Sunday, July 10, 2016

पूर्व निर्धारित समयभन्दा १० दिन अगाडी अन्तरदेशीय व्यापारमेला बन्द !

मुस्ताङ साप्ताहिक
संवाददाता
उपल्लो मुस्ताङका स्थानीयलाई लक्षित गर्दै गत असार १ गते देखि २५ दिनका लागि कोरला नाका देखि करिब ७ किमि भित्र चीनको भूमिमा संचालित अन्तरदेशीय व्यापारमेला चीनले सुरक्षा कारण देखाउँदै १० दिनअघि नै बन्द गरेको छ ।
अन्तरदेशीय व्यापार मेलामा नेपाली पक्षलाई सहज प्रवेशका लागि असार १ गतेदेखि खोलिएको नाका पूर्वनिर्धारित समयअघि नै बन्द भएपछि मेला प्रभावित भएको छ । दुई देशको सहमति अनुसार हरेक वर्ष दुईपटक नेपाल र तिब्बतको सीमाक्षेत्रमा मेला आयोजना हुँदै आएको छ ।
स्रोतका अनुसार चीनले सुरक्षा संवेदनशीलता देखाउँदै नेपाली पक्षलाई पूर्व जानकारी नगराई अचानक कोरला नाकाबाट प्रवेश रोक लगाएको हो । २५ दिनका लागि नाका खोल्ने सहमति भएको थियो,’ एक उच्च सरकारी अधिकारीले भने, चिनियाँले हामीलाई जानकारी नै नदिई १० दिनअघि नै एक्कासि बन्द गरे ।
तोकिएको समयभन्दा पहिल्यै नाका बन्द गरे पनि ठूलो असर नपर्ने मुस्ताङका प्रमुख जिल्ला अधिकारी गणेश अधिकारीले बताए । २५ दिनका लागि खोल्ने सहमति थियो, प्रजिअ अधिकारीले भने, बिहीबारबाट नाका बन्द भएको अनौपचारिक जानकारी आएको छ । उनले सामान किन्न नेपाली व्यापारी नगएपछि चीनले नाका बन्द गरेको हुनसक्ने बताए । सुरक्षाको विषयमा चासो हुनु स्वाभाविक हो, उनले भने, सामान किन्न व्यापारी नगएका कारण बन्द गरेका हुन सक्छन् ।
दुई देशको सीमा क्षेत्रमा संचालन हुँदै आएको व्यापारिक मेलाको निरन्तरताक्रममा नाका खोलिएको थियो । सुरक्षा संवेदनशीलतालाई ध्यान दिँदै चीनले एक दशक अघिदेखि सीमामा तारबार लगाएर कोराला गेट बन्द गरेको थियो । कहिले नेपालको भूमि र कहिले चीनको भूमिमा आलोपालो संचालन हुँदै आएको उक्त मेला चीनको भूमिमा संचालन गरिएको थियो । उक्त क्षेत्रमा चिनियाँ व्यापारीले राखेका स्टलमा नेपाली व्यापारीले सामान किनेका छन् ।
तिब्बतको ढोङ्बासेन जिल्लाका र उपल्लो मुस्ताङका व्यापारीसहित सरकारी अधिकारीको समन्वयमा मेला आयोजना भएको हो । मेलामा मुस्ताङी र तिब्बती व्यापारीले सामान बिक्री गरेका थिए । मेलामा नेपालीले पनि तिब्बतमा उत्पादिन निर्माण सामग्री, लत्ताकपडा, दैनिक उपभोग्य वस्तु, पशु दाना, पस्मिना, ऊन, भेडा र च्यांग्राको सुकुटीलगायतका स्टल राखेको उपल्लो मुस्ताङका व्यापारी समाजसेवी इन्द्रधारा विष्टले बताए ।  मेलामा करिब पाँच करोडको कारोबार भएको अनुमान छ ।
अरु बेला बन्द रहने नाकामा व्यापार मेला स्थलसम्म चिनियाँ सुरक्षाकर्मीले सहज आवतजावतको व्यवस्था मिलाएका थिए । बर्खामा बेनी–जोमसोम सडक अवरुद्ध हुने भएकाले पनि उपल्लो म’स्ताङको छोसेर, छोन्हुप, लोमान्थाङ, चराङलगायतका बासिन्दाले तिब्बती सामान प्रयोग गर्छन् । नेपाली उत्पादनको तुलनामा चिनियाँ सामग्री सस्तो हुन्छ । पछिल्लो समय चिनियाँ व्यापारीले मोबाइल तथा इलोक्ट्रोनिक्स सामानसमेत मेलामा ल्याउने गरेका छन् ।
मेलामा तिब्बती धार्मिक नेता दलाइ लामाका तस्बिर, लकेटसहित पुस्तक बिक्री–वितरण गर्न रोक लगाइएको एक व्यापारीले बताए । मेला आसपास क्षेत्रमा धेरै दलाइ लामाका अनुनायी भएकाले पनि नाकामा कडाइ हुने गरेको व्यापारीको भनाइ छ । तिब्बती र उपल्लो मुस्ताङवासीले दलाइ लामालाई भगवानजस्तै मान्छन् ।
सन् २००२ मा मुस्ताङ–तिब्बतका सरकारी अधिकारीबीच भएको वार्तापछि दुई देशका बासिन्दालाई १० किलोमिटरसम्म निर्वाध आवतजावत गर्न दिने सहमति भए पनि अहिले त्यसो हुन सकेको छैन । विगतमा व्यापार मेलामा जाने मुस्ताङका व्यापारीलाई परिचयपत्र माग्ने, मनपरी मुल्य लिने गरिएकाले नेपाली व्यापारी मेलाप्रति रुष्ट थिए । सीमाक्षेत्रमा आयोजना हुने मेला मुस्ताङको बस्तीनजिकै ल्याउनुपर्ने प्रस्ताव छलफलका बेला राख्नुपर्ने उपल्लो मुस्ताङका बासिन्दाको माग छ ।
सहभागीका अनुसार यार्सागुन्बुसहित बहुमुल्य जडीबुटीप्रति चिनियाँ व्यापारीले चासो देखाउने गरेका छन् । मेलामा ढोङवासेन र लाब्राङ बजारका व्यापारीले निर्माण सामग्री, लत्ताकपडा, भेडाच्यांग्रा तथा घोडासमेत किनबेच गर्ने गर्छन । उक्त नाका नियमित सञ्चालन गर्न नेपाली पक्षले चिनियाँलाई पटक—पटक आग्रह गरे पनि सुरक्षाको कारण देखाउँदै नियमित सञ्चालनमा आउन सकेको छैन ।
उक्त नाका समुन्द्र सतहदेखि ४ हजार ६ सय ५० मिटरको उचाइ छ । सीमाक्षेत्रमा सोलार प्यानलजडित सिसी क्यामेराबाट चिनियाँ सेनाले नेपाली भूमिको निगरानी गर्ने गरेको छ । लामो समयदेखि बन्द रहेको नाका खोल्न सन् २०१३ मा तत्कालीन प्रधानमन्त्री बाबुराम भट्टराई र चिनियाँ प्रधानमन्त्री बेन जियावाओबीच सम्झौता भए पनि कार्यान्वयनमा आएको छैन ।


No comments:

Post a Comment