Friday, November 25, 2016

मुस्ताङमा प्रथम उद्योग दिवस मनाईयो

मुस्ताङ साप्ताहिक
मुस्ताङ ९ मंसिर

औद्योगिक क्षेत्रमा लगानी, समृद्धिको सुनौलो बिहानी भन्ने उद्घोषका साथ घरेलु तथा साना उद्योग विकास समिति मुस्ताङको आयोजनामा बिहिवार जोमसोममा प्रथम उद्योग दिवस मनाईएको छ ।

दिवसको अवसरमा बोल्दै प्रमुख जिल्ला अधिकारी भीमराज पोखरेलले उद्योगको विकास हुन सकेमात्र देशको सम्वृद्धि हुने बताए । मुस्ताङ पर्यटन, वनजन्य, औषधी, पशुजन्य, कृषि उद्योग संचालनको लागि संभावित जिल्ला भएको भन्दै पोखरेलले मुस्ताङमा पर्यटन उद्योग सहि ढंगले अगाडी बढाउन सके अन्य उद्योग पनि संगसंगै अगाडी बढने बताए ।
त्यसैगरी स्थानिय विकास अधिकारी हरिप्रसाद बास्तोलाले स्थानिय स्रोत साधन र पुँजीको परिचालन गरेर उद्योग संचालन गर्न सुझाव दिए । कार्यक्रममा घरेलु तथा साना उद्योग विकास अधिकृत नगेन्द्र नेपालले उद्यमीलाई प्रवद्र्धन तथा प्रविधिको विकासका लागि सरकारले २५ लाख दिने व्यवस्था रहेकाले सरकारले गर्ने सहयोगको फाईदा लिन उद्यमीलाई आग्रह गरे । साथै उनले उद्योगको विकासका लागि प्रत्येक जिल्लाका २ सय जनालाई उद्यमशिलता विकास तालिम दिने सरकारको योजना रहेको बताए ।
कार्यक्रममा घरेलु उद्योग महासंघ मुस्ताङका अध्यक्ष भिम रसाईली र उद्यमी रमेश भट्टचनले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमका सहभागीले मुस्ताङमा उद्योग वाणिज्य संघ निष्क्रिय हुँदा औद्योगिक क्षेत्रमा सोचे जति प्रगति हुन नसकेको बताएका थिए ।    
स्थानिय विकास अधिकारी हरिप्रसाद बास्तोलाको अध्यक्षता, उद्यमी सुन्देवी रसाईलीको सञ्चालन र घरेलु तथा साना उद्योग विकास समितिका कार्यालयका केशव सिलवालको स्वागतमा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रमको पूर्वसन्ध्यामा आद्यौगिक क्षेत्रमा लगानी, संवृद्धीको सुनौली बिहानी, उद्योग गरौँ उद्यमी बनौँ, आम्दानी बढाऔँ आत्मनिर्भर बनौँ लगायतका नारासंगै जोमसोम बजारमा कार्यालय प्रमुख, कर्मचारी, उद्योगी, व्यवसायीको सहभागितामा ¥याली निकालीएको थियो ।

No comments:

Post a Comment