Thursday, December 1, 2016

हामी सबैको काम एचआइभीको रोकथाम

केशव बि.क./मुस्ताङ साप्ताहिक
मुस्ताङ १६ मंसिर

हामी सबैको काम एचआइभीको रोकथाम भन्ने मुल उद्घोषका साथ २९ औँ विश्व एड्स दिवस मुस्ताङमा पनि मनाईएको छ । जिल्ला स्वास्थ्य कार्यालय मुस्ताङको आयोजनामा अन्तरक्रिया कार्यक्रम सहित बिहिबार जिविस सभाहलमा विश्व एड्स दिवस मनाईएको हो । अन्तरक्रिया कार्यक्रमको सहजीकरण गर्दै जिल्ला एड्स समन्वय समितिका सदस्य सचिव एवं जिल्ला स्वास्थ्य प्रमुख शम्भु ज्ञवालीले असुरक्षित यौन सम्पर्कका कारण एचआईभीको जोखिम बढी भएकाले सबैलाई सचेत गराउनुपर्नेमा जोड दिदँै उपस्थित सबैलाई एचआइभी एड्सको बारेमा जानकारी गराए ।
जिल्ला अस्पताल जोमसोममा गत वर्ष ६५ जनामा गरिएको एचआइभी परामर्श तथा टेस्टिङमा ६४ जना एचआइभी नेगेटिभ र एकजनामा एचआईभि पोजेटिभ देखिएको जिल्ला स्वास्थ्य प्रमुख ज्ञवालीले जानकारी दिए ।
हाल नेपालमा पुरुष १७ हजार ९ सय ४९, महिला १० हजार ८ सय २४, तेस्रो लिंङ्गि ९२ जना गरी २८ हजार ८ सय ६५ जना एचआइभी संक्रमित रहेको बताईएको छ । नेपालमा १५ वर्ष देखि ४९ वर्षको उमेर समुहका एचआइभी व्याप्तता दर ०.२० अर्थात प्रतिहजार दुई जनामा रहेको अनुमान गरिएको छ । सन् २०१५ को डिसेम्बर सम्ममा संसारभरका करिब ३ करोड ६७ लाख व्यक्तिहरुमा एचआइभीको संक्रमण भएको अनुमान छ ।
असुरक्षित यौनसम्पर्क, निर्मुलीकरण नगरिका छाला छेडने औजारको प्रयोग, एचआइभी भएको आमाबाट जन्मेको बच्चा र रगतको प्रयोगले एक व्यक्तिबाट अर्काे व्यक्तिमा एचआइभी सर्ने गर्दछ ।
कार्यक्रम जिल्ला एड्स समन्वय समितिका अध्यक्ष एवं स्थानिय विकास अधिकारी हरिप्रसाद बास्तोलाको अध्यक्षता र जिल्ला स्वास्थ्य कार्यालयका फोकल प्रशन मनिष कुमार महतोको संचालनमा सम्पन्न भएको थियो ।

No comments:

Post a Comment