Thursday, July 21, 2016

पाण्डाखोला पुल निर्माणमा चरम लापर्बाही !


मुस्ताङ साप्ताहिक संवाददाता
कालीगण्डकी करिडोर अन्तर्गतको जोमसोम–कागबेनी सडकखण्ड स्थित पाण्डाखोलाको पुल निर्माण कार्यमा चरम लापर्बाही गरेको भेटिएको छ ।
पुल निर्माण कार्यमा कमसल खालको सामाग्री तथा ग्रेडिङ नगरिकन सिधै खोलाबाट उठाएर गिट्टी, बालुवा लगायतका निर्माण सामाग्रीको प्रयोग गरेको भेटिएको हो । उक्त पुल निर्माणमा ठेकेदार कम्पनी गैर जिम्मेवार बन्दा निर्माणधीन पुल कमजोर र दिगो नहुने सरोकारवालाको भनाई छ ।
प्रजिअ गणेश बहादुर अधिकारी, जिल्ला इन्जिनियर रविन्द्र तिवारी, डिएसपी हरिहरनाथ योगी, पत्रकार लगायतको टोलीले निर्माणधीन पाण्डाखोला पुलको अनुगमन गर्ने क्रममा निर्माण कार्यमा लापार्वाही गरेको भेटिएको हो ।  
कालीगण्डकी करिडोर अन्तर्गतको सो पुल निर्माण जिम्मा ठेकेदार कम्पनी शंकर माली÷एलाईड जेभीले लिएको छ ।
करिडोर अन्तरगत धेरै आयोजना सम्पन्न गर्नुपर्ने भएकाले पाण्डाखोलामा ध्यान दिन नसकेको कालीगण्डकी करिडोर पाल्पाका प्रमुख राम सुवेदीले बताए । कामदारले जस्तो पायो त्यस्तै गिट्टी बालुवाको प्रयोग गर्नु गल्ती भएको स्विकार्दै करिडोर प्रमुख सुवेदीले पाण्डाखोलामा समस्या देखिएपछि काम रोकिएको र गुणस्तरिय निर्माण सामाग्रीको व्यवस्था गरेर तुरुन्तै काम सुचारु गरेको जानकारी दिए ।
सुरुमा ठेकेदारले काम नगरी होल्डमा राखेको र बारम्बार ताकेता गरी काम पुनः संचालन गरिएको सुवेदीको भनाई छ ।

No comments:

Post a Comment