ । मृतक खत्री सहित चार जनाको टोली चैत्र १० गते मुक्तिनाथ दर्शनका लागि आएका थिए ।  
मुक्तिनाथमा अक्सिजन सहितको सुविधा सम्पन्न स्वास्थ्य चौकी नहुँदा ३७१० मिटरको उचाईमा रहेको मुक्तिनाथ मन्दिर दर्शन गर्न आउने केही तीर्थयात्रीको अल्टिच्युटको कारण मृत्यु हुने गरेको छ ।
मुक्तिनाथ दर्शन गर्न आउने तीर्थयात्रीको स्वास्थ्यको सुरक्षाका निम्ति मुक्तिनाथमा सुविधा सम्पन्न स्वास्थ्य चौकीको निर्माणमा सरोकारवालाले ध्यान दिनुपर्ने स्थानियले बताएका छन् ।

No comments:

Post a Comment