Saturday, November 18, 2017

मुस्ताङमा बाम गठबन्धनका उम्मेदवार सवार गाडीमा ढुङ्गा प्रहार

केशव वि.क.
मुस्ताङ । मुस्ताङबाट प्रतिनिधिसभा तर्फ बाम गठबन्धनका साझा उम्मेदवार प्रेम प्रसाद तुलाचन सवार गाडीमा शुक्रवार साँझ कागबेनीमा अज्ञात समुहद्धारा ढुंगा प्रहार भएको छ । चुनाव प्रचारप्रसारमा रहेका उम्मेदवार तुलाचन सवार जीपमा जिल्लाको बाह्रगाउँ मुक्तिक्षेत्र गाउँपालिका स्थित कागबेनीमा ढुंगा प्रहार भएको हो । 

ढुंगा प्रहारबाट ग १ य ३९६ नम्बरको ल्याण्डकुजर जीपको अगाडीको सिसामा क्षति पुगेको छ । होटल ड्रागनको कम्पाउण्डमा पार्किङ गरेको अवस्थामा जीपमा ढुंगा प्रहार भएकाले कुनै मानविय क्षति भने भएको छैन् ।

उम्मेदवार सहितको टोली उपल्लो मुस्ताङको दालोमे गाउँपालिका र लोमान्थाङ गाउँपालिकामा चुनाव प्रचारको कार्यक्रम सकेर जिल्ला सदरमुकाम जोमसोम तर्फ फर्किदै गर्दा कागबेनीमा कार्यकर्ता भेटघाट कार्यक्रममा रहेको अवस्थामा जीपमा ढुंगा हानिएको नेकपा एमाले जिल्ला कमिटी मुस्ताङका अध्यक्ष चन्द्रमोहन गौचनले बताए । 

जीपमा उम्मेदवार प्रेम प्रसाद तुलाचन, एमाले पोलिटब्यूरो सदस्य तथा पूर्व सभासद श्रीमाया थकाली, पूर्व सभासद टसी स्याङ्मो गुरुङ, एमालेका जिल्ला अध्यक्ष चन्द्रमोहन गौचन, माओवादी केन्द्र मुस्ताङका अध्यक्ष सत्यनारायण शेरचन, माओवादी जिल्ला नेता सुक बहादुर बिक लगायत कार्यकर्ता सवार थिए । प्रचारमा २ वटा जीप लगिएको थियो ।

आफुहरु सवार गाडीलाई लक्षित गरी विपक्षी दल नेपाली काँग्रेसका कार्यकर्ताले ढुंगा प्रहार गरेको उम्मेदवार तुलाचनले आरोप लगाए । उम्मेदवार सवार गाडीमा ढुंगा प्रहार गर्ने समुहको खोजी भैरहेको प्रहरीले जनाएको छ । 

No comments:

Post a Comment