Monday, November 13, 2017

प्रतिनिधिसभामा मुस्ताङबाट कस्ले मार्ला बाजी ?

केशव वि.क.
मुस्ताङ, कार्तिक २७ 

आगामी मंसिर १० गते हुने निर्वाचनमा मुस्ताङबाट प्रतिनिधिसभा तर्फ कस्ले मार्ला त बाजी । यतिबेला सर्वत्र चर्चाको विषय बनेको छ । मुस्ताङबाट प्रतिनिधिसभा तर्फ नेपाली काँग्रेस र बाम गठबन्धनका साझा उम्मेदवारले चुनावी प्रतिस्पर्धा गर्दैछन् । यो प्रतिस्पर्धा भने जिल्लामा कुनै नौलो होइन् । दोस्रो संविधान सभाको निर्वाचन पश्चात संगसंगै यी दुई उम्मेदवारहरु पुनः प्रतिस्पर्धामा उत्रिएका हुन् । 
नेपाली कांग्रेसबाट पूर्व वाणीज्यमन्त्री रोमी गौचन थकाली र बाम गठबन्धनबाट प्रेम प्रसाद तुलाचनले प्रतिनिधिसभाका लागि आफ्नो उम्मेदवारी दर्ता गराएका छन् । थासाङ गाउँपालिका वडा नं. ३ लेतेका यी दुवै उम्मेदवारहरु छिमेकी हुन् । २०७० को दोस्रो संविधान सभाको निर्वाचनमा गौचन नेपाली कांग्रेस र तुलाचन स्वतन्त्र उम्मेदवारको तर्फबाट संगसंगै चुनावी मैदानमा थिए । तत्कालिन स्वतन्त्र उम्मेदवार तुलाचनले जम्मा १२ मतान्तरले पराजय भोग्नु परेको थियो । 
कांग्रेसका उम्मेदवार गौचन ०५६ मा प्रतिनिधिसभा सदस्य, ०६४ मा समानुपातिक सांसद र ०७० मा निर्वाचित सांसद हुँदै वाणीज्य मन्त्री बने । बाम गठबन्धनका उम्मेदवार तुलाचन प्रख्यात निर्माण व्यवसाय एवं उत्कृष्ट करदाता र मुस्ताङका विभिन्न संघसंस्थामा नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएका सामाजिक अगुवा हुन् ।   

यी दुवै उम्मेदवारहरुको जिल्लामा उत्तिकैको राम्रो पहुँच छ । यति बेला दुवै उम्मेदवारहरु विकासका एजेण्डाहरु लिएर मतदाताको घरदैलोमा पुगेका छन् । कांग्रेस र बाम गठबन्धनले चुनावी प्रचार प्रसारलाई तिव्रता दिईरहेका छन् । राम्रो जनमत भएका यी दुवै पक्ष विच चुनावी प्रतिस्पर्धा रोचक हुने अनुमान गरिएको छ । 
पाँच गाउँपालिका भएको हिमाली जिल्ला मुस्ताङमा चिसो संगै चुनावी सरगर्मी पनि बढेको छ । स्थानिय तहको निर्वाचनमा पाँच गाउँपालिका मध्ये तीन गाउँपालिका जितेको कांग्रेसलाई प्रतिनिधिसभाको निर्वाचन भने सहज हुने छैन् । 

बाम एकता र जिल्लामा पैदा भएको बाम प्रतिको जनलहर एवं सामाजिक अगुवाहरुको बाम प्रवेशले जिल्लामा आफुहरुले चुनाव जित्ने गठबन्धनको दाबी छ । भने स्थानिय तहको निर्वाचनको परिणामका आधारमा, पार्टी पंक्ति एकजुट भएर जाँदा चुनाव जितिने कांग्रेसको विश्वास छ ।

मुस्ताङको विकास र समृद्धिका लागि उत्तरी कोरला नाकालाई व्यवस्थित र नियमित रुपमा खोल्ने कार्यमा विशेष अग्रसरता देखाउने प्रत्येक गाउँमा कृषि सडक संजालको विस्तार, पदमार्ग, पर्यटन, कृषि, पशुपालन, शिक्षा, स्वास्थ्य, विद्युत, संचार, धार्मिक तथा ऐतिहासिक क्षेत्रको विकास र प्रवद्र्धन गर्ने र जिल्लामा उद्योगहरुको स्थापना गरी प्रत्येकलाई रोजगारी प्रदान गर्दै आयात घटाई निर्यात बढाई जिल्लालाई समृद्ध बनाउने योजनाका साथ बाम गठबन्धनका साझा उम्मेदवार प्रेम प्रसाद तुलाचन चुनावी मैदानमा छन् । 

त्यस्तै कांग्रेसका उम्मेदवार रोमी गौचन थकालीले पनि कोरला नाका, कृषि, पशुपालन, पर्यटन, सडक, पदमार्गहरुको विकास र विस्तार आदिलाई आफ्नो प्राथमिकतामा राखेका छन् । यी दुवै उम्मेदवारहरुलाई जनताले राम्रैसंग मुल्याङकन गरेका छन् ।  

No comments:

Post a Comment