Thursday, November 23, 2017

काँग्रेस मुस्ताङलाई बिरासत जोगाउने चुनौती

केशव वि.क.
मुस्ताङ । जिल्लामा बामपन्थी प्रतिको जनलहर र बाम एकता भएपछि मंसिर १० गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको चुनाव निकै प्रतिस्पर्धात्मक र रोचक हुने देखिएको छ  । जिल्लामा पहिलो पटक यहाँका बाम शक्तिहरु गठबन्धन भएपछि मुस्ताङको चुनावी प्रतिस्पर्धा रोचक हुने अनुमान गरिएको हो । 

काँग्रेस एक्लै चुनावी मैदानमा उत्रिएको छ । प्रतिनिधि सभाको लागि एक निर्वाचन क्षेत्र रहेको मुस्ताङबाट २०६४ को पहिलो संविधान सभाको निर्वाचनमा नेकपा एमाले र २०७० को दोस्रो संविधान सभाको निर्वाचन नेपाली काँग्रेसले जितेको थियो ।

यहाँको निर्वाचन आलोपालो काँग्रेस र एमालेले जित्दै आएका छन् । पछिल्लो समय मुस्ताङको भौगोलिक अवस्था र राजनीतिक समिकरण पनि बदलिएको छ । गाउँपालिका अध्यक्ष र सामाजिक अगुवाहरुको बाम प्रवेश र बाम प्रति उर्लिएको जनलहर देखेर विजयी हुने बाम गठबन्धनको विश्वास छ । काँग्रेस छिन्नविन्न भएको पार्टी पंक्ति एक ढिक्का भएर लागेमा बाम गठबन्धनलाई हराउने दाउमा छ ।

जिल्लामा रहेका प्रभावशाली नेताहरु चुनावी प्रतिस्पर्धामा रहेकाले पनि यहाँको चुनाव रोचक बनेको हो । स्थानिय तहको निर्वाचनमा जिल्लाभर ८ हजार २ सय ६३ मतदाता थिए । जसमा जम्मा खसेको सदरमत मध्ये काँग्रेसका उम्मेदवारलाई मुख्य पदका लागि  बामका उम्मेदवारलाई भन्दा करिब ३ सय बढि मत खसेको थियो । बाँकी करिब १५ सय मत स्वतन्त्र उम्मेदवारलाई परेको थियो । 

अहिले स्थानिय तहमा उठेका सम्पूर्ण स्वतन्त्र उम्मेदवार एमालेमा प्रवेश गरेका छन् । त्यसैले स्वतन्त्र र बामको पक्षमा स्थानिय तहको निर्वाचनमा खसेको मत जोडदा बाम शक्ति अगाडी देखिन्छ । तर स्थानिय तहको निर्वाचनमा बाम र स्वतन्त्रलाई परेको मत अबको निर्वाचनमा बाम गठबन्धनलाई नआउन पनि सक्ने भएकाले प्रतिस्पर्धा तिव्र हुने अडकलबाजी गर्न सकिन्छ । 

यस पटक मुस्ताङमा ४६ सय २० पुरुष, ४८ सय ६ महिला र १ अन्य गरी ९ हजार ४ सय २७ मतदाता भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । स्थानिय तहको निर्वाचन पश्चात जिल्लाभर ११ सय ६४ जना मतदाता थपिएकाले यी मत पनि महत्वपूर्ण हुने देखिन्छ ।  

पाँच स्थानिय तह भएको मुस्ताङलाई प्रतिनिधि सभाको लागि एक निर्वाचन क्षेत्र कायम गरीएको छ । त्यस्तै प्रदेश सभाको लागि दालोमे गाउँपालिका र लोमान्थाङ गाउँपालिका गरी क्षेत्र नम्बर १ प्रदेश क र बाह्रगाउँ मुक्तिक्षेत्र गाउँपालिका, घरपझोङ गाउँपालिका र थासाङ गाउँपालिका गरी क्षेत्र नम्बर २ प्रदेश ख कायम गरीएको छ ।

प्रतिनिधिसभाको लागि काँग्रेसका रोमी गौचन थकालीलाई बाम गठबन्धका प्रेम प्रसाद तुलाचनले टक्कर दिँदैछन् । तत्कालिन स्वतन्त्र उम्मेदवार प्रेम तुलाचन २०७० को संविधानसभा दोस्रो निर्वाचनमा रोमी गौचनसंग जम्मा १२ को झिनो मतान्तरले पराजय भएका थिए । यी दुवै जिल्लाका प्रभावशाली नेता हुन् । 
स्थानिय तहको निर्वाचनमा ३ वटा गाउँपालिका जितेको काँग्रेसले प्रतिनिधिसभाको लागि यसपालि पनि आफु निर्वाचित हुने गौचनको विश्वास छ । आफु स्वतन्त्र उम्मेदवार हुँदा पनि साथ दिएका जनताले बाम एकता भएकाले आफुलाई विजयीको मत आउने तुलाचनको विश्लेषण छ ।

थासाङ गाउँपालिका लेतेका यी दुवै उम्मेदवार छिमेकी÷आफन्त हुन् । कांग्रेसका उम्मेदवार गौचन ०५६ मा प्रतिनिधिसभा सदस्य, ०६४ मा समानुपातिक सांसद र ०७० मा निर्वाचित सांसद हुँदै वाणीज्य मन्त्री बने । बाम गठबन्धनका उम्मेदवार तुलाचन प्रख्यात निर्माण व्यवसायी एवं उत्कृष्ट करदाता र मुस्ताङका विभिन्न संघसंस्थामा नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएका सामाजिक अगुवा हुन् ।    

प्रदेशसभा क का लागि उपल्लो मुस्ताङबाट दुई सामाजिक अगुवाले प्रतिस्पर्धा गर्दैछन् । काँग्रेसबाट मिक्यूर गुरुङ र बाम गठबन्धनबाट इन्द्रधारा विष्टको प्रतिस्पर्धा हुनेछ । यी दुवै उम्मेदवार लोमान्थाङका हुन् । विष्ट स्थानिय तहको निर्वाचनमा लोमान्थाङ गाउँपालिकाको अध्यक्ष पदका स्वतन्त्र उम्मेदवार बनेका थिए । यहाँ ३ हजार एकसय ५६ मतदाता छन् । 

त्यसैगरी प्रदेशसभा ख का लागि तल्लो मुस्ताङबाट तीन जना मुख्य प्रतिस्पर्धीको रुपमा देखिएका छन् । काँग्रेसबाट छिरिङ धावा गुरुङ, बाम गठबन्धनबाट महेन्द्र बहादुर थकाली र राप्रपाबाट प्रविन शेरचन प्रतिस्पर्धी हुन् । थकाली ३० वर्ष लामो प्रशासनिक अनुभव बटुलेका बौद्धिक सर्कलका व्यक्ति हुन् । उनी स्थानिय तहको निर्वाचनमा घरपझोङ गाउँपालिकाको अध्यक्ष पदका लागि स्वतन्त्र उम्मेदवारी दर्ता गराएका थिए । यहाँ ६ हजार दुईसय ७१ मतदाता छन् । जिल्लाभर ३७ मतदान केन्द्र कायम गरिएको छ ।      

No comments:

Post a Comment