Friday, December 16, 2016

मुस्ताङ र म्याग्दी समितिद्धारा यातायात सेवा विस्तार


केशव बि.क./मुस्ताङ साप्ताहिक
मुस्ताङ १ पौष

मुस्ताङमा करिब एक दशक देखि संचालित मुस्ताङ जीप तथा बस व्यवसायी समितिले आफ्नो सेवालाई विस्तार गरेको छ । समितिले शुक्रवार देखि यातायात सेवालाई विस्तार गर्दै जोमसोम–बेनी–पोखरा सिधा यातायात संचालनमा ल्याएको छ ।
    समितिले जोमसोम देखि पोखराको लागि पाँच वटा जीप छुटाएर आफ्नो सेवा विस्तार गरेको छ । तत्काल दशवटा फोर्स जीप संचालनमा ल्याउने समितिले जनाएको छ । जोमसोम उपसमिति र एयरपोर्ट उपसमिति मर्ज गरी एउटै समिति बनाई प्रभावकारी यातायात सेवा संचालन गर्न लागिएको मुस्ताङ जीप तथा बस व्यवसायी समितिका उपसंयोजक मिङग्यूर गुरुङले बताए ।
    हाल जोमसोम–पोखरा पन्ध्रसय रुपैयाँ, जोमसोम–बेनी बाह्रसय रुपैयाँ र जोमसोम–तातोपानीका लागि आठसय रुपैयाँ भाडादर कायम गरिएको छ । पोखराका लागि हलनचोकमा जीपको काउण्टर स्थापना गरिएको छ । सेवालाई थप प्रभावकारी बनाउन कानुनी प्रक्रिया पुरा गरी निकट भविष्यमा देशका विभिन्न ठाउँमा जीप तथा सुपर डिलक्स बस संचालनमा ल्याईने मुस्ताङ जीप तथा बस व्यवसायी समितिका अध्यक्ष मिम प्रसाद थकालीले जानकारी दिए ।
    यातायात सिण्डिकेट अन्त्यसंगै मुस्ताङमा अन्य यातायात समिति आईरहेको अवस्थामा हालसम्म समितिले दिईरहेको लोकल यातायात सेवालाई जोमसोम घाँसा रुटका जनता तथा सरोकारवाला संग छलफल गरी रोक्ने वा सुचारु गर्ने विषयमा निर्णय लिईने थकालीले बताए ।

    त्यसैगरी म्याग्दी जीप तथा बस व्यवसायी समितिले जोमसोममा आफ्नो छुट्टै काउण्टर स्थापना गरी शुक्रबार बाटै यातायात सेवा शुरु गरेको छ । सुविधा सम्पन्न फोरह्वील एसी जीप र दश सिटर महेन्द्र कम्पनीको जीप बाट सेवा शुरु गरेको हो ।
    बेनी काउण्टर र जोमसोम काउण्टरबाट शुक्रबार देखि दुईतर्फी जीप छुटाइएको म्याग्दी जीप तथा बस व्यवसायी समितिका सदस्य कुमार बरुवालले जानकारी दिए । आगामी दिनमा पोखरा, बागलुङमा पनि काउण्टर स्थापना गरी मुस्ताङका लागि दुईतर्फी सिधा जीप सेवा विस्तार गरीने म्याग्दी जीप तथा बस व्यवसायी समितिका कार्यवाहक अध्यक्ष मोहन केसीले बताए ।
    मुस्ताङका तत्कालिन प्रमुख जिल्ला अधिकारी गणेश बहादुर अधिकारीले मुस्ताङको यातायातमा भएको सिण्डिकेट तोडन सफल भएसंगै मुस्ताङमा सवारी साधन र यातायात व्यवसायीको संख्यामा उल्लेख्य वृद्धि हुन थालेको छ । यसरी मुस्ताङमा सावारी साधनको वृद्धि हुँदा पार्किङ स्थलको समस्या देखिएको छ । सवारी व्यवस्थापन र पार्किङको स्थलको उचित व्यवस्थापन गर्न सरोकारवाला निकायको ध्यान जान जरुरी छ । 

No comments:

Post a Comment