Friday, January 6, 2017

जिल्ला प्रशासनद्धारा बजार अनुगमन

मुस्ताङ साप्ताहिक संवाददाता
मुस्ताङ, २२ पौष ।
जिल्ला प्रशासन कार्यालय मुस्ताङले गत बुधवार बजार अनुगमन गरेको  छ । उपभोक्ताको स्वास्थ्यलाई मध्यनजर गर्दै करको दायरामा नआएका व्यवसायीलाई करको दयरामा ल्याउनको लागि जिल्लामा सुधारात्मक अनुगमन गरिएको सहायक प्रमुख जिल्ला अधिकारी लक्ष्मण बहादुर खड्काले जानकारी दिए ।
   जिल्ला प्रशासन कार्यालय, घरेलु तथा साना उद्योग विकास समिति, कोष तथा लेखा नियन्त्रण कार्यालय र जिल्ला प्रहरी कार्यालय लगायतको सहभागितामा बजार अनुगमन गरिएको थियो । अनुगमनका क्रममा सबैमा जनचेतना बढेकाले प्यान नम्बर लिनेको संख्या बढेको पाइएको खड्काले बताए ।
    त्यस्तै अनुगमनको क्रममा सबैले दररेटमा एकरुपता ल्याएको, अखाद्य बस्तु नभेटिएको, होटलहरुको किचन सरसफाईको दृष्टिकोणले राम्रो देखिएको पाइएको थियो । केही ठाउँमा कम मात्रामा अवैध मदिरा भेटिएकाले त्यसलाई नष्ट गरिएको थियो ।
    अनुगमन गरिएको प्राय ठाउँमा मुल्य सुची टाँसेको नदेखिएकाले मुल्य सुची राख्न अनुरोध पत्र बुझाइएको खड्काले जानकारी दिए । सुधारात्मक अनुगमन मार्फत व्यवसायीलाई आफ्नो कर्तव्य बोध गराउँदै चेतनामुलक अनुगमन गरेका छौँ । यदि आगामी अनुगमनमा कसैले गैरकानुनी तबरले व्यवसाय संचालन गरेको पाईएमा कानुनी प्रक्रियामा ल्याउँछौँ । खड्काले भने ।
    सामान्यतया जिल्लाको घांसा, लेते, कोवाङ, टुकुचे लगायतको ठाउँमा अनुगमन गरिएको हो । सो अवसरमा व्यवसाय दर्ता प्रक्रिया र राजस्वको बारेमा जानकारी गराइएको थियो । यो आ.व. मा जिल्ला प्रशासनले दुई पटक बजार अनुगमन गरिसकेको छ । आगामी दिनमा पनि यसलाई निरन्तरता दिने प्रशासनले बताएको छ ।      

No comments:

Post a Comment