Wednesday, July 27, 2016

बाढीका कारण सडक अवरुद्ध यात्रु मर्कामा !

मुस्ताङ साप्ताहिक संवाददाता
मुस्ताङ, १२ श्रावण
अविरल वर्षा संगै आएको बाढी पहिरोका कारण मुस्ताङका विभिन्न ठाउँमा सडक अवरुद्ध हुँदा यात्रु मर्कामा परेका छन् ।
जिल्लाको विभिन्न ठाउँमा बाढीले सडक तथा पुल बगाउँदा मुस्ताङमा आवतजावत गर्ने सवारीका साधन संचालन हुन नसकेको र मानिस हिड्ेर गन्तव्य सम्म पुग्ने बाटो पनि नभएको यात्रुहरु बताउछन् ।
बाढीले कारण मार्फाको राजखोला गहिरिदै गई पुल बगाएर यात्रु आवत जावत ठप्प भएको छ । त्यस्तै कागबेनीमा काग खोलामा पानीको सतह बढेर वस्ती जोखिममा परेको र समरको समर खोलामा आएको बाढीका कारण ग्याबिन, सडक, सिचाई र खानेपानी बगाएको आज बुधवार जिल्ला प्रशासन कार्यालयमा बसेको विपत व्यवस्थापन समितिको बैठकमा प्रजिअ गणेश बहादुर अधिकारीले जानकारी दिए ।
त्यसैगरी छुसाङमा कालीगण्डकी नदीमा पानीको सतह पुल बराबर आई  आसपासको जमिन कटान गरेको, खोलाले झोङमा जमिन कटान गरेको, पाण्डाखोला जथाभावि बग्दा यात्रुलाई आवतजावतमा समस्या भएको छ ।
कालीगण्डकीमा बढ्दो पानीको सतह संगै सौरु, खन्ती र कोखेठाँटी पनि बाढीको जोखिममा रहेको स्थानियहरु बताउँछन् ।
जानकारहरुका अनुसार असार, साउन र भदौमा मुस्ताङमा बाढिको समस्या आउने गरेको छ । यी महिनामा नदि किनारका वस्ती तथा बाढी आउन सक्ने संभावित क्षेत्रका वासिन्दाले उच्च सतर्कता अपनाउनु पर्ने जानकारहरु बताउँछन् ।
भैपरि आउने विपत व्यवस्थापनका लागि जिल्लामा विपत व्यवस्थापन सामाग्री संचित गरेर राख्नुपर्ने नेकपा एमाले मुस्ताङका अध्यक्ष चन्द्रमोहन गौचनले बताए । विभिन्न ठाउँमा गएको बाढीले यात्रामा समस्या भएकाले यात्रुको सहज यात्राको लागि पूर्वाधार निर्माणमा आफुले पहल गरिरहेको गौचनको भनाई छ ।  
बाढीले ठाउँ ठाउँमा पुल बगाउँदा यात्रुलाई आवतजावतमा समस्या भएको छ । मानिस हिड्छु भन्दा पनि हिड्नको लागि बाटो छैन् । प्रजिअ अधिकारीले भने ।
सडक विभाग आउन समय लाग्ने भएकाले तत्कालको समस्या सुल्झाउनको लागि जिविसको संयोजकत्वमा भीमदल गण, सैनिक उच्च शिखर शिक्षालय र शसस्त्र प्रहरीको टोलीलाई मार्फा खोलामा पूर्वाधार निर्माणको लागि पठाएको प्रजिअ अधिकारीले जानकारी दिए ।
पूर्वाधार निर्माण पश्चात यात्रुलाई आवतजावतको लागि समस्या नहुने, जिल्लाका विभिन्न ठाउँमा भएका विपतका समस्या सुल्झाउन पहल गरिरहने र भैरहेका कामको अनुगमन निरिक्षण गरिने प्रजिअ अधिकारीको भनाई छ ।      

No comments:

Post a Comment