Sunday, January 8, 2017

मुस्ताङमा आउने पर्यटक बढे

केशव बि.क./मुस्ताङ साप्ताहिक
मुस्ताङ, २४ पौष

पर्यटकीय गन्तव्यको रुपमा स्थापित हिमाली जिल्ला मुस्ताङमा भ्रमण गर्ने पर्यटकको संख्या सन् २०१५ को तुलनामा सन् २०१६ मा उल्लेख्य वृद्धि भएको छ ।   
 सन् २०१५ मा २३ हजार २७२ पर्यटकले मुस्ताङमा भ्रमण गरेकोमा सन् २०१६ मा ३९ हजार ०१७ ले भ्रमण गरेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) जोमसोमका प्रमुख तुलसी दाहालले जानकारी दिए । सो संख्या गत वर्षको तुलनामा १५ हजार ७४५ ले बढी हो । पर्यटकको संख्यात्मक वृद्धिसँगै मुस्ताङका होटल तथा पर्यटन व्यवसायी उत्साहित बनेका छन् ।
सन् २०१५ मा भूकम्प र नाकाबन्दीको कारण मुस्ताङमा पर्यटकको संख्यामा कमी आएकोमा २०१६ मा समय अनुकूल भएकाले पर्यटकको संख्या उल्लेख्य वृद्धि भएको दाहालले बताए । मुस्ताङमा आएका पर्यटक मध्ये १५ हजार ४७८ भारतीय र २३ हजार ५३५ अन्य देशका पर्यटक रहेका छन् ।
२०१६ को मे महिनामा सबैभन्दा धेरै ६ हजार ८१६ र सबैभन्दा थोरै जनअरी महिनामा ३६५ जना पर्यटक मुस्ताङ आएका थिए । मुक्तिनाथ मन्दिर, लोमान्थाङ दरबार, राउन्ड अन्नपूर्ण पदमार्गको थोराङला पास सहित विभिन्न हिमशृंखला र कला संस्कृतिको अध्ययनका लागि मुस्ताङमा पर्यटक आउने गरेका छन् । यसरी आउनेमा भारतीयको संख्या बढि छ ।
त्यस्तै उपल्लो मुस्ताङको भ्रमणको लागि जानेमा तेस्रो मुलुकका पर्यटकको संख्या धेरै र जसमा पनि जर्मन पर्यटकको संख्या बढि रहेको एक्यापले जनाएको छ । भूगोल र पुरातात्विक तथा ऐतिहासिक स्थलको अवलोकनका लागि पर्यटक उपल्लो मुस्ताङ जाने गरेका छन् ।
संवेदनशील क्षेत्र मानिने उपल्लो मुस्ताङ सन् १९९२ देखि पर्यटकका लागि खुल्ला गरिएको थियो । उपल्लो मुस्ताङको भ्रमणका लागि प्रत्येक पर्यटकले अध्यागमन विभागमा ५ सय डलर तिरेर पुर्जि काटनु पर्छ र भ्रमणमा कम्तिमा २ जना हुनुपर्ने प्रावधान रहेको छ । 
यस वर्ष बाह्य पर्यटकको तुलनामा आन्तरिक पर्यटकको आगमन उल्लेख्य मात्रामा भएको होटल व्यवसायीहरु बताउँछन् । सोह्रश्राद्धमा हजारौँको संख्यामा तीर्थयात्रीहरु मुस्ताङ आएका थिए । त्यस्तै घुम्न र विदा मनाउन यो वर्ष मुस्ताङ आउने आन्तरिक पर्यटकको संख्या अधिक छ । मुस्ताङको यातायातमा भएको सिण्डिकेट अन्त्य हुनुले पनि आन्तरिक पर्यटकको संख्या बढेको हो । आन्तरिक पर्यटक उल्लेख्य मात्रामा जिल्लामा भित्रिए पनि उनीहरुको रेकर्ड भने राखिदैँन् । 
अफ सिजनमा सिजनल बसाईसराईले सुनसान जस्तै हुने मुस्ताङ सिजन सुरु भएसंगै पर्यटकको आगमन पनि बढने गर्छ । पर्यटकको आगमन वृद्धि संगै यहाँ संचालित होटल, पर्यटन तथा अन्य व्यवसाय राम्रो संग फस्टाएको उद्योग वाणिज्य संघ मुस्ताङले जनाएको छ । अत्याधिक चिसो हुने भएकाले डिसेम्बर, जनअरी र फेब्रुअरी महिनालाई अफ सिजन मानिन्छ ।

No comments:

Post a Comment