Tuesday, November 29, 2016

जोमसोम–पोखरा यथासिघ्र जीप संचालन हुने


केशव बि.क./मुस्ताङ साप्ताहिक
मुस्ताङ १४ मंसिर

यात्रुहरुको मागलाई मध्यनजर गर्दै निकट भविष्यमा जोमसोम–पोखरा सिधा जीप संचालन हुने भएको छ । समयको आवश्यकता र यात्रुहरुको सुविधालाई ध्यानमा राख्दै श्री मुक्तिनाथ दर्शन यातयात प्रालिले जोमसोम–पोखरा यथासिघ्र जीप सेवा संचालनमा ल्याउन लागेको हो ।   
 कम्पनी रजिष्टारको कार्यालय त्रिपुरेश्वर काठमाण्डौमा महेन्द्र थकालीको अध्यक्षतामा सात सदस्यिय यातायात प्रालि दर्ता गरी जीप संचालनमा ल्याउन लागेको समितिका अभियान्ता दिपक लालचनले मुस्ताङ साप्ताहिकलाई बताए  ।
    सोह्र श्राद्ध तथा आन्तरिक र बाह्य पर्यटकको चाप बढने समयमा मुस्ताङ जीप तथा बस व्यवसायी समितिले यात्रुहरुको माग अनुसारको सेवा प्रवाह गर्न नसकेको जनगुनासो बढिरहेका बेला श्री मुक्तिनाथ दर्शन यातायात प्रालिले नयाँ जीपहरु संचालनमा ल्याउन लागेको हो ।
    तत्कालको लागि ४० वटा टाटा सुमो जीपबाट सेवा सुचारु गरी भविष्यमा एसि डिलक्स बस र साधारण बस संचालनमा ल्याउने योजना रहेको श्री मुक्तिनाथ दर्शन यातायात प्रालिले जनाएको छ ।
    आन्तरिक यातायातको रुपमा जोमसोम– घाँसा, तातोपानी, बेनी, बागलुङ सिधा जीप संचालन गरिने र त्यस पश्चात आवश्यक प्रक्रिया पुरा गरी जोमसोम– काठमाण्डौ र जोमसोम भैरहवा सुविधा सम्पन्न बस तथा जीप सेवा संचालनमा ल्याउने योजना रहेको लालचनले बताए ।
मंसिर १६ देखि जीप संचालन गरिने योजना भएतापनि विविध कारणवस आगामी मंसिर २५ देखि ३० गते भित्रमा यातायात सेवा संचालनमा ल्याउने बताइएको छ । हाल संचालनमा ल्याउन लागिएको ४० वटा जीप संचालक मध्ये २५ जना मुस्ताङ जीप तथा बस व्यवसायी समितिमा आवद्ध सदस्यहरु नै रहेको लालचनले जानकारी दिए ।      
    हालसम्म भाडाको विषयमा कुनै छलफल नगरिएको भएतापनि समितिका सदस्यहरु बिच छलफल गरी जोमसोम–पोखराको लागि १६ सय देखि २ हजार रुपैयाँ भित्र भाडा कायम हुन सक्ने लालचनको भनाई छ ।
    यसरी नयाँ व्यवस्थापनका साथ मुक्तिनाथ दर्शन यातयात प्रालिले सुविधा सम्पन्न जीप संचालनमा ल्याएपछि यात्रुहरुले छिटो छरितो र भरपर्दाे सेवा पाउने आशा गरिएको छ । 

No comments:

Post a Comment