Sunday, July 31, 2016

मुस्ताङमा नागरिकता भन्दा पासपोर्ट लिनेको संख्या बढि !

केशव विश्वकर्मा
मुस्ताङ, १६ श्रावण
गत वर्ष जस्तै यस वर्ष पनि जिल्ला प्रशासन कार्यालय मुस्ताङमा नागरिकता भन्दा पासपोर्ट लिनेको संख्या बढि रहेको छ । कार्यालयले आ.व. ०७२÷०७३ मा वंशजको आधारमा ३ सय ४१ वटा नयाँ नागरिकता वितरण गरेको छ । भने आमाको नामबाट नागरिकता वितरण ३, ४ सय ६४ वटा प्रतिलिपि नागरिकता वितरण र २ हजार २ सय १९ पुरानो नागरिकता अभिलेखीकरण गरेको कार्यालयले जनाएको छ ।
त्यसैगरी कार्यालयले आ.व. ०७२÷०७३ मा राहदानीको साधारण सिफारिस ३ सय ८६, द्रुत सिफारिस ५ सय १३, राहदानी वितरण ३ सय ६८ र वितरण हुन बाँकी ५४ वटा राहदानी रहेको प्रमुख जिल्ला अधिकारी गणेश बहादुर अधिकारीले जानकारी दिए ।
गत आ.व. ०७१÷०७२ मा कार्यालयबाट वंशजको आधारमा ३ सय ७० नयाँ नागरिकता वितरण, ३ सय ५० प्रतिलिपि नागरिकता वितरण र २ वटा बैबाहिक अंगिकृत नागरिकता वितरण गरिएको थियो । त्यस्तै राहदानी तर्फ साधारण र दु्रत गरी ९ सय ३५ सिफारिस र ४ सय २ वटा राहदानी वितरण गरेको थियो ।  
लेखा शाखा तर्फ कार्यालयले आर्थिक बर्ष २०७२÷०७३ मा २२ लाख ११ हजार ७ सय २० रुपैयाँ राजस्व संकलन गरको छ । जुन गत आ.व. को भन्दा ६ लाख ३२ हजार ८४ रुपैयाँले बढि हो ।
प्रशासन शाखाले ०७२÷०७३ मा संस्था दर्ता ७, हातहतियार नविकरण ३६, विवाह दर्ता ७, नावालक परिचयपत्र १८, तिब्बती शरणार्थीको परिचय पत्र नविकरण ६३, शरणार्थीको लागि यात्रा अनुमति पत्र सिफारिस १ र १ सय १६ विविध सिफारिस गरेको छ ।
त्यसैगरी भूकम्प पिडितलाई अस्थायी आवासको लागि राहत वितरण÷परिचय पत्र वितराण ४१, कार्यालय निरिक्षण ६, बजार अनुगमन ७, सिमा क्षेत्र निरिक्षण ७, घुम्ती सेवा शिविर २, सुशासन समितिको बैठक २, जिल्ला सुरक्षा समितिको बैठक २३, विपद व्यवस्थापन समितिको बैठक ३, ठाडो उजुरी ४, कार्यालय प्रमुखको नियमित बैठक १२ पटक गरेको कार्यालयले जनाएको छ ।

Saturday, July 30, 2016

मुस्ताङ जिल्ला अस्पतालका विरामीलाई फलफूल वितरण !

मुस्ताङ साप्ताहिक संवाददाता
मुस्ताङ, १५ श्रावण
नेपाल निजामति कर्मचारी संगठन जिल्ला कार्य समिति मुस्ताङले २६ आँै शहिद मनोज–झपेन्द्र स्मृति दिवसको अवसरमा शनिवार मुस्ताङ जिल्ला अस्पतालका विरामीहरुलाई फलफूल जुस वितरण गरेको छ । विरामीहरुको शिघ्र स्वास्थ्य लाभको कामना गर्दै संगठनले फलफूल जुस वितरण गरेको हो ।
निजामति कर्मचारीहरुको हकहितका लागि ज्यानको आहुति दिएका शहिद मनोज–झपेन्द्रको सम्मान गर्दै निजामति कर्मचारी संगठन मुस्ताङले विरामीहरुको स्वास्थ्य लाभको कमना सहित स्मृति दिवस मनाएको संगठनका अध्यक्ष मतिलाल चपाईले जानकारी दिए ।
सो अवसरमा बोल्दै आधिकारिक ट्रेड युनियन मुस्ताङका अध्यक्ष प्रेम के.सी.ले निजामति कर्मचारीको हकहितका लागि ज्यानको बलिदान गर्ने शहिद मनोज–झपेन्द्र लाई राष्ट्रिय शहिद घोषणा गर्न सके मात्र उनीहरु प्रति सम्मान हुने बताए ।
त्यसैगरी संगठनका अध्यक्ष चपाईले निजामति कर्मचारीले पेशागत मर्यादालाई आत्मसाथ गरी पेशागत हकहितको लागि कसैसंग नडराई सुझाव ग्रहण गर्दै सबैलाई समेटेर अगाडी बढ्ने बताए ।
कार्यक्रममा कर्मचारी संगठनकी पूर्व केन्द्रिय सदस्य सुशिला तिमिल्सिना, आधिकारीक ट्रेड युनियिन सिबिए मुस्ताङका सचिव टिकाराम भुषाल, कर्मचारी संगठनका गुमान बहादुर थापाले मन्तव्य व्यक्त गरेका थिए ।
नेपाल निजामति कर्मचारी संगठन मुस्ताङका अध्यक्ष मतिलाल चपाईको अध्यक्षता संगठनका उपाध्यक्ष नविन अधिकारीको स्वागत र संगठनका सचिव नारायण प्रसाद रेग्मीको संचालनमा सम्पन्न भएको कार्यक्रममा संगठनका सदस्यहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।
 

Friday, July 29, 2016

सिचाई सवडिभिजन कार्यालयले सिचाईका योजनालाई निरन्तरता दिँदै !

केशव विश्वकर्मा
मुस्ताङ, १४ श्रावण
सिचाँई तथा जलस्रोत व्यवस्थापन आयोजना अन्तर्गत सिचाँई सव डिभिजन कार्यालय मुस्ताङले विभिन्न सिचाँई योजना संचालन गरेको छ ।
गत असोज बाट जिल्लामा संचालित उक्त कार्यालयले सिचाँईका साना ठूला योजना स्विकृत गरी काम सुचारु गरेको सिचाँई सवडिभिजन कार्यालयका प्रमुख मोहनराज आचार्यले बताए ।
झोङ ४–९ को ५० हेक्टर जमिनमा १ करोड ९५ लाखको झोङ पुटाक सिचाँई योजनाको योजना स्विकृत भई ठेक्कापट्टा भएर उपभोक्ताको प्याकेज निर्माणमा काम शुरु भएको र गत जेठ देखि १५ महिनामा काम सम्पन्न गर्ने लक्ष्य सहित ड्रयागन कन्स्ट्रक्सन काठमाण्डौले निर्माणको जिम्मा लिएको कार्यालय प्रमुख आचार्यले जानकारी दिए ।
त्यस्तै मझौला सिचाई आयोजना अन्तर्गत कोवाङ ७ सौरुको २० हेक्टर जमिनमा ४४ लाखको सौरु फाँट सिचाई योजना स्विकृत गरी ठेक्कापट्टा भई १२ महिनामा काम पूरा गर्ने लक्ष्य सहित टसी ल्हखाङ कन्स्ट्रक्सन प्रालिले गत जेठबाट काम शुरु गरेको कार्यालय प्रमुख आचार्यको भनाई छ ।
सिचाई सवडिभिजन प्रमुख आचार्यको अनुसार कागबेनी ४ र ५ को ५० हेक्टर जमिनमा २ करोड २१ लाखको फलेक सिचाई योजना स्विकृत भैसकेको र निर्माण कार्यको लागि बोलपत्र आव्हान गर्ने तयारीमा रहेको छ ।
कार्यालयले सामान्य मर्मत संभार अन्तर्गत छैरो, तिरी, ताङ्वे, स्याङ, नामग्याल र ढाकमर लगाएतका ठाउँमा काम गरिसकेको छ ।
आगामी वर्ष कार्यालयले भरपर्दाे सिचाई कार्य अनुरुप उपल्लो मुस्ताङको लोमान्थाङ, घ्याकर, घोचीमा काम अगाडी बढाउने जनाएको छ ।
चीसो, यातयात समस्या र भौगोलिक विविधताका कारण निर्माणमा समस्या भएको बताउँदै कार्यालय प्रमुख आचार्यले कार्यालयमा प्रयाप्त प्राविधिक जनशक्ति नभएको बताए ।
एघार जनाको दरबन्दी भएको सिचाई सव डिभिजन कार्यालयमा हाल ५ जना कर्मचारी मात्र कार्यरत छन् ।

सरकारले जिल्ला सिंचाइ बाट डिभिजन सिंचाईको निति अवलम्बन गरेसंगै २०५८ सालमा जोमसोमबाट हटाइएको कार्यालय १४ वर्षपछि पुनः सिंचाई सवडिभिजन कार्यालयको रुपमा गत असोजमा फर्कीएको थियो ।
     

Thursday, July 28, 2016

निजामति कर्मचारी संगठन मुस्ताङको अध्यक्षमा चपाई !

मुस्ताङ साप्ताहिक संवाददाता
मुस्ताङ, १३ श्रावण
     नेपाल  निजामति कर्मचारी संगठन मुस्ताङको अध्यक्षमा मतिलाल चपाई चयन भएका छन् । गत बुधवार जोमसोममा भएको संगठनको बृहत भेलाले चपाईको अध्यक्षतामा १९ सदस्यिय कार्य समिति गठन गरेको हो ।
     समितिको उपाध्यक्षमा नविन अधिकारी (जिल्ला कृषि विकास कार्यालय), महिला उपाध्यक्षमा कालिका चौधरी (शितोष्ण बागबानी केन्द्र), सचिवमा नारायण प्रसाद रेग्मी (जिल्ला स्वास्थ्य कार्यालय), सहसचिवमा शिव थापा (जिल्ला हुलाक कार्यालय), र कोषाध्यक्षमा धनपति पौडेल (जिल्ला स्वास्थ्य कार्यालय) रहेका छन् ।
     त्यसैगरी समितिको सदस्यहरुमा राम शरण सापकोटा जिल्ला कृषि विकास कार्यालय, प्रकाश परियार जिल्ला पशुसेवा कार्यालय, मिना थापा महिला तथा बालबालिका कार्यालय, लिला थापा जिल्ला प्रशासन कार्यालय, पूर्ण बहादुर गुरुङ जिल्ला प्रशासन कार्यालय, राम साफी शितोष्ण बागबानी केन्द्र, नारायण प्रसाद पौडेल जिविस, टंकराज बराल जिल्ला शिक्षा कार्यालय, उमानन्द आचार्य हुलाक कार्यालय, निल बहादुर गर्बुजा कोलेनिका, प्रेम प्रसाद पौडेल जिविस, अनन्त बाबु बराल जिल्ला प्राविधिक कार्यालय र भिम बहादुर थकाली जिल्ला कृषि विकास कार्यालय रहेका छन् ।
     सो अवसरमा बोल्दै समितिका निवर्तमान अध्यक्ष प्रेम के.सी ले निजामति कर्मचारीहरुको पेशागत हिकहित, सुरक्षा तथा गुनासालाई निति निर्माणकोे तहमा पु¥याई सम्बोधन गराउने दायित्व नेपाल निजामति कर्मचारी संगठनको काँधमा रहेको बताए । साथै उनले पेशागत हकहितको सुनिश्चितता गराउन अग्रहणी भूमिका खेल्न राष्ट्रसेवक निजामति कर्मचारीहरुलाई आग्रह गरे ।
     वि.सं. २०६९ साल चैत्र १९ गते निजामति कर्मचारी संगठन मुस्ताङको नवौँ अधिवेशनले प्रेम के.सी.को अध्यक्षतमा कार्य समिति चयन गरेको थियो । गत जेठ १९ गते भएको अधिवेशनले ट्रेड युनियनको चुनावमा विजय हासिल गरेपछि तत्कालिन संगठन अध्यक्ष पे्रम के.सी. सिविए अध्यक्षमा चयन भएका थिए । कार्य समितिमा रहेका कर्मचारी सरुवा भैजाने भएकाले रिक्त रहेको पदपूर्ति सहित संगठन पुर्नगठन गरिएको नवनिर्वाचित अध्यक्ष चपाईले बताए ।
     उक्त कार्यक्रम निवर्तमान अध्यक्ष के.सी.को अध्यक्षता गुमान बहादुर थापाको शुभकामना र टंकराज बरालको संचालनमा सम्पन्न भएको थियो ।

जिल्ला अस्पताल मुस्ताङमा स्वास्थ्य उपकरण थप !

केशव विश्वकर्मा
मुस्ताङ, १३ श्रावण
हिमालपारीको जिल्ला मुस्ताङमा संचालित एकमात्र अस्पताल मुस्ताङ जिल्ला अस्पतालमा विभिन्न स्वास्थ्य उपकरण थप गरिएको छ ।
विरामीहरुको छिटोछरितो, सहज र भरपर्दाे उपचारका लागि विभिन्न नयाँ उपकरणहरु थपिएको अस्पताल श्रोतले बताएको छ ।
जिल्ला स्वास्थ्य कार्यालय मुस्ताङले केन्द्रवाट स्विकृत लिएर १८ वर्ष पुरानो एक्सरे मेसिन हटाएर अस्पताल सुदृढिकरणको लागि २ लाख ९८ हजारको सेमी डिजिटल मेसिन थप गरेको जिल्ला स्वास्थ्य प्रमुख शम्भु ज्ञवालीले जानकारी दिए ।
त्यसैगरी अस्पतालमा स्वास्थ्य सेवा विभागबाट माग गरी २ वटा आधुनिक डेलिभरी बेड र ५ लाख बराबरको रेडियन्ट वार्मर पनि ल्याइएको छ ।
एक्सरे मेशिन जडान गर्दै प्राविधिक
मुस्ताङ हिमाली जिल्ला भएकाले चीसो बढि हुने र बच्चा जन्मदा वित्तिकै अथवा जन्मेको २८ दिन भित्र चिसोका कारण शिताङ्ग (कठ्याङग्रीएर) भएर मर्ने हुँदा बच्चाको शरिरलाई आवश्यक पर्ने तापक्रम सो मेसिन द्धारा उपलब्ध गराई बालमृत्युदर कम गर्नको लागि मेसिन ल्याइएको स्वास्थ्य प्रमुख ज्ञवालीले बताए ।
त्यस्तै स्वास्थ्य विमाग बाटै माग गरी ल्यावमा रगत तथा इन्जाइम टेष्टहरुलाई यकुरेट (निश्चित) गर्न १ लाख ८० हजार मुल्य बराबरको आधुनिक किसिमको एनालाईजर मेशिन पनि ल्याएको अस्पताल श्रोतले जनाएको छ ।
डिजिटल डेलिभरि बेड
अस्पतालमा विरामीलाई छिटो छरितो सेवा उपलब्ध गराउन विपतका बेला विरामीको संख्यामा वृद्धि भएमा आकस्मिक उपचारको लागि तुरुन्तै सेट गर्न सकिने १० वटा फोल्डिङ वेडको व्यवस्था गरिएको बताइएको छ ।
स्वास्थ्य प्रमुख ज्ञवालीका अनुसार हिमाली जिल्लामा अक्सिजनको कमी हुने भएकाले सिकिस्त विरामीलाई उपचार गर्नको लागि डिजिटल अक्सिजन कन्सनटेटर मेशन ल्याइएको, अक्सिजनको लेवल नाप्ने मिटर, ग्लुको मिटर लगायतका विभिन्न उपरकरण अस्पातालमा उपलब्ध गराइएको छ ।
ल्याव
विरामीको सहज पहुँच र अस्पताल व्यवस्थापनको लागि सोधपुछ कक्ष, औषधी वितरण कक्ष र नागरिक वडापत्रको उचित व्यवस्थापन गरेका छौँ । स्वास्थ्य प्रमुख ज्ञवालीले भने ।
दुईजना डाक्टरको दरबन्दी रहेको जिल्ला अस्पतालमा हाल ५ जना डाक्टर कार्यरत छन् । माग अनुसार नेपाल सरकारको छात्रवृत्ति कोटाबाट २ वर्षको लागि डाक्टरहरु आउने गरेको स्वास्थ्य प्रमुख ज्ञवालीको भनाई छ ।
भौगोलिक विकटता भएको मुस्ताङमा संचालित जिल्ला अस्पतालमा दैनिक करिब ४० जना विरामीले सेवा लिने गरेका छन् ।        

Wednesday, July 27, 2016

बाढीका कारण सडक अवरुद्ध यात्रु मर्कामा !

मुस्ताङ साप्ताहिक संवाददाता
मुस्ताङ, १२ श्रावण
अविरल वर्षा संगै आएको बाढी पहिरोका कारण मुस्ताङका विभिन्न ठाउँमा सडक अवरुद्ध हुँदा यात्रु मर्कामा परेका छन् ।
जिल्लाको विभिन्न ठाउँमा बाढीले सडक तथा पुल बगाउँदा मुस्ताङमा आवतजावत गर्ने सवारीका साधन संचालन हुन नसकेको र मानिस हिड्ेर गन्तव्य सम्म पुग्ने बाटो पनि नभएको यात्रुहरु बताउछन् ।
बाढीले कारण मार्फाको राजखोला गहिरिदै गई पुल बगाएर यात्रु आवत जावत ठप्प भएको छ । त्यस्तै कागबेनीमा काग खोलामा पानीको सतह बढेर वस्ती जोखिममा परेको र समरको समर खोलामा आएको बाढीका कारण ग्याबिन, सडक, सिचाई र खानेपानी बगाएको आज बुधवार जिल्ला प्रशासन कार्यालयमा बसेको विपत व्यवस्थापन समितिको बैठकमा प्रजिअ गणेश बहादुर अधिकारीले जानकारी दिए ।
त्यसैगरी छुसाङमा कालीगण्डकी नदीमा पानीको सतह पुल बराबर आई  आसपासको जमिन कटान गरेको, खोलाले झोङमा जमिन कटान गरेको, पाण्डाखोला जथाभावि बग्दा यात्रुलाई आवतजावतमा समस्या भएको छ ।
कालीगण्डकीमा बढ्दो पानीको सतह संगै सौरु, खन्ती र कोखेठाँटी पनि बाढीको जोखिममा रहेको स्थानियहरु बताउँछन् ।
जानकारहरुका अनुसार असार, साउन र भदौमा मुस्ताङमा बाढिको समस्या आउने गरेको छ । यी महिनामा नदि किनारका वस्ती तथा बाढी आउन सक्ने संभावित क्षेत्रका वासिन्दाले उच्च सतर्कता अपनाउनु पर्ने जानकारहरु बताउँछन् ।
भैपरि आउने विपत व्यवस्थापनका लागि जिल्लामा विपत व्यवस्थापन सामाग्री संचित गरेर राख्नुपर्ने नेकपा एमाले मुस्ताङका अध्यक्ष चन्द्रमोहन गौचनले बताए । विभिन्न ठाउँमा गएको बाढीले यात्रामा समस्या भएकाले यात्रुको सहज यात्राको लागि पूर्वाधार निर्माणमा आफुले पहल गरिरहेको गौचनको भनाई छ ।  
बाढीले ठाउँ ठाउँमा पुल बगाउँदा यात्रुलाई आवतजावतमा समस्या भएको छ । मानिस हिड्छु भन्दा पनि हिड्नको लागि बाटो छैन् । प्रजिअ अधिकारीले भने ।
सडक विभाग आउन समय लाग्ने भएकाले तत्कालको समस्या सुल्झाउनको लागि जिविसको संयोजकत्वमा भीमदल गण, सैनिक उच्च शिखर शिक्षालय र शसस्त्र प्रहरीको टोलीलाई मार्फा खोलामा पूर्वाधार निर्माणको लागि पठाएको प्रजिअ अधिकारीले जानकारी दिए ।
पूर्वाधार निर्माण पश्चात यात्रुलाई आवतजावतको लागि समस्या नहुने, जिल्लाका विभिन्न ठाउँमा भएका विपतका समस्या सुल्झाउन पहल गरिरहने र भैरहेका कामको अनुगमन निरिक्षण गरिने प्रजिअ अधिकारीको भनाई छ ।      

Monday, July 25, 2016

मुस्ताङमा बन्दको कुनै प्रभाव परेन !

मुस्ताङ साप्ताहिक संवाददाता
मुस्ताङ १० श्रावण
नेकपा माओवादी (बिप्लव) ले आज आव्हान गरेको नेपाल बन्दको प्रभाव देश भरिनै पूर्णरुपमा परिरहेको बेला मुस्ताङमा भने बन्दको कुनै प्रभाव परेको छैन् ।
हिमालपारीको जिल्ला मुस्ताङमा सवारी साधन निर्वाध रुपमा चलेका छन् । सरकारी कार्यालय तथा यहाँका पसलहरु बिना अवरोध संचालन भैरहेका छन् ।
मुस्ताङको सदरमुकाम जोमसोम बजारमा विहानै देखी नेपाल बन्दको कुनै प्रभाव परेन । बन्द गराउन तथा बन्दको आव्हान गर्न कुनै पनि कार्यकर्ता नदेखिएकाले मुस्ताङमा बन्दको प्रभाव नपरेको प्रहरी नायव उपरिक्षक हरिहरनाथ योगीले बताए ।
विभिन्न पार्टीहरुले बेलाबेलामा नेपाल बन्दको आव्हान गरेतापनि विगतका वर्षहरु देखिनै मुस्ताङमा बन्दको कुनै पनि प्रभाव नपरेको सरोकारवालाहरु बताउँछन् ।
नेपालका सुकुम्बासीहरुको समस्या राज्यले सुन्नुको सट्टा उल्टै दमन गरेको बिरोधमा सोमबार नेपाल बन्दको घोषणा गरेको माओवादीले जनाएको छ ।

उपल्लो मुस्ताङको युरेनियमको सुरक्षा गर्ने जिम्मा नेपाली सेनालाई !

मुस्ताङ साप्ताहिक संवाददाता
सरकारले मुस्ताङमा भेटिएको युरेनियम संरक्षणको जिम्मा नेपाली सेनालाई दिने निर्णय गरेको छ । मन्त्रिपरिषदको शुक्रबारको बैठकले युरेनियम सेनाको सुरक्षामा सेना खटाउने निर्णय गरेको उद्योगमन्त्री सोमप्रसाद पाण्डेले मुस्ताङ साप्ताहिकलाई बताए । युरेनियमको अध्ययन अन्वेषणको जिम्मा भने उद्योग मन्त्रालयलाई दिएको छ । खानी तथा भूगर्भ विभागले हालै मात्र मुस्ताङमा प्राकृतिक खानीमा युरेनियम, नुन, पेट्रोल र कोइला रहेको पुष्टि गरेको थियो । लगतै उद्योग मन्त्री पाण्डे आफैं उक्त स्थानमा पुगेर अवलोकन गरेका थिए । युरेनियम पारमाणविक उर्जामा प्रयोग हुन्छ । र, मुस्ताङको लोमान्थाङमा युरेनियम रहेको अनुगमन टोलीले बताएको छ ।

Thursday, July 21, 2016

घाईते अवस्थामा भेटिएको हिउँ चितुवाको मृत्यु !


केशव विश्वकर्मा
मुस्ताङ, ६ श्रावण
       मुस्ताङको छुसाङमा साउन ३ गते घाईते अवस्थामा भेटिएको विश्वमा दुर्लभ मानिने भाले हिउँ चितुवा मरेको छ । घाईते चितुवा जोमसोममा उपचारको क्रममा बुधवार साँझ मरेको हो ।हिउँ चितुवाको उपचारको लागि सदर चिडियाखाना जावलाखेल ललितपुरबाट आएको प्राविधिकको टोलीद्धारा मंगलवार साँझ ६ बजेर २१ मिनेट जाँदा चितुवाको उपचार सुरु गरिएको र उपचारको क्रममा सो चितुवा बेलुका ८ बजेर १५ मिनेट जाँदा मरेको उपरचारमा संलग्न प्राविधिक राधाकृष्ण घर्तिले बताए ।
चितुवा धेरै दिनसम्म घाईते अवस्थामा रहेकाले अत्याधिक रक्तश्राव भएको र शरिरमा पानीको मात्रा एकदम कम भएकाले छाला पनि कडा भैसकेको थियो, चितुवा बाँच्न सक्ने अवस्थामा थिएन् । त्यहि नि बचाउन सकिन्छ कि भनेर उपचार शुरु ग¥यौ तर बचाउन सकिएन चितुवा म¥यो । प्राविधिक घर्तिले भने ।
घाईते चितुवाको नेपाली सेनाको सहयोगमा जिल्ला अस्पताल जोमसोममा एक्सरे गरेर हेर्दा पछिल्ला दुई वटै खुट्टा भाँचिएको एउटा खुट्टा अनिवार्य रुपमा काट्नुपर्ने अवस्थामा रहेको थियो । उपचारमा संलग्न प्राविधिकको भनाई छ ।
प्राविधिक घर्तिका अनुसार ०.०८ एमएल मिडिटो मिडियम र ज्यूलोटिल (लठ्याउने औषधी) प्रयोग गरी उपचार थालेको र १ एमएल एन्टिसेडन (बिउँझ्याउने) औषधी प्रयोग गरिएको थियो ।
चितुवाको भाँचिएका खुट्टा कुहिएर किरा परेको देखिएकाले करिब २ हप्ता अगाडी देखि घाईते भएको हुन सक्ने र कुनै चोरी शिकारीको पासोमा परि या भिरबाट लडेर दुवै खुट्टा भाँचिएको हो भनि पुष्टि हुन सकेको छैन् ।
राष्ट्रिय प्रकृति संरक्षण कोष (ल्त्ल्ऋ) अन्तर्गत राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग सम्पर्क अधिकारीको कार्यालयले सो चितुवालाई नष्ट गर्न लिखित निर्देशन दिएको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) इलाका कार्यालय जोमसोमकी प्रमखु निरु थापाले जानकारी दिइन् ।
प्राप्त निर्देशन अनुसार सो चितुवालाई सरकारी कार्यालयका प्रतिनीधि तथा सम्बन्धीत सरोकारवालाहरुको रोहवारमा मुचुल्का गरी श्रावण ७ गते नष्ट गरिने (जलाउने) सो संग सम्बन्धीत सम्पूर्ण कागजात केन्द्रमा पठाउने एक्याप जोमसोमकी प्रमुख थापाले बताइन् ।



धौलागिरी बोर्डिङ स्कुल अख्तियारको फन्दामा !

मुस्ताङ साप्ताहिक संवाददाता
मुस्ताङ ६, श्रावण
    जोमसोम गाविस स्थित धौलागिरी आवासिय मावि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको छानविनमा परेको छ ।
नेपालको प्रचलित कानून विपरित सार्वजनिक जग्गामा विद्यालय बनाई व्यक्तिगत लाभ लिएको भन्दै विगत केही समय अगाडी अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा बेनामे उजुरी परेकाले अख्तियारले उक्त उजुरी उपर छानविन प्रक्रिया अगाडी बढाएको हो ।
         अख्तियारमा उजुरी दर्ता भए पश्चात आयोगले जिल्ला मालपोत कार्यालय, जिल्ला नापी कार्यालय र विद्यालय संचालक समिति लगायत सरोकारवाला निकाय मार्फत छानविन गर्दा विद्यालय निजि लाभको लागि सार्वजनिक जग्गामा संचालन गरेको आयोगले निष्कर्ष निकालेको छ ।
    मुस्ताङमा मुखिया प्रथा कायम रहेको र सो प्रथाको प्रचलन अनुसार धौलागिरी आवासिय मावि संचालक समितिले मुखियाको मातहातबाट जग्गा खरिद गरी विद्यालय संचालन गरेको आशंकामा अख्तियारले छानविन गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका क्षेत्रिय प्रमुख डिल्लीराम शर्माले बताए ।
    मुस्ताङमा लामो समय देखि मुखियाको मातहातबाट सार्वजनिक जग्गा खरिद विक्रि हुँदै आएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ठम्याई छ ।
आयोगले उक्त विद्यालय भएको जग्गा नापजाँच गरेर जग्गा निजि वा सार्वजनिक भएको एकिन गरी सोको विवरण अख्तियारमा पठाउन नापी कार्यालय मुस्ताङमा पत्रचार गरेपछि स्थलगत नापजाँच गर्ने क्रममा सो विद्यालयको संरचना ५ रोपनी भन्दा बढि क्षेत्रफल भएको सार्वजनिक जग्गामा बनेको देखिएको जिल्ला नापी कार्यालय मुस्ताङले जनाएको छ ।
    सम्पूर्ण छानविन प्रक्रिया पुरा गरी अख्तियारले उक्त विद्यालयले प्रचलित कानून विपरित सरकारी जग्गामा व्यक्तिगत लाभ लिएको ठहर गरेको छ ।
    अख्तियारको छानविनको क्रममा सो विद्यालय सार्वजनिक जग्गामा बनाई निजि लाभको लागि प्रयोगमा आएको भन्दै आयोगले विद्यालय खाली गर्न तिन महिनाको अल्टिमेटम दिएको छ ।
    छानविन प्रक्रिया पुरा गरि अख्तियारको च.नं. २३६५ को पत्रबाट “गत वैशाख २७ गते जिल्ला प्रशासन कार्यालयलाई ३ महिना भित्र सो विद्यालय भवन खाली गराई सो संरचना सरकारको मातहातमा लिई अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा जानकारी पठाउन निर्देशन आएको प्रमुख जिल्ला अधिकारी गणेश बहादुर अधिकारीले बताए ।”
    प्रजिअ अधिकारीले भने, “अख्तियारले हामीलाई उक्त विद्यालयको संरचना भएको जग्गा खाली गराई सोको जानकारी आयोगमा पठाउन निर्देशन दिएको छ । सोही अनुरुप गत वैशाख २७ गतेको मितिले ३ महिना भित्र विद्यालयले कब्जा गरेको जग्गा खाली गर्न विद्यालय संचालक समितिलाई निर्देशन दिएका छौँ ।”
    वि.सं. २०५९ सालमा तत्कालिन जोमसोम गाविस अध्यक्ष स्व.लक्ष्मी प्रसाद थकालीको अध्यक्षतामा जोमसोम गाविसमा बसेको बैठक तथा गाउँ परिषदको निर्णयले गाविसको जुनसुकै ठाउँमा विद्यालय बनाउन स्विकृति दिएपछि उक्त स्थानमा विद्यालय बनाएको धौलागिरी आवासिय माविका प्रिन्सिपल चन्द्र बहादुर गुरुङले बताए ।
    विद्यालयमा चार थान अर्थात ३६ लाख जोमसोम गाविसको नाममा सेयर रहेको छ । गाविसको स्विकृति अनुसार सो जग्गामा विद्यालय संचालन गरेका हौँ । तत्कालै भौतिक संरचना भत्काउनु भन्दा पनि राज्यको जुनसुकै प्रक्रियामा पनि जान तयार छौँ । गुरुङले भने ।
    २ करोडको लगानीमा ५ रोपनी भन्दा बढि क्षेत्रफल रहेको उक्त जग्गामा बनेको २८ कोठे दुई तले भवनमा विद्यालय संचालन गरेको २ वर्ष भएको गुरुङले बताए ।
हाल विद्यालयमा ३८५ जना विद्यार्थीले अध्ययन र १९ जना शिक्षकशिक्षिकाले अध्यापन गराई रहेका छन् ।         
  

मुस्ताङमा अब ३ गाउँपालिका मात्र कायम हुने !

  मुस्ताङ साप्ताहिक संवाददाता
    १६ गाविस रहेको हिमालपारीको जिलला मुस्ताङमा अव तीन गाउँपालिका  मात्र कायम हुने भएको छ।  स्थानिय तहको संख्या तथा सीमाना निर्धारण आयोगले तयार गरेको खाका अनुसार मुस्ताङमा ३ गाउँपालिका मात्र कायम रहने भएको हो ।
    आयोगले तयार गरेको खाका अनुसार उपल्लो मुस्ताङ, विच मुस्ताङ र तल्लो मुस्ताङ गरेर मुस्ताङमा तीन गाविस हरु मात्र निर्धारण भएको सरोकारवालाको भनाई छ ।
    एक गाविस बराबर एक वडा र कम्तिमा ५ गाविस को एक गाउँपालिका वा नगरपालिका हुने व्यवस्था बमोजिम अयोगले मुस्ताङका १६ गाविस लाई ३ गाउँ पालिका बनाउदा  कुनै एक गाविसलाई फुटाएर एक अर्कामा गाभ्नुपर्ने अवस्था सिर्जना हुनसक्ने भएकाले सम्बन्धीत गाविस तथा वडाका सरोकारवालाहरु संग छलफल र समन्वय गरी सीमा निर्धारणलाई टुङग्याउँदा उपयुक्त हुने एमाले जिल्ला कमिटि मुस्ताङका अध्यक्ष चन्द्रमोहन गौचलने मुस्ताङ साप्ताहिक लाई बताए ।        
    स्थानीय तहको संख्या तथा सीमाना निर्धारण आयोगले देशभरमा स्थानीय तह, गाउँपालिका÷नगरपालिका ५ सय ६५ वटा भन्दा बढी नहुने खाका तयार गरेको छ । आयोगले जनसंख्या वितरण, क्षेत्रफल, जिल्लाको प्रकृति, जिल्ला समन्वय समितिको संरचना र र विद्यमान स्थानीय निकायको संख्याको अनुपातलाई आधार मानेर स्थानीय तह बढीमा ५ सय ६५ वटा भन्दा बढी नहुने बताएको हो ।
    आयोगले विभिन्न राजनीतिक दलका प्रतिनिधि, विज्ञ तथा सरोकारवाला लगायत करिब ७ सय जनासँगको छलफलपछि पाँच वटा आधार तयार पारेर सोमबार स्थानीय तहको अधिकतम संख्या सार्वजनिक गरेको हो । आयोगका प्रवक्ता डा हरि पौडेलले यो संख्या अझै घट्नसक्ने बताए।
    आयोगले गाउँपालिकाका लागि हिमाली भेगमा १५ हजार, पहाडी भेगमा २५ हजार र तराईमा ५० हजार जनसंख्या तोकेको छ । यस्तै, आयोगले नगरपालिकाका लागि हिमाली भेगमा २० हजार, पहाडी भेगमा ३५ हजार, तराईमा ७५ हजार र काठमाडौ उपत्यकामा ९५ हजार जनसंख्या तोकेर स्थानीय तहको अधिकतम संख्या निर्धारण गरेको हो । आयोगले पहाडी जिल्लाका सदरमुकामका नगरपालिकाका लागि ४५ हजार तथा तराई र भित्री मधेशका जिल्ला सदरमुकामका नगरपालिकाका लागि ९५ हजार जनसंख्या तोकेको छ ।

बाढीले मुहान बगाउदा छुसाङमा खानेपानीको समस्या !

 मुस्ताङ साप्ताहिक संवाददाता
    मुस्ताङको छुसाङ गाउँका स्थानिय पिउने पानीको समस्यामा परेका छन् । गत असार ३० गते घ्याकर खोलामा आएको बाढीले खानेपानीको मुहान सहित च्याम्बर, पाइप बगाएपछि छुसाङ गाउँका स्थानिय पिउने पानीको समस्यामा परेका हुन् ।
    बाढीले पिउने पानीको २३१० मिटर पाइप, च्याम्बर र मुहान बगाएर कालीगण्डकी नदीमा मिसाएपछि छुसाङ गाउँमा आपूर्ति हुने खानेपानी पूर्ण रुपमा बन्द भएको छुसाङ खानेपानीका अध्यक्ष चन्द्र बहादुर गुरुङले बताए ।
        ६३ एमएमको सो पाइप र मुहान च्याम्बर बगाउँदा १५ लाख बराबरको क्षति भएको छ । बाढीले खानेपानी संगसंगै चैले सिचाई र घट्ट पनि बगाएको छ । गुरुङले भने ।   
    गुरुङका अनुसार छुसाङमा खानेपानी आपूर्ति बन्द भएपछि ४० स्थायी घरधुरी र १५ अस्थायी गरी ५५ घरधुरी प्रत्यक्ष मर्कामा परेका छन् ।
    तत्काल खानेपानीको अस्थायी आपूर्तिका लागि जिविस मुस्ताङले १८०० मिटर, खानेपानीले १५० मिटर र आफुहरुले बाढीले बगाएको १५० मिटर पाइप जम्मा गरेको गुरुङले बताए ।    अगामी वर्ष छुसाङमा दीर्घकालिन खानेपानी योजना आवश्यक रहेको बताइएको छ ।   



पाण्डाखोला पुल निर्माणमा चरम लापर्बाही !


मुस्ताङ साप्ताहिक संवाददाता
कालीगण्डकी करिडोर अन्तर्गतको जोमसोम–कागबेनी सडकखण्ड स्थित पाण्डाखोलाको पुल निर्माण कार्यमा चरम लापर्बाही गरेको भेटिएको छ ।
पुल निर्माण कार्यमा कमसल खालको सामाग्री तथा ग्रेडिङ नगरिकन सिधै खोलाबाट उठाएर गिट्टी, बालुवा लगायतका निर्माण सामाग्रीको प्रयोग गरेको भेटिएको हो । उक्त पुल निर्माणमा ठेकेदार कम्पनी गैर जिम्मेवार बन्दा निर्माणधीन पुल कमजोर र दिगो नहुने सरोकारवालाको भनाई छ ।
प्रजिअ गणेश बहादुर अधिकारी, जिल्ला इन्जिनियर रविन्द्र तिवारी, डिएसपी हरिहरनाथ योगी, पत्रकार लगायतको टोलीले निर्माणधीन पाण्डाखोला पुलको अनुगमन गर्ने क्रममा निर्माण कार्यमा लापार्वाही गरेको भेटिएको हो ।  
कालीगण्डकी करिडोर अन्तर्गतको सो पुल निर्माण जिम्मा ठेकेदार कम्पनी शंकर माली÷एलाईड जेभीले लिएको छ ।
करिडोर अन्तरगत धेरै आयोजना सम्पन्न गर्नुपर्ने भएकाले पाण्डाखोलामा ध्यान दिन नसकेको कालीगण्डकी करिडोर पाल्पाका प्रमुख राम सुवेदीले बताए । कामदारले जस्तो पायो त्यस्तै गिट्टी बालुवाको प्रयोग गर्नु गल्ती भएको स्विकार्दै करिडोर प्रमुख सुवेदीले पाण्डाखोलामा समस्या देखिएपछि काम रोकिएको र गुणस्तरिय निर्माण सामाग्रीको व्यवस्था गरेर तुरुन्तै काम सुचारु गरेको जानकारी दिए ।
सुरुमा ठेकेदारले काम नगरी होल्डमा राखेको र बारम्बार ताकेता गरी काम पुनः संचालन गरिएको सुवेदीको भनाई छ ।

Wednesday, July 20, 2016

नमखुलेकमा चौरीको रगत पिउने मेला शुरु !


मुस्ताङ साप्ताहिक संवाददाता
मुस्ताङ, ५ साउन
परम्परागत रुपमा मुस्ताङको जोमसोम गाविस स्थित नमखुलेकमा संचालन हुँदै आएको चौरीको आलो रगत पिउने मेला बुधवार देखि शुरु भएको छ ।
विगतका वर्ष हरुमा जस्तै यस वर्ष पनि नमखुलेकमा जोमसोमका कृषकले पालेका चौरीको आलो रगत पिउने मेला शुरु भएको हो ।
साउन ५ गते बाट शुरु हुने चौरीको आलो रगत पिउने मेला साउन १३ गतेसम्म संचालन गरिने स्थानिय चौरी पालक किसान भूपेन्द्र शेरचनले जानकारी दिए ।
उच्च हिमाली क्षेत्रमा यार्सागुम्बा, जटामसी, पाँचऔले लगायतका बहुमुल्य जडिबुटी खाएका चौरीको आलो रगत पिएमा पेट सम्बन्धी रोगहरु निको हुनुका साथै शारिरीक स्फुर्ती बढ्ने जनविश्वास रहि आएको छ ।
मेलामा प्रतिदिन ५० जना भन्दा बढि मानिसले चौरीको रगत पिउने अनुमान गरिएको छ । प्रति गिलास १६० का दरले चौरीको रगत विक्रि गरिने शेरचनले बताए । नमखुलेकमा चौरीको रगत पिउन आउनेलाई खाने बस्ने व्यवस्था पनि मिलाएका छौँ । शेरचनले भने ।
लेकमा चरेको चौरीको आलो रगत पिउनाले गानोगोला, ग्याष्ट्रिक, मधुमेह, सुन्नेको, सर्केमर्केको, हाडजोर्नी दुख्ने र पेटको समस्या लगायतका रोग निको हुने विश्वास रहँदै आएको छ ।
मेलामा चौरीको रगत पिउन बाग्लुङ, म्याग्दी, पर्वत, कास्की, लमजुङ, तनहुँ, काठमाण्डौ लगायतका जिल्लाहरुबाट मानिसहरु आउने गरेको मेलाको आयोजकले जनाएको छ ।
जोमसोमका किसानले नमखुलेकमा व्यवसायिक रुपमा पालेको चौरीबाट आवश्यकताको आधारमा याकको घाँटीमा सुईरोले रोपेर एउटा भाले याकबाट करिब १५–१८ गिलास सम्म रगत निकाल्ने गरिन्छ ।
परम्परागत रुपमा संचालन हुँदै आएको जिउँदै पशुवाट रगत निकालेर पिउने मेलालाई पशु अधिकारकर्मीहरुले पशु अधिकार विपरीत रहेको बताएका छन् । परिक्षण नगरी खाएको चौरीको आलो रगतले रोग निको हुँने कुनै वैज्ञानिक आधार नभएकाले परम्परालाई रोक्न हामीले आग्रह गरेका छौँ, वरिष्ठ पशु विकास अधिकृत डा. नन्दलाल बर्माले भने ।  रगतलाई खान हुन्न भन्ने मिट साइन्सको भनाइ रहेको डा. बर्माले बताए ।

Tuesday, July 19, 2016

छुसाङमा दुर्लभ हिउँ चितुवा भेटियो !

 मुस्ताङ साप्ताहिक संवाददाता
हिमालपारीको जिल्ला मुस्ताङको छुसाङमा दुर्लभ मनिने हिउँ चितुवा घाईते अवस्थामा भेटिएको छ । छुसाङ गाउँ नजिकै लडेको घाईते अवस्थामा चितुवा भेटिएको हो ।
तस्वीरः निरज थकाली
श्रावण ३ गते स्थानिय पानी लिन छुसाङ गाउँ भन्दा केही माथि जाने क्रममा हिउँ चितुवालाई देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
अन्दाजी २ वर्षको सो हिउँ चितुवा दुवै खुट्टा भाँचिएको घाईते अवस्थामा रहेको प्रहरीले जानकारी दिएको छ ।
उक्त चितुवालाई जलवायु परिवर्तन सम्बन्धि अनुसन्धान गर्ने क्रममा छुसाङ पुगेको वनस्पति, पशुपन्छिमा विज्ञ टोली, राष्ट्रिय प्रकृति संरक्षण कोष (NTNC) र अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाको सहयोगमा करिब साँझ ४ बजे काठको बाकसमा हालि नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
सो घाईते चितुवालाई जोमसोममा ल्याई उपचार गरी पुन लेकमा छोडिने अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) इलाका कार्यालय जोमसोमकी प्रमुख निरु थापाले बताईन् ।
एक्याप प्रमुख थापाका अनुसार सो हिउँ चितुवाको उपचारका लागि काठमाण्डौँ बाट पशु चिकित्सक र प्राविधिकहरुको टोली भोली जोमसोम आउँदै छ ।
हिउँ चितुवाको संरक्षण तथा उपचारका लागि एक्याप र प्रहरीको टोलीले चितुवालाई आज साँझ जोमसोम ल्याएको छ ।
मुस्ताङमा विश्वमा दुर्लभ मानिने हिउँ चितुवा १७ वटाको संख्यामा रहेको एक्यापको तथ्याङ्कमा उल्लेख छ ।  
त्यसैगरी गत वर्ष असारमा मुक्तिनाथ गाविस वडा नं.१ लुप्रा गाउँको चरन क्षेत्रमा भेडा च्याङग्राको बथानमा कस्तुरी मृग भेटिएको थियो ।

अन्दाजी एक महिनाको सो कस्तुरी जंगलमा छोड्दा एक्लै बाँच्न नसक्ने भएकाले स्याहार सुसार तथा संरक्षणको निम्ति जोमसोम देखि राष्ट्रिय प्रकृति संरक्षण कोष अन्तर्गत सदर चिडियाखाना जावलाखेल ललितपुर पठाइएको थियो ।

Saturday, July 16, 2016

एक्यापद्धारा संचालित ४ दिने तालिम सम्पन्न !

मुस्ताङ साप्ताहिक संवाददाता
अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) इलाका संरक्षण कार्यालय जोमसोम द्धारा जोमसोममा संचालित क्षमता अभिवृद्धि तालिम शुक्रवार सम्पन्न भएको छ ।
एक्यापको चेकपोष्टमा कार्यरत कर्मचारी र पर्यटन प्रहरीका लागि कसरी पर्यटक सँग अन्तरक्रिया गर्ने तथा कसरी पर्यटकहरुलाई पर्यटकीय क्षेत्र र स्थानिय कलासँस्कृतिको बारेमा जानकारी गराउने, पर्यटकसँग कसरी प्रस्तुत हुने लगायतका विषयमा बारेमा पृष्ठपोषण दिनको लागि तालिम संचालन गरिएको एक्याप जोमसोमकी प्रमुख निरु थापाले बताइन् ।
सो चार दिने तालिमको सहजीकरण एक सफल टुरिष्ट गाईड हरि नेपालीले गरेक थिए ।
तालिममा पर्यटकसँग कसरी प्रस्तुत हुने, कसरी स्थानिय पर्यटकीय ठाउँको प्रचार प्रसार गर्ने, कसरी पर्यटकसँग प्रभावकारी ढंगले सुचना आदानप्रदान गर्ने र नक्सालाई कसरी हेर्ने÷पढ्ने विषयमा सहजीकरण गरिएको प्रशिक्षक नेपालीले बताए ।
त्यसैगरी पर्यटन नियम, पर्यटकीय क्षेत्रमा लाग्ने शुल्क, कलासँस्कृति, यस क्षेत्रमा भएका पर्यटकीय संभावनाहरुको बारेमा सहजीकरण गरेको प्रशिक्षक नेपालीको भनाई छ ।
क्षमता अभिवृद्धि तालिम एकदमै प्रभावकारी रहेको तालिमका सहभागिले बताए ।
तलिममा घाँसा देखि कागबेनी सम्मका एक्याप चेकपोष्टका कर्मचारी र पर्यटन प्रहरी लगायत १३ जनाको सहभागिता रहेको थियो ।      

शालग्राम उद्यान उदघाटन÷प्रतिस्थापन समारोह सम्पन्न !

मुस्ताङ साप्ताहिक संवाददाता
मुस्ताङको सदरमुकाम जोमसोममा नव निर्मित शालग्राम उद्यानको शुक्रवार एक समारोहका विच प्रतिस्थापन÷उदघाटन गरिएको छ ।
प्रमुख जिल्ला अधिकारी गणेश बहादुर अधिकारीको प्रस्ताव, स्थानिय विकास अधिकारी हरिप्रसाद वास्तोलाको समर्थन र कर्मचारी क्लव मुस्ताङको संकल्पमा निर्माण गरिएको सो शालग्राम उद्यानको प्रजिअ अधिकारीले उदघाटन गरेका हुन् ।
विश्वको एक मात्र स्थान मुक्तिक्षेत्रमा पाईने शालग्राम धार्मिक, आध्यात्मिक, वैज्ञानिक रुपले अतिनै महत्वपूर्ण मानिएकाले सोको संरक्षणका निम्ति शालग्राम उद्यानको निर्माण गरि शालिग्राम प्रतिस्थापन गरेको कर्मचारी क्लवका अध्यक्ष एवं जिल्ला शिक्षा अधिकारी केशरीरमण न्यौपानेले बताए ।
कर्मचारी क्लवको सक्रियाता तथा जिल्लामा कार्यरत कर्मचारीहरुको आर्थिक सहयोगमा करिब साढे पाँच लाखको लगानीमा सो शालग्राम उद्यान÷चौतारी निर्माण गरिएको कर्मचारी क्लवका अध्यक्ष न्यौपानेले जानकारी दिए ।
शालिग्राम चौतारीको उदघाटन गर्दै प्रमुख जिल्ला अधिकारी गणेश बहादुर अधिकारीले आफू मुक्तिक्षेत्र विकास समितिको अध्यक्ष भएकाले थप जिम्मेबारी बोध गरिरहेको र त्यस अनुरुप शालग्राम संरक्षणको शुरुवात स्वरुप कालीगण्डकी छेउमा शालग्राम उद्यान स्थापना गरेको बताए ।
साथै उनले उक्त शालग्राम उद्यानले जोमसोमको पर्यटनमा टेवा पु¥याउने बताउदै संरचना र दिगोपनलाई अगाडी बढाउन स्थानिय विकास अधिकारीलाई आग्रह गरे ।
त्यसैगरी स्थानिय विकास अधिकारी हरिप्रसाद बास्तोलाले आन्तरिक पर्यटनको संभावना बोकेको यस उद्यानले थप पर्यटन प्रवद्र्धन हुने अपेक्षा व्यक्त गर्दै सबै पक्ष सँग समन्वय गरी भावि संरक्षणको योजना बनाउन पहलरत रहने बताए ।
विगत केही वर्ष अगाडी मुस्ताङका तत्कालिन प्रजिअ भोलानाथ शर्माले मुक्तिनाथ क्षेत्रमा वृक्षारोपणको शुरुवात गरी हरियाली बढाउन टेवा पु¥याएको र हालका प्रमुख जिल्ला अधिकारीले शुरु गरेको शालग्राम संरक्षण अभियान प्रशंसानिय रहेको सरोकारवालाको भनाइ छ ।  
कार्यक्रममा कर्मचारी क्लवका अध्यक्ष केशरीरमण न्यौपाने, पूर्व सभासद चन्द्रबहादुर गुरुङ, पूर्व जिविस सभापति भक्ति हिराचन, रेडक्रस सभापति चन्द्र बहादुर थकाली, पिएन क्याम्पस पोखराका पूर्व क्याम्पस प्रमुख डा.दिल बहादुर क्षेत्रीले मन्तव्य व्यक्त गरेका थिए ।
सो अवसरमा शालग्राम उद्यान निर्माणमा अहोरात्र खटिएका गणेश शेरचनलाई सम्मान गरिएको थियो ।
शालग्राम उद्यान
स्थानिय विकास अधिकारी बास्तोलाको अध्यक्षता, कर्मचारी क्लवका उपाध्यक्ष तथा कृषि विकास बैंकका प्रमुख उमेश पौडेलको संचालनमा सम्पन्न भएको कार्यक्रममा विभिन्न कार्यालयका प्रतिनिधि, सुरक्षा अधिकारी, राजनैतिक दल लगायत स्थानियको उल्लेख्य उपस्थिति रहेको थियो ।          
 




Thursday, July 14, 2016

चीनले राहत सामाग्रीलाई निरन्तरता दिने !

मुस्ताङ साप्ताहिक संवाददाता
मुस्ताङ, ३० असार
विगतका वर्षहरुमा जस्तै यस वर्ष पनि चीनले उपल्लो मुस्ताङका वासिन्दालाई उपलब्ध गराउँदै आएको राहत सामाग्रीलाई निरन्तरता दिने भएको छ ।
गत असार २७ गते चीनको ढोङवासेन जिल्लाका प्रमुख जिल्ला अधिकारी तेन्जिङको नेतृत्वमा  उपल्लो मुस्ताङको लोमान्थाङमा स्थानियको माग संकलन गर्न आएको टोलीले चीनले उपलब्ध गराउँदै आएको राहत सामग्रीलाई निरन्तरता दिने बताएको हो ।
चीनको ढोङवासेन जिल्लाले सिमाक्षेत्रमा पर्ने उपल्लो मुस्ताङका ६ गाविसमा नियमित रुपमा राहत समाग्री प्रदान गर्दै आएको छ ।
चीनले दिने राहत तथा नेपाल पक्षले चीन संग गर्ने मागकोे सन्दर्भमा जिल्ला प्रशासन कार्यालय मुस्ताङको सुशासन बैठकले दीर्घकालिन प्रकृतिका राहत सहयोग माग गर्ने निर्णय र निर्देशन बमोजिम स्थानियले विशेषगरी बेली ब्रिज र सोलार सिस्टमको माग गरेको प्रमुख जिल्ला अधिकारी गणेश बहादुर अधिकारीले जानकारी दिए ।
उपल्लो मुस्ताङका स्थानियले गरेको माग अनुसार यस वर्ष चीनले लोमान्थाङ, छोसेर, छोन्हुप र सुरखाङ गाविसमा ५ वटा बेली ब्रिज दिने निर्णय गरेको लोमान्थाङ गाविसका गाविस सचिव घ्यूर्मि आङग्याल विष्टले जानकारी दिए ।
साथै चीनले उपल्लो मुस्ताङका ६ गाविस मध्ये ५ गाविसमा सोलार सिस्टम जडान गर्ने, सिमेन्ट, छड, फलेक लगाएतका राहत समाग्रीको माग संकलन गरेको लोमान्थाङका सचिव विष्टले बताए ।
गत वर्ष चीनले लोमान्थाङमा ७० किलोवाटको सोलार प्लान्ट जडान सँगै छड, सिमेन्ट तथा घरायसी समान वितरण गरेकोे थियो ।
माग संकलनको लागि चीनियाँ टोलीमा ढोङवासेनका प्रजिअ तेन्जिङ, ल्हासा स्टेटका व्यापार वाणिज्य प्रमुख सहित २३ जना प्रतिनिधिहरु र नेपाल पक्षबाट इलाका प्रशासन कार्यालय लोमान्थाङ, एक्याप लगायत उपल्लो मुस्ताङको ६ गाविसका स्थानिय प्रतिनिधिको सहभागिता रहेको थियो ।
माग अनुसारका समाग्री नेपाल तथा चीन पक्षले दुतावास मार्फत मन्त्रालयमा पठाउने र मन्त्रालयले निर्णय गरी माग भएका समाग्री वितरण तथा निर्माण गरिने बताइएको छ ।

Wednesday, July 13, 2016

मैले पद प्रलोभनमापरि नेकपा एमालेलाई घात गरेकी हुँः पूर्व सभासद टसी स्याङमो गुरुङ !


“म पुन मेरो गृह पार्टी नेकपा एमालेमा फर्किन चाहान्छु”

मुस्ताङ साप्ताहिक संवाददाता
मुस्ताङ, २९ असार
पूर्व सभासद तथा तत्कालिन संविधानसभा सदस्य टसी स्याङमो गुरुङले आफुले गरेको गल्ती प्रति आत्मालोचना गरेकी छिन् । नेकपा एमाले तत्कालिन संविधानसभा सदस्य गुरुङले दोस्रो संविधान सभाको निर्वाचनको संघारमा आफ्नो पार्टी परित्याग गरी नेकपा एमाओवादीमा प्रवेश गरेपछि आफ्नो पार्टी एमाले माथि अक्षम्य घात गरेको भन्दै आत्मालोचना गरेकी हुन् । 
नेकपा एमालेलाई पु¥याएको आघात प्रति क्षमा याचना गर्दै नेकपा एमाओवादी परित्याग गरी पुन एमालेको कार्यकर्ता भई काम गर्न चाहेको बताउँदै उनले नेकपा एमाले जिल्ला कमिटि मुस्ताङमा आत्मालोचना सहितको लिखित प्रतिवद्धता पत्र पेश गरेकी छिन् ।  
आत्मालोचना सहितको प्रतिवद्धता पत्रमा गुरुङले आफु साधारण सदस्य रहेकै अवस्थामा संविधानसभा जस्तो गरिमामय स्थानमा पु¥याइ मेरो व्यक्तिगत मान, इजजत र प्रतिष्ठा बढाइदिएकोमा पार्टी प्रति सदैव ऋणी भएको र जिवनमा आफ्नो पार्टी नेकपा एमाले माथि गरेको ठूलो भूल र गल्तीबाट पार्टी प्रति आस्था एवं विश्वास राख्दै आएका बफादार कमरेडहरु प्रति घाउचोट पु¥याएकोमा आत्मालोचनाका साथ क्षमा याचना माग्दछु भनेकी छिन् । 
पद प्रलोभनमा फसि पार्टी परित्याग गरेकोमा आफुलाई पश्चताप भएको भन्दै गुरुङले आफुले गरेको गल्ती प्रति आत्मालोचना गर्दै नेकपा एमाओवादी पार्टी परित्याग गरी पुनः गृह पार्टी नेकपा एमालेमा गर्न चाहेको बताएकी छिन् । साथै उनले अव एमालेमा पुन प्रवेश गरे पश्चात पार्टीको बफादार सिपाहीको रुपमा पार्टीले दिएको जस्तोसुकै काम जिम्मेवारी इमान्दारी पूर्वक पालना गर्ने प्रतिवद्धता संगै भविष्यमा अनियमित महत्वकांक्षा राखी पार्टी निर्देशन र हित विपरित कुनै किसिमको कार्य नगर्ने सो पत्रमा उल्लेख गरेकी छिन् ।
गुरुङले आगामी दिनमा जिल्ला पार्टी र पार्टीका सम्पूर्ण कर्मठ कार्यकर्ताहरु संग हातेमालो गर्दै पार्टीको विधान, घोषणापत्र र सिद्धान्तमा रहि पवित्र मन, वचन र कर्मले पार्टीको जिम्मेवारी वहन गर्न तत्पर रहेको र सो अवसर प्रदान गरिदिनको लागि आत्मालोचना सहितको प्रतिवद्धता पत्र मार्फत नेकपा एमाले जिल्ला कमिटि मुस्ताङलाई अनुरोध गरेकी छिन् ।
उनले नेकपा एमालेमा फर्किइ काम गर्ने चाहाना व्यक्त गरेपछि नेकपा एमाले जिल्ला कमिटिले आत्मालोचना सहितको प्रतिवद्धता पत्र पेश गर्न सुझाव दिएको बताइएको छ ।    
“पूर्व सभासद टसी स्याङ्मो गुरुङको आत्मालोचना सहितको प्रतिवद्धतापत्र”
 

Tuesday, July 12, 2016

सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न !

मुस्ताङ साप्ताहिक संवाददाता
मुस्ताङ, २८ असार
जिल्ला कृषि विकास कार्यालय मुस्ताङको आयोजनामा जिविस सभाहल जोमसोममा मंगलवार सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । आ.व. ०७२÷०७३ मा जिल्ला कृषि विकास कार्यालयले गरेका कार्यको कार्यपत्र प्रस्तुत र कृषकका गुनासा सुन्न र सुझाव संकलनको लागि कार्यक्रमको आयोजना गरिएको हो ।
कार्यलयले वर्षभरि गरेका कार्यक्रमको कार्यपत्र प्रस्तुत गर्दै वरिष्ठ कृषि विकास अधिकृत सावित्री बरालले कृषिमा जिल्लालाई आत्मनिर्भर बनाउन स्याउ बगैचा स्थापना, ओखर बगैचा स्थापना, उन्नत खाद्य तथा तरकारी किट वितरण लगायतका कार्यहरु गरेको बताईन् ।
आ.व. ०७२÷०७३ मा जिल्लामा कृषि विकासका लागि चालु बजेट तर्फ ४ करोड २० लाख ४३ हजार र पुँजिगत तर्फ ४३ लाख ८० हजार रहेको वरिष्ठ कृषि विकास अधिकृत बरालले जानकारी दिईन् ।
स्याउको राजधानी भनेर चिनिने मुस्ताङमा यो आर्थिक वर्षमा स्याउको विकासको लागि कृषकलाई ५० प्रतिशत अनुदानमा ३३ हजार स्याउको विरुवा वितरण गरेको व.कृ.वि.अ. बरालको भनाई छ ।
जिल्लामा कृषि उपजको विकास र विस्तारका लागि जिल्ला कृषि विकास कार्यालयले बागवानी विकास तथा स्याउ आत्मनिर्भर कार्यक्रम, सहकारी खेती, साना सिंचाई तथा मल विउ ढुवानी कार्यक्रम, एकिकृत वाली तथा जल व्यवस्थापन कार्यक्रम, कर्णाली अंचल कृषि विकास कार्यक्रम, आलु तरकारी मसला बाली कार्यक्रम र युवा लक्षित कार्यक्रम संचालन गरेको कृषि विकास कार्यालयले जनाएको छ ।
त्यसैगरी कृषि विकास कार्यालयले ५० प्रतिशत अनुदानमा खायन तथा विउ वितरण, मागमा आधारित हाते ट्याक्ट्रर, रिफर, जुसरको वितरण, स्याउ र ओखारको विउ वितरण गरेको बताइएको छ ।
समुह, सहकारीहरुले सार्वजनिक जग्गामा व्यवसायिक स्याउ खेती गरेको, अल्पकालिन बसाईसराई, कृषकले कृषि पेशालाई अल्पकालिन पेशाको रुपमा मात्र लिनुले यस आ.व. मा समुह सहकारी मार्फत अनुदानका कार्यक्रमहरु संचालन गर्न असहज भईरहेको, कृषकलाई दिईने अनुदानका सामाग्रीहरु ढुवानीमा अत्यन्त कठिनाई भएको व.कृ.वि.अ. बरालले बताईन् ।
साथै उनले यी समास्याको समाधानका लागि कानूनी दायरामा ल्याउन जि.प्र.का. वाट आवश्यक पहल भैरहेको र कृषि विभाग, मन्त्रालयमा लिखित मौखिक अनुरोध गरेको जानकारी दिईन् ।
कार्यक्रममा कृषकहरुले कृषि उपजमा विभिन्न रोगले सताउने गरेको, थप कृषि तालिम संचालन गर्नुपर्ने, मलमा अनुदान दिनुपर्ने र स्याउको कार्टुन छाप्न सहकारी मात्र नभई कृषक समुहलाई दिनुपर्ने लगायतका समस्या तथा माग रोखेका थिए ।
कृषको जिज्ञासाको जवाफ वरिष्ठ कृषि विकास अधिकृत सावित्री बरालले दिएकी थिईन् ।
सो अवसरका बोल्दै प्रमुख जिल्ला अधिकारी गणेश बहादुर अधिकारीले सार्वजनिक जग्गामा व्यवसाय संचालन गर्न नहुने बताउँदै यदि कसैले त्यसो गरेको भए त्यसलाई तुरुन्तै हटाउन आग्रह गरे । साथै उनले कृषकको आवश्यकता अनुसार फलफूलका विरुवा उपलब्ध गराउन शितोष्ण बागवानी केन्द्रले विभिन्न सरोकारवाला निकाय संग समन्वय गरेर काम गर्न निर्देशन दिदैँ स्याउको ग्रेडिङ मेसिन सदुपयोगमा ल्याउन कृषि विकास कार्यालयले पहल गर्नुपर्ने बताए ।
कार्यक्रममा स्थानिय विकास अधिकारी हरिप्रसाद बास्तोला, नागरिक अगुवा चन्द्र बहादुर थकालीले मन्तव्य व्यक्त गरेका थिए ।
स्थाविअ वास्तोलाको अध्यक्षता र जि.कृ.वि.का. का तप्तबहादुर गुरुङको संचालनमा सम्पन्न भएको कार्यक्रममा सुरक्षा अधिकारी, राजनैतिक दल, नागरिक समाज, नागरिक अगुवा तथा कृषकहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।      
     

जिल्ला अदालत मुस्ताङमा बाल इजालस सुरु हुने !

मुस्ताङ साप्ताहिक संवाददाता
मुस्ताङ, २८ असार
जिल्ला अदालत मुस्ताङमा आगामी साउन एक गते देखि बाल इजालस सुरु हुने भएको छ ।
कानूनमा व्यवस्था भए बमोजिम बालबालिकाको मुद्दा बाल अदालतले हेरी बालबालिका लाई बाल न्याय अनुकुलको फैसला गर्न बाल इजालसको सुरु गर्न लागिएको जिल्ला न्यायधीस पिताम्बर शर्माले जानकारी दिए ।
नेपालभर ६४ वटा अर्थात ६४ जिल्लामा बाल इजालस गठन भैसकेको र हाल मुस्ताङमा पनि बाल इजालस गठन गर्ने तयारी भैरहेको न्यायधीश शर्माले बताए ।
बाल इजालसको लागि एक बालमैत्री कक्ष र एक बाल इजालस कक्ष को व्यवस्था गरिएको अदालतले जनाएको छ ।
बाल न्यायका लागि एक जना बैतनिक वकील व्यवस्था गरिएको र न्यायधीशको अतिरिक्त बाल मनोवैज्ञानिक र समाजसेवी संगै रहि निर्णय (फैसला) गर्ने कानूनी व्यवस्था रहेको न्यायधीश शर्माको भनाइ छ ।
१६ वर्ष मुनिका बालबालिकाले कुनै अपराध नगर्ने बाल बिज्याँई गर्ने र १० वर्ष मुनिका बालबालिकाले कुनै गल्ती गरेतापनि आम माफी हुने कानूनी व्यवस्था रहेको छ । साथै बालबालिकालाई बिज्याँई गर्न लगाउनेलाई कसुर गरे सरह कानूनी कारबाही हुने व्यवस्था रहेको बताइएको छ ।
बालबालिकाले गरेका बिज्याँईको गोपनियता हुनुपर्ने र बालबालिकालाई पक्राउ गर्दा हतकडी प्रयोग गर्न नहुने र बर्दि बिनाको प्रहरीले गर्नुपर्ने कानूनमा व्यवस्था रहेको छ ।
फौजदारी न्यायमा दोषी र निर्दाेष छुट्याई कारबाहीका लागि जेल तथा हिरासतमा पठाउने व्यवस्था भएको र बाल न्यायमा बालबालिका अनुकुल अभिभावक तथा बाल सुधार गृहमा पठाउने कानुनी व्यवस्था रहेको जनाईएको छ ।

Monday, July 11, 2016

लोमान्थाङमा इलाका प्रशासन कार्यालय संचालन गरिने !

मुस्ताङ साप्ताहिक संवाददाता
नयाँ आर्थिक वर्ष अर्थात श्रावण १ गते देखि उपल्लो मुस्ताङको लोमान्थाङमा इलाका प्रशासन कार्यालय संचालन गरिने भएको छ ।  जिल्ला प्रशासन कार्यालयको पहलमा मन्त्री परिषदको बैठकको निर्णय पश्चात लोमान्थाङमा इलाका प्रशासन कार्यालय संचालन गर्न लागिएको हो ।
मुस्ताङ भौगोलिक विकट जिल्ला भएकाले उपल्लो मुस्ताङका स्थानियलाई जोमसोममा झरि सरकारी सेवा सुविधा लिन समस्या हुने हुँदा उपल्लो मुस्ताङ र सो क्षेत्रका स्थानियलाई लक्षित गर्दै लोमान्थाङमा इलाका प्रशासन कार्यालय संचालन गर्न लागेको प्रमुख जिल्ला अधिकारी गणेश बहादुर अधिकारीले जानकारी दिए ।
इलाका प्रशासन कार्यालय संचालनको लागि इलाका प्रशासक जितेन्द्र वलामीको टोली जोमसोम आइपुगेको छ । सबै तयारी पुरा गरी उपल्लो मुस्ताङको लोमान्थाङमा इलाका प्रशासन कार्यालय सुचारु गर्ने प्रशासक वलामीले बताए ।
इलाका प्रशासन कार्यालय नियमित संचालनको लागि हाल एक जना अधिकृत, दुई जना नासु, एक जना लेखापाल र एक जना कार्यालय सहयोगी सहित पाँच जनाको दरबन्दी रहेको र तत्कालको लागि लोमान्थाङ स्थित आरसियुपिको भवनमा कार्यालय स्थापना गरी दैनिक कार्य सम्पादन गरिने बताइएको छ ।
इलाका प्रशासन संगसंगै कुनै एक वटा बैँकको शाखा पनि उक्त क्षेत्रमा विस्तार गर्ने प्रयास भैरहेको प्रजिअ अधिकरीको भनाई छ ।
इलाका प्रशासन कार्यालय लोमान्थाङमा संचालन भए पश्चात उपल्लो मुस्ताङ क्षेत्रका स्थानियलाई नागरिकता वितरण, पासपोर्ट फारम भर्ने लगायत जिल्ला प्रशासन कार्यालय मुस्ताङले गर्ने र सो बाहेक उपल्लो मुस्ताङमा आवश्यक र जिल्ला प्रशासनले  अख्तियारी दिएका सम्पूर्ण कार्यहरु गर्ने र अन्य गैसस निकायहरु संग यवं समन्वय गरी काम गर्ने प्रजिअ अधिकारीले बताए ।
लोमान्थाङमा वि.सं. २०३५ सालमा तत्कालिन खम्पा विद्रोह पछि सीमावर्ती क्षेत्रको सुरक्षाको लागि सिमा प्रशासन स्थापना भएको र केही वर्ष प्रभावकारी रुपमा सीमा प्रशासनले काम गरेतापनि समयको विकास संगसंगै व्यवस्थित हुन नसक्दा सिमा प्रशासन आंशिक संचालन हुन पुगेको नागरिक अगुवा एवं रेडक्रस मुस्ताङका सभापति चन्द्र बहादुर थकालीले बताए ।

मुस्ताङमा ‘प्रहरी मेरो साथी’ अभियान सुरु !

मुस्ताङ साप्ताहिक संवाददाता
मुस्ताङ, २८ असार
मुलुकमा कानूनको रक्षा  गरी समाजमा हुने विकृति  विसंगतिको विरुद्ध खबरखदारी गर्दै शान्ति सुरक्षाको मुख्य जिम्मेवारी सम्हाल्दै आएको नेपाल प्रहरीले  सोमबारदेखि ‘प्रहरी मेरो साथी’ अभियान सुरु गरेको छ । Police-My-Friend
सरकारको आव २०७२ र ७३ को नीति तथा कार्यक्रममा समावेश गरिएको उक्त अभियान मुस्ताङमा पनि संचालनमा आएको छ ।
मुलुक भरका विद्यालय तथा समुदायमा सामुदायिक सम्पर्कको माध्यमबाट प्रहरीलाई नागरिकमैत्री बनाई अपराध, दुर्घटना र सामाजिक विकृतिलाई नियन्त्रण गर्दै शान्ति सुरक्षा कायम गर्नु अभियानको मुख्य उद्देश्य रहेको छ ।
प्रहरी मेरो साथी शुभारम्भ कार्यक्रममा बोल्दै प्रमुख अतिथि यंव प्रमुख जिल्ला अधिकारी गणेश बहादुर अधिकारीले कानूनले शासन गर्ने लोकतान्त्रिक विधिमा कानून कार्यान्वयन गर्ने प्रहरी प्राथमिक अंग भएकाले कानून कार्यान्वयन गर्ने क्रममा प्रहरीले जनताको विश्वासलाई डगमगाउन नदिन प्रहरी कर्मचारीलाई निर्देशन दिए । साथै उनले समाजमा समाजमा प्रहरी मेरो साथी हो भन्ने भावनाको विकास गराई समाजमा अपराध विसंगती अराजकता निर्मूल पार्नुपर्ने बताए ।
त्यसैगरी प्रहरी नायव उपरिक्षक हरिहरनाथ योगीले “नागरिकलाई भर, अपराधिलाई डर” भन्ने नारालाई आत्मसाथ गर्दै प्रहरी र जनता बिच सुसम्बन्ध कायम गरी समाजमा शान्ती सुरक्षा कायम गर्न प्रहरी संगठन प्रतिवद्ध रहेको बताए ।
प्रनाउ योगीले निलो रङ शान्तीको रङ भएकाले प्रहरीले उक्त रङधारी कपडा लगाई जनताको साथी बनि शान्ती कायम गर्न अहोरात्र खटेको स्मरण गर्दै प्रहरी र जनता विचको सम्बन्ध सुमधुर भएकाले संयुक्त राष्ट्र संघले द्धन्द्ध ग्रस्त देशहरुको शान्ती मिसनमा प्रहरीलाई समावेश गर्ने प्रकृया अगाडी बढाएकोमा प्रहरी प्रति बढेको सामाजिक ख्याति प्रति आफुलाई गर्व महसुस भएको बताए ।
कार्यक्रममा नागरिक अगुवा चन्द्र बहादुर थकाली पूर्व जिविस सभापति विष्णुराज हिराचन, सामुदायिक प्रहरी सेवा केन्द्र मुस्ताङकी अध्यक्ष मिमकुमारी शेरचन लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रममा माननिय जिल्ला न्यायधीश पिताम्बर शर्मा, नेपाल सेना उच्च शिखर शिक्षालयका महासेनानी इन्द्रबहादुर रायमाझी, जिशिअ केशरी रमण न्यौपाने, नेपाली कांग्रेसका सचिव धारा गुरुङ, नेकपा एमालेकमा प्रतिनीधि सम्झना थकाली, उद्योग वाणिज्य संघका अध्यक्ष खगेन्द्र तुलाचन, पूर्व जिविस सभापति भक्ति हिरचान लगायत कार्यलय प्रमुख, नागरिक समाज, धौलागिरी आवासिय मावि र जनहित उच्च माविका विद्यार्थीहरुको सहभागिता रहेको थियो ।
पुथाङ एयरपोर्टबाट सुरु भएको प्रभात फेरी ¥याली जिविसमा पुगि औपचारिक कार्यक्रममा परिणत भएको थियो । कार्यक्रम प्रहरी नायव उपरिक्षक हरिहरनाथ योगीको अध्यक्षता, प्रहरी निरिक्षक राजकुमार चौधरीको स्वागत र डमबहादुर धिंगालको संचालनमा सम्पन्न भएको थियो ।
नेपाल प्रहरीले यसअघि ‘मुस्कानसहितको सेवा’ भन्ने नाराका साथ जनतामा पुग्ने अभियान सुरु गरेको थियो ।



जिल्ला अदालत मुस्ताङबाट ७५ प्रतिशत मुद्दा फरस्र्याेट !

केशव विश्वकर्मा
मुस्ताङ, २७ असार
        जिल्ला अदालत मुस्ताङबाट यस आ.व ०७२÷०७३ मा ७५ प्रतिशत मुद्दा फरस्र्योट भएका छन् । न्यायपालिकाको तेश्रो पञ्चवर्षिय रणनीतिक योजनामा वर्षमा कुल मुद्दाको ७५ प्रतिशत मुद्दा फरस्र्योट गर्नुपर्ने व्यवस्था भए अनुसार मुद्दाको फरस्र्याेट गरिएको हो ।  
जिल्ला अदालतमा २४ वटा मुद्दा दर्ता भएकोमा १८ वटा मुद्दाको फैसला भैसकेको र ६ वटा मुद्दा फैसला हुन बाँकी रहेको मुस्ताङका जिल्ला न्यायधीश पिताम्बर शर्माले जानकारी दिए ।
४ थान मुद्दा जिम्मेवारी सरी आएका र २० थान मुद्दा यो आर्थिक वर्षमा दर्ता भएको जिल्ला अदालत मुस्ताङका निमित्त श्रेष्तेदार शालिकराम न्यौपानेले बताए ।
विगतका वर्षमा १२ थान भन्दा बढि मुद्दा दर्ता नहुने गरेको मा यस वर्ष मुद्दा दर्तामा शत प्रतिशत वृद्धि भई २० थान मुद्दा दर्ता भएको श्रेष्तेदार न्यौपानेले जानकारी दिए ।
आर्थिक वर्ष ०७२÷०७३ मा देवानी मुद्दा ४ थान, व्यक्तिवादी फौजदारी ४ थान, सरकारवादी फौजदारी १२ थान मुद्दा दर्ता भएको र जसमध्ये सम्बन्ध विच्छेद मुद्दा ४ थान, जुवा मुद्दा १ थान, सवारीज्यान १, चोरी डकैती ३ थान गरी १० थान साना प्रकृतिका मुद्दा रहेको अदालतले जनाएको छ ।
यो वर्ष जिल्ला अदालत मुस्ताङबाट कर्तव्य ज्यान, हातहतियार, लेनदेन र चोरी निकासी लगायतका ६ थान मुद्दा पुनरावेदन अदालत बागलुङमा गएको श्रेष्तेदार न्यौपानेले जानकारी दिए ।
मुस्ताङमा मुखिया प्रथाको प्रचलन भएकाले कुनैपनि व्यक्ति न्यायको लागि अदालतसम्म आउने हिम्मत नगर्ने र गाउँमा हुने अधिकांश घटनाको सहजीकरण मुखियाले नै गरी निर्णय गर्ने हुँदा अदालतमा मुद्दा कम दर्ता हुने गरेको बताइन्छ ।
संचारकर्मी संग कुरा गर्दै श्रेष्तेदार न्यौपानेले यातयातको सहज पँहुच, आम मानिसमा जनचेतनाको वृद्धि र सहज संचारको पहँुच भएकाले विगतका वर्षमा भन्दा यस वर्ष अदालतमा मुद्दा दर्ता गर्नेको संख्या क्रमिक रुपमा बढदै गएको बताए ।
न्यापालिकाको तेश्रो पञ्चवर्षिय रणनीतिक योजनाले वर्षमा प्रति न्यायधीश ३०० भन्दा कम मुद्दा दर्ता हुने अदालत क वर्गमा पर्ने व्यवस्था अनुसार मुस्ताङ जिल्ला अदालत क वर्गको अदालतमा परेको छ ।
त्यसैगरी वर्षमा ३०१ देखि ५५० मुद्दा दर्ता हुने अदालत ख वर्गमा पर्ने र ५५० दखि माथि मुद्दा दर्ता हुने अदालत ग वर्गमा पर्ने बताइएको छ ।
अदालतले न्यायिक फैसला बाहेक प्रत्येक महिनाको एक पटक जनतासंग न्यायधीश कार्यक्रम अन्तर्गत अदालति मुद्दामा रहेका पक्ष विपक्ष, सरोकारवाला आम जनतासंग आवश्यक कानुनी जानकारी गराउने गुनासा र समस्या सुन्ने र संविधानमा व्यवस्था भएको प्रचलित ऐन कानूनको बारेमा जनतालाई सुसुचित गराउने उद्देश्य बमोजिम कार्यक्रम संचालनमा रहेको जिल्ला न्यायधीश शर्माले बताए ।


Sunday, July 10, 2016

कोरलानाका खोल्न उपयुक्त छः उपप्रधान तथा रक्षामन्त्री भीम रावल !


केशव विश्वकर्मा
मुस्ताङ
उत्तरी छिमेकी राष्ट्र चीनसँगको कोरला नाकाबारे अध्ययन गर्न बिहिवार मुस्ताङ आएको तीन उपप्रधानमन्त्री, अर्थ राज्यमन्त्री र पूर्वप्रधानमन्त्रीसहितको टोली काठमाण्डौ फर्किएको छ ।
उपप्रधान तथा भौतिक योजना मन्त्री विजयकुमार गच्छदार, उपप्रधान तथा रक्षा मन्त्री भीम रावल र उपप्रधान तथा उर्जामन्त्री टोपबहादुर रायमाझीका साथै पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल लगायत १६ जनाकोे टोली विहीबार कोरला नाकाको सम्भाव्यता अध्ययन गर्न नेपाली सेनाको हेलिकोप्टर चढेर मुस्ताङ आएका हुन् ।
मुस्ताङ भ्रमण टोलीमा अर्थ राज्यमन्त्री दामोदर भण्डारी, महानिर्देशक माधव कुमार कार्की सडक विभाग, मुस्ताङ जिल्लाका सांसदहरु रोमी गौचन, महेन्द्र शेरचन, श्रीमाया थकाली र प्रमुख जिल्ला अधिकारी गणेश बहादुर अधिकारी समेत सहभागी थिए ।
नाका अवलोकालन पश्चात नाकाको भौगोलिक अवस्था ठीक रहेको र व्यवस्थित गरेर यथाशिघ्र नाका संचालन गर्नुपर्ने अध्ययन टोलीको भनाइ छ ।
कोरला नाकाको अवलोकन पछि संचारकर्मी संग कुरा गर्दै उपप्रधान तथा रक्षामन्त्री भीम रावले नेपाल सरकारले कोरलानाका संचालनलाई गम्भिर रुपमा हेरेका र सडक निर्माणको कामलाई यथाशिघ्र अगाडी बढाउने बताए । उपप्रधान तथा रक्षा मन्त्री रावलले कोरला नाका खोल्नको लागि चीन सरकार संग उपयुक्त तहमा छलफल गरेर छिटो भन्दा छिटो नाका संचालनमा ल्याए व्यवसायिक तथा अन्य हिसाबले राम्रो हुने कुरा उल्लेख गरे ।
तस्वीर ः नेपाली सेना
उनले भने सीमाको निरिक्षण गर्दा कोरला नाका संचालन गर्न सकिने उपयुक्त संभावना रहेको छ, लोमान्थाङ र चराङको बिचमा रहेको सेनाको लागि अधिकरण गरेको जग्गाको पनि अवलोकन ग¥यौँ र नेपाली सेनालाई त्यहाँ जानको लागि स्विकृति दिई सकेका छौँ । भौतिक सुविधाहरु निर्माण गर्ने काम अगाडी बढ्ने, चीनलाई नाका खोल्दा कुनै पनि सुरक्षा खतरा नहुने कुरा वार्ता तथा छलफलबाट आस्वस्त तुल्याउने मन्त्री रावलको भनाइ छ ।
कोरला नाका संचालनको लागि उपयुक्त रहेको मन्त्री स्तरीय टोलीको भनाई छ । नाका संचालनको लागि सरकारले उच्च प्राथमिकताका साथ काम गरिरहेको उपप्रधान तथा भौतिक योजना मन्त्री विजय गच्छदारले बताए ।
नाका खोल्न सम्पूर्ण पूर्वाधार ठिक भएकोले सडकको स्तर उन्नतीको लागि बजेट पास भैकेको र डिपिआर तयार भई टेण्डर भएकाले अब छिट्टै काम हुने मन्त्री गच्छादारको भनाई छ । उनले भने सरकारले तदारुकताका साथ काम गरिरहेकाले २ वर्ष भित्र काम पुरा गर्छाै ।
नाका संचालनको लागि मन्त्री गच्छदारले जोमसोम कोरला सडकको अध्ययन, मन्त्री रावलले सैनिक क्याम्प राख्ने जग्गाको अनुगमन र उर्जामन्त्रीसमेत रहेका उपप्रधानमन्त्री टोपबहादुर रायमाझी हावा
बाट निकाल्ने बिजुलीबारे अध्ययन गरेको बताइएको छ ।
मुस्ताङमा रहेको चीनसँगको कोरला नाकाको अहिले सम्म दर्जन बढि सरकारी अधिकारीहरुले अध्ययन अवलोकन गरी सकेका छन् ।

बालबालिकाले गरेका गल्ती कसुर नभई बिज्याँई हुनेः जिल्ला न्यायधीस शर्मा !

मुस्ताङ साप्ताहिक
संवाददाता
बालबालिकाको सर्वाेत्तम हित र कल्याणको लागि बालबालिका अनुकूलको न्याय हुनुपर्नेमा एक कार्यक्रमका सहभागिले जोड दिएका छन् । जिल्ला बाल समन्वय समिति मुस्ताङको आयोजनामा गत सोमवार पुथाङ एरपोर्टमा मुस्ताङ भएको नेपालको बाल न्याय प्रणाली र सरोकारवाला निकायहरुको भूमिका विषयक एक दिवसिय अनुभव आदानप्रदान तथा अन्तरक्रिया कार्यक्रमका सहभागिले सो कुरामा जोड दिएका हुन् ।
कार्यक्रममा बोल्दै जिल्ला न्यायधीश पिताम्बर शर्माले बालबालिकाले गरेका गल्ती कसुर नभई बिज्याँई हुने भएकाले बालबालिकालाई बाल न्याय अनुकुलको फैसला हुने कानुनी व्यवस्था रहेको बताए । न्यायधीश शर्माले १६ वर्ष मुनिका बालबालिकाले कुनै अपराध नभई बाल बिज्याँई गर्ने भएकाले उनीहरुलाई कारागार नभई अभिभावक तथा बालसुधार गृहमा लैजानुपर्ने उल्लेख गरे ।
बालबालिका सम्बन्धी ऐन २०४८ ले १० वर्ष भन्दा मुनिका बालबालिकाले कुनै बिज्याई गरेमा आम माफी दिने व्यवस्था गरेको न्यायधीश शर्माको भनाई छ ।
त्यसैगरी प्रमुख जिल्ला अधिकारी गणेश बहादुर अधिकारीले बालबालिकाको हितमा सबैले आआफ्नो पक्षबाट योगदान पु¥याउनुपर्ने भन्दै बालबालिकाको अधिकारको लागि आफुले सक्दो प्रयत्न गर्ने प्रतिवद्धता व्यक्त गरे ।
नेपालको बाल न्याय प्रणालीः अवधारणा र नेपालको बाल न्याय प्रणाली सम्बन्धी राष्ट्रिय तथा अन्तराष्ट्रिय कानुनी व्यवस्थाको विषयमा जिल्ला न्यायधीश पिताम्बर शर्मा, कसुरको अभियोग लागेका बालबालिकाः बालमैत्री अनुसन्धान तथा अभियोजनमा प्रहरी तथा सरकारी वकिलको भूमिका र अभ्यास (अनुसन्धान तथा अभियोजन सम्बन्धी विषयवस्तुहरु) विषयमा प्रहरी नायव उपरिक्षक हरिहरनाथ योगी र जिल्ला न्यायधीवक्ता रुद्र गौतम र कानुनको विवादमा परेका वा कसुरको अभियोग लागेका तथा अपराधबाट पिडित बालबालिकाहरुका लागि बालमैत्री सेवा (कानुनी सहायता, मनोविमर्श सेवा, सामाजिक अध्ययन प्रतिवेदनको तयारी, सिफारिस सेवा, उमेर परिक्षण आदि) का लागि सरोकारवालाहरु बिच समन्वय र सहकार्यः सम्भावना र चुनौतिहरुको विषयमा जिल्ला बालकल्याण समितिको तर्फबाट महिला विकास अधिकृत सावित्रा शाहले सहजीकरण गरेका थिए ।
कार्यक्रममा जिल्ला शिक्षा अधिकारी केशरीरमण न्यौपाने, पिएन क्याम्पस पोखराका पूर्व प्राचार्य डा. डिल बहादुर क्षेत्री र जोमसोमका गाउँ मुखिया चन्द्र बहादुर थकालीले मन्तव्य व्यक्त गरेका थिए ।
जिल्ला बाल न्याय समन्वय समितिका अध्यक्ष तथा जिल्ला न्यायधीश पिताम्बर शर्माको अध्यक्षता, बैतनिक अधिवक्ता बाबुराम अर्यालको स्वागत तथा जिल्ला अदालतका नायव सुब्बा शालिकराम न्यौपानेको संचालनमा सम्पन्न भएको कार्यक्रममा जिल्लास्थित सम्पूर्ण सरोकारवालाहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।  

पूर्व निर्धारित समयभन्दा १० दिन अगाडी अन्तरदेशीय व्यापारमेला बन्द !

मुस्ताङ साप्ताहिक
संवाददाता
उपल्लो मुस्ताङका स्थानीयलाई लक्षित गर्दै गत असार १ गते देखि २५ दिनका लागि कोरला नाका देखि करिब ७ किमि भित्र चीनको भूमिमा संचालित अन्तरदेशीय व्यापारमेला चीनले सुरक्षा कारण देखाउँदै १० दिनअघि नै बन्द गरेको छ ।
अन्तरदेशीय व्यापार मेलामा नेपाली पक्षलाई सहज प्रवेशका लागि असार १ गतेदेखि खोलिएको नाका पूर्वनिर्धारित समयअघि नै बन्द भएपछि मेला प्रभावित भएको छ । दुई देशको सहमति अनुसार हरेक वर्ष दुईपटक नेपाल र तिब्बतको सीमाक्षेत्रमा मेला आयोजना हुँदै आएको छ ।
स्रोतका अनुसार चीनले सुरक्षा संवेदनशीलता देखाउँदै नेपाली पक्षलाई पूर्व जानकारी नगराई अचानक कोरला नाकाबाट प्रवेश रोक लगाएको हो । २५ दिनका लागि नाका खोल्ने सहमति भएको थियो,’ एक उच्च सरकारी अधिकारीले भने, चिनियाँले हामीलाई जानकारी नै नदिई १० दिनअघि नै एक्कासि बन्द गरे ।
तोकिएको समयभन्दा पहिल्यै नाका बन्द गरे पनि ठूलो असर नपर्ने मुस्ताङका प्रमुख जिल्ला अधिकारी गणेश अधिकारीले बताए । २५ दिनका लागि खोल्ने सहमति थियो, प्रजिअ अधिकारीले भने, बिहीबारबाट नाका बन्द भएको अनौपचारिक जानकारी आएको छ । उनले सामान किन्न नेपाली व्यापारी नगएपछि चीनले नाका बन्द गरेको हुनसक्ने बताए । सुरक्षाको विषयमा चासो हुनु स्वाभाविक हो, उनले भने, सामान किन्न व्यापारी नगएका कारण बन्द गरेका हुन सक्छन् ।
दुई देशको सीमा क्षेत्रमा संचालन हुँदै आएको व्यापारिक मेलाको निरन्तरताक्रममा नाका खोलिएको थियो । सुरक्षा संवेदनशीलतालाई ध्यान दिँदै चीनले एक दशक अघिदेखि सीमामा तारबार लगाएर कोराला गेट बन्द गरेको थियो । कहिले नेपालको भूमि र कहिले चीनको भूमिमा आलोपालो संचालन हुँदै आएको उक्त मेला चीनको भूमिमा संचालन गरिएको थियो । उक्त क्षेत्रमा चिनियाँ व्यापारीले राखेका स्टलमा नेपाली व्यापारीले सामान किनेका छन् ।
तिब्बतको ढोङ्बासेन जिल्लाका र उपल्लो मुस्ताङका व्यापारीसहित सरकारी अधिकारीको समन्वयमा मेला आयोजना भएको हो । मेलामा मुस्ताङी र तिब्बती व्यापारीले सामान बिक्री गरेका थिए । मेलामा नेपालीले पनि तिब्बतमा उत्पादिन निर्माण सामग्री, लत्ताकपडा, दैनिक उपभोग्य वस्तु, पशु दाना, पस्मिना, ऊन, भेडा र च्यांग्राको सुकुटीलगायतका स्टल राखेको उपल्लो मुस्ताङका व्यापारी समाजसेवी इन्द्रधारा विष्टले बताए ।  मेलामा करिब पाँच करोडको कारोबार भएको अनुमान छ ।
अरु बेला बन्द रहने नाकामा व्यापार मेला स्थलसम्म चिनियाँ सुरक्षाकर्मीले सहज आवतजावतको व्यवस्था मिलाएका थिए । बर्खामा बेनी–जोमसोम सडक अवरुद्ध हुने भएकाले पनि उपल्लो म’स्ताङको छोसेर, छोन्हुप, लोमान्थाङ, चराङलगायतका बासिन्दाले तिब्बती सामान प्रयोग गर्छन् । नेपाली उत्पादनको तुलनामा चिनियाँ सामग्री सस्तो हुन्छ । पछिल्लो समय चिनियाँ व्यापारीले मोबाइल तथा इलोक्ट्रोनिक्स सामानसमेत मेलामा ल्याउने गरेका छन् ।
मेलामा तिब्बती धार्मिक नेता दलाइ लामाका तस्बिर, लकेटसहित पुस्तक बिक्री–वितरण गर्न रोक लगाइएको एक व्यापारीले बताए । मेला आसपास क्षेत्रमा धेरै दलाइ लामाका अनुनायी भएकाले पनि नाकामा कडाइ हुने गरेको व्यापारीको भनाइ छ । तिब्बती र उपल्लो मुस्ताङवासीले दलाइ लामालाई भगवानजस्तै मान्छन् ।
सन् २००२ मा मुस्ताङ–तिब्बतका सरकारी अधिकारीबीच भएको वार्तापछि दुई देशका बासिन्दालाई १० किलोमिटरसम्म निर्वाध आवतजावत गर्न दिने सहमति भए पनि अहिले त्यसो हुन सकेको छैन । विगतमा व्यापार मेलामा जाने मुस्ताङका व्यापारीलाई परिचयपत्र माग्ने, मनपरी मुल्य लिने गरिएकाले नेपाली व्यापारी मेलाप्रति रुष्ट थिए । सीमाक्षेत्रमा आयोजना हुने मेला मुस्ताङको बस्तीनजिकै ल्याउनुपर्ने प्रस्ताव छलफलका बेला राख्नुपर्ने उपल्लो मुस्ताङका बासिन्दाको माग छ ।
सहभागीका अनुसार यार्सागुन्बुसहित बहुमुल्य जडीबुटीप्रति चिनियाँ व्यापारीले चासो देखाउने गरेका छन् । मेलामा ढोङवासेन र लाब्राङ बजारका व्यापारीले निर्माण सामग्री, लत्ताकपडा, भेडाच्यांग्रा तथा घोडासमेत किनबेच गर्ने गर्छन । उक्त नाका नियमित सञ्चालन गर्न नेपाली पक्षले चिनियाँलाई पटक—पटक आग्रह गरे पनि सुरक्षाको कारण देखाउँदै नियमित सञ्चालनमा आउन सकेको छैन ।
उक्त नाका समुन्द्र सतहदेखि ४ हजार ६ सय ५० मिटरको उचाइ छ । सीमाक्षेत्रमा सोलार प्यानलजडित सिसी क्यामेराबाट चिनियाँ सेनाले नेपाली भूमिको निगरानी गर्ने गरेको छ । लामो समयदेखि बन्द रहेको नाका खोल्न सन् २०१३ मा तत्कालीन प्रधानमन्त्री बाबुराम भट्टराई र चिनियाँ प्रधानमन्त्री बेन जियावाओबीच सम्झौता भए पनि कार्यान्वयनमा आएको छैन ।


इन्धन र परमाणु हतियार निर्माणका लागि कच्चा पदार्थः मुस्ताङमा

मुस्ताङ साप्ताहिक
संवाददाता


युरेनियम अन्वेषण, पेट्रोलियम पदार्थ र नुनको खानी अध्ययन गर्न मुस्ताङ आएको सरकारी टोलीले आफ्नो अध्ययन पुरा गरेको छ ।
उपल्लो मुस्ताङको लोमान्थाङ क्षेत्रमा वि.सं २०७० र ७१ सालमा गरिएको प्रारम्भिक अन्वेषणबाट पत्ता लागेको युरेनियमको अध्ययनमा थप नयाँ तथ्य फेला परेको अध्ययन टोलीले दाबी गरेको छ ।
त्यस्तै, मुक्तिनाथ क्षेत्रमा पेट्रोलियम पदार्थको भण्डार र छुसाङ गाविसको तेताङमा नुनको खानी रहेको सरकारले औपचारिक रुपमा पुष्टि गरेको छ । खानी तथा भूगर्भ विभागले वि.सं २०७० र ७१ मा गरेको प्रारम्भिक अन्वेषणमा लोमान्थाङ क्षेत्रमा १० किमि लम्बाइ र तीन किमि चौडाइमा युरेनियम भेटिएको थियो ।
“युरेनियमका विषयमा नयाँ र सकारात्मक तथ्य फेला परेका छन, यसले हामीलाई थप उत्साहित बनाएको छ,” खानी तथा भूगर्भ विभागका वरिष्ठ भूगर्भविद् धर्मराज खड्काले भने, समग्रतामा यसमा धेरै प्रगति देखिएको छ, युरेनियमको परिमाण धेरै र गुणस्तर पनि उत्कृष्ट खालको भेटिएको छ । युरेनियमलाई इन्धन र परमाणु हतियार निर्माणका लागि कच्चापदार्थका रुपमा प्रयोग गर्न सकिन्छ ।
नेपालमा युरेनियम अन्वेषण र उत्खनन गर्न कानुन अभाव रहेको भन्दै त्यसतर्फ सरकारको ध्यानाकर्षण गराइएको भूगर्भविद् खड्काले जानकारी दिए ।
यही रुपमा प्रगति देखिँदै जाने हो भने अबको ४ वर्षभित्र हामी उत्खननको तहसम्म पुग्छौँ, त्यसका लागि हामीले तत्कालै आणविक ऐन बनाउनुपर्छ,’ उनले भने । भूगर्भ विभागका अनुसार, मकवानपुर, वैतडी र बझाङ जिल्लामा समेत युरेनियमको खानी भेटिएको छ । २० वर्षअघि छुसाङको तेताङ गाउँमा नुन उत्खनन हुने गरेपनि अहिले भने यो काम पूर्णरुपमा बन्द छ ।
खानी तथा भूगर्भ विभागका प्रमुख राजन पौडेलले स्थलगतरुपमा गरिएको अध्ययन र संकलन गरिएको तथ्यबाट मुक्तिनाथ क्षेत्रमा पेट्रोलियम पदार्थ र तेताङमा नुनको खानी रहेको पुष्टि भएको बताए ।
नुनका विषयमा हामी सबै जानकार छौँ, त्यसका साथै पेट्रोल र युरेनियमको खानी रहेको औपचारिक रुपमा पुष्टि भयो,’ प्रमुख पौडेलले भने ।
लोमान्थाङमा युरेनियम अन्वेषणका लागि उद्योग मन्त्रालयले थप प्राविधिक टोली छिट्टै खटाउने उद्योगमन्त्री सोमप्रसाद पाण्डेले बताए ।
कानुन बनाउन पनि मन्त्रालय लाग्नेछ भने त्यसपूर्व यसको सबै प्रक्रिया पुरा गर्न राज्यले कुनै कसर बाँकी राख्नेछैन, आवश्यक परे विदेशी सहयोग पनि लिन्छौँ,’ उनले भने ।
सोमबार मुस्ताङ आएको टोली बुधबार राजधानी फर्किएको छ ।
युरेनियम क्यान्सरको उपचार तथा परमाणु हतियार बनाउनको लागि निकै महत्वपूूर्ण मानिन्छ । आणविक हातहतियार निर्माणको लागि अन्तराष्ट्रिय बजारमा पनि युरेनियमको अत्याधिक माग तथा यसको अत्याधिक मुल्य पर्ने भएकोले खानी उत्खनन गरी युरेनियम निर्यात गर्न सके देशको आर्थिक समृद्धिका लागि धेरै समय नलाग्ने बताइएको छ ।