Friday, December 2, 2016

मुस्ताङीलाई सुकुटी बनाउने चटारो


केशव बि.क./मुस्ताङ साप्ताहिक
मुस्ताङ १७ मंसिर
    जोमसोमका सम्दुक गुरुङले याक र भेंडाको सुकुटी बनाए । उनले प्रत्येक वर्षको जाडो महिना सुरु हुन लाग्दा यसरी नै याक र भेडाच्याङग्राको सुकुटी बनाउने गर्दछन् । जाडोको समयमा सुकुटी बनाउने र आफन्तहरुकोमा पठाउने, बाहिरी जिल्लामा बिक्रि तथा आफ्नै प्रयोजनको लागि पनि हरेक वर्ष सुकुटी बनाउने गरेको गुरुङले बताए ।   
यस वर्ष गुरुङले एक वटा याक र तीन वटा भेडाको सुकुटी बनाइसकेका छन् । जाडो समयमा सुकुटीको माग अत्यन्तै हुने भएकाले पनि सुकुटी बनाउने गरको उनको भनाई छ । जाडो मौसममा खानको लागि सुकुटी बनाउँछौँ र बेच्छौँ पनि । गुरुङले भने ।
    मार्फा ५ पुथाङ एयरपोर्टका स्थानिय रुबिन्द्र गौचनले पनि भेडाको सुकुटी बनाउँदै छन् । उनले सुकुटी बनाउनको लागि ३ वटा भेडा काटिसकेका छन् । आफ्नै प्रयोजन र बाहिरी जिल्लामा रहेका आफन्तहरुले सुकुटी बनाइदिन भनेपछि गौचनले ३ वटा भेडा काटेर सुकुटी बनाउन लागेका हुन् । गौचनका अनुसार प्रायजसो अर्डर अनुसार सुकुटी बनाउने गरिन्छ ।  मंसिर महिना सुकुटी बनाउनको लागि उपयुक्त मानिन्छ । 
    उच्च हिमाली क्षेत्रमा चरिचरन गरेका याक र भेडाच्याङग्राको मासु स्वादिष्ट हुने भएकाले पनि मुस्ताङका याक तथा भेडाच्याङग्राको मासु तथा सुकुटीको बजार माग उच्च छ । मुस्ताङका याक भेडाच्याङग्राको सुकुटी, पोखरा, मुग्लिन, काठमाण्डौ, चितवन, बागलुङ, म्याग्दी लगायत देश भित्र र देश बाहिर निर्यात हुने गरेको छ ।  
    चिसो मौसम सुरु भएसंगै झिँगा नलाग्ने र यहाँ बनाएको सुकुटीको रङ पनि ताजा मासुको जस्तै हुने भएकाले सुकुटी स्वादिष्ट हुनेहुँदा माग बढेको हो । बाहिरी जिल्ला तथा देश बाहिर बस्ने मुस्ताङीले जाडोको समयमा मुस्ताङबाट सुकुटी मगाउने गरेको स्थानिय बताउँछन् । 
    एउटा याकको मुल्य ८० हजार देखि १ लाख २० हजार रुपैयाँ सम्म पर्ने र भेडाच्याङग्रा २० हजार देखि २४ हजार सम्म पर्ने गरेको छ । एउटा याक बाट ६०–१०० केजी सुकुटी र भेँडाबाट १०–१२ केजी सम्म सुकुटी बनाउन सकिने पशु चिकित्सक आइत बहादुर थकालीले बताए । थकालीका अनुसार एउटा याक ६ वर्षमा र भेँडा ३–४ वर्षमा मासु खानको लागि योग्य हुन्छ ।  भेडाको सुकुटी प्रति केजी ४–६ हजार रुपैयाँ र याकको सुकुटी पनि सोही मुल्यमा विक्रि हुने गरेको छ ।
    जिल्लामा बनाएको सुकुटी मध्ये २० प्रतिशत मुस्ताङमै खपत हुने र बाँकी निर्यात हुने गरेको जिल्ला पशुसेवा कार्यालयका वरिष्ठ पशु विकास अधिकृत सुबल शाहले जानकारी दिए । शाहका अनुसार विगतका वर्षमा एक सिजनमा १८ करोड सम्मको सुकुटी निर्यात हुने गरेको तथ्याङ्क छ । 
    यहाँका प्रत्येक स्थानियले जाडो मौसममा खानको लागि याक र भेडाच्याङग्राको सुकुटी बनाउँदै आएका छन् । जाडो समयमा जाडो छल्न तातो लगाउने र तातै खाने प्रवृति भएकाले पनि यहाँका स्थानियले सुकुटी बनाउने गर्दछन् । सुकुटीका साथसाथै याक तथा भेडाको आन्द्रा भित्र रगत, नुन, खुर्सानी, मसला, मासुका टुक्राहरु राखेर घिण्डी बनाउने प्रचलन पनि छ । यसलाई जाडो समयमा खानको लागि उपयुक्त हुने स्थानिय बताउँछन् । 

No comments:

Post a Comment