Sunday, December 18, 2016

ढाकमरमा बाढीः खानेपानी, पुल, कुलो घट्ट सबै बगायो

केशव बि.क./मुस्ताङ साप्ताहिक
मुस्ताङ ३ पौष

उपल्लो मुस्ताङको घमी गाविस स्थित ढाकमर गाउँमा आईतबार बिहान आठ बजे अचानक आएको बाढीले पुल, सिंचाई कुलो र पानी घट्टमा क्षति पु¥याएको छ । बाढीले पाँचवटा पानी घट्ट, सात वटा काठे पुल, सिंचाई कुलो र खानेपानीको मुहान बगाएको ढाकमर आमा समुहकी अध्यक्ष युटिन गुरुङले जानकारी दिईन् ।
      त्यस्तैगरी बाढीले लोमान्थाङ जाने गोरेटो बाटो बगाएको, ३ वटा घरमा क्षति पुगेको र दुईघर परिवार विस्थापित भएका छन् । बाढीले ढाकमर गाउँ देखि तल रहेको वृक्षारोपण गरेको जंगल पनि बगाएको छ । खोलामा धमिलो पानी आएको र बाढीले सबै खानेपानीका मुहान बगाएपछि स्थानियलाई खानेपानीको समस्या भएको छ ।
गाउँ देखि माथि हिमालतिर बाट एक्कासि आएको बाढीले विभिन्न संरचनामा क्षति पु¥याएको भएतापनि बिहानको समय भएकाले जनधनको क्षति हुन नपाएको घमीका स्थानिय एवं पूर्व जिविस सदस्य न्हिमा गुरुङले जानकारी दिए । 
    हिउँदको समय भएतापनि हिउँ नपरेको र मौसम पनि सफा रहेको तर एक्कासी बाढी आउँदा स्थानिय मर्कामा परेका छन् । मुस्ताङको ढाकमर लेक र डोल्पाको सिमानामा अवस्थित कुनै हिमताल फुटेर एक्कसी बाढी आएको हुनसक्ने ढाकमरका स्थानिय पासाङ गुरुङले बताए ।
बाढीबाट घमीको वडा नम्बर ८ र ९ (ढाकमर) प्रभावित भएको र साँझ सम्म पनि खोलामा पानी नघटेको बताईएको छ । स्थानियहरु बाढी देखि सुरक्षित स्थान बसिरहेको र प्रहरीले क्षतिको विवरण संकलन गरीरहेको ईन्सपेक्टर राजकुमार चौधरीले बताए । बाढीबाट क्षति भएको घटनाको एकिन विवरण आउन बाँकी छ ।  

No comments:

Post a Comment