Thursday, March 16, 2017

मुस्ताङमा ५ गाउँपालिका कायमः वडा विभाजनमा त्रुटि

तस्विर सौजन्यः जिल्ला नापी कार्यालय, मुस्ताङ
केशव बि.क.। मुस्ताङ साप्ताहिक
मुस्ताङ ।
संघीय मामिला तथा स्थानिय विकास मन्त्रालयले संघीय नेपालको नामकंन तथा सिमाकंन सहितको खाका सार्वजनिक गरेको छ । मन्त्रालयले फाल्गुन २९ गते आइतबार राजपत्र मार्फत संघीय नेपालको खाका प्रकाशित गरेको हो । संघीय खाका अनुसार प्रदेश नं. ४ अन्तर्गतको हिमाली जिल्ला मुस्ताङ घरपझोङ गाउँपालिका, थासाङ गाउँपालिका, दालोमे गाउँपालिका, लोमान्थाङ गाउँपालिका र बाह्रगाउँ मुक्तिक्षेत्र गाउँपालिका गरी ५ गाउँपालिकामा विभाजन भएको छ ।
गाउँपालिकाको खाका अनुसार घरपझोङ गाउँपालिकामा मार्फा, टुकुचे (८,९) र जोमसोम गाविस समावेश भएका छन् । र प्रस्तावित केन्द्र साविक जोमसोम गाविसको कार्यालय रहेको छ । मार्फा १, टुकुचे ८, ९ –घरपझोङ वडा नं. १, मार्फा २–४ –घरपझोङ वडा नं. २, मार्फा ५–९ –घरपझोङ वडा नं. ३, जोमसोम ५–८ –घरपझोङ वडा नं. ४ र जोमसोम १–४,९ गरी घरपझोङ वडा नं. ५ मा समाहित भएका छन् ।
यसरी वडा विभाजन गर्दा घरपझोङ गाउँपालिकाको वडा विभाजनमा भाषिक त्रुटि देखिएको छ । घरपझोङ १ मा टुकुचे ८,९ र मार्फा ९ हुनुपर्नेमा मार्फा १ भएको छ । घरपझोङ २ मा मार्फा १–४ हुनुपर्नेमा मार्फा २–४ भएको र घरपझोङ ३ मा मार्फा ५–८ हुनुपर्नेमा मार्फा ५–९ भएको छ ।
भाषिक त्रुटिका कारण भुगोल नमिल्ने वडाहरु एउटै वडामा परेका छन् । भौगोलिक दृष्टिले नमिल्ने वडा विभाजनको त्रुटि सच्याउन स्थानियले माग गरेका छन् । संघीय मामिला तथा स्थानिय विकास मन्त्रालयले राजपत्रमा सूचना प्रकाशित गरी त्रुटि सच्याउन सकिने तत्कालिन स्थानिय तह पुर्नसंरचना जिल्ला समन्वय समितिका सदस्य एवं नापी अधिकृत खिमलाल गौतमले जानकारी दिए ।
घरपझोङ गाउँपालिकाको वडा विभाजनमा भएको त्रुटि सच्याउनको लागि जिल्ला समन्वय समिति मुस्ताङले संघीय मामिला तथा स्थानिय विकास मन्त्रालयमा पत्राचार गरिसकेको स्थानिय विकास अधिकारी बन्धु प्रसाद बास्तोलाले बताए ।
त्यसैगरी थासाङ गाउँपालिकामा टुकुचे (१–७), कोवाङ, लेते र कुन्जो गाविस समावेश भएका छन् । प्रस्ताविक केन्द्र साविक कोवाङ गाविसको कार्यालय रहेको छ । लोमान्थाङ गाउँपालिकामा छोसेर, छोन्हुप र लोमान्थाङ गाविस समावेश भएका छन् । प्रस्तावित केन्द्र साविक लोमान्थाङ गाविसको कार्यालय रहेको छ । दालोमे गाउँपालिकामा चराङ, घमी र सुर्खाङ गाविस समावेश भएका छन् । प्रस्तावित केन्द्र साविक चराङ गाविसको कार्यालय रहेको छ । र बाह्रगाउँ मुक्तिक्षेत्र गाउँपालिकामा मुक्तिनाथ, झोङ, छुसाङ र कागबेनी गाविस समावेश भएका छन् । जसको प्रस्तावित केन्द्र साविक कागबेनी गाविसको कार्यालय रहेको छ ।

No comments:

Post a Comment