Tuesday, January 10, 2017

धौलागिरी अञ्चल यातायात व्यवसायी समितिले मुस्ताङमा सेवा विस्तार गर्ने

    केशव बि.क./मुस्ताङ साप्ताहिक
    मुस्ताङ, २६ पौष ।

        देशका विभिन्न स्थानमा यातायात सेवा संचालन गर्दै आइरहेको धौलागिरी अञ्चल यातायात बस व्यवसायी संचालक समिति बागलुङले आफ्नो सेवा मुस्ताङमा पनि विस्तार गर्ने भएको छ । समयको माग संगै यात्रुहरुको सुविधाका लागि आगामी माघ १ गते देखि मार्फा ५ पुथाङ एयरपोर्टमा काउण्टर स्थापना गरी यातायात सेवा संचालन गर्न लागेको समितिका महासचिव उमेश केसीले जानकारी दिए ।
    वि.सं. २०५५ साल देखि विधिवत रुपमा दर्ता भई छिटो छरितो भरपर्दाे सेवा उपलब्ध गराउँदै आएको समितिले जोमसोम–बागलुङ, पोखरा, काठमाण्डौँ स्तरीय एसी डिलक्स बस तथा एसी स्कारपीओ जीप मार्फत सुविधा सम्पन्न यातयात सेवा उपलब्ध गराउने जनाएको छ ।
    जोमसोम–बागलुङ बस भाडादर ८५०, जीप भाडादर १२५०, जोमसोम–पोखरा जीप भाडादर १६०० र जोमसोम–काठमाण्डौँ बस भाडादर १६५० रुपैयाँ कायम गरिने केसीले बताए । जोमसोम देखि काठमाण्डौँका लागि रात्री बस सेवा संचालन गरिने बताइएको छ ।
    मुस्ताङको यातायातमा भएको सिण्डिकेट अन्त्य भएसंगै मुस्ताङमा यातायात व्यवसायीहरुको संख्या बढन थालेपछि यात्रुहरु हर्षित भएका छन् । यसरी विभिन्न यातायात व्यवसायी समितिले मुस्ताङमा सेवा विस्तार गरिरहँदा आन्तरिक तथा बाह्य पर्यटकको संख्यामा वृद्धि हुने र यात्रुहरुले चाहेको समयमा छिटोछरितो सर्वसुलभ यातायात सेवा पाउने अनुमान गरिएको छ ।
    विगत १० वर्ष देखि मुस्ताङमा मुस्ताङ बस तथा जीप व्यवसायी समितिले एकछत्र यातायात सेवा संचालन गरेकोमा, हाल मुस्ताङमा मुक्तिनाथ दर्शन यातायात प्रालि, म्याग्दी बस तथा जीप व्यवसायी समितिले पनि यातायात सेवा संचालन गरिसकेका छन् ।        

No comments:

Post a Comment