![](https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEgD4tJT_vmK06hwSs6MJt2XgDNnq4X7DFeNyqwrTsbJEI0Nc8s3O_GROsnzBd_gCdL1nutyVkX0Q8IRu_lOG8H_agY4Jvn87V9kTyRsCU11GnAPcj1nvto_lqz_KjrLYdFhr5keFMIjl_g/s320/Chauri-Mela-_Magdi.jpg)
मुस्ताङ, ५ साउन
परम्परागत रुपमा मुस्ताङको जोमसोम गाविस स्थित नमखुलेकमा संचालन हुँदै आएको चौरीको आलो रगत पिउने मेला बुधवार देखि शुरु भएको छ ।
विगतका वर्ष हरुमा जस्तै यस वर्ष पनि नमखुलेकमा जोमसोमका कृषकले पालेका चौरीको आलो रगत पिउने मेला शुरु भएको हो ।
साउन ५ गते बाट शुरु हुने चौरीको आलो रगत पिउने मेला साउन १३ गतेसम्म संचालन गरिने स्थानिय चौरी पालक किसान भूपेन्द्र शेरचनले जानकारी दिए ।
उच्च हिमाली क्षेत्रमा यार्सागुम्बा, जटामसी, पाँचऔले लगायतका बहुमुल्य जडिबुटी खाएका चौरीको आलो रगत पिएमा पेट सम्बन्धी रोगहरु निको हुनुका साथै शारिरीक स्फुर्ती बढ्ने जनविश्वास रहि आएको छ ।
मेलामा प्रतिदिन ५० जना भन्दा बढि मानिसले चौरीको रगत पिउने अनुमान गरिएको छ । प्रति गिलास १६० का दरले चौरीको रगत विक्रि गरिने शेरचनले बताए । नमखुलेकमा चौरीको रगत पिउन आउनेलाई खाने बस्ने व्यवस्था पनि मिलाएका छौँ । शेरचनले भने ।
लेकमा चरेको चौरीको आलो रगत पिउनाले गानोगोला, ग्याष्ट्रिक, मधुमेह, सुन्नेको, सर्केमर्केको, हाडजोर्नी दुख्ने र पेटको समस्या लगायतका रोग निको हुने विश्वास रहँदै आएको छ ।
![](https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjAyoi7kRtWDM63E_yy_dJv8mgX5z7RC1f9iWMaCkz5zyHZqBUAbK47P08Rsq8PoESSAMUyyk43ZGNq0BzpvKboAsirkGhk1rls9xBnTnSTraS5on-j4aG57rIJyC8v5YTr5lltiVajpTM/s320/ragat+nikaldai.jpg)
जोमसोमका किसानले नमखुलेकमा व्यवसायिक रुपमा पालेको चौरीबाट आवश्यकताको आधारमा याकको घाँटीमा सुईरोले रोपेर एउटा भाले याकबाट करिब १५–१८ गिलास सम्म रगत निकाल्ने गरिन्छ ।
परम्परागत रुपमा संचालन हुँदै आएको जिउँदै पशुवाट रगत निकालेर पिउने मेलालाई पशु अधिकारकर्मीहरुले पशु अधिकार विपरीत रहेको बताएका छन् । परिक्षण नगरी खाएको चौरीको आलो रगतले रोग निको हुँने कुनै वैज्ञानिक आधार नभएकाले परम्परालाई रोक्न हामीले आग्रह गरेका छौँ, वरिष्ठ पशु विकास अधिकृत डा. नन्दलाल बर्माले भने । रगतलाई खान हुन्न भन्ने मिट साइन्सको भनाइ रहेको डा. बर्माले बताए ।
No comments:
Post a Comment