Wednesday, January 4, 2017

१३३ जना मतदाता थपिए

केशव बि.क.
मुस्ताङ २० पौष


    हिमाली जिल्ला मुस्ताङमा १३३ जना मतदाता थपिएका छन् । डेढ महिनाको अवधिमा १३३ जना मतदाता थपिएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।   
मंसिर एक गते देखि पन्ध्र गते सम्म मुस्ताङका नौँ वटा गाविसहरुमा ३८ जना महिला र ४७ जना पुरुष गरि जम्मा ८५ जना मतदाता थपिएका थिए । त्यस्तै जिल्ला प्रशासनबाट ९ जना र निर्वाचन कार्यालयबाट १ जना गरी १० जना मतदाता पनि मंसिर महिनामा थप भएको बताइएको छ ।
    हाल सम्म उपल्लो मुस्ताङमा १८ जना महिला र २० जना पुरुष गरी ३८ जना र तल्लो मुस्ताङका ९ गाविसमा ८५ जना र कार्यालयबाट १० जना गरी १३३ जना नयाँ मतदाता थपिएका छन् । उपल्लो मुस्ताङका स्थानिय जाडो समयमा देशका अन्य ठाउँमा बसाई सर्ने भएकोले पूर्ण रुपमा मतदाता संख्या संकलन गर्न नसकिएको निर्वाचन कार्यालयले बताएको छ । 
    गत कार्तिक २२ गते सम्म जिल्लामा ८ हजार ६ सय २७ जना मतदाताको संख्या रहेको थियो । नयाँ मतदाता फोटो सहितको नामावली संकलन तथा अद्यावधिक कार्यक्रमबाट १३३ जना मतदाता गरी मुस्ताङमा हाल ८ हजार ७ सय ६० मतदाता रहेको जिल्ला निर्वाचन कार्यालयको तथ्याङ्क छ ।
    स्थानिय निकायको निर्वाचनको लागि जनताको आकर्षण बढेकाले पनि नयाँ मतदाताको संख्या बढन गएको हो ।
    गत मंसिर एक गते देखि फोटो सहितको मतदाता नामावली संकलन तथा अद्यावधिक दावि विरोध समेतको अभियान संचालन गरिएको थियो ।
    नेपालको जनगणना २०६८ अनुसार जम्मा १३ हजार ४ सय ५२ जनसंख्या रहेको मुस्ताङमा हालसम्म ८ हजार ७ सय ६० जना मतदाताको नामावली संकलन हुनुले  सर्वसाधारणमा निर्वाचनको महत्वको बारेमा चेतना बढ्दै गएको देखिएको छ ।
    २१ हिमाली जिल्ला देखि सुरु भएको निर्वाचन दावी विरोध र फोटो सहितको मतदाता नामावली संकलन कार्यक्रम अहिले पहाडी जिल्लामा पनि संचालन भैसकेको छ ।

No comments:

Post a Comment