Monday, July 11, 2016

लोमान्थाङमा इलाका प्रशासन कार्यालय संचालन गरिने !

मुस्ताङ साप्ताहिक संवाददाता
नयाँ आर्थिक वर्ष अर्थात श्रावण १ गते देखि उपल्लो मुस्ताङको लोमान्थाङमा इलाका प्रशासन कार्यालय संचालन गरिने भएको छ ।  जिल्ला प्रशासन कार्यालयको पहलमा मन्त्री परिषदको बैठकको निर्णय पश्चात लोमान्थाङमा इलाका प्रशासन कार्यालय संचालन गर्न लागिएको हो ।
मुस्ताङ भौगोलिक विकट जिल्ला भएकाले उपल्लो मुस्ताङका स्थानियलाई जोमसोममा झरि सरकारी सेवा सुविधा लिन समस्या हुने हुँदा उपल्लो मुस्ताङ र सो क्षेत्रका स्थानियलाई लक्षित गर्दै लोमान्थाङमा इलाका प्रशासन कार्यालय संचालन गर्न लागेको प्रमुख जिल्ला अधिकारी गणेश बहादुर अधिकारीले जानकारी दिए ।
इलाका प्रशासन कार्यालय संचालनको लागि इलाका प्रशासक जितेन्द्र वलामीको टोली जोमसोम आइपुगेको छ । सबै तयारी पुरा गरी उपल्लो मुस्ताङको लोमान्थाङमा इलाका प्रशासन कार्यालय सुचारु गर्ने प्रशासक वलामीले बताए ।
इलाका प्रशासन कार्यालय नियमित संचालनको लागि हाल एक जना अधिकृत, दुई जना नासु, एक जना लेखापाल र एक जना कार्यालय सहयोगी सहित पाँच जनाको दरबन्दी रहेको र तत्कालको लागि लोमान्थाङ स्थित आरसियुपिको भवनमा कार्यालय स्थापना गरी दैनिक कार्य सम्पादन गरिने बताइएको छ ।
इलाका प्रशासन संगसंगै कुनै एक वटा बैँकको शाखा पनि उक्त क्षेत्रमा विस्तार गर्ने प्रयास भैरहेको प्रजिअ अधिकरीको भनाई छ ।
इलाका प्रशासन कार्यालय लोमान्थाङमा संचालन भए पश्चात उपल्लो मुस्ताङ क्षेत्रका स्थानियलाई नागरिकता वितरण, पासपोर्ट फारम भर्ने लगायत जिल्ला प्रशासन कार्यालय मुस्ताङले गर्ने र सो बाहेक उपल्लो मुस्ताङमा आवश्यक र जिल्ला प्रशासनले  अख्तियारी दिएका सम्पूर्ण कार्यहरु गर्ने र अन्य गैसस निकायहरु संग यवं समन्वय गरी काम गर्ने प्रजिअ अधिकारीले बताए ।
लोमान्थाङमा वि.सं. २०३५ सालमा तत्कालिन खम्पा विद्रोह पछि सीमावर्ती क्षेत्रको सुरक्षाको लागि सिमा प्रशासन स्थापना भएको र केही वर्ष प्रभावकारी रुपमा सीमा प्रशासनले काम गरेतापनि समयको विकास संगसंगै व्यवस्थित हुन नसक्दा सिमा प्रशासन आंशिक संचालन हुन पुगेको नागरिक अगुवा एवं रेडक्रस मुस्ताङका सभापति चन्द्र बहादुर थकालीले बताए ।

No comments:

Post a Comment