Monday, November 21, 2016

जोमसोम–पोखरा हवाई भाडा बढ्योः स्थानिय चेपुवामा

केशव बि.क.
मुस्ताङ, ६ मंसिर

जोमसोम–पोखरा हवाई टिकटको भाडामा उल्लेख्य वृद्धि हुँदा यहाँका सर्वसाधारण मर्कामा परेका छन् । जोमसोम देखि पोखरा नियमित उडान गर्दै आएका एरलाइन्स कम्पनीले हवाई टिकटको मुल्यमा दोब्बर वृद्धि गर्दा स्थानिय मर्कामा परेका हुन् ।
  पर्यटन मन्त्रालय र विमान कम्पनीको सहमतिमा जोमसोम–पोखराको भाडादर २२ सय ९० कायम गरिएको भएता पनि यहाँ संचालित एयरलाइन्सले तोकिएको भाडादरको दोब्बर भाडा ल्याउने गरेका छन् ।
    हवाई सेवा व्यवस्थापन समितिका अनुसार हाल नेपाली यात्रुले ४६ सय ३० रुपैयाँ, भारतीयका लागि ६९ सय ५० रुपैयाँ र तेस्रो मुलुकका नागरिकले १ सय १० डलर तिर्दै आएका छन् । यसरी एउटै रुटमा फरकफरक भाडादर कायम गरिएको छ । यसले हवाई भाडामा मनोमानी हावी भएको प्रष्ट्याउँछ ।
    विगत २० वर्ष अगाडी तत्कालिन समयमा संचालित एयरलाइन्सहरुले मनोमानी तवरले भाडा वृद्धि गर्दा यहाँका स्थानियले तत्कालिन विमान कम्पनी विरुद्ध विमानस्थल घेराउ ÷लामो आन्दोलन पश्चात विमान कम्पनीहरुले भाडा समायोजन गर्न बाध्य भएको विगत सुनाउँदै अहिले पनि भाडा वृद्धिबारे स्थानिय जनता आक्रोषित भएकोले भाडा समायोजन नभए आन्दोलन उत्रिने थाक पाँच गाउँ उद्दार समितिका अध्यक्ष आस बहादुर थकालीले बताए ।
    हिमाली जिल्ला मुस्ताङको सदरमुकाम जोमसोमबाट नियमित रुपमा तारा एयरलाइन्स र सिम्रिक एयरलाइन्सले दैनिक रुपमा समान्यतया ५ वटा उडान भर्दै आएका छन् । यस बाहेक गोमा एयर समेतले कहिलेकाँही उडान भर्दै आएको छ । जोमसोमका लागि नेपाल एयरलाइन्सको सेवा बन्द छ ।
    जिल्ला प्रशासनले कार्यालयका लागि दुई सिट राखेर अन्य सिटको भाडा बढाउन अनुमति दिएको स्थानियले आरोप लगाएका छन् । स्थानियको आरोपको खण्डन गर्दै प्रमुख जिल्ला अधिकारी भीमराज पोखरेलले मुस्ताङ पर्यटकीय जिल्ला भएकाले विभिन्न व्यक्तिहरु यस स्थानमा आउने तथा यहाँ स्थित कर्मचारीलाई विमारी भई वा सरुवा तथा विभिन्न गोष्ठी सेमिनारमा पोखरा तथा काठमाण्डौ तत्काल जानु पर्दा निजहरुको आवगमन व्यवस्थापन गर्न एयरलाइन्सलाई प्रशासनबाट समन्वय गरी दैनिक २÷२ वटा सिट वितरण गर्न अनुरोध गरेको र विमान कम्पनीले भाडा वृद्धिका लागि जिल्ला प्रशासन संग कुनै समन्वय नभएको बताए ।
    भाडादर वृद्धि र मनपरी भाडा लिएको बारे दुई पटकसम्म पत्र पठाएर जवाफ मागे पनि विमान कम्पनीले वास्ता गरेनन् । पटक ंपटक फोन गरें, कुनैले पनि जवाफ दिएनन् । प्रजिअ पोखरेलले भने ।
    हवाई भाडा वृद्धिदरको विषयमा हवाईसेवा व्यवस्थापन समितिका संयोजक सहायक प्रमुख जिल्ला अधिकारी लक्ष्मण बहादुर खडकाको संयोजकत्वमा घरेलु तथा साना उद्योग विकास अधिकृत चेतनाथ गौतम र प्रहरी निरिक्षक राजकुमार चौधरी भएको समितिले अनुगमन तथा छानविन गरी पर्यटन मन्त्रालयमा प्रतिवेदन पठाएको छ ।
    जिल्ला प्रशासन कार्यालयका अनुसार उडानहरुको स्थिति सार्वजनिकीकरण हुनुपर्ने र सहुलियत दरको टिकट कसरी प्राप्त गर्ने हो मापदण्ड स्पष्ट हनुपर्ने भन्दै स्थानिय वासीहरुलाई सहुलियत दरमा टिकट प्राप्त हुनुपर्ने व्यवस्थाका लागि मन्त्रालयबाट पहल गर्न पत्राचार गरिएको छ ।
    हाल पोखरादेखि जोमसोमका लागि सिम्रिकले दैनिक तीन र ताराले एउटा नियमित उडानको अनुमति लिएको छ । नियमित उडान भर्दा तोकिएको मूल्यमै टिकट बिक्री गर्नुपर्ने हुँदा यी कम्पनीले नियमित उडानका अतिरिक्त चार्टर उडान पनि गर्दै आएका छन् ।

No comments:

Post a Comment