Sunday, December 4, 2016

जोमसोमको कालीगण्डकी पुल ढलान रोकियो


केशव बि.क./मुस्ताङ साप्ताहिक
मुस्ताङ १९ मंसिर

जोमसोम स्थित कालीगण्डकी नदिमा निर्माणधीन कालीगण्डकी पुलको ढलान कार्य रोकिएको छ । प्रतिकुल मौसमका कारण भारतीय राजदुतावासको सहयोगमा जोमसोम स्थित कालीगण्डकी नदिमा निर्माणधीन पक्कि मोटरेबल पुलको ढलान कार्य रोकिएको हो ।  
  हिमालपारीको जिल्ला चिसो मौसम, विहान बेलुकामा भएको माईनस तापक्रमका कारण प्राविधिक दृष्टिकोणबाट विस्तृत अध्ययन परिक्षणबाट विज्ञहरुको राय सल्लाह अनुसार चिसो मौसममा ढलान सेटिङ नहुने भएकाले निर्माण कार्य केही महिनाको लागि रोकिएको स्थानिय विकास अधिकारी हरिप्रसाद बास्तोलाले बताए । बास्तोलाका अनुसार तापक्रम बढेपछि पुल ढलान कार्य पुनः सुचारु हुनेछ ।
    कालीगण्डकी नदिमा आर.सि.सि पक्की पुलको निर्माण कार्य भैरहेको सन्दर्भमा निर्माण कम्पनी श्री बिटी÷जय ओम निर्माण सेवा प्रा.लि. काठमाण्डौले गत मंसिर १५ गते देखि बाँकी २१ मिटरको सल्याब ढलान गर्न लागेको र वर्तमानको मौसममा उक्त पुल ढलान कार्य गर्नको लागि उपयुक्त हुने वा नहुने विषयमा जिल्ला विकास समिति मुस्ताङले जिल्ला प्राविधि कार्यालय एवं स्थानिय पूर्वाधार तथा कृषि सडक विभाग (डोलिडार) मा राय सल्लाह माग्दा डोलिडारले तापक्रम सुन्य भएको अवस्थामा ढलान कार्य गर्न नहुने सुझाव दिएपछि निर्माण कार्य रोकिएको छ ।
    उक्त पुल साइटको तापक्रम न्युनतम भन्दा कम भएको अवस्थामा रेनफोर्स कंक्रिटको स्टे«न्थमा असर पर्ने भएकाले स्ट्यान्डर्ड कोड अनुसार ५ डिग्री सेल्सियस भन्दा कम तापक्रममा विशेष तरिका अवलम्बन गरेर मात्र ढलान गर्न सकिने भएकाले तत्काल उक्त विशेष तरिका अवलम्बन गरेर गर्ने अथवा ढलान कार्य रोक्नुपर्ने निर्देशन दिएकाले ढलान कार्य रोक्नु परेको स्थाविअ बास्तोलाले जानकारी दिए ।
    विशेष तरिका अवलम्बन गरेर ढलान कार्य अगाडी बढाउनको लागि कंक्रिटलाई उचित तापक्रममा भुटनुपर्ने र तातोपानीमा कंक्रिट, बालुवा र सिमेन्टको समिश्रण गराई ढलान गर्नु पर्ने र ढलान राम्रोसंग सेट हुन २४ घण्टा लाग्ने र सो अवधिमा ५ डिग्री भन्दा कम तापक्रम हुन नहुने भएकाले रातको समयमा हुने न्युनतम तापक्रम भन्दा कम तापक्रमका कारण मुस्ताङमा विशेष तरिका अवलम्बन गरेर ढलान गर्न सम्भव नरहेको जिल्ला इन्जिनियर रविन्द्र तिवारीले बताए । हाल जोमसोमको तापक्रम दिउँसको समयमा १७ डिग्री र बेलुका माइनस रहेको बताइएको छ ।
    ठेकेदार ओम श्रेष्ठले पुल निर्माणको अन्तिम चरणमा निर्माण कार्य रोक्न निर्देशन दिनुले काम लम्बिने र सिमेन्ट तथा फर्मा प्लाइउडमा क्षति पुग्ने बताएका छन् । ढलानको लागि १२ सय बोरा सिमेन्ट ल्याएको छु । रड बानेर फर्मा पनि ठोकिसकिएको छ । पुल ढलानको सम्पूर्ण तयार पुरा भैसकेको छ । ढलानको काम एकहप्तामा सकिन्छ तर अकस्मात ढलान कार्य रोक्न निर्देशन दिइयो । नत्र मंसिर २५ गते भित्र पुल ढलान कार्य सकिन्थ्यो । श्रेष्ठले भने ।   
जिल्लाका अन्य स्थानमा ढलान कार्य भैरहेको तर जोमसोमको पुल निर्माणको अन्तिम चरणमा निर्माण कार्य रोकिनुले कहि कसैको चलखेल भएको स्थानियले आरोप लगाएका छन् । कागबेनी गाविसका स्थानियले पुल निर्माण कार्यलाई तत्काल सुचारु गर्न एक डेलिगेशन मार्फत स्थानिय विकास अधिकारीलाई आग्रह गरेका छन् ।
विगत ५ वर्ष अगाडी निर्माण सम्झौता भएको पुलको ठेकेदार र प्राविधिकको हेलचक्राई का कारण पुल निर्माण ढिला भएको र अन्तिममा आएर निर्माण कार्य रोक्न निर्देशन दिनुमा प्राविधिकको कमजोरी भएको नेकपा एमाले जिल्ला कमिटी अध्यक्ष चन्द्रमोहन गौचनले बताए । हालसम्म उद्देश्य अनुरुप काम नभएकाले जनमानसमा आक्रोष बढिरहेका बेला निर्माण रोकिनु ठिक नभएको उनको भनाई छ । गौचनले काम नहुने समयको पहिले नै प्राविधिकहरुले जानकारी गराउनुपर्नेमा ढिलाइ भएको बताए ।
जिल्लाका अन्य ठाउँमा निर्माण भैरहेको र हालसम्म मौसम ठिक रहेकाले पुल निर्माण रोक्न नहुने नेपाली कांग्रेस मुस्ताङका का.वा सभापति न्हुर्वु गुरुङको भनाई छ । भारतीय राजदुतावासको सहयोगमा निर्माणधीन उक्त पुलको विगत ५ वर्ष अगाडी निर्माण सम्झौता भएको र श्री बिटी÷जय ओम निर्माण सेवा प्रा.लि. काठमाण्डौले निर्माणको जिम्मा लिएको थियो ।

No comments:

Post a Comment