Monday, January 9, 2017

सीमा सुरक्षा चुस्त राख्नुपर्छः महानिरीक्षक राई

    केशव बि.क./मुस्ताङ साप्ताहिक
    मुस्ताङ, २५ पौष

सशस्त्र प्रहरी महानिरीक्षक दुर्ज कुमार राईले सीमा सुरक्षा चुस्त राख्नुपर्ने भन्दै कोरला नाका खुल्ने अवस्थामा सशस्त्र प्रहरी बल सीमा सुरक्षा गुल्मको सुरक्षा भूमिका महत्वपूर्ण रहने बताएका छन । सोमबार सशस्त्र प्रहरी बल सीमा सुरक्षा गुल्म मुस्ताङको नवनिर्मित कार्यालय भवनको समुद्घाटन गर्न मुस्ताङ आएका महानिरीक्षक राईले यस्तो बताएका हुन् ।
    सशस्त्र प्रहरी बल सीमा सुरक्षा गुल्म मुस्ताङको नवनिर्मित भवनको समुद्घाटन गर्दै राईले सीमावर्ती क्षेत्रमा शान्ति सुरक्षाको अवस्था सुनिश्चित गर्ने सशस्त्र प्रहरीको पहिलो कर्तव्य भएकाले आफ्नो कर्तव्यमा अहोरात्र खटिई समग्र शान्ती सुरक्षा, सीमा सुरक्षा, विपद् प्रकोप उद्धार लगायतका कार्यमा मन वचन र कर्मले लाग्न आग्रह गरेका छन् ।

    भारत तर्फको १८६५ किमि र चीन तर्फ १६६५ किमि सीमा क्षेत्रको सुरक्षा जिम्मा सशस्त्र प्रहरीको भएको भन्दै सीमा सुरक्षालाई चुस्त दुरुस्त राख्नुपर्ने उनको भनाई थियो ।
    तत्कालिन सशस्त्र प्रहरी नायव उपरिक्षक दिल प्रसाद भट्टको कार्यकालमा कुल लागत २ करोड ९९ लाख ४२ हजार रुपैयाँ भएको टेण्डर प्रक्रिया मार्फत गुल्मको कार्यालय भवन तथा व्यारेक भवन निर्माण कार्यको २०७१ चैत्र १० गतेवाट निर्माण कार्य प्रारम्भ भई सम्पन्न पश्चात २०७२ चैत्र १२ गते देखि नवनिर्मित भवनबाट कार्यालय संचालन हुँदै आईरहेको सशस्त्र प्रहरी नायव उपरिक्षक देवराज जोशीले जानकारी दिए ।

    २ करोड ९१ लाख ४१ हजार ९८४ रुपैयाँमा योजना स्वीकृत भएकोमा निर्माणस्थलको भुबनोट र जोखिम मुल्याङकन गरी पुनरविचार गर्दा मनोमेन्ट, गाडी गारेज र स्टोर भवनको बोलकबोल अंक भन्दा ८ लाख लागत रकम बढाई कार्यालय भवन, मुल्मपति निवास, ब्यारेक, गाडी ग्यारेज तथा स्टोर भवन निर्माण कार्य सम्पन्न भएको सप्रनाउ जोशीले बताए ।
२०७१ पौष १० गतेको जिल्ला सुरक्षा समिति मुस्ताङको निर्णयअनुसार नेपाल सरकारको नाममा रहेको जोमसोम गाविस ८ होम्दामा रहेको ६ रोपनी क्षेत्रफल भएको जग्गा गृहमन्त्रालयको पत्रबाट सहमति भए अनुसार मिति २०७१ पौष १४ देखि गुल्मको नाममा जग्गाधनी दर्ता प्रमाण पुर्जा प्राप्त भएको थियो ।

शान्ती सुरक्षा प्रतिवद्धताको आदर्श वाक्यलाई आत्मसाथ गर्दै अगाडी बढेको सशस्त्र प्रहरी संगठनलाई नेपाल सरकारद्धारा प्रदान गरिएको जिम्मेवारी पुरा गर्ने क्रममा २०६४ सालमा संविधान सभाको निर्वाचनको सुरक्षाको लागि सशस्त्र प्रहरी बल चण्डिका गणको मातहतमा अस्थाई रुपमा निर्वाचन सुरक्षा बेशको स्थापना भई मुस्ताङमा सशस्त्र प्रहरी बलको उपस्थिति भएको हो ।
उक्त निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न गराई २०६५ सालमा चण्डिका गण फिर्ता भएको र २०६६ फागुन १ गते हिमाली तथा पहाडी जिल्लामा सशस्त्र प्रहरी बलको पहुँच पु¥याई सीमावर्ती जिल्लामा शान्ति सुरक्षाको अवस्था सुनिश्चित गर्ने निर्णय अनुसार मुस्ताङ जिल्लाको जोमसोममा सशस्त्र प्रहरी बल चण्डिका गणको मातहत पुन अस्थायी सुरक्षा बेशको रुपमा स्थापना भई जिविसको अतिथि गृहबाट कार्यालय संचालन गर्दै आईरहेकोमा नेपाल सरकार मन्त्री परिषदको २०७० असार ७ गतेको निर्णयले सशस्त्र प्रहरी बल सीमा सुरक्षा गुल्मको रुपमा १६० जनाको दरबन्दी स्वीकृत भएबाट विधिवत रुपमा गुल्मको स्थापना भएको थियो ।
यस गुल्मको जिम्मेवारी इलाकामा पर्ने अन्तराष्ट्रिय अर्थात चीनसंगको सीमाना सदरमुकाम जोमसोमको गुल्मबाट करिब १०५ किमि उत्तर तर्फ रहेको छ । जिम्मेवारी इलाका अन्तर्गत रहेका १८ देखि ३३ नम्वर सम्मका सीमा स्तम्भ मध्ये सानो स्तम्भ ९ वटा र मझौला स्तम्भ ७ वटा गरी जम्मा १६ वटा सीमा स्तम्भहरु रहेका छन् । र सशस्त्र प्रहरी गुल्मबाट टोली खटाई सीमा ईलाकाको समय समयमा निरीक्षण तथा अनुगमन गर्ने गरिएको सप्रनाउ जोशीले बताए ।
कोरला नाका संचालन गर्न पूर्वाधार निर्माणको लागि सशस्त्र प्रहरी सीमा सुरक्षा गुल्मलाई चीनसंगको सीमावर्ती गाविस छोसेरमा ३० रोपनी जग्गा प्राप्तिको भूमिसुधार मन्त्रालय मार्फत प्रक्रिया अगाडी बढेको र जग्गा प्राप्ति पश्चात आवश्यक पूर्वाधार निर्माण गरी सशस्त्र प्रहरीको सुरक्षा पोष्ट स्थायी रुपमा सीमा क्षेत्रमा बस्ने बताईएको छ ।
    उद्घाटन कार्यक्रममा सशस्त्र प्रहरी मुक्तिनाथ बाहिनीका बाहिनीपति नरेन्द्र कुमार सिंह, प्रमुख जिल्ला अधिकारी भीमराज पोखरेल, स्थानिय विकास अधिकारी हरिप्रसाद बास्तोला,  नेपाली सैनिक उच्च शिखर शिक्षालयका प्रमुख सेनानी इन्द्रबहादुर शाह, भीमदल गणका प्रमुख सेनानी सुरेन्द्रदेव बोगटी, प्रहरी नायव उपरिक्षक हरिहरनाथ योगी, पूर्व सभासद चन्द्र बहादुर गुरुङ, नेपाली कांग्रेसका प्रतिनिधि गणेश शेरचन, नेकपा एमालेका अध्यक्ष चन्द्रमोहन गौचन, उद्योग वाणीज्य संघका अध्यक्ष खगेन्द्र तुलाचन र नागरिक अगुवा चन्द्रबहादुर लगायत जिल्लास्थित कार्यालय प्रमुख तथा प्रतिनिधिको उपस्थिति रहेको थियो ।
सो अवसरमा सप्रनाउ देवराज जोशीले स्वागत तथा भवन निर्माण प्रतिवदन प्रस्तुत गरेका थिए । कार्यक्रम सप्रनि रामचन्द्र शर्माको संचालनमा सम्पन्न भएको थियो ।   



No comments:

Post a Comment