Thursday, March 30, 2017

थाक ठिनीमा चैत्र २९ देखि देविको भव्य दर्शन पुजा हुँदै

    केशव बि.क./मुस्ताङ साप्ताहिक
मुस्ताङ, चैत्र १६ । ऐतिहाँसिक, धार्मिक तथा साँस्कृतिक महत्व बोकेको थकाली जातिको ल्अ फेव बाह्र वर्षे देवि छेव ढोङताङभ्यो (भोमो आमा) को भव्य दर्शन, पुजा एवं मेला आगामी चैत्र २९ गते बाट घरपझोङ गाउँपालिकाको थाक ठिनी गाउँमा शुरु हुँदैछ । बुधवार ठिनीमा पत्रकार सम्मेलनको आयोजना गरी देवि दर्शन पुजा एवं मेलाको बारेमा जानकारी गराईएको हो । गाउँको मध्य भागमा रहेकी बाह्र वर्षे देवि छेव ढोङताङभ्यो लाई बाह्र वर्षमा एक पटक मात्र भव्य दर्शन पुजा गरिन्छ । चरा वर्षको अवसर पारेर देवि छेव ढोङताङभ्योको दर्शन गरिने र चरा वर्षको उदय हुन १२ वर्ष लाग्ने भएकाले प्रत्येक १२ वर्षमा देविको भव्य दर्शन मेलाको आयोजना गर्दै आएको बाह्र वर्षे देवि दर्शन, पुजा एवं मेला मुल समितिका संयोजक सम प्रसाद थकालीले जानकारी दिए ।
    ल्अ को अर्थ देवि र फेव को शाब्दिक अर्थ निस्कने÷निकाल्ने बुझिन्छ । बाह्र वर्षमा देवि निकालिने भएकाले यस पर्वलाई ल्अ फेव भनिएको हो । ल्अखिम कर्पाे मन्दिरमा विराजमान बाह्र वर्षे देवि छेव ढोङताङभ्योको दर्शन तथा पुजाको लागि हजारौँ भक्तजनहरु थाक ठिनीमा आउने स्थानिय कुल बहादुर थकालीले बताए ।
    बाह्र वर्षे देवि दर्शनमा बोन धर्म अन्तर्गत आय धर्म सम्प्रदायको प्रतिक ल्अखिम कर्पाे मन्दिरमा आयलमहरुले दैनिक पुजा अर्चना गर्ने र प्रत्येक दिन ठि पछि ¥हव अर्थात देवताको महिमा÷कहानी सुनाउने प्रचलन रहेको आयलामा आम प्रसाद थकालीको भनाई छ ।
    भोमो आमाको भव्य दर्शन पुजा एवं मेलाको अवसरमा कुछप तेरङगा गुम्बाट देवता निकालेर दर्शन पुजा र तीन गाउँले (ठिनी, स्याङ र चिमाङ) थकालीको ऐतिहासिक संग्रालयको अवलोकन गर्न पाउने अवसर पनि प्रदान गरीने बताइएको छ ।
    सो दर्शन पुजा एवं मेलाको अवसर पारेर बाह्र वर्षे देवि दर्शन तथा पुजा संगसंगै अतिरित्त कार्यक्रमको आयोजना गरीने मूल आयोजक समितिले जनाएको छ । ल्अ फेव पर्व आगामी चैत्र २९ गते देखि २०७४ वैशाख १३ गते सम्म संचालन हुनेछ ।        

No comments:

Post a Comment