Sunday, June 4, 2017

प्रजिअ पोखरेलको मन्त्रालय सरुवा तिवारी मुस्ताङ आउँदै

केशव बि.क.

मुस्ताङ । मुस्ताङका प्रमुख जिल्ला अधिकारी भीमराम पोखरेलको गृह मन्त्रालयमा सरुवा भएको छ । विगत ९ महिना देखि मुस्ताङ जिल्लाको प्रमुख जिल्ला अधिकारीको रुपमा कार्यभार सम्हाल्दै आएका पोखरेलको मन्त्रालयमा सरुवा भएको हो ।
पोखरेल २०७३ आसोज १८ गते देखि मुस्ताङ जिल्लाको कार्यभार सम्हालेका थिए । पेशाप्रति जिम्मेवार, कर्तव्य निष्ठ तथा शालिन स्वभावका पोखरेल जिल्लामा रहँदा सबै पक्षसंग सुमधुर तथा तटस्थ भूमिका निर्वाह गर्दै आएका थिए ।
जिल्लामा रहेका विकृति विसंगति हटाउनको लागि पहलरत प्रजिअ पोखरेल जिल्लामा रहँदा सुशासन कायम गर्दै अनियमितताको विपक्षमा रहि कुशल प्रशासकको भूमिका निर्वाह गरे । पोखरेल जिल्लामा भयरहित शान्त मर्यादित वातावरणमा पहिलो चरणको स्थानिय तहको निर्वाचन सम्पन्न गर्न सफल भए ।
मुक्तिनाथको विकास गुरुयोजनालाई निरन्तरता दिन उनी सदैव लागिरहे । जिल्लाका ग्रामिण क्षेत्रका जनतामाझ प्रशासनको पहुँच पु¥याउन बेलाबेलामा घुम्ती शिविर संचालन गरे । उपभोत्ताको अधिकार सुनिश्चित गर्दै अवैध मदिरा नियन्त्रण तथा कालोबजारीलाई रोक्न समयसमयमा बजार अनुगमन गरिरहे ।
तत्कालिन प्रमुख जिल्ला अधिकारी गणेश बहादुर अधिकारीले जिल्लामा भएको यातायात सिण्डिकेटलाई तोड्न सफल भएका थिए । अधिकारीले गरेको सो कार्यलाई पोखरेलले निरन्तरता दिई रहे । जिल्लामा शान्ति सुरक्षा कायम
गर्न प्रजिअ पोखरेल सफल भए ।
प्रजिअ पोखरेलको गृह मन्त्रालयमा सरुवा भएसंगै मन्त्रालयबाट मुस्ताङको प्रमुख जिल्ला अधिकारीको रुपमा रामचन्द्र तिवारी मुस्ताङ आउँदै छन् । 

प्रजिअ पोखरेलको बिदाई 

         कर्मचारी मिलन केन्द्र मुस्ताङले आइतबार एक समारोहको आयोजना गरी प्रजिअ भीमराज पोखरेललाई बिदाई गरेको छ । जिल्ला स्थित सरकारी कार्यालयका प्रमुख, सुरक्षा निकायका प्रमुख लगायतको उपस्थितिमा प्रजिअ पोखरेललाई विदाई गरिएको हो ।
सो अवसरमा कर्मचारी मिलन केन्द्रले प्रजिअ पोखरेललाई मायाको चिनो प्रदान गरेको थियो । खादा लगाई सम्मान गर्दै पुष्प गुच्छाले पोखरेलको विदाई गरिएको थियो ।  

No comments:

Post a Comment