Thursday, July 14, 2016

चीनले राहत सामाग्रीलाई निरन्तरता दिने !

मुस्ताङ साप्ताहिक संवाददाता
मुस्ताङ, ३० असार
विगतका वर्षहरुमा जस्तै यस वर्ष पनि चीनले उपल्लो मुस्ताङका वासिन्दालाई उपलब्ध गराउँदै आएको राहत सामाग्रीलाई निरन्तरता दिने भएको छ ।
गत असार २७ गते चीनको ढोङवासेन जिल्लाका प्रमुख जिल्ला अधिकारी तेन्जिङको नेतृत्वमा  उपल्लो मुस्ताङको लोमान्थाङमा स्थानियको माग संकलन गर्न आएको टोलीले चीनले उपलब्ध गराउँदै आएको राहत सामग्रीलाई निरन्तरता दिने बताएको हो ।
चीनको ढोङवासेन जिल्लाले सिमाक्षेत्रमा पर्ने उपल्लो मुस्ताङका ६ गाविसमा नियमित रुपमा राहत समाग्री प्रदान गर्दै आएको छ ।
चीनले दिने राहत तथा नेपाल पक्षले चीन संग गर्ने मागकोे सन्दर्भमा जिल्ला प्रशासन कार्यालय मुस्ताङको सुशासन बैठकले दीर्घकालिन प्रकृतिका राहत सहयोग माग गर्ने निर्णय र निर्देशन बमोजिम स्थानियले विशेषगरी बेली ब्रिज र सोलार सिस्टमको माग गरेको प्रमुख जिल्ला अधिकारी गणेश बहादुर अधिकारीले जानकारी दिए ।
उपल्लो मुस्ताङका स्थानियले गरेको माग अनुसार यस वर्ष चीनले लोमान्थाङ, छोसेर, छोन्हुप र सुरखाङ गाविसमा ५ वटा बेली ब्रिज दिने निर्णय गरेको लोमान्थाङ गाविसका गाविस सचिव घ्यूर्मि आङग्याल विष्टले जानकारी दिए ।
साथै चीनले उपल्लो मुस्ताङका ६ गाविस मध्ये ५ गाविसमा सोलार सिस्टम जडान गर्ने, सिमेन्ट, छड, फलेक लगाएतका राहत समाग्रीको माग संकलन गरेको लोमान्थाङका सचिव विष्टले बताए ।
गत वर्ष चीनले लोमान्थाङमा ७० किलोवाटको सोलार प्लान्ट जडान सँगै छड, सिमेन्ट तथा घरायसी समान वितरण गरेकोे थियो ।
माग संकलनको लागि चीनियाँ टोलीमा ढोङवासेनका प्रजिअ तेन्जिङ, ल्हासा स्टेटका व्यापार वाणिज्य प्रमुख सहित २३ जना प्रतिनिधिहरु र नेपाल पक्षबाट इलाका प्रशासन कार्यालय लोमान्थाङ, एक्याप लगायत उपल्लो मुस्ताङको ६ गाविसका स्थानिय प्रतिनिधिको सहभागिता रहेको थियो ।
माग अनुसारका समाग्री नेपाल तथा चीन पक्षले दुतावास मार्फत मन्त्रालयमा पठाउने र मन्त्रालयले निर्णय गरी माग भएका समाग्री वितरण तथा निर्माण गरिने बताइएको छ ।

No comments:

Post a Comment