Tuesday, July 12, 2016

सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न !

मुस्ताङ साप्ताहिक संवाददाता
मुस्ताङ, २८ असार
जिल्ला कृषि विकास कार्यालय मुस्ताङको आयोजनामा जिविस सभाहल जोमसोममा मंगलवार सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । आ.व. ०७२÷०७३ मा जिल्ला कृषि विकास कार्यालयले गरेका कार्यको कार्यपत्र प्रस्तुत र कृषकका गुनासा सुन्न र सुझाव संकलनको लागि कार्यक्रमको आयोजना गरिएको हो ।
कार्यलयले वर्षभरि गरेका कार्यक्रमको कार्यपत्र प्रस्तुत गर्दै वरिष्ठ कृषि विकास अधिकृत सावित्री बरालले कृषिमा जिल्लालाई आत्मनिर्भर बनाउन स्याउ बगैचा स्थापना, ओखर बगैचा स्थापना, उन्नत खाद्य तथा तरकारी किट वितरण लगायतका कार्यहरु गरेको बताईन् ।
आ.व. ०७२÷०७३ मा जिल्लामा कृषि विकासका लागि चालु बजेट तर्फ ४ करोड २० लाख ४३ हजार र पुँजिगत तर्फ ४३ लाख ८० हजार रहेको वरिष्ठ कृषि विकास अधिकृत बरालले जानकारी दिईन् ।
स्याउको राजधानी भनेर चिनिने मुस्ताङमा यो आर्थिक वर्षमा स्याउको विकासको लागि कृषकलाई ५० प्रतिशत अनुदानमा ३३ हजार स्याउको विरुवा वितरण गरेको व.कृ.वि.अ. बरालको भनाई छ ।
जिल्लामा कृषि उपजको विकास र विस्तारका लागि जिल्ला कृषि विकास कार्यालयले बागवानी विकास तथा स्याउ आत्मनिर्भर कार्यक्रम, सहकारी खेती, साना सिंचाई तथा मल विउ ढुवानी कार्यक्रम, एकिकृत वाली तथा जल व्यवस्थापन कार्यक्रम, कर्णाली अंचल कृषि विकास कार्यक्रम, आलु तरकारी मसला बाली कार्यक्रम र युवा लक्षित कार्यक्रम संचालन गरेको कृषि विकास कार्यालयले जनाएको छ ।
त्यसैगरी कृषि विकास कार्यालयले ५० प्रतिशत अनुदानमा खायन तथा विउ वितरण, मागमा आधारित हाते ट्याक्ट्रर, रिफर, जुसरको वितरण, स्याउ र ओखारको विउ वितरण गरेको बताइएको छ ।
समुह, सहकारीहरुले सार्वजनिक जग्गामा व्यवसायिक स्याउ खेती गरेको, अल्पकालिन बसाईसराई, कृषकले कृषि पेशालाई अल्पकालिन पेशाको रुपमा मात्र लिनुले यस आ.व. मा समुह सहकारी मार्फत अनुदानका कार्यक्रमहरु संचालन गर्न असहज भईरहेको, कृषकलाई दिईने अनुदानका सामाग्रीहरु ढुवानीमा अत्यन्त कठिनाई भएको व.कृ.वि.अ. बरालले बताईन् ।
साथै उनले यी समास्याको समाधानका लागि कानूनी दायरामा ल्याउन जि.प्र.का. वाट आवश्यक पहल भैरहेको र कृषि विभाग, मन्त्रालयमा लिखित मौखिक अनुरोध गरेको जानकारी दिईन् ।
कार्यक्रममा कृषकहरुले कृषि उपजमा विभिन्न रोगले सताउने गरेको, थप कृषि तालिम संचालन गर्नुपर्ने, मलमा अनुदान दिनुपर्ने र स्याउको कार्टुन छाप्न सहकारी मात्र नभई कृषक समुहलाई दिनुपर्ने लगायतका समस्या तथा माग रोखेका थिए ।
कृषको जिज्ञासाको जवाफ वरिष्ठ कृषि विकास अधिकृत सावित्री बरालले दिएकी थिईन् ।
सो अवसरका बोल्दै प्रमुख जिल्ला अधिकारी गणेश बहादुर अधिकारीले सार्वजनिक जग्गामा व्यवसाय संचालन गर्न नहुने बताउँदै यदि कसैले त्यसो गरेको भए त्यसलाई तुरुन्तै हटाउन आग्रह गरे । साथै उनले कृषकको आवश्यकता अनुसार फलफूलका विरुवा उपलब्ध गराउन शितोष्ण बागवानी केन्द्रले विभिन्न सरोकारवाला निकाय संग समन्वय गरेर काम गर्न निर्देशन दिदैँ स्याउको ग्रेडिङ मेसिन सदुपयोगमा ल्याउन कृषि विकास कार्यालयले पहल गर्नुपर्ने बताए ।
कार्यक्रममा स्थानिय विकास अधिकारी हरिप्रसाद बास्तोला, नागरिक अगुवा चन्द्र बहादुर थकालीले मन्तव्य व्यक्त गरेका थिए ।
स्थाविअ वास्तोलाको अध्यक्षता र जि.कृ.वि.का. का तप्तबहादुर गुरुङको संचालनमा सम्पन्न भएको कार्यक्रममा सुरक्षा अधिकारी, राजनैतिक दल, नागरिक समाज, नागरिक अगुवा तथा कृषकहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।      
     

No comments:

Post a Comment