Monday, December 5, 2016

राजनीतिक दलको जमानीमा जिविसद्धारा जनतासँग तमसुक


केशव वि.क./मुस्ताङ साप्ताहिक
मुस्ताङ २० मंसिर

भारतीय राजदुतावासको सहयोगमा जोमसोमको कालीगण्डकीमा निर्माणधीन पक्की पुलको निर्माण कार्य तत्काल सुचारु गर्न माग गर्दै बाह्र गाउँका स्थानिय सोमबार जिल्ला विकास समिति मुस्ताङमा डेलिगेशन आएका छन् ।  

 गत मंसिर १५ गते बाट पुलको २१ मिटर लामो सल्याब ढलान गर्ने तयारी भैरहेका बेला मौसमको कारण देखाउँदै पुल ढलानको काम स्थगित गरिएको थियो । मुस्ताङ हिमाली जिल्ला भएकाले तापक्रमका कारण प्राविधिक दृष्टिकोणबाट विस्तृत अध्ययन परिक्षणबाट विज्ञहरुको राय सल्लाह अनुसार चिसो मौसममा ढलान सेटिङ नहुने भएकाले केही महिनाको लागि ढलान स्थगित गरिएको स्थानिय विकास अधिकारी हरिप्रसाद बास्तोलाले बताए ।
    जोमसोम स्थित कालीगण्डकी नदिमा पक्की पुल निर्माण कार्यको सम्बन्धमा डेलिगेशन टोली संगको सर्वपक्षिय बैठकले सो निर्माणधीन मोटरेबल पुल तापक्रमका कारण हाल ढलान गर्न प्राविधिक दृष्टिकोणबाट उपयुक्त नदेखिएकाले ढलान कार्य स्थगित गरिएको र आगामी फागुन वा चैत्रमा तापक्रम अनुकूल भएको अवस्थामा पुल ढलान गर्ने कार्यलाई अविलम्व अगाडी बढाउने निर्णय गरेको छ ।
    त्यसैगरी हाल पुल ढलान गर्न फलाम र फर्मा गरिराखेको फलामे रड लगायतको रकम पुल ढलान कार्य सम्पन्न नगरेसम्म जिविसले ठेकेदारलाई भुक्तानी नदिने र स्थगित पुल ढलान कार्य आगामी २०७४ जेठ १५ सम्ममा सम्पन्न गराउने जिम्मा नेकपा एमाले जिल्ला कमिटी अध्यक्ष चन्द्रमोहन गौचन र नेपाली कांग्रेसका का.वा सभापति न्हुर्वु गुरुङलाई दिने निर्णय गरिएको छ ।
    विगत ५ वर्षसम्ममा पुल निर्माण कार्यसम्पन्न गर्न नसक्दा स्थानियले ठेकेदार, जिल्ला विकास समिति, जिल्ला प्राविधिक कार्यालय प्रति अविश्वास प्रकट गर्दै आफुहरुलाई कार्य सम्पन्न गराउन जिम्मा दिएको बताउँदै नेकपा एमाले जिल्ला कमिटी अध्यक्ष चन्द्रमोहन गौचनले जनताको विश्वासलाई आत्मसाथ गर्दै निश्चित समय सीमा भित्र पुलको निर्माण कार्य सम्पन्न गराउने प्रतिवद्धता ब्यक्त गरे । साथै उनले विकास निर्माणमा ढिलाई भई आफ्ना समस्या ज्यूँकात्यूँ रहँदा विकासमा चासो राख्दै जनताले सम्बन्धीत निकायलाई खबरदारी गर्नु जायज भएकाले जनताका समस्या सम्बोधन गर्न नेकपा एमाले सधैँ तत्पर रहेको बताए ।
    जोमसोमको पुल निर्माणमा ढिलाई हुँदा उपल्लो भेगका स्थानियलाई दैनिक उपभोग्य सामान ढुवानीमा महंगो पर्ने लगायतका विविध समस्याले गर्दा स्थानियमा आक्रोष बढेको छ । हामी राजनीतिक दललाई जमानीमा राखेर जिविसले पुल निर्माणको कामको जनतासँग तमसुक गरेको छ । फेरी पनि यो वा त्यो बाहानामा निर्माणमा हेलचेक्राई गरिए जनताले सम्बन्धीत कसैलाई पनि नछाडने र तमसुकको सावाँ व्याज असुल गर्ने नेपाली कांग्रेसका का.वा सभापति न्हुर्वु गुरुङले चेतावनी दिए । 
    तापक्रमका कारण पुलको ढलान रोकिएको र मौसम तातो हुँदै गएपछि तोकिएको समय अवधिमा प्राविधिकको निर्देशन अनुसार काम सम्पन्न गर्ने निर्माण कम्पनी जय ओम निर्माण सेवाका ठेकेदार ओम प्रसाद श्रेष्ठले जिविस समक्ष लिखित प्रतिवद्धता जाहेर गरेका छन् । साथै प्रतिवद्धता पत्रमा उनले तोकिएको समयमा काम सम्पन्न नगरे बाँकी पाउनुपर्ने भुक्तानी रोक्का गरिएमा आफु मञ्जुर रहेको उल्लेख गरेका छन् ।
स्थानिय पूर्वाधार तथा कृषि सडक विभाग (डोलिडार) का अनुसार चिसो मौसमका लागि उक्त पुल साइटको तापक्रम न्युनतम भन्दा कम भएको अवस्थामा रेनफोर्स कंक्रिटको स्टे«न्थमा असर पर्ने भएकाले स्ट्यान्डर्ड कोड अनुसार ५ डिग्री सेल्सियस भन्दा कम तापक्रममा विशेष तरिका अवलम्बन गरेर मात्र ढलान गर्न सकिने भएकाले तत्काल उक्त विशेष तरिका अवलम्बन गरेर गर्ने अथवा ढलान कार्य रोक्नुपर्छ ।
    विशेष तरिका अवलम्बन गरेर ढलान कार्य अगाडी बढाउनको लागि कंक्रिटलाई उचित तापक्रममा भुटनुपर्ने र तातोपानीमा कंक्रिट, बालुवा र सिमेन्टको समिश्रण गराई ढलान गर्नु पर्ने र ढलान राम्रोसंग सेट हुन २४ घण्टा लाग्ने र सो अवधिमा ५ डिग्री भन्दा कम तापक्रम हुन नहुने भएकाले रातको समयमा हुने न्युनतम तापक्रम भन्दा कम तापक्रमका कारण मुस्ताङमा विशेष तरिका अवलम्बन गरेर ढलान गर्न सम्भव नरहेकाले ढलान रोक्न उपयुक्त रहेको जिल्ला इन्जिनियर रविन्द्र तिवारीले बताए । हाल जोमसोमको तापक्रम दिउँसको समयमा १७ डिग्री र बेलुका माइनस रहेको बताइएको छ ।   

No comments:

Post a Comment