Saturday, January 7, 2017

मुस्ताङमा ५ गाउँपालिका

मुस्ताङ साप्ताहिक संवाददाता
मुस्ताङ, २०७३ पुस २३ ।
स्थानीय तह पुनर्संरचना आयोगले शुक्रवार प्रधानमन्त्रीलाई बुझाएको प्रतिवेदन अनुसार मुस्ताङ जिल्लामा ५ गाउँपालिका निश्चित भएको छ । यहाँ नगरपालिका भने छैन् । 
छोन्हुप, छोसेर र लोमान्थाङ– लोमान्थाङ गाउँपालिका, सुर्खाङ, चराङ र घमी– दालोमे गाउँपालिका, छुसाङ झोङ, मुक्तिनाथ र कागबेनी– बाह्र गाउँ मुक्तिक्षेत्र गाउँपालिका, जोमसोम, मार्फा र टुकुचेको चिमाङ गाउँ सहित– घरपझोङ गाउँपालिका र टुकुचे, कोवाङ, लेते र कुञ्जो गाविस– थासाङ गाउँपालिका हुने बताइएको छ ।
स्थानिय तह पुनर्संरचना सम्बन्धी जिल्ला स्तरीय परामर्श कार्यशाला गोष्ठीमा स्थानियले आफ्नो कलासँस्कृति टुक्रिने भन्दै आफुहरुलाई आयोगले प्रस्ताव गरेको ३ गाउँपालिका मान्य नहुने बताएका थिए । मुस्ताङलाई ३ गाउँपालिकामा विभाजन गर्ने आयोगको निर्णय अव्यवहारिक र अपर्याप्त भएको भन्दै मुस्ताङमा विशिष्टता, पहिचान, कलासंस्कृति, भौगोलिक, धार्मिक, ऐतिहासिक, विविधता, सामाजिक र साँस्कृतिक हिसाबले ५ गाउँपालिका आवश्यक रहेको भन्दै ५ गाउँ पालिका माग गरेका थिए । 
स्थानीय तह पुनर्संरचना आयोगले स्थानीय तहको संख्या र सीमा निर्धारण गरेपछि विद्यमान स्थानीय निकाय स्वतः विघटन हुने संवैधानिक व्यवस्था छ । संविधानको धारा ३०३ को उपधारा (१) अनुसार आयोगले स्थानीय तहको संख्या र सीमा निर्धारण भएपछि स्वतः स्थानीय निकाय विघटन हुनेछन् । तर, त्यसका लागि सरकारले राजपत्रमा प्रकाशित गरी आधिकारिकता भने प्रदान गर्नुपर्छ ।
आयोगको प्रतिवेदनपछि स्थानीय निकायको निर्वाचन भएमा निर्वाचित पदाधिकारी भूगोलविनाका हुनेछन् । ‘स्थानीय पुनर्संरचना आयोगले स्थानीय तहको सीमा र संख्या निर्धारण गरी प्रतिवेदन सरकारलाई बुझाएपछि सरकारले राजपत्रमा प्रकाशित गर्नुपर्ने हुन्छ र त्यसपछि स्वतः कार्यान्वयनमा जाने भएकाले स्थानीय निकाय रहँदैन । त्यस्तो अवस्थामा स्थानीय निकायको निर्वाचन भए पनि ती पदाधिकारी भूगोलविनाका हुनेछन् ।

No comments:

Post a Comment