Thursday, July 21, 2016

धौलागिरी बोर्डिङ स्कुल अख्तियारको फन्दामा !

मुस्ताङ साप्ताहिक संवाददाता
मुस्ताङ ६, श्रावण
    जोमसोम गाविस स्थित धौलागिरी आवासिय मावि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको छानविनमा परेको छ ।
नेपालको प्रचलित कानून विपरित सार्वजनिक जग्गामा विद्यालय बनाई व्यक्तिगत लाभ लिएको भन्दै विगत केही समय अगाडी अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा बेनामे उजुरी परेकाले अख्तियारले उक्त उजुरी उपर छानविन प्रक्रिया अगाडी बढाएको हो ।
         अख्तियारमा उजुरी दर्ता भए पश्चात आयोगले जिल्ला मालपोत कार्यालय, जिल्ला नापी कार्यालय र विद्यालय संचालक समिति लगायत सरोकारवाला निकाय मार्फत छानविन गर्दा विद्यालय निजि लाभको लागि सार्वजनिक जग्गामा संचालन गरेको आयोगले निष्कर्ष निकालेको छ ।
    मुस्ताङमा मुखिया प्रथा कायम रहेको र सो प्रथाको प्रचलन अनुसार धौलागिरी आवासिय मावि संचालक समितिले मुखियाको मातहातबाट जग्गा खरिद गरी विद्यालय संचालन गरेको आशंकामा अख्तियारले छानविन गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका क्षेत्रिय प्रमुख डिल्लीराम शर्माले बताए ।
    मुस्ताङमा लामो समय देखि मुखियाको मातहातबाट सार्वजनिक जग्गा खरिद विक्रि हुँदै आएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ठम्याई छ ।
आयोगले उक्त विद्यालय भएको जग्गा नापजाँच गरेर जग्गा निजि वा सार्वजनिक भएको एकिन गरी सोको विवरण अख्तियारमा पठाउन नापी कार्यालय मुस्ताङमा पत्रचार गरेपछि स्थलगत नापजाँच गर्ने क्रममा सो विद्यालयको संरचना ५ रोपनी भन्दा बढि क्षेत्रफल भएको सार्वजनिक जग्गामा बनेको देखिएको जिल्ला नापी कार्यालय मुस्ताङले जनाएको छ ।
    सम्पूर्ण छानविन प्रक्रिया पुरा गरी अख्तियारले उक्त विद्यालयले प्रचलित कानून विपरित सरकारी जग्गामा व्यक्तिगत लाभ लिएको ठहर गरेको छ ।
    अख्तियारको छानविनको क्रममा सो विद्यालय सार्वजनिक जग्गामा बनाई निजि लाभको लागि प्रयोगमा आएको भन्दै आयोगले विद्यालय खाली गर्न तिन महिनाको अल्टिमेटम दिएको छ ।
    छानविन प्रक्रिया पुरा गरि अख्तियारको च.नं. २३६५ को पत्रबाट “गत वैशाख २७ गते जिल्ला प्रशासन कार्यालयलाई ३ महिना भित्र सो विद्यालय भवन खाली गराई सो संरचना सरकारको मातहातमा लिई अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा जानकारी पठाउन निर्देशन आएको प्रमुख जिल्ला अधिकारी गणेश बहादुर अधिकारीले बताए ।”
    प्रजिअ अधिकारीले भने, “अख्तियारले हामीलाई उक्त विद्यालयको संरचना भएको जग्गा खाली गराई सोको जानकारी आयोगमा पठाउन निर्देशन दिएको छ । सोही अनुरुप गत वैशाख २७ गतेको मितिले ३ महिना भित्र विद्यालयले कब्जा गरेको जग्गा खाली गर्न विद्यालय संचालक समितिलाई निर्देशन दिएका छौँ ।”
    वि.सं. २०५९ सालमा तत्कालिन जोमसोम गाविस अध्यक्ष स्व.लक्ष्मी प्रसाद थकालीको अध्यक्षतामा जोमसोम गाविसमा बसेको बैठक तथा गाउँ परिषदको निर्णयले गाविसको जुनसुकै ठाउँमा विद्यालय बनाउन स्विकृति दिएपछि उक्त स्थानमा विद्यालय बनाएको धौलागिरी आवासिय माविका प्रिन्सिपल चन्द्र बहादुर गुरुङले बताए ।
    विद्यालयमा चार थान अर्थात ३६ लाख जोमसोम गाविसको नाममा सेयर रहेको छ । गाविसको स्विकृति अनुसार सो जग्गामा विद्यालय संचालन गरेका हौँ । तत्कालै भौतिक संरचना भत्काउनु भन्दा पनि राज्यको जुनसुकै प्रक्रियामा पनि जान तयार छौँ । गुरुङले भने ।
    २ करोडको लगानीमा ५ रोपनी भन्दा बढि क्षेत्रफल रहेको उक्त जग्गामा बनेको २८ कोठे दुई तले भवनमा विद्यालय संचालन गरेको २ वर्ष भएको गुरुङले बताए ।
हाल विद्यालयमा ३८५ जना विद्यार्थीले अध्ययन र १९ जना शिक्षकशिक्षिकाले अध्यापन गराई रहेका छन् ।         
  

No comments:

Post a Comment